नेपाली सङ्गीत कि पहाडी सङ्गीत?
पहाडी सङ्गीतलाई मात्र राष्ट्रिय र मौलिक ठान्ने विभेदी मानसिकताकै कारण मूलधारको नेपाली सङ्गीतमा मधेशीलाई सहभागी गराउने सवालमा काठमाडौं सधैं अनुदार रहिरह्यो।
नेपालको एकीकरणपछि काठमाडौंमा राजधानी सारेर पृथ्वीनारायण शाहले जातीय तथा क्षेत्रीय एकता बलियो पार्न कोशिश गरेको देखाउन खोजे तापनि मधेश सधैं राज्यबाट उपेक्षित रहँदै आएको छ। राणाकालीन नेपालमा काठमाडौं आवतजावतका लागि प्रवेशाज्ञा (अनुमति)को व्यवस्था गरियो जुन २००७ साल पछिसम्म पनि कायम रह्यो।
ऐतिहासिक रूपमै काठमाडौंले बाँकी नेपालसँग दूरी राख्दै आएको कुरा प्रवेशाज्ञाको यो व्यवस्थाबाट प्रष्ट हुन्छ। नेपालको भौगोलिक एकीकरण अभियानमा प्रत्यक्ष संलग्नता कम भए तापनि सामाजिक-आर्थिक एकीकरणमा मधेशी समुदायको योगदानलाई पन्छाउन मिल्दैन।
गोरखा राज्यमा समाहित भएपछिका नयाँ भूभागले समान अस्तित्वको के कति अनुभूति गरे वा विजयी राज्यको हिस्सेदारका रूपमा मात्र रहे भन्ने कुरा इतिहास तथा वर्तमानसम्म पनि जीवन्त मुद्दाका रूपमा छ (जोन ह्वेल्प्टन, २००५)। तर, राष्ट्र निर्माणमा एक महत्त्वपूर्ण पक्षका रूपमा रहेको मधेशी समुदायलाई राज्यसत्तामा समाहित गर्नेतर्फ निरन्तर कन्जुस्याइँ हुँदै आएको छ।
सङ्गीतमा मधेशीहरूको न्यून सहभागितालाई दुई दृष्टिकोणबाट हेर्नु उपयुक्त हुन्छ। पहिलो, राज्यले मधेशीहरूलाई राष्ट्रिय मूलधारमा ल्याउनै चाहेन। त्यसैले गर्दा मधेशी मौलिकताका गीत-सङ्गीतको प्रवर्द्धनद्वारा उनीहरूलाई रेडियोतर्फ आकर्षित गर्ने प्रयास पनि गरिएन। दोस्रो, भारतसँगको भाषा र सांस्कृतिक सामीप्य तथा नेपाली राज्य व्यवस्थाको व्यवहारले गर्दा मधेशीहरूले नेपाली समाजको विकास प्रक्रियामा आफ्नो भूमिका पहिल्याउने अवसर पाएनन्।
मधेशीहरूको न्यून सहभागिता नेपाली भाषा राजनीतिसँग सम्बन्धित विषय पनि हो। रेडियो नेपालको विकास पञ्चायतको विकाससँगै भएको हो। पञ्चायती व्यवस्थासँगै हुर्कंदै आएकाले रेडियो नेपाल एक भाषा, एक भेषको नीति अनुसार सञ्चालन हुनु स्वाभाविक थियो।
२०४७ सालको संविधानले नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक राष्ट्रका रूपमा परिभाषित गरेपछि केही खुकुलो वातावरण बने पनि रेडियो नेपालमा बहुलवादको प्रभाव सशक्त रूपमा देखिएन। बरु २०४७ सालपछि स्थापना र विकास भएका एफएम रेडियोहरूले सङ्गीत क्षेत्रलाई केही हदसम्म समावेशी पार्ने प्रयास गरे।
तर, लामो समयदेखि नेपाली सङ्गीतमा प्रभुत्व जमाउँदै आएका सङ्गीतकार शम्भुजित बाँस्कोटा सङ्गीतमा मधेशी समुदायको न्यून उपस्थितिमा मधेशीहरूको पनि दोष देख्छन्। उदितनारायण र नारायण गोपाल दुवैलाई भारतमा गएर सङ्गीत अध्ययन गर्ने अवसर सरकारले जुटाइदिएको थियो। नारायण गोपाल फर्किए, उदितले चाहिं आफूलाई उतै स्थापित गरे। जसरी हुन्छ, भारतमै स्थापित हुने महत्त्वाकांक्षाले गर्दा उदित उतै बसेको बाँस्कोटाको दाबी छ। उदितको सिको गरेर भारतमा स्थापित हुन खोज्ने पहाडी मूलका मुरलीधर लगायत अरू पनि छन्। एउटा सङ्गीतकारले स्थापित हुने महत्त्वाकाङ्क्षा राख्नु नराम्रो होइन।
कुनै पनि सङ्गीतकारले ठूलो बजारको खोजी गर्नु सामान्य मान्छन् पाण्डव सुनुवार। सुनुवारले नेपाली सङ्गीतमा मधेशीहरूको सहभागिता न्यून हुनुमा तीन कारण दिएका छन्- पहिलो, मधेशीहरूको नेपाली उच्चारणमा समस्या, दोस्रो सहभागितातर्फ जोड नदिनु वा चासो नदेखाउनु, (जस्तै रेडियो नेपालद्वारा आयोजना गरिने आधुनिक गीत सम्मेलनमा मधेशीबाट आवेदन नै पर्दैन) र तेस्रो, हिन्दी भाषाप्रतिको झुकाव (जुन सांस्कृतिक र सामाजिक सामीप्यले गर्दा असामान्य मान्न सकिन्न)। तर, सङ्गीतमा भाषा वा उच्चारणले बाधा नपार्ने तर्क गर्छिन् तबलावादक सरिता मिश्र। त्यस्तै, शास्त्रीय सङ्गीतमा स्थापित गुरुदेव कामत मधेशीहरूको प्रतिनिधित्व कम हुनुमा सञ्चार माध्यमको भेदभावपूर्ण प्रस्तुतिलाई दोष दिन्छन्।
ऐतिहासिक कारणले गर्दा पनि नेपाली समाजको हरेक स्थानमा पहाडी मूलका मानिसको वर्चस्व रहिआएको छ। पहाडी प्रदेश नेपालको ‘मुटुु’ र ‘मियो’ रहेको तथा तराई र हिमाली प्रदेश त्यसका परिधि वा अवयव मात्र हुन् भन्ने छाप नेपालका शासकहरूमा परेको छ (पीताम्बर शर्मा, सन् २००४)। यसले गर्दा पहाडलाई नै नेपाली परिचयका रूपमा लिने गरिन्छ। उदाहरणका लागि नेपाली खाना भन्नाले नेपालको पहाडी भेगमा प्रचलनमा रहेको खाना भनी बुझाइन्छ। नेपाली खानामा जति गुन्द्रुक, सिन्कीले मान्यता पाएको छ त्यति थारूहरूको भक्का वा बगियाले पाएको छैन।
त्यस्तै, तराईका लोकगीतले रेडियोका लोकगीतमा स्थान नै पाउँदैनन्। वाद्यवादनमा पनि सारङ्गी, मादल बजे मात्र नेपाली हुने मान्यताले मधेशका वाद्यवादकहरू नेपाली मूलधारमा आउन सकेका छैनन्। पहाडी प्रदेश नै ‘नेपाली पहिचान’ भन्ने प्रवृत्तिले गर्दा पहाडीहरूले मधेशी र हिमाली भेगका जातिका तुलनामा आफूलाई नेपालका वास्तविक र खास बासिन्दाका रूपमा हेर्ने र मधेशी तथा हिमालीहरूको ‘नेपालीपन’ प्रति सशङ्क हुने मानसिकताको विकास हुन पुग्यो (प्रयागराज शर्मा, २००४)।
पहाडी परिचयलाई नै नेपाली परिचय बनाउने कार्यमा सञ्चार माध्यमको ठूलो भूमिका छ। हिमालले दशैं अङ्कमा आधुनिक नेपाली सङ्गीतको सफलता पस्केको छ जसमा ‘लोकभाकाको जीत’ भनी पहाडी भेगका लोकभाकाको सफलतालाई मात्र नेपालीपनसँग जोडेको छ (पेशल पोखरेल र ध्रुव सिंखडा, २०६१)। पहाडी लोकगीतले मात्र नेपाली लोकगीतको परिचय बोक्नु हाम्रो सङ्गीतको कमजोर पक्ष मान्छन् म्युजिक नेपालका सन्तोष शर्मा।
सामाजिक रूपमा पनि राई वा गुरुङले नेपाली भाषाको जति प्रतिनिधित्व गर्छन् त्यति नै कुनै एक मधेशीले पनि गर्न सक्छ भन्ने हेक्का हामीमा छैन। तराईतिर स्थानीय स्तरमै हुने सङ्गीत कार्यक्रममा मधेशी गायकलाई उसको नेपाली जस्तोसुकै राम्रो भए पनि हिन्दी गीत गाउन दिइन्छ भने नेपाली गीत पहाडीहरूले मात्र गाउने सामान्य चलन छ। तथापि, सङ्गीतमा भाषाको बेजोडता सीमित नै हुन्छ।
राम्रो गायकले नजानेका भाषामा पनि राम्रो गीत गाउन सक्छन् भन्ने कुरा नेपाली चलचित्रहरूमा भारतीय गायकहरूको वर्चस्वले पनि पुष्टि गर्छ। त्यस्तै, सुकमित गुरुङ, कुन्ती मोक्तान वा धीरज राईले आफ्नो मातृभाषा नभए तापनि नेपालीमा उत्कृष्टता हासिल गर्न सक्छन् भने मधेशीलाई मात्र त्यसको बेफाइदा होला भन्ने मान्न सकिन्न।
मधेशी समुदायलाई राज्य संयन्त्रका विभिन्न निकायमा राष्ट्रले अघोषित रोक लगाएको ठहर मधेशीहरूको छ। अधिकांश राजनीतिक दलका नेताहरू मधेशबाट निर्वाचित भए तापनि उनीहरूले मधेशी समुदायको जातीय, सांस्कृतिक, राजनीतिक विकासतर्फ ध्यान नदिएको मधेशीहरूको गुनासो छ (अमरेशनारायण झा, २०५८)। यसका बावजूद जो जो स्थापित भए उनीहरूले कति संघर्ष गरे होलान् भनेर सहजै अनुमान गर्न सकिन्छ। त्यसैले होला, उदितनारायणले भारतमा पाएको सफलताले पनि नेपालका मधेशी युवाहरूमा खासै उत्प्रेरणा ल्याएको छैन।
रेडियो नेपालमा बजाइने कुल स्वदेशी गीतमध्ये मुश्किलले एक प्रतिशत अन्य भाषाका पर्छन् (धीरेन्द्र प्रेमर्षि, २०६१)। नेपाली भाषा बाहेक अन्यलाई रोयल्टीको दायरामा पनि पारिएको छैन। निजी क्षेत्रका कान्तिपुर तथा सगरमाथा एफएमले पनि मधेशी भाषाका गीतलाई रोयल्टी दिएको पाइँदैन। यस्तो प्रवृत्तिले मधेशी गीत-सङ्गीतको विकासमा बाधा पु¥याउनुका साथै मधेशी समुदायका नयाँ कलाकारलाई उत्प्रेरित पनि गर्दैन।
मधेशी समुदायका सामाजिक क्रियाकलाप र रीतिरिवाजमा सङ्गीतले महत्त्वपूर्ण स्थान ओगटेको छ। तराईका छठ, झिझिया, होली, विवाह जस्ता पर्व र उत्सवमा सङ्गीतको विशेष स्थान हुन्छ। यसले सङ्गीत उनीहरूको जीवनको अभिन्न अङ्ग रहेको झल्काउँछ। त्यसैले उनीहरूमा सङ्गीतप्रति रुचि नभएको वा कम भएको भन्न मिल्दैन। तर, यस समुदायबाट नेपाली मूलधारको सङ्गीतमा प्रतिनिधित्व नहुनुले नेपाली सङ्गीत कति ‘नेपाली’ रहेछ भन्ने देखाउँछ। यसबाट ‘पहाडी नै नेपाली, नेपाली नै पहाडी’ भन्ने पुरानै पथमा राज्य हिंडिरहेको तथ्य अझ् बढी उजागर हुन्छ।
नेपाली साङ्गीतिक क्षेत्र जातीय रूपले धेरै प्रतिनिधिमूलक छ- दलित तथा अन्य जातिको संलग्नता हेर्दा। तर, मधेशी समुदायको सहभागिता शून्यको स्थितिमा छ। नेपाली सङ्गीत पहाडी रङ्गले भरिएको छ। तराईका अधिकांश धरोहर, संस्कृति तथा परम्परा उपेक्षित त छँदै छन्, मधेशीहरूलाई राज्यले नीतिगत रूपमै मूलधारबाट अलग्याउँदै आएको छ।
नेपाली सङ्गीत पनि यही बाटोमा छ। सङ्गीत क्षेत्रमा एउटा मधेशीको नाम पनि नसुनिनु संयोग मात्र होइन। त्यसैले अरू क्षेत्रमा जस्तै सङ्गीतमा पनि मधेशीको प्रतिनिधित्व सहितको समावेशी नयाँ राष्ट्रिय मूलधार निर्माणमा लाग्नु आजको आवश्यकता हो। नयाँ लोकतान्त्रिक राज्यले त्यसका लागि नीति र वातावरण तयार गर्नुपर्छ।
(प्रस्तुत सामग्री हामीले मार्टिन चौतारीको प्रकाशन रूपान्तरण जर्नल (पूर्णाङ्क ४, कात्तिक, २०६३) मा छापिएको ‘आधुनिक नेपाली सङ्गीतमा मधेशी प्रतिनिधित्व’ शीर्षक लेखको पुछारको ‘मधेशको न्यून सहभागिताको कारण’ बाट सम्पादन सहित लिएका हौंः सं.।)