मेरो हिमाललाई देखे जति सलाम!
हिमाललाई केन्द्रमा राखेर या प्रसङ्ग छुवाएर लेखिएका गीतहरूमा हिमाली सौन्दर्य र सुवास मात्र हैन, देशभक्ति र भ्रातृत्वको भावना भेटिन्छ।
गीत र गायन मानव सभ्यताको प्राचीन निष्पत्ति हुन्। गीत लयात्मक र मनोहारी हुन्छ, हृदयमा तत्क्षण उनिन्छ। मान्छेभित्र खुशी, उमङ्ग, दुःख, पीडा, राम-रौस आदि भाव र भावना समेट्न सक्ने क्षमता हुन्छ। गीतका सर्जक तिनै कुरा अभिव्यक्त गर्न भौतिक जगत्का प्राकृतिक छटा र विविध विम्ब लिएर शब्दमा बुन्छन्। समथर फाँटदेखि, पहाड र नीलाम्य आकाशसँग आलिङ्गन गर्ने हिमालसम्मका कुरा बयान गर्छन्। लयको लावण्य पाएपछि गायक-गायिकाले ती गीत अनेकौं भावनासम्म पुर्याउँछन्।
विश्वमै प्रकृति वर्णनका अनेकन् गीत गाइएका छन्। भौतिक परिवेशमा देखिने कैयन् वस्तु तथा स्थानविशेषका कुरा गीतले समेटेको पाइन्छ। यो लेख भने हिमाल सम्बन्धी गीतहरूमा केन्द्रित छ।
हिमाल हाम्रा लागि सम्पदा, सभ्यता र संस्कृति हो। नेपाली जनजीवनले हिमाल, पहाड र तराई सबै क्षेत्रका गीत गाएका छन्। धेरै अघि आजको सगरमाथालाई चोमोलोङ्मा (भोटे भाषामा झ्यामोलोङ्मा) भनिन्थ्यो। समयक्रममा अध्ययन-अन्वेषण र नाप-नक्शाकर्ताको नामसँग जोड्दै ‘माउन्ट एभरेस्ट’ नामकरण गरियो। हाम्रो हिमालको नाम कति कति। अझ् हाम्रा हिमाल कति कति। आठ हजारभन्दा माथिका आठ हिमाल त नेपालमै छन्।
हिमाल हाम्रा आँखाले देखेको मात्र होइन, हाम्रो जीवनशैली, परम्परा र भोगाइमै हिमाल छ। विश्वकै सबैभन्दा उच्च हिमाल भएर या देखेर संसारै खुशी र रोमाञ्चमा छ भने नेपाली जनमन, नेपाली स्रष्टा पुलकित नहुने कुरै भएन। त्यसैले नेपाली समाज तथा स्रष्टाले आफ्नो उचाइको गीत, आफ्नै शिराभूषणको गीत-गाथा गाए, अनि अमर बनाए।
हिमाल सम्बन्धी तथा हिमाललाई केन्द्र बनाएर वा प्रसङ्ग छोएर लेखिएका/गाइएका थुप्रै नेपाली गीत छन्। केही उदाहरण सहित चर्चा गरौं।
हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ।
उल्लिखित गीत नेपाली चर्चित गीतहरूमध्ये एक हो। किरण खरेलले लेखेको र शिवशंकर मानन्धरले लय भरेको गीतमा तारादेवीको स्वर छ।
हिमालमुनि हाम्रो घर पराले झोपडी नि दाजु पराले झोपडी
यस गीतका रचनाकार चिरञ्जीवी हुन् भने गायक/सङ्गीतकार ज्ञानबहादुर श्रेष्ठ हुन्। हिमाल सम्बन्धी एउटा गीत महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि रचना गरेका छन्। ‘हिमाल चुली’ बोलको उक्त गीतका सङ्गीतकार र गायक गोविन्दबहादुर गुरुङ हुन्। गुरुङ मृत जनावरका छाला तथा चराचुरुङ्गीका प्वाँखबाट कला बनाउने चर्मकलाकार पनि थिए।
हिमालसरि म अग्लिरहेछु सम्हाल-३ मलाई
बादलसरि पग्लिरहेछु सम्हाल-३ मलाई।
गोपाल योञ्जनको रचना/सङ्गीत तथा नारायणगोपाल र अरुणा लामाको स्वर रहेको उल्लिखित गीत पनि नेपाली जनमनमा लोकप्रिय गीत हो। जसले प्रतीकात्मक रूपमा प्रेम प्रत्याशा गरेको पाइन्छ। प्रेम प्रणयमै आधारित अर्को गीत हो, सन्तान चलचित्रको ‘हिमाललाई साक्षी राखी, दुईटा मुटु एउटै पारी’। किरण खरेल/प्रेमविनोद नन्दन लिखित तथा मनोहर सिंहले सङ्गीत भरेको गीतमा प्रकाश श्रेष्ठ र दीपा झाको स्वर छ।
नेपाली जातिको स्वाधीनता र चिनारी हिमालसँग जोडेर लेखिएको अर्को गीतले भन्छः
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।
रेडियो नेपालमा रेकर्ड भएको चर्चित गीतमध्येको एक हो यो। राष्ट्रकवि माधव घिमिरेले रचना गरेको गीतमा नातिकाजीको सङ्गीत र स्वर छ।
‘हिमालको चोखो हावामा हुर्केको मेरो जीवन’ (स्वरः कुमार सुब्बा), ‘कति राम्रो यो कञ्चनजंघा’ (स्वरः उषा मंगेशकर), ‘हिउँभन्दा चिसो’ (स्वरः डेनी डेन्जोङ्पा) जस्ता गीतले श्रोतालाई हिमाली भेगमा पुर्याउँछन्।
उदितनारायण झाले गाएको एउटा गीत नेपालमा प्रसारण गर्न बन्देज लगाइएको थियो। गीतका शब्द थिएः ‘हिमाल जलेर ज्वाला भएछ, आशाहरू सब खाक भएछ’। कालीप्रसाद रिजालको रचना, आलोकश्रीको सङ्गीत र रामकृष्ण ढकालको स्वर रहेको राष्ट्रभावले ओतप्रोत गीत पनि निकै रुचाइन्छः
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस्।
नेपाली गीतहरूमा हिमाल शब्दको प्रयोग वा हिमालको स्तुति र प्रशंसा गीतको शीर्ष भागमा मात्र होइन, पहिलो वा दोस्रो या त्यसपछिको चरणमा पनि देखिन्छ। यस्तो गीतको सूचीमा उदय-मनिला सोताङद्वारा स्वरबद्ध र दिव्य खालिङको रचना तथा सङ्गीत रहेको गीत राख्न सकिन्छ। यस गीतको स्थायीको फेद-फुँदामा हिमालको गाथा छः
मेरो हिमाललाई देखे जति सलाम
मेरो पहाडलाई भेटे जति सलाम।
प्रकृतिको छटादेखि देशभक्तिको गाथासम्म
हिमालबारे लेखिएका गीत लोकलयका साथै आधुनिक भाकामा आधारित छन्। यी गीतमा हिमालको सौन्दर्य र हिमाली भेगको सुवास मात्र बयान गरिएको छैन, भ्रातृत्व भावना र देशभक्तिको गाथा पनि गाइएको छ।
‘हिमाल झल्क्यो सुन जस्तो फूलै फुल्यो हाँसेर’ (रचनाः श्यामदास वैष्णव, स्वर/सङ्गीत पीएल श्रेष्ठ), ‘हिमाल काखमा सौन्दर्यपूर्ण सुन उदायो’ (स्वरः कोइलीदेवी), ‘यति दिनको झरीपछि बल्ल हिमाल खुल्यो’ (रचनाः राष्ट्रकवि माधव घिमिरे, स्वरः अरुण कार्की), ‘हिमालमा लालीगुराँस फुल्यो है’ (स्वरः उज्ज्वल जीसी), ‘हिमाल चुली नि त्यो पल्लापट्टि बज्यो मुराली’ (स्वरः अञ्जना उप्रेती), ‘हिमालको काखमा मेरो प्यारो गाउँ छ’ (स्वरः अञ्जु पन्त), ‘हिमाल राम्रो हिउँले, बेंसी राम्रो धानैले’ (स्वरः झुमा लिम्बू र सुसन सामसोङ), ‘तिमीलाई देखेर हिमाल हाँसेको’ (स्वरः राजु लामा) लगायत भाकाले हिमाललाई आलोकित गरेका छन्। यी बाहेक पनि हिमालको महिमा गाउने गीतहरू प्रशस्त छन्।
हिमाल मार्फत देशको गौरवगाथा तथा जातीय सद्भावको जय गान गाइएका गीत पनि उत्तिकै छन्। ‘उच्च छ हाम्रो हिमाल, काखैमा हाम्रो नेपाल’ (स्वरः ज्ञानमाया र खिममाया तिलिजा), ‘हिमाल पहाड तराई, कोही छैन पराई’ (स्वरः भोजराज प्रसाईं), ‘हिमाल पहाड तराई, हामी सबै नेपाली कोही छैन पराई’ (स्वरः सागर अधिकारी), माथि उल्लिखित ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ लगायत गीतले देशभक्ति र राष्ट्रिय एकताको बिगुल फुकेका छन्। कुनै समय कक्षा ८ को कक्षागत गीत राखिएको तथा रचनाकार नखुलेको ‘हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ’ बोलको गीतले पनि राष्ट्रिय भावना जागरणको सन्देश बोकेको थियो।
‘हिमाल चुली पल्लोपट्टि गाई मरेको सिनो, फूल दिए ओइली जाला औंठी लैजाऊ चिनो’, ‘ए हिमाल हावा ए सुरिलो भाका सान्नानी’ (स्वरः मनोहरि थापा र शम्भु राई), ‘हिमाल चुली ए ठूली भनिदेऊ न कुरा मन खोली’ (स्वरः शम्भु गुरुङ) आदि लोकभाका हिमालकेन्द्रित पाइनुले नेपाली समाज नै हिमालसँग मोहित देखिन्छ। यसले हिमाल नेपाली सम्पदा र संस्कृतिका साथै नेपालीको आस्था रहेको दृष्टान्त दिँदै नेपालीजनको हृदयमा हिमाल रहेको देखाउँछ।
माथि उल्लिखित सबै गीतको स्रोत रेडियो नेपालको अडियो लाइब्रेरी हो- लेखक।
(मुकारुङ सङ्गीतकार एवम् सङ्गीत अध्येता हुन्। हिमालको २०७९ पुस अंकबाट।)