लुक्ला उडानले मन्थली विमानस्थल व्यस्त
![लुक्ला उडानले मन्थली विमानस्थल व्यस्त](https://www.himalkhabar.com/uploads/posts/800X600/Manthal_airport_1667537931.jpg)
सगरमाथा क्षेत्रतिर जाने पर्यटक बढेसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त हुन थालेको छ।
आन्तरिक उडानका साना विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एअर ट्राफिक कम गर्न काठमाडौं-लुक्ला उडान बन्द गरी मन्थली-लुक्ला उडान शुरू गरिएको हो। मन्थली–लुक्लाबीचको दूरी छोटो र मौसम अनुकूल हुने भएकाले मन्थलीबाट उडान शुरू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। काठमाडौंबाट लुक्ला ३० मिनेट र मन्थलीबाट लुक्ला १५ मिनेटको हवाई दूरीमा छ।
“लुक्लाको मौसम छिनछिनमा परिर्वतन हुन्छ,” निरौला भन्छन्‚ “काठमाडौंबाट लुक्लाको मौसम ठीक छ भनेर उडान गर्दा त्यहाँ पुग्दा मौसम खराब भएर फर्किनुपर्छ। मन्थलीबाट त्यो समस्या हुँदैन।”
बिहान सबेरैदेखि दिउँसो ढिलोसम्म पनि मौसम खुल्ने भएकाले मन्थली विमानस्थलमा उडान भर्न सहज छ। यहाँ उडान सञ्चालन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप केही कम भएको प्रवक्ता निरौलाको भनाइ छ।
आन्तरिक उडान भर्ने कम्पनी तारा, समिट र सीता एअरले २०७५ सालदेखि मन्थली–लुक्लाको उडान गर्दै आएका छन्। हाल मन्थलीबाट लुक्लामा दैनिक ११ वटा उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण, रामेछाप कार्यालयले जनाएको छ। यस वर्षको अक्टोबरमा मात्रै मन्थलीबाट लुक्लाका ३३४ उडान भएका छन्। मन्थलीबाट लुक्लाका लागि सामान ढुवानी गर्ने उडान पनि हुँदै आएका छन्।
मन्थली विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रमा पर्यटन प्रवर्द्धन भएको मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ बताउँछन्। “मन्थलीबाट लुक्लाको उडान हुने भएपछि विमानस्थल र आसपासको क्षेत्र पर्यटकले खचाखच भएको छ‚” उनी भन्छन्‚ “विगतमा मन्थलीमा राम्रा होटल कम थिए। हाल यहाँ सुविधासम्पन्न होटल पनि बनेका छन्।”
काठमाडौंबाट सडकमार्ग हुँदै रामेछापको मन्थली विमानस्थल पुग्न चारदेखि पाँच घण्टा लाग्छ। नियमित उडान हुन थालेपछि सोलुखुम्बु पुर्याउनुपर्ने सामान मन्थलीबाट हवाई मार्ग हुँदै लग्न थालिएको छ।
मन्थली विमानस्थल २०३५ सालमा निर्माण भए पनि २०७५ सालदेखि मात्र सञ्चालनमा आएको हो। चार वर्षअघि स्तरोन्नति गरेपछि विमानस्थलमा आठ वटासम्म जहाज र केही हेलिकोप्टर पार्किङ गर्न सकिन्छ। पर्यटकको चाप हुने चार महीना मात्र विमानस्थल सञ्चालन हुनेगर्छ।