वनभोज खान आउनेले स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने
झापाको मेचीनगर नगरपालिका–४ मा वनभोज खाँदा वडामै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने भएको छ।
वनभोज खान आउनेहरूले त्यहींका किसानले उत्पादन गरेका वस्तुको खरीद गरी प्रयोग गर्नुपर्ने नियम वडा कार्यालयले बनाएको हो। वडाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री गरी आयआर्जन बढाउन उक्त निर्णय गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए।
“पुरानो बाहुनडाँगी गाविसमा झन्डै १२ वटा वनभोजस्थल छन्। त्यहाँ सिजनका वेला नेपाल र भारतबाट दैनिक वनभोज खान आउँछन्‚” वडाध्यक्ष कार्कीले भने‚ “सीमापारि (भारत)बाटै खाद्यान्न, सरसामान लिएर आउँदा गाउँमा मान्छे आए, वनभोज खाए भन्ने भन्दा अर्को खुशी मिल्न सकेन। त्यही भएर हाम्रो क्षेत्रमा वनभोज खान आउनेलाई यहींको उत्पादन किन्नुपर्ने नियम बनाएका छौं।” जसले गर्दा स्थानीयको व्यापार मात्रै बढ्ने र जीविका चल्ने उनको भनाइ छ।
सीमा नजिकै रहेको बाहुनडाँगीमा भारतबाट वनभोज खान आउनेगर्छन्। वनभोज खान आउनेहरूले स्थानीय किसानबाट नै तरकारी‚ खाद्यन्न‚ खानेतेल‚ माछा‚ मासु किन्नुपर्नेछ। “मासुका लागि खसी-बोका, कुखुरा वडाका किसानको घरबाट किन्नुपर्ने नियम कार्यान्वयनमा ल्याएका छौं‚” वडाध्यक्ष कार्कीले भने।
वनभोज खान आउनेको सहजताका लागि वडाले भान्सेको समेत व्यवस्था गरिदिएको छ। वडा कार्यालयले वनभोजस्थलमा प्लास्टिकका सामग्रीको प्रयोगमा बन्देज लगाएको छ।
आवश्यक भाँडाकुँडा वडामै रहेका समूहहरूले उपलब्ध गराउने वडाध्यक्ष कार्कीले बताए। फोहोर कम उत्पादन होस् भनेर यस्तो नियम बनाइएको उनको भनाइ छ।