निभ्यो किलाघःको ज्योति
![निभ्यो किलाघःको ज्योति](https://www.himalkhabar.com/uploads/posts/800X600/indra_maharjan_1674550768.jpg)
इन्द्रजात्राका वेला देखाइने देवीनाच र पुलुकिसीको जात्रालाई ५० वर्षदेखि निरन्तरता दिइरहेका किलागलका इन्द्र महर्जन इन्द्रजात्राका पर्याय जस्तै थिए। ८९ वर्षको उमेरमा उनले आफ्नो पार्थिव शरीर बिसाएसँगै अब स्मरण मात्र बाँकी रहेको छ।
मूर्त तथा अमूर्त कला र संस्कृतिको धरोहरका रूपमा रहेको भित्री काठमाडौंको सांस्कृतिक सम्पदाको जगेर्नामा उनको ठूलो योगदान छ। आदिवासी ज्यापूहरूको प्राचीन ३२ टोलमा किलाघः अर्थात् किलागल एउटा टोल हो।
टोलले १२ महीनामा १२ वटा जात्रापर्व मनाउँछ। त्यही जात्रामध्ये इन्द्रजात्रा पनि हो। इन्द्रजात्राका वेला निकालिने ऐरावत हात्ती भनिने सेतो हात्ती (पुलुकिसी) र दीप्याखं (देवीनाच) पनि किलाघःबाटै निकालिन्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/NewFolder/narendra%20manandhar%20%287%29.jpg)
जात्रा निकाल्ने टोलका रूपमा परिचित किलाघःबाटै दशैंका वेला पायाः जात्रा, पाहाँचःह्रेका वेला गणेश जात्रा निकालिन्छ। बालबालिकालाई अनिष्टबाट जोगाउन तान्त्रिक विधिबाट पकाइएको भोज खुवाउने ‘मरः जाः नकेगु’ को चलन पनि किलाघःको परम्परागत जात्रा हो। दशैंका वेला मनाइने गुँलापर्वमा एक महीनासम्म किलाघः टोलमा दाफा भजन गाउने चलन छ। गुरुमापालाई खुवाउन विशेष अनुष्ठान गरी पकाइने भोजको प्राचीन परम्परा पनि किलाघःबाट आजपर्यन्त चलिरहेको छ।
किलागल टोलका थकाली इन्द्र महर्जनको निधनसँगै काठमाडौं उपत्यकाको अमूर्त सम्पदाका एक धरोहरको अवसान भएको नेपालभाषा टाइम्सका सम्पादक सुरेश मानन्धर बताउँछन्। “काठमाडौंका ३२ टोल तथा किलाघः टोलको परम्परागत मूर्त तथा अमूर्त कला संस्कृतिबारे जानकारी दिने आधिकारिक व्यक्ति उहाँ नै हुनुहुन्थ्यो,” मानन्धर भन्छन्, “उहाँ नेवारी अमूर्त कलाका जीवन्त खम्बा हुनुहुन्थ्यो।”
![](https://www.himalkhabar.com/uploads/editor/NewFolder/narendra%20manandhar%20(6).jpg)
इन्द्रजात्राको अपरिहार्य अङ्ग मानिने देवीनाच जहाँ जहाँ कुमारीको रथ लगिन्छ त्यहाँ देखाउने चलन छ। महर्जनले इन्द्रजात्रामा देखाइने देवीनाचलाई गाह्रोसाह्रो अवस्थामा पनि निरन्तरता दिंदै आएका थिए। “विगतमा अहिले जस्तो सांस्कृतिक जगेर्नाको चेतना नहुँदा र समुदायबाट सहयोग नजुट्दा पनि उहाँले जात्रा जोगाउन गरेको योगदान साँच्चै सराहनीय छ,” मानन्धर भन्छन्।
जात्रामा बजाइने बाजाको ज्ञान र नाचको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न आफ्नो बुबाको योगदान रहेको इन्द्रका छोरा नरेन्द्र महर्जन बताउँछन्। उनले सरकारी जग्गा अधिग्रहण विरुद्ध आन्दोलन गर्दा कारावास सजाय पनि भोगेका थिए।
“हाल सशस्त्र प्रहरीको केन्द्रीय कार्यालय रहेको तत्कालीन सरकारी निर्माण कम्पनी एनसीसीएनका लागि हाम्रो र अन्य किसानहरूको जग्गा न्यून मूल्यमा अधिग्रहण गर्दा बुबाले त्यस विरुद्ध आन्दोलन नै गर्नुभएको थियो,” नरेन्द्र भन्छन्, “स्थानीय किसानका पक्षमा लड्दा उहाँ जेल पनि पर्नुभयो।” सरकारले दुई रोपनी जग्गाका लागि जम्मा २०० रुपैयाँ मात्र दिने भएपछि इन्द्रले ‘बरु जग्गा दान नै दिन्छु, पैसा लिन्नँ’ भनेर जग्गाको क्षतिपूर्ति रकम नलिएको नरेन्द्रले बताए।
नारायण महर्जन र चिनी महर्जनका छोरा इन्द्रको जन्म विसं १९९० भदौमा भएको थियो। उनी सानै उमेरदेखि नाचगान र बाजागाजामा आकर्षित थिए। उनले स्थानीय उस्ताद ग्वारा महर्जनसँग सङ्गीत सिकेका थिए। “बुबालाई ३२ रागको ज्ञान थियो। केही राग हामीलाई सिकाएर जानुभयो। केही उहाँ आफैंले लिएर जानुभयो,” नरेन्द्र भन्छन्, “उहाँले परम्परागत तान्त्रिक ज्ञान पनि हासिल गर्नुभएको थियो। उहाँका सबै ज्ञान हामीले लिन सकेनौं।”
![](https://www.himalkhabar.com/uploads/editor/NewFolder/narendra%20manandhar%20(1).jpg)
इन्द्रलाई ज्योतिष ज्ञान पनि थियो। जग्गा मापनको विधि विकास नभएको तथा अमिन नपाइने त्यो जमानामा उनले जग्गा नापजाँचको काम पनि गरेका थिए। टोलको थकाली तथा जग्गाको नापजाँच गर्न जान्ने भएकाले टोलका प्रायले उनीसँग अंशबन्डा कागजपत्र गराउँथे।
२०२३ सालमा किलागलमा बनाइएको सामुदायिक भवन निर्माणमा उनको योगदान थियो। उनकै सक्रियतामा टोलवासीलाई सहभागी गराएर जनश्रमदानबाट सामुदायिक भवन बनाइएको थियो। २०२५ सालमा निर्माणसम्पन्न भवन २०७२ सालको भूकम्पमा भत्किएपछि केही अघि मात्र पुनर्निर्माण भएको छ।टोलका सम्पूर्ण कामलाई समन्वय तथा व्यवस्था गर्ने र पूजाको व्यवस्था गर्ने काममा टोलका थकालीले हैसियतले सधैं सक्रिय हुने इन्द्रको निधन २०७९ पुस ३० गते भएको हो।