कुख्यात शोभराजको अपराध यात्रा
![कुख्यात शोभराजको अपराध यात्रा](https://www.himalkhabar.com/uploads/posts/800X600/shovraj_1671764300.jpg)
रोग र बढ्दो उमेरले गल्दै गएका सिरियल किलर उपनामले कुख्यात चार्ल्स शोभराजलाई सर्वोच्च अदालतले पाँच प्रतिशत सजाय छूट दिई थुनामुक्त गर्न आदेश दिएको छ। बुढ्यौली र रोगले गालेको शोभराजको आपराधिक मनस्थिति पनि अब चाहिं गल्ला कि?
सर्वोच्च अदालतले सिरियल किलर उपनामले कुख्यात चार्ल्स शोभराजलाई छोड्न आदेश दिएको भोलिपल्ट बिहीबार जगन्नाथदेवल जेलभित्र र बाहिरको दृश्य अरू वेलाभन्दा भिन्न थियो। शोभराजका पक्षमा लडेका वकीलहरू कोही कारागारतिर लागे भने कोही अदालतबाट थुनामुक्तको कागजात लिन दौडिए। अपराध जगत्का कुख्यात व्यक्तिलाई सामुन्ने हेर्ने चाहनाले होला शायद सर्वसाधारणको आउजाउ पनि बाक्लै थियो।
“यति ठूलो मान्छे जेलबाट छुट्न लागेको छ, भोलि केही तलमाथि भए बबाल हुन्छ,” ठट्यौलो शैलीमा शोभराजका वकील गोपाल शिवाकोटी ‘चिन्तन’ ले भने, “त्यही भएर कारागार, अदालततिर कागजात मिलाउन दौडादौड छ।”
दिनभरको दौडादौडका बावजूद पनि शोभराज छुटेनन्। शुक्रबार भने छुट्ने जेलर ईश्वरीराज पाण्डेले बताए। असल चालचलनयुक्त ६५ वर्ष पुगेका कैदीले तोकिएको सजायमा ७५ प्रतिशतसम्म सजाय छूट पाउने कानूनी व्यवस्था छ। यही व्यवस्था दिलाउन सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले आदेश दिएपछि १९ वर्षदेखि जेलमा रहेका शोभराज मुक्त हुन लागेका हुन्। उनले चाहेमा १५ दिनभित्र आफ्नो मुलुक पठाउन पनि अदालतले भनेको छ।
आधा जुनी जेलमा
७८ वर्षीय शोभराजको झण्डै आधाउधी जुनी जेलमै बित्यो। बिकिनी किलरका नामले समेत कुख्यात उनलाई भारतमा २१ र नेपालमा २० वर्ष कैद तोकिएको थियो। भारतको तिहाड जेलमा १० वर्ष बसेपछि उनी भागेका थिए। आफ्नो जन्मदिनको पार्टीमा शोभराजले जेलका सुरक्षाकर्मीलाई पनि बोलाएका थिए। पार्टीको खानेकुरामा निद्रा लाग्ने दबाई छर्किएको थियो। खानेकुरा खाने सबै अचेत बनेपछि शोभराज भागेका थिए। तर‚ त्यसपछि उनी फेरि पक्राउ पेरर सजाय काटेर निस्किएका थिए।
शोभराजलाई २० जनाभन्दा बढीको हत्या अभियोग लागे पनि मुद्दा चलेर ठहर भएको चाहिं नेपाल र भारतमा मात्र हो। उनले नेपाल र भारत सहित फ्रान्स, टर्की, ग्रीस, इरान, अफगानिस्तान, पाकिस्तान, थाइल्यान्ड, मलेशियामा अपराध गरेको अभिलेख छ।
भेष बदल्ने, पहिलो भेटमै अरूलाई सहजै प्रभावित पार्ने खूबीका लागि शोभराजको ख्याति छ। जसको हत्या गरेको हो उसैका कागजात प्रयोग गरेर उनी हिंडडुल गर्थे। शोभराजमाथि सन् १९७५ मा नेपालमा क्यानाडेली नागरिक लरेन्ट क्यारियरे र अमेरिकी नागरिक कोनी ब्रोन्जीको हत्या गरेको आरोप थियो। यी दुवैको शव फरक फरक स्थानमा भेटिएको थियो। नेपाल आएका वेला शोभराजलाई यही हत्या अभियोगमा २०६० असोज २ गते प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्दा प्रहरी नायब उपरीक्षक (डीएसपी) रहेका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीका अनुसार‚ ब्रोन्जीको हत्यापछि शोभराज ब्रोन्जीकै पासपोर्टमा आफ्नो फोटो टाँसेर पर्सिपल्ट नै थाइल्यान्ड उडेका थिए। थाइल्यान्ड पुगेको भोलिपल्ट फेरि नेपाल आएका थिए। “ब्रोन्जीको हत्या उसकै केटा साथी लरेन्टले गरेको देखाउन उसले यो आउजाउ गरेको हो,” उनले भने।
![](https://www.himalkhabar.com/uploads/editor/Crime/shovraj_2.jpg)
शोभराजको ‘क्राइम करिअर’
भियतनामी आमा र भारतीय बुबाका सन्तान शोभराज सन् १९४४ मा भियतनामको साइगनमा जन्मिएका हुन्। तर‚ शोभराजका बुबा-आमाले विवाह नगरेकाले कानूनी रूपमा उनको पितृत्व अज्ञात नै रह्यो। आमाले पछि फ्रान्सेली सैनिकसँग विवाह गरिन् र शोभराज पनि सँगै फ्रान्स गए। साइगन फ्रान्सकै उपनिवेश भएकाले शोभराजले फ्रान्सको नागरिक बन्ने हकदार राखे।
सीएनएनका अनुसार, शोभराजको आपराधिक जीवन फ्रान्सबाटै शुरू भएको हो। सन् १९६३ मा उनी पेरिसमा डकैती गरेको आरोपमा जेल परे। तीन वर्ष जेल सजाय भोगेर निस्किएका शोभराज सन् १९६९ मा कार चोरीको आरोपमा फेरि जेलमा फर्किए। सन् १९७२ मा भने पाकिस्तानमा एक ट्याक्सी ड्राइभरको हत्या गरेको घटनामा उनी मुछिए। त्यही वर्ष अफगानिस्तानमा चोरी मुद्दामा जेल बसे। तर‚ बिरामी भएको बहानामा र सुरक्षाकर्मीलाई लठ्याउने औषधि दिएर उनी भाग्न सफल भए। सोही वर्ष शोभराज इरानमा १२ महीना जेल बसे। सन् १९७३ मा हतियार चोरीको अभियोगमा भारतमा पक्राउ परे। तर‚ बिरामी भएको बहानामा जेल छल्न सफल भए।
सन् १९७५ मा भने शोभराजको अपराध कर्म बाक्लियो। ग्रीसको एथेन्समा चोरी आरोपमा पक्राउ परेका उनी कैदीहरूको गाडीमा आगो लगाएर भाग्न सफल भए। त्यसपछि सोही वर्ष थाइल्यान्डमा कम्तीमा ६ जनाको हत्यामा संलग्न भएको आरोप लाग्यो भने नेपालमा दुई जनाको हत्या गरे। थाइल्यान्डको घटनामा मुद्दा चले पनि २० वर्षसम्म सुनुवाइका लागि अदालत उपस्थित नभएपछि हदम्यादका कारण मुद्दा अगाडि बढेन। नेपालको घटनामा चाहिं दोषी ठहरिए, तर निकै पछि मात्र समातिए।
सन् १९७६ मा भारतमा दुई जनाको हत्या र चोरी गरेको दुई अभियोगमा समातिए। अदालतले शोभराजलाई १२ वर्ष कैद सजाय सुनायो। तर‚ थाइल्यान्ड सुपुर्दगी हुने त्रासले शोभराज सन् १९८६ मा जेलबाटै भागे। उनी गोवाबाट फेरि पक्राउ परे र उनको कैद अवधि थपियो। कैद सजाय भोगेर अन्ततः सन् १९९७ मा शोभराज तिहाड जेलबाट छुटेर आफ्नै मुलुक फ्रान्स फर्किए।
तर‚ सन् २००३ मा नेपाल आएको वेला २८ वर्ष पुरानो हत्याको घटनामा संलग्न भएको आरोपमा पक्राउ परे। यही घटनामा शोभराजलाई नेपालको अदालतले २० वर्ष कैद सजाय तोकको थियो। नेपालमा शोभराज विरुद्ध दुई वटा हत्या, जाली राहदानी, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर दोषी ठहर्याएको थियो।
बारम्बार जेलबाट छुट्ने प्रयास
शोभराज नेपालमा रोयल क्यासिनोबाट पक्राउ परेका थिए। प्रहरीलाई नै उनले आफूलाई गैरकानूनी रूपमा पक्राउ गरेको भन्दै चर्को स्वरमा हप्काएका थिए। आफू पहिलो पटक नेपाल आएकाले पहिलेको घटनामा आफू जोडिने सम्भावनै नरहेको भन्दै छोडिदिन जिद्दी गरेका थिए। जाली राहदानी प्रयोग गरेको अभियोगमा केही समय ‘होल्ड’ गरेपछि उनलाई हत्या अभियोग लगाइएको थियो।
“प्रहरी कार्यालयमा ल्याएर जति सोधपुछ गरे पनि उसले आफ्नो अपराध स्विकारेको थिएन,” पूर्व डीआईजी केसी भन्छन्, “तर‚ हामीसँग उनी नेपाल आएको र गएको तथा हत्या गरिएका दुई जनासँग भेटेको प्रमाण थिए।”
आजित भएपछि आफूले शोभराजलाई अपराध गरेकाहरूले नेपालको धर्ती टेकेपछि कोही उम्कन सक्दैनन् भन्ने धार्मिक विश्वास रहेकाले बरु अपराध कबोल गर्न सम्झाएको पनि केसी सुनाउँछन्। नभन्दै अदालतले शोभराजलाई २० वर्षको कैद सजाय सुनायो। “पछि पनि म कारागारमा धेरै पटक उसलाई भेट्न गएँ। हामीबीच व्यावसायिक बाहेक तीतामीठा कुरा पनि हुन्थे,” केसी सम्झन्छन्, “नेपाल धर्तीमा अपराधीले टेकेपछि सजाय भोग्छ भन्दा नपत्याएको होइन। अहिले कस्तो लागिरहेछ त भनेर सोधेको थिएँ। उनी फिस्स हाँसे मात्र।”
शोभराजले कानूनी छिद्र प्रयोग गरेर हुन्छ कि अनधिकृत रूपमा जसरी पनि जेलबाट निस्कन खोजेका थिए। बन्दी प्रत्यक्षीकरणको मुद्दा मार्फत दिएको रिटमा भने उनको यो चाहना पूरा भयो। त्यसअघि पनि आफू बूढो भएको भन्दै यो सुविधा पाउन रिट हालेका थिए। तर‚ अदालतले नेपाली नागरिकले मात्र उक्त सुविधा पाउने भन्दै अस्वीकार गरेको थियो।
![](https://www.himalkhabar.com/uploads/editor/Crime/shovraj_1.jpg)
उनले जेलभित्रैबाट बाहिर सम्पर्क गरेर भाग्ने योजना पनि बनाएका थिए। त्यसका लागि मोबाइल लगायतका केही विद्युतीय सामग्री शोभराजकहाँ पुगेको थियो। तर‚ यसको सूचना पाएर प्रशासनले ‘गोलघर’ मा कैद गरेको थियो। गोलघर खुँखार र जेलभित्र कठोर चालचलन देखाउने कैदीलाई थुनिन्छ। युनुस अन्सारीको हत्या प्रयासको आरोपमा जेल पुगेका भारतीय शूटर मनमित सिंहसँग पनि शोभराजले दोस्ती बनाएका थिए। जेलबाट भाग्न उनीहरूले योजना बनाएको प्रहरीको अनुमान छ।
शोभराजले आफूभन्दा निकै कम उमेरकी निहिता विश्वाससँग जेलभित्रै विवाह समेत गरेका थिए। निहिताकी आमा शकुन्तला थापा शोभराजको पक्षमा वकालत गर्ने कानून व्यवसायी हुन्। पछि निहिता समेत वकील बनेर शोभराजको पक्षमा मुद्दा लडिन्।
जेलमै रहेका वेला शोभराजको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको अपरेशन भएको थियो, अदालतको स्वीकृतिमा। ६ किसिमका औषधि खाइरहेको र उमेरका कारण अशक्त बन्दै गएकाले सर्वोच्च अदालतले पाँच प्रतिशत सजाय छूट दिएको छ। बुढ्यौली र रोगले गालेको शोभराजको आपराधिक मनस्थिति पनि अब चाहिं गल्ला कि?