फोहोर जलाउँदा निस्किने धुवाँ निमोनिया र क्यान्सरकाे कारक
जाडो बढेसँगै फोहोर तथा कृषि अवशेष भेला गरी जलाएर आगो ताप्ने गरेको देखिन्छ। तर‚ यसबाट आउने धुवाँ धूमपान गरे जत्तिकै हानिकारक छ भन्ने सबैलाई थाहा नहुन सक्छ।
काठमाडौं महानगरपालिकाले गत कात्तिक २५ गते फोहोर नजलाउन सूचना जारी गर्यो। टोल टोलमा माइकिङ गर्दै फोहोर नजलाउन आग्रह गर्दै आएको महानगर वातावरण विभाग प्रमुख सरिता राई बताउँछिन्। तर, काठमाडौंमा जताततै फाेहाेर जलाएकाे देखिन्छ।
प्रदूषणविज्ञ डा. भूपेन्द्र दासले सन् २०१८ मा गरेको एक अध्ययनले काठमाडौंमा प्रति दिन २० टन फोहोर जलाइने देखाएको छ। यस हिसाबले वर्षको ७३ सय टन फोहोर जलाइन्छ। जसले व्यापक प्रदूषण बढाएको छ। उनकै सन् २०२० को अर्को अध्ययनले काठमाडौं उपत्यकामा वार्षिक ४५ हजार टन कृषि अवशेष जलाएको देखाएको छ। डा. दासका अनुसार‚ उत्पादन भएको कुल फोहोरको तीन प्रतिशत जलाउने गरिन्छ।
छातीरोग विशेषज्ञ डा. नीरज बम फोहोर लगायत हानिकारक वस्तु बाल्दा निस्किने धुवाँ धूमपान गर्दा जत्तिकै हानिकारक हुने बताउँछन्। जाडो याममा आगो ताप्न जलाइने वस्तुबाट निस्किने धुवाँका कारण छाती दुख्ने, छाती घ्यारघ्यार हुने, रुघाखोकी र निमोनिया बढेर आउने बिरामी धेरै हुने उनको भनाइ छ। ती बिरामीमध्ये दीर्घरोगी र ज्येष्ठ नागरिक धेरै हुन्छन्।
“फोहोर लगायत हानिकारक चिज बालेर ताप्दा चुरोटमा पाइने जस्तै निकोटिन, कालो कार्बन तथा क्यान्सर गराउने सक्ने धुवाँ श्वासनलीमा जान्छ,” उनी भन्छन्‚ “यसले दम‚ निमोनिया‚ क्यान्सर समेत गराउँछ।”
त्यस्ता वस्तु जलाएर आगो ताप्दा छाला चिलाउने, फुस्रो हुने, अनुहार चाउरी पर्ने, कपाल झर्ने, आँखा चिलाउने लगायत विभिन्न खालका एलर्जी समेत हुने डा. बम बताउँछन्। साथै, धुवाँ भएको ठाउँमा धेरै समय बस्दा दम जस्तो नसर्ने दीर्घरोग बढिरहेको छ। कर्णाली जस्तो खुला क्षेत्रमा धुवाँका कारण घरभित्र बस्ने महिलाहरूमा दम रोग अत्यधिक देखिएको छ।
“धुवाँले थुक रहने श्वासनलीको भित्री भाग सुक्खा गर्दिन्छ। नाकमा इरिटेशन हुन्छ। एलर्जी हुने, खोकी लाग्ने, एलर्जीबाट हुने दम, ब्रोङक्राइटिस्, रुघाखोकी लाग्ने हुन्छ‚” डा. बम भन्छन्‚ “लामो समय धुवाँमा बस्दा निमोनिया हुन्छ। यस्तै‚ फोक्सोमा दाग हुने, श्वासप्रश्वासमा समस्या आई फोक्सोले अक्सिजन समेत कम लिने समस्या हुन्छ।”
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी आगो ताप्न जलाइएको वस्तुबाट निस्किने धुवाँले दीर्घरोग मात्र नभई तत्काल असर गरी मानिसको ज्यान समेत जाने गरेको बताउँछन्। उनले सन् २०१५ मा गरेको एक अध्ययनले घरभित्र आगो बालेर बस्दा निसासिएर वार्षिक १०० जनाभन्दा बढी मानिसले ज्यान गुमाएको देखाएको छ। पछिल्लो समय बनाइएका घरमा धुवाँ सजिलै बाहिर नजाने भएकाले त्यस्ता घटना हुने गरेको मरासिनीको भनाइ छ।
“पहिले खरले छाएका घर थिए, चराका लागि बस्ने प्वालहरू हुन्थे, धुवाँ बाहिर जान्थ्यो‚” उनी भन्छन्‚ “अहिले आधुनिक घरबाट धुवाँ बाहिर जान सक्दैन, लामो समय घरभित्रै हुन्छ।”
चिसो मौसममा आगो बाल्दा निस्किने धुवाँ माथि गएर फैलिन नपाई त्यहीं वरपर रहने भएकाले घातक हुने त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागका प्रमुख डा. रेजिना मास्के बताउँछिन्। “धुवाँको कणलाई चिसोले जमाउँछ। त्यसैले दिउँसोभन्दा बिहान, राति आगो बाल्नु झन् खतरनाक हुन्छ‚” उनी भन्छिन्।
प्रदूषणको कारक
चिसो बढेसँगै चोक तथा घरमा दाउरा तथा बल्ने वस्तु बालेर आगो ताप्न थालिएको छ। यसले प्रदूषण बढाइरहेको छ। यस्तै‚ मल हुन्छ भनेर झारपात‚ कृषि अवशेष (पराल, गहुँको छ्वाली, मकैको ढोड, भुस, खेतबालीबाट आउने फोहोर) जलाउने चलन छ। सफाइ गर्न धेरै समय र जनशक्ति चाहिने भएकाले पनि फोहोर बाल्ने गरिन्छ।
काठमाडौं जस्तो खुला कम भएको ठाउँमा आगो बाल्दा निस्कने धुवाँले धेरै असर गर्ने डा. मास्के बताउँछिन्। डा. मास्केका अनुसार‚ एक किलो दाउरा बाल्दा झण्डै १०० ग्राम पार्टिकुलेट्स (खुला आँखाले देख्न नसकिने हानिकारक कण जुन फोक्सोसम्म पुग्छ) निस्किन्छ।
“मानिसहरू पहिलाको सोचले आगो बालिरहेका छन्, अरू विकल्प पनि छैन। तर, यो गम्भीर समस्या हो‚” उनी भन्छिन्‚ “पहिला पो बस्ती कम, खुला ठाउँ धेरै थियो। पानी सफा हुन्थ्यो। हरियाली बढी थियो। गाडीहरू धेरै थिएनन्। आगो बाले पनि त्यसबाट निस्किने धुवाँ अब्जर्भ हुन्थ्यो, छरिएर जान्थ्यो।”
प्रदूषणविज्ञ डा. भूपेन्द्र दास फोहोरमैलाभन्दा फोहोरमैला जलाउँदा निस्किने धुवाँ सय गुणा घातक हुने बताउँछन्। यस्तै‚ दाउरा बाल्दा पनि अत्यधिक कार्बनडाइअक्साइड निस्कने उनको भनाइ छ। त्यसैले जाडो याममा सकभर हिटर बाल्ने, सिरकमा बस्ने, न्यानो लुगा लगाउनु उत्तम विकल्प रहेको उनी बताउँछन्।
“फोहोर बाल्दा कार्बोफोरान भन्ने क्यान्सर गराउने हानिकारक धुवाँ निस्कन्छ। त्यस बाहेक अरू पार्टिकुलेट चीज, जस्तो- कालो कार्बन‚ पिएम २.५ भनिने धुवाँ निस्कन्छ,” डा. दास भन्छन्‚ “जुन हजारौं प्रदूषणका तत्त्व मिलेर बनेको हुन्छ। यो धेरै खतरनाक हुन्छ। यसले मानिसको स्वास्थ्यका साथै ग्लोबल वार्मिङ, भिजिबिलिटीमा पनि असर गर्छ।”
५० हजार जरिवाना
वातावरण संरक्षण ऐन, २०७६ ले वातावरणमा ह्रास आउने गरी निष्कासन गरिएको तरल, ठोस, ग्यास, लेदो, धुवाँ, धूलो, विकिरणयुक्त पदार्थ वा त्यस्तै प्रकारका वस्तुहरूलाई हानिकारक मानेको छ।
त्यस्तै, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरमैलाबाट निस्कने ठोस, तरल वा ग्यास वस्तुको संयोजनबाट वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पारी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पुर्याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानिनोक्सानी पुर्याउने क्रियाकलापलाई प्रदूषण मानेको छ।
काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ मा पनि मापदण्ड विपरीत वायु प्रदूषण हुने गरी धुवाँ, धूलो, ग्यास आदि उत्सर्जन गर्न गराउन नहुने उल्लेख छ। जथाभावी फोहोरमैला गर्नेलाई पहिलो पटक भए पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ जरिवाना हुने ऐनमा व्यवस्था छ।
कानूनले बर्जित गरे पनि मापदण्ड विपरीत फोहोर जलाउने काम भइरहेको छ। यसको अनुगमन तथा रोक लगाइएको छैन। “हानिकारक फोहोर बाल्नेलाई पाँच हजार जरिवाना तोकिएको छ, तर कतिलाई आगो बाल्न नहुने भन्ने थाहा नै छैन,” महानगर वातावरण विभाग प्रमुख सरिता राई भन्छिन्‚ “त्यसैले अहिले सम्झाइबुझाइ गर्ने, सचेत गराउने कार्यक्रम छ।”
काठमाडौं उपत्यकाको खोला किनारामा बसोबास गर्नेहरूले अत्यधिक फोहोर जलाउने गरेको वातावरण विभाग प्रमुख राई बताउँछिन्। त्यस्तै‚ फोहोर सङ्कलकहरूले पनि ढुवानी खर्च जोगाउन सङ्कलित फोहोर जलाउने गर्छन्। चिसो याममा हावाको बहाव कम हुने भएकाले धुवाँ माथि नगई मानिसको उचाइसम्म थिग्रिएर बस्ने, यही याममा पानी नपर्ने, धुवाँधूलो बढी उड्ने गर्छ। त्यसैले यस्तो याममा फोहोर नजलाउन आग्रह गर्दै आएको राईको भनाइ छ।
फोहोर नजलाउने हो भने काठमाडौंमा वायु प्रदूषण घट्ने त्रिवि वातावरण केन्द्रीय विभागका प्रमुख डा. मास्के बताउँछिन्। दाउरा, भुस, घाँसपात लगायत बल्ने वस्तुलाई नजलाई कुहाउने वा ब्रिकेट बनाउन सकिने उनको सुझाव छ।