रिपोर्ट आइतबार, असार २९, २०७६

‘ट्रेकिङ ट्रेल’ पनि ढलान !

शरद ओझा

काठमाडौं उपत्यकाको लोकप्रिय हाइकिङ रुटमध्ये पर्ने गोदावरी–फुल्चोकी पदमार्गमा प्राकृतिक सौन्दर्य मासिने गरी सिमेन्टको ढलान गरिएको छ।

काठमाडौं उपत्यकाभित्र छोटो दूरीको पदयात्राका रूपमा लोकप्रिय गन्तव्य हो, फुल्चोकी । ललितपुरको गोदावरीदेखि झन्डै पाँच किलोमिटर दूरी रहेको फुल्चोकी (२,७०० मिटर) सम्मको हाइकिङ रुटमा प्राकृतिक वातावरणमा रमाउन र हिउँदमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको ओइरो लाग्छ । पछिल्लो समय भने यो पदमार्गमा भइरहेका कामले पदयात्राको मौलिकता हराउने जोखिम बढेको छ ।

गोदावरी नगरपालिकाले बनाएको फुल्चोकी क्षेत्रको पर्यटन गुरुयोजना अन्तर्गत पदमार्गमा ढलान गरिएको छ । नगरपालिकाले २४२ मिटर पदमार्ग र प्रदेश–३ सरकारको पर्यटन विकास आयोजनाले ४०० मिटर पदमार्गमा सिमेन्ट र गिट्टी प्रयोग गरेर ढलान गरेका हुन् । जसले पूर्वाधार विकासका नाममा प्राकृतिक स्वरुप बिथोल्दै पर्यटकीय आकर्षणमै प्रतिकूल असर पारेको छ ।

नगरपालिकाले बनाएको पदमार्गको डिजाइन पर्यटन विभागको मापदण्ड विपरीत छ । विभागको पदमार्ग सम्बन्धी मापदण्डमा पदयात्रीलाई हिंड्न सहज हुने गरी ढुंगा छापेर खुट्किला बनाउन सकिने, पदमार्ग मौलिक हुनुपर्ने, विश्रामस्थल लगायतका सबै संरचना निर्माणमा स्थानीयस्तरमै उपलब्ध स्रोत प्रयोग गर्नुपर्ने उल्लेख छ ।

विभागका इन्जिनियर सचिन्द्र यादव भन्छन्, “पदमार्गमा ढलान गरिनु कुनै पनि हिसाबले उपयुक्त हुँदैन । पर्यटकले प्राकृतिक महसूस गर्ने किसिमको हुनुपर्छ ।”

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन भने पदमार्ग बलियो होस् भनेर ढलान गरिएको बताउँछन् । “पदमार्गलाई प्राकृतिक जस्तो बनाउन ढलानमाथि ढुंगा लगाउने योजना छ”, उनी भन्छन् ।

आलोकाँचो विकास !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धन र विकासका लागि पहिचान गरिएका १०० गन्तव्यको सूचीमा गोदावरी–फुल्चोकी पदमार्गलाई राख्दै स्थानीय सरकारबाट खर्च गर्ने गरी रु.२५ लाख विनियोजन गरेको थियो । जसमध्येको रु.५ लाख खर्चेर गोदावरी नगरपालिकाले इन्जिनियरिङ कन्सल्टेन्सी राइज इन्जिनियरिङ सोलुसन प्रालि मार्फत फुल्चोकी क्षेत्रको पर्यटन गुरुयोजना बनायो ।

बाँकी रकमबाट नगरपालिकाले २४२ मिटर पदमार्गमा ढलान गरेको छ । यस्तै, प्रदेश–३ सरकारको पर्यटन विकास आयोजनाले रु.४९ लाख ५० हजार विनियोजन गरेपछि थप ४०० मिटर पदमार्ग बनाइएको छ ।

गोदावरी नगरपालिकाका इन्जिनियर किशोर मोक्तान नगरपालिकाले गरेको काम भन्दा प्रदेश सरकारले गरेको काममा त्रुटि रहेको औंल्याउँछन् । “हामीले निर्माण गरेको पदमार्गमा ढुंगा पनि ओछ्याएका छौं । तर प्रदेश सरकारले किन ढलान गर्‍यो, थाहा छैन”, उनी भन्छन् ।

संविधानले पर्यटन क्षेत्रको अधिकार तीनवटै तहका सरकारलाई दिएपछि पर्यटनको मर्म नबुझी जथाभावी योजना बनाउने क्रम बढेको छ । जस्तोः प्रदेश–५ मा रुरु गाउँपालिकाको बम्घामा रहेको ऐतिहासिक दरबारको कोतमा सिमेन्ट प्रयोग गरेर संरचना बनाइएका छन् ।

पर्यटनमा विद्यावारिधि गरेका राजीव दाहालको भनाइमा पछिल्लो समय प्रादेशिक र स्थानीय सरकारले बनाइरहेका पर्यटन सम्बन्धी योजनामा त्रुटि धेरै छन् । पदमार्गमा ढलान गर्दा प्राकृतिक सुन्दरता मासिएको उनी बताउँछन् ।

“प्रायः आयोजनाको गुरुयोजना बनाउन इन्जिनियर मात्र संलग्न छन्”, उनी भन्छन्, “उनीहरूले पर्यटकीय पूर्वाधारको डिजाइन पनि अन्य पूर्वाधार जस्तै संरचना बलियो बनाउनमा केन्द्रित भएर गर्दा समस्या देखिएको छ ।

फुल्चोकी पदमार्ग निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र आचार्य आफैंले गरेको कामबाट बेखुशी छन् । उनी प्राकृतिक सौन्दर्य नबिथोलिने गरी ढुंगा ओछ्याएर पदमार्ग बनाउनुपर्छ भन्दा इन्जिनियरले नमानेको गुनासो गर्छन् ।

“ढलान नगरी काम भए भुक्तानी नहुने भनिएपछि इन्जिनियरले भने अनुसार काम गरिएको हो” उनी भन्छन्, “पैसा भएर पनि राम्रो संरचना कसरी बनाउने भन्ने सोचिएन ।” ढलान गरिएको पदमार्गमा हिंड्दा संरचना राम्रो भएन कि भन्ने लागेको उनको अनुभव छ ।

फुल्चोकी पदयात्रामा भेटिएका घुमफिरप्रेमी नवीन बस्यालले पदमार्गको कंक्रिट संरचना देख्दा टिठ लागेको सुनाए । निराश हुँदै भने, “काठमाडौंबाट यो ठाउँ आउनुको अर्थ प्राकृतिक वातावरणमा विचरण गर्न पाइन्छ भनेर हो । तर जंगलमा पनि ढलान गरिएको पदमार्ग बनाउने हो भने यहाँ हामी किन आउनु ?”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले मापदण्डलाई मिचेर पदमार्गमा ढलान गरिनु विडम्बना भएको टिप्पणी गर्दै नगरपालिकासँग समन्वय गरेर अवस्था बुझ्ने बताए ।

संविधानले पर्यटन क्षेत्रको अधिकार तीनवटै तहका सरकारलाई दिएपछि पर्यटनको मर्म नबुझी जथाभावी योजना बनाउने क्रम बढेको छ । जस्तोः प्रदेश–५ मा रुरु गाउँपालिकाको बम्घामा रहेको ऐतिहासिक दरबारको कोतमा सिमेन्ट प्रयोग गरेर संरचना बनाइएका छन् ।

यस्तै, गुल्मीको रेसुङ्गामा पनि ढलान गर्दै पदमार्ग बनाएको छ । सिमेन्टको संरचना बन्दा मात्र विकास हुन्छ भन्ने मानसिकताले काम गर्दा धेरै ठाउँका पर्यटकीय क्षेत्रमा समस्या देखिएको जानकारहरू बताउँछन् ।

केही स्थानीय तहले भने मौलिक स्वरूप जोगाउँदै काम गरेका छन् । जस्तोः सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले स्थानीय स्रोत प्रयोग गरेर ६० किलोमिटर लामो पदमार्ग निर्माण गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस