डराएको पत्रकारले मृत नागरिक जन्माउँछ

कानूनको आडमा अधिकारहरू हनन हुँदै गइरहेका छन्। अभिव्यक्ति स्वतन्त्रतामा करौंती लगाइँदै छ। किन त भन्दा साराका सारा अवैध कामलाई वैध देखाउन सकियोस्।
भारतको पत्रकारितामा स्वर्ण युग त कहिल्यै थिएन। तर, आजको जस्तो भष्म युग पनि थिएन। भष्म युग भन्नाले त्यो युग जहाँ हरेक राम्रा कुरालाई तेज गतिमा भष्म गरिँदै छ।
देशमा विभिन्न नामका अनेकौं च्यानल छन्। तर, जति पनि छन्, ती सबै गोदी मिडिया नै छन्। तिनको परिवेश, पर्यावरिणीय चक्रमा पत्रकारितालाई भष्म पारिसकिएको छ।
हुन त ती सबैले पत्रकारिता गरिरहेको दाबी गरिरहेका छन्, विषेशगरी तिनले जो सत्ताको हिस्सा मानिएका छन्। तिनैले यो देशको पत्रकारितालाई हरेक दिन कुल्चिँदै गइरहेका छन्।
आफूहरूले उच्च स्तरको पत्रकारिता गर्न चाहेको उनीहरूको भनाइमा हामीले सन्देह गर्नुपर्ने हुन्छ। गोदी मिडिया र सरकार पनि पत्रकारिताका ‘आफ्नो अर्थ’ तपाईं-हामीमाझ लाद्न चाहन्छन्। यसको अर्थ हो, तपाईं-हामीलाई कुनै न कुनै रुपमा झुक्याउँछन्।
म आफूले काम गरेको संस्था (एनडीटीभी) बारे अहिले केही भन्न चाहन्न। किनभने भावुक भएको वेलामा तपाईं तटस्थ हुन सक्नुहुन्न। मैले एनडीटीभीमा २७ वर्ष बिताएँ। यो यात्रामा उतार चढाव आए। यो यात्रामा वरिष्ठ, कनिष्ठ अनेकौं सहकर्मी सामेल छन्। कयौंले साथ दिएका छन्। यी अनुभवबारे कहिले पनि वस्तुनिष्ठ हुन सक्दिनँ, आज त झनै सक्दिनँ। तथ्य भावनासँग एकाकार हुन पुग्छ र भावनाको आँधीमा तथ्य कता पुग्छन्, कता। यसलाई यत्तिमै छोडौं।
मैलै एनडीटीभीमा कयौं स्मरणीय क्षण बिताएको छु। धेरै वरिष्ठलाई स्मरण गर्न चाहन्छु। उनीहरूसँगको हिमचिमका क्षण अब साथीहरूबीच कुराकानी गर्दा सुन्ने-सुनाउने मसला हुनेछन्। आज मलाई एक जनाको नाम लिन गाह्रो छ, जबकि पेशागत जीवनमा धेरै जनासँग सहकार्य भएको हुन्छ। अनि त्यस्तो वेला कसरी एक जनाको मात्र नाम लिन सकिन्छ?
मलाई के थाहा छ भने मेरा पूर्व सहकर्मी र हालका सहकर्मीले ममा आफ्नो हिस्सा देख्थे। उनीहरू सही छन्। मैले सबैबाट केही न केही सिकेकै छु। म उनीहरू सबैप्रति आभारी छु। यो वेला म सबैको मुहारमा सौहाद्रता मात्र देखिरहेको छु। ती सबैले मलाई समृद्ध हुन मद्दत गरेका छन्।
बिदाइ भएर गएकी चेलीले पर पुग्दासम्म पनि माइतीलाई फर्कीफर्की हेरेजस्तै भएको छु। मलाई फर्कीफर्की हेर्ने अनुमति दिनुहोला। पछि कुनै दिन एनडीटीभीबारे विस्तारमा कुरा गरौंला। एनडीटीभीबारे, त्यहाँ काम गर्ने मान्छेबारे, डा. प्रणय रोय र राधिका रोय (एनडीटीभीका संस्थापक) बारेमा।
म कयौं व्यक्तिको प्रतिक्रिया पढिरहेको थिएँ। कति कुरा त आज मात्र मैले थाहा पाएँ। म चकित परें, कयौं व्यक्तिसँग एनडीटीभीबारे आफ्नै किस्सा छन्। त्यसैले पनि मैले बिताएका २७ वर्षबारे एकचित्त भएर समीक्षा गर्न आवश्यक छ।
एनडीटीभीले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो- टीभी भनेको टिम हो। टीभी एङ्करहरू स्टार बन्ने क्रमसँगै यो कुरा छायाँमा परे पनि सत्य के हो भने जति राम्रो टिम बन्यो, त्यति नै राम्रो काम गर्न सकिन्छ।
म सन् १९९६ अगस्तमा एनडीटीभीसँग औपचारिक रुपमा जोडिएको थिएँ। शुरूआतमा अनुवादकको भूमिकामा थिएँ। तर, त्यसको कयौं महीना अघिसम्म मैले पाठकपत्र छनोटको काम गरेँ। ती दिन दर्शकले चिठी लेखी पठाउँथे। देशभरका दर्शकले आफ्नै हातले लेखी पठाएका चिठी बोराका बोरा आउँथे। उनीहरू बेग्लाबेग्लै उद्घोषकलाई सम्बोधन गरेर चिठी पठाउँथे। मेरो काम ती चिठी छाँट्ने र तिनको सन्दर्भ सम्बन्धित कार्यक्रम निर्मातालाई पेश गर्ने हुन्थ्यो।
यसरी श्रोताका चिठी छान्दाछान्दा मैले श्रोताहरू टेलिभिजन कार्यक्रममा रत्तिरहेको बुझ्न पाएँ। मेरो त्यो काम अहिले पनि जारी छ। तपाईंहरूका सयौं मेसेज र हातले लेखी पठाएका चिठी पढ्छु। सबैको नभए पनि धेरैभन्दा धेरैको प्रतिक्रियालाई उत्तर दिने कोसिस पनि गर्छु। कतिपय अवस्थामा म आफ्ना निरासालाई तपाईंहरूमाझ भनिरहेको हुुन्छु।
म तपाईंका अघि उभिएर आफ्नो मनको भाव लुकाउँदिन। यदि त्यसो गरियो भने भनिएको कुरा अपूरो हुन्छ। मलाई लाग्छ, हजारौं दर्शकहरूसँग उनीहरूको प्रतिक्रियामा मैले फर्काएको उत्तर सुरक्षित होला। अहिले त औंलामा समस्या हुन थालेकाले जवाफ फर्काउन कम गरेको छु, बन्दै त गरेको छैन। हेरी ल्याउँदा जसरी चिठीका माध्यम एनडीटीभीमा मेरो प्रवेश भयो, त्यो क्रम आज पनि जारी छ। आगामी दिनमा पनि जारी रहनेछ।
यति धेरै जवाफ, सुझाव, अपेक्षा, गुनासो र गाली पनि आउँदा मेरो सुत्ने, उठ्ने, बाँच्ने क्रम नै यहाँहरूकै अपेक्षामा हुँदै गयो। म आफैंसँग रहिनँ। म तपाईंहरूबीच पुगें। त्यहाँ पुगेपछि मैले घर फर्कर्नै बिर्सें। आज मलाई कस्तो भइरहेछ भने चराले आफ्नो गुँड नदेखेको जस्तो भइरहेकोछ। उसको गुँड त अरू कसैले लगिदिएछ। आफ्नो गुँड खोज्दाखोज्दा थाकेको चराले खुला आकाश देखिरहेको छ।
यसरी चिठी छान्ने कामपछि म एनडीटीभीमा अनुवादक बनेँ। मैले धेरै पत्रकारका रिपोर्ट अंग्रेजीबाट हिन्दीमा अनुवाद गरेँ। म रिर्पोटर बनेपछि दैनिक रिपोर्ट बनाउनुपर्ने नयाँ यात्रा शुरू भयो। ‘रविसके रिपोर्ट’ बाट मैले धेरै कुरा सिक्ने मौका पाएँ। अनि समय क्रममा चिठी छान्ने व्यक्ति एनडीटीभीको ‘ग्रुप एडिटर’सम्म बनेँ। र, आज त्यो पदलाई पनि छोडेको छु।
यसै पनि धेरै शक्ति मेरा पछि लागिरहेकै थिए। एक दिन यो छोड्नुपर्छ भन्ने मेरो अनुमान थियो। तर, छोड्नै पर्दा त दुःख लाग्नु स्वभाविकै हो। म यहाँहरूलाई स्मरण गराउँ कि मेराबारे पछि मूल्याङ्कन गरिँदा मलाई चिठी छनोट गर्ने व्यक्तिका रुपमा सहानुभूति नराखियोस्। म ती व्यक्तिजस्तो होइन, जो अचानक चिया बेच्ने कुरा गरिरहेको छ, तर आफू भने हवाइजहाजबाट ओर्लिरहेको छ। कुरा गर्ने चिया बेचेको बारेमा अनि सयर गर्न हवाइजहाजमा। (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूले सानो छँदा चिया बेचेको बताउने गरेका छन्।)
स्मरण रहोस्, म सहानुभूती बटुल्न वा आफ्नो संघर्षलाई महान देखाउने प्रयास गरिरहेको छैन। यो देशमा हरेकका संघर्ष पहाडभन्दा कम छैन। एम्स अस्पताल अगाडि आफ्नो पालो कुरिरहेका बिरामी र तिनका आफन्तलाई भेट्दा हामीलाई आफ्नो चुनौती कति ठूलो रहेछ भन्ने अनुमान भइहाल्छ। त्यसको तुलनामा त तपाईं-हाम्रो दुःख कति सानो र तुच्छ देखिन्छ।
आज म दर्शकबारे मात्र बोल्छु। काम गर्ने क्रममा पछिल्ला केही वर्षमा सत्तामा बसेका व्यक्ति छिन्नभिन्न भएको देखियो। संस्थाहरू भष्म भएको देखियो। घृणाको आँधीले मानिसहरू तितरबितर भएको पनि देखियो। तर, मैले भने नयाँ संस्था बनिरहेको देखेँ। त्यो संस्था हो, जनताको संस्था। दर्शकहरूको संस्था। दर्शक नै आफैं संस्था बनेका छन्। त्यस्ता दर्शकको संख्या कम होला। तर, ती कम दर्शकहरूले जर्जर हुँदै गएको लोकतन्त्रमा जनता नामक संस्थाको विरुवालाई मर्नबाट जोगाउनु भएको छ।
एनडीटीभीमा मैलै पाएका अवसरलाई सकेसम्म उपयोग गरेँ। ती अवसरलाई मैले आफ्नो लागि मात्र उपयोग गरिनँ। मैले जहिल्यै के सोचें, यो अवसर मैले दर्शककै लागि पाएको हुँ। ती अवसरलाई मैले दर्शकका कहानीले भर्दै आएँ। म तपाईंहरूकै हुँदै आएँ। त्यसैले, तपाईंहरूको दाबी ममाथि अधिक छ।
दर्शककै कारण मेरो आसपास एउटा समाचार कक्ष बन्यो। सार्वजनिक समाचार कक्ष। जुन तपाईंको दिमागमा थियो। तपाईंको घरमा थियो। विश्वभर फैलिएका कयौं दर्शकले मलाई सहयोग गर्नुभएको छ। मलाई सहयोग गरेबापत पैसा पनि माग्नुभएन, आभारी पनि माग्नुभएन। मेरा हरेक कार्यक्रममा कुनै न कुनै दर्शकको योगदान छ।
मैले गल्ती गरेकोमा तपाईंहरूले गाली पनि गर्नुभएको छ। त्यो कमजोरी सच्याउन योगदान दिनुभएको छ। कयौं विज्ञ, कयौं विद्यार्थी, कयौं प्रवासी दर्शकले आफ्नो भूमिका पनि निर्वाह गर्दै मलाई साथ दिनुभएको छ। र, यो क्रममा मसँगै पत्रकार पनि बनिरहनु भएको थियो।
दर्शक बन्ने प्रक्रिया भत्किँदै गएको र पुनः बनिरहेको देख्नु मेरा लागि सुखद अनुभव रह्यो। स्रोत साधन सधैं नै कमी भइरहेको हुन्थ्यो। त्यो कमीलाई यहाँहरूले पूरा गरिदिनुभयो। कयौं दर्शकले मेरा लागि विभिन्न भाषा अनुवादमा सघाउनुभयो। मात्र यो ध्येयले कि ‘प्राइम टाइम’मा केही सामग्री बज्छ भने सही सही नै बजोस्, केही गल्ती नहोस्। त्यो ‘प्राइम टाइम’ मेरो होइन, तपाईंको थियो।
नराम्रो श्रृङ्खला प्रशारण हुँदा पनि तपाईंहरूले नराम्रो भयो भन्न हिच्कचाउनु भएन। तपाईंहरू सबै वास्तवमै गजबको हुनुहुन्छ, तपाईंहरू नै मेरो वास्वविक सम्पादक हुनुहुन्छ।
म प्रायः भन्ने गर्छु, एउटा रुख धेरै वर्षातको पानीमा भिजेको हुन्छ। तपाईंजस्तो दर्शकका कारणले नै मेरो अस्तित्व छ। हरेक मौसममा यहाँहरू वर्षात बनेर आउनुहुन्छ। सुकेको रुखलाई हराभरा बनाउनुहुन्छ।
तपाईंका कारणले गर्दा आज कति पत्रकार समाजिक सञ्जालमार्फत आफ्नो प्रस्तुति दिइरहेका छन्। तिनका पछाडि उभिनुभएको त तपाईंहरू नै हो। आज कति बेवसाइटलाई ‘सब्सक्रिप्सन’को नाउँमा आर्थिक सहायता दिनुहुन्छ।
जब लोकतन्त्रमा एउटा पनि संस्था देखा परेको थिएन। अदालत कमजोर भइरहेका थिए। त्यो वेला देखा परेको त तपाईंहरू नै हो। आजको युगमा पत्रकारिताको सबैभन्दा ठूलो संस्था नै तपाईंहरू हुनुहुन्छ। पत्रकारिता अब संस्थाहरूमा बाँचेकै छैन। बाँचेको छ भने तपाईंहरूकै माझमा बाँचेको छ। जसको सहयोगकै कारण आज पत्रकारले प्रश्न गर्न पाइरहेका छन्। यो सबै यहाँहरूले दिनुभएको सबैभन्दा ठूलो योगदान हो।
हुनसक्छ कसैले जनताको आवाजलाई पूरै कुल्चिने कोसिस गर्ला। जनताको आवाजमा धार्मिक घृणाको आँधी ल्याइदिने प्रयास पनि होला। लोकतन्त्रलाई मेट्ने प्रयास पनि होला। तर, यी सब बाहेक दर्शकको साथले हौसला दिन्छ। लोकतन्त्र बरू सिध्यिएला, तर लोकतन्त्रप्रतिको चाहना कहिल्यै पनि सकिनेछैन। त्यो किनभने तपाईंहरूजस्ता दर्शकले आफ्नो जवाफदेहीलाई गम्भीरतापूर्वक निर्वाह गरिरहनु भएको छ।
सबैले दिनुभएको साथका लागि तपाईंहरुप्रति आभारी छु। तपाईंहरूकै साथले मैले संस्थामा काम गर्ने स्वतन्त्रता पाएँ। त्यो स्वतन्त्रतलाई मैले सदा सम्हालेर राखेँ। ममा अहंकार नआओस्, मबाट गल्ती नहोस् भन्नेमासदा सचेत रहें। मलाई सचेत बनाउने काम यहाँहरूले नै गराउनु भएको हो।
आँखै अगाडि संसार बद्लिइरह्यो, म भने ‘टेस्ट म्याच’को खेलाडी जस्तै टिकिरहेँ। तर, अब त कसैले खेल नै समाप्त गरिदिएको छ। ‘टेस्ट म्याच’लाई ‘टी-२०’ मा रुपान्तरित गरिएको छ। जनतालाई सुका-मोहर ठान्ने जगतसेठ प्रत्येक देशमा हुन्छन्, यो देशमा पनि छन्। यदि तिनले तपाईंसम्म सही सूचना पुर्याउन चाहेको दाबी गर्छन् भने त्यसको अर्थ उनीहरू आफ्नो खल्तीमा डलर राखेर तपाईंको खल्तीमा सुका-मोहर राख्न चाहन्छन्।
पत्रकारले कुनै समाचार लेखेमा जगतसेठले मुद्दा दायर गर्छन्। र, सत्सगमा आएर आफूले पत्रकारिताको राम्रो चाहेको प्रवचन दिन्छन्। त्यसैले म आज तपाईंहरूलाई धेरै सम्झन चाहन्छु।
हिन्दी पत्रकारिताका धेरै पत्रकार तथा श्रेष्ठ सम्पादकको काम नियाली रहेको हुन्थे। उनीहरूको गहिराई ताज्जुब लाग्ने खालको हुन्थ्यो। उनीहरूको कुरा पाठकसम्म ठिक ढंगमा पुगेन भन्ने लाग्थ्यो। उनीहरूले आफ्नै पेशामा पनि पाउनुपर्ने जति ठाउँ पाएनन्।
पत्रकारिताको अर्थ अंग्रेजीको पत्रकार हुनु भएको छ। तर, मलाई सधैं के लागिरह्यो भने हिन्दीभाषी पत्रकारले किन आकाश छुन सक्दैन? यी सब कुराले मेरो व्यवहारमा परिवर्तन ल्यायो। भाषालाई संयमित गरेँ। मर्यादित बनाएँ। ताकि हिन्दीको प्रभाव कम नहोस्।
मेरो मातृभाषा भोजपुरी हो। भोजपुरी त मेरो लागि गाउँ सरह नै छ। हिन्दी मेरो लागि भाषाको त्यो शहर हो, जहाँ म पहिलो पटक गाउँबाट शहर आएँ। तर, हिन्दीका कारण मैले हरेक राज्यको दर्शकको माया पाउन सकेको छु। देशका विभिन्न प्रान्तको कुण्ठित राजनीतिले हिन्दीलाई हतियार बनाइदिएको छ। यसले हुन त केही भएन, कसैको भलाई भएन, कुण्ठा मात्र बढिरह्यो।
म ती सबै गैरहिन्दीभाषी पत्रकार, गैरसरकारी संस्थाका विद्वानप्रति आभार व्यक्त गर्न चाहन्छु जसले मेरो हिन्दीलाई समृद्ध बनाइदिए। मलाई अंग्रेजीभाषी पत्रकारले पनि आफ्नो हाराहारीकै सम्मान दिए। केहीले त्यसो गर्न सकेनन्, तर तिनको बारेमा के टिप्पणी गर्नु? जसले बराबरीको सम्मान दिए, उनीहरूप्रति आभारी छु। उनीहरू सबैले मेरो कामलाई धेरैभन्दा धेरै पाठक-श्रोतासम्म पुग्न मद्दत गरे।
मैले तपाईंहरूका माझ आएर सरकारलाई कसरी हेर्नुहुन्छ भन्ने बुझ्न पाएँ। मैले तपाईंहरूकै नजरबाट सरकारलाई हेर्न थालेँ। यसको कारक के हो भने तपाईंहरूको सक्रियतामै भारतको लोकतन्त्रको धुकधुकी छ।
साइनबाग र किसान आन्दोलनको जिद्दीमा मलाई सूर्यको किरणको आभाष हुन्छ। मैले तपाईंहरूलाई जनता बन्दै गरेको देखेको छु। मेरो विश्वास गहिराईमा गइरहेको छ, तन्त्र बरू समाप्त होला, तर जनताको बीचमा ‘जन’ बचेको छ। एक दिन यही ‘जन’ले आजको भन्दा राम्रो तन्त्र बनाउँछन्।
आज केहीलाई के विश्वास छ भने सारा तन्त्र उनकै कब्जामा छ, अब ‘जन’को कुनै मूल्य छैन। मिडियालाई समाप्त पारेर जनता र विपक्षलाई समाप्त पारिसकिएको छ। यो स्वभाविक पनि हो, तर शाश्वत भने होइन।
एक दिन जब मानिसहरू आफ्ना घृणाले जर्जर हुन्छन्, उनीहरूको घृणा जब उनीहरूको शरीरलाई दुखाउनेछ। तब उनीहरूले नयाँ भूमीकाको खोजी गर्नेछन्। त्यो वेला उनीहरूले कुनै पत्रकारलाई नै सम्झनेछन्। घृणाको गुलामीबाट बाहिर आउने मार्ग तपाईंहरूले नै बनाउनु हुनेछ, तपाईंहरूले नै बनाउनुपर्छ।
म आफ्ना महिला सहकर्मीलाई पनि स्मरण गर्न चाहन्छु। कामप्रति इमान्दारी, पेशाको नैतिकताको बुझाइ, मैले महिला सहकर्मीबाटै सिकेको हुँ। यो उनीहरूबाट मैले चोरेको पनि हुँ। उनीहरूसँगको हिमचिमले मेरो सामाजिक र नैतिक बुझाइ फराकिलो भयो।
मलाई मेरी जीवनसंगीनी, मेरा छोरीहरू, मेरा सासुससुराले पनि धेरै सहयोग गर्नुभएको छ। उनीहरूको सहयोगले मैले बाहिर गएर रिर्पोट गर्न सकेँ। मेरी आमा, मेरी भाउजु, मेरो परिवारका सदस्यले पनि मलाई पिटीपिटीकन पित्तलबाट भाडा बनाइदिए। मलाई के लाग्छ भने पत्रकारिताको क्षेत्रमा पुरुषहरूको मात्र होइन, पुरुषवादीको कब्जा छ। उनीहरूको आक्रमताबीच संवेदशीलता विकसित हुनै सक्दैन।
यदि तपाईं पत्रकारितामा आउँदै हुनुहुन्छ, विद्यार्थी हुनुहुन्छ भने महिला सहकर्मीसँग सम्मानका साथ प्रस्तुत हुनुहोस्। उनीहरूको क्षमतालाई स्वीकार गर्नुहोस्, प्रसंशा गर्नुहोस्।
म बिहान उठ्ने बित्तिकै ‘प्राइम टाइम’को तयारीमा लाग्थें, दैनिक पाँच-सात हजार शब्द टाइप गर्थें। अब हुनसक्छ, राति ९ बजे ‘प्राइम टाइम’ नआउला। मलाई थाहा छैन, अब राति ९ बजे के गर्नेछु। यो माध्यमप्रति लगाव थियो, शायद यसै कारणले पनि दुःख लागेको छ। म त्यो रातो रंगको माइकलाई सम्झिरहने छु।
म तपाईंहरूको बानीमा संलग्न भएको छु। केही समययता तपाईहरू ज्यादै दुःखमा हुनुहुन्थ्यो, किन ‘प्राइम टाइम’ आइरहेको छैन भन्ने चिन्ता गरिराख्नु हुन्थ्यो।
यो वेला म चुपचाप किनारा लाग्नु नै उत्तम विकल्प हो। म नहुनुको बानी तपाईंहरूलाई लागोस् भन्ने मेरो सोच थियो। ताकि मविनाको प्रशारणमा पनि तपाईंहरू अभ्यस्त हुनुहोला भन्ने लागेको थियो। त्यसैले केही सयमयता कार्यक्रम सञ्चालन गरेको थिइनँ।
तर, के भनौं, तपाईंहरूलाई बेवास्ता गर्न सकिनँ नै। यसै पनि हर रात ९ बजेपछि तारान्तार मेसेज आएको आयै हुन्थ्यो। मेराबारे खोजखबर गरेकोगर्यै हुनुहुन्थ्यो।
यथार्थ के हो भने भारतको मिडिया परिवर्तित भइसकेको छ। लाखौं युवाले लाखौं रुपैयाँ खर्च गरेर यो विषयको पढाइ गरिरहनु भएको छ। तर, भोलिका दिनमा उनीहरूले गर्नुपर्ने काम चाहिँ बिचौलियाको हुनेछ। किनभने पत्रकारिता गर्न अब कुनै संस्था नै बाँकी रहेन।
अब जो पत्रकारितामा नयाँ आउनुहुनेछ, वा जो यस वेला पत्रकारिता गरिरहनु भएको छ, सबैले जुध्नु परेको छ। कोही पीडामा हुनुहुन्छ, पत्रकारिता गर्दाको पीडा। कोही यो पेशालाई नै छोडिरहनु भएको छ। कतिपयको भनाइ के छ भने जागिरको बाध्यता बाहेक पत्रकार बन्नुको कुनै अर्को कारण नै देखिँदैन। पत्रकारिताको कुनै उत्साह नै छैन। न्यायाधीशसम्मले के भन्न थाले भने जमानत दिँदा पनि न्याधीशलाई तारो बनाइन्छ। जब न्यायाधीशलाई नै डर लाग्छ भने यो दौडमा ‘मलाई डर लाग्दैन’ भन्नु पनि अपराध हो।
डराएको पत्रकारले मृत नागरिक जन्माउँछ। त्यसैले पनि बोल्नुपर्छ। बोल्नुहोस् र भन्नुहोस्- हामीलाई डर लाग्दैन। हामी यो देशका नागरिक हौं, जसले नाङ्गो खुट्टाको भरमा ब्रिटिश साम्राज्यलाई घुँडा टेकाएको थियो।
मलाई विश्वास छ, एक न एक दिन तपाईं गोदी मिडियाको गुलामीबाट बाहिर निस्कनुहुनेछ। तपाईं सधैं यस गुलामीमा रहनै सक्नुहुन्न। यो गुलामीविरुद्ध तपाईंले लड्नैपर्छ। यो लडाइँ सबैको लडाइँ हो। यो लडाइँविना तपार्इं संसारमा टाउको ठाडो गरेर हिँड्न सक्नुहुन्न। तपाईंको पहिचान नै यही हुनेछ कि स्वतन्त्र देशको गोदी मिडियाको गुलाम हुनुहुन्छ। यो खतराको गम्भीरतालाई बुझ्नुहोस्।
कानूनको आडमा अधिकारहरू हनन हुँदै गइरहेका छन्। अभिव्यक्ति स्वतन्त्रतामा करौंती लगाइँदै छ। किन त भन्दा साराका सारा अवैध कामलाई वैध देखाउन सकियोस्।
तपाईंहरूलाई स्मरण गराउँ कि मेरा आगामी दिन के होलान् भन्ने निश्चितता छैन। निश्चित भएको एउटै कुरा हो, तपाईंहरूले दिनुभएको हौसला। फेरि त्यसको पनि के भरोसा र? कहिले आकाशमा पुर्याइन्छु, कहिले पातालमा। ‘रवीश कुमार अफिसियल’ नामको एउटा युट्युब च्यानल बनाएको छु, ‘रवीशका पेज’ भन्ने फेसबुक पेज पनि बनाएको छु। अब म यु ट्युबमै देखिनेछु। मैले एनडीटीभीबाट राजीनामा दिएको छु। अब केही समय परिवारसँग बिताउनेछु।
(भारतीय पत्रकार रवीश कुमारले एनडीटीभीबाट राजीनामा दिएपछि युट्युबमार्फत व्यक्त गरेको विचारलाई महेश्वर आचार्यले नेपालीमा अनुवाद गरेका हुन्।)