एकआपसमा अन्तर्क्रिया बढाउन भारतको एक गाउँमा दैनिक साँझ दुई घण्टा टीभी र इन्टरनेट बन्द गर्ने अभियान सञ्चालन गरिएको छ।
आधुनिक समयको लत- टेलिभिजन र मोबाइल इन्टरनेटबाट एउटा सिङ्गो गाउँलाई स्वतन्त्र राख्ने भारतको महाराष्ट्र राज्यले घोषणा गरेको छ। कम्तीमा पनि दुई घण्टा गाउँलाई टेलिभिजन र मोबाइल इन्टरनेट चलाउन प्रतिबन्ध लगाइने भएको छ।
सिंगली जिल्लाको भादगाउँमा साँझको ७ बजे गाउँ परिषद्ले साइरन बजाएपछि गाउँका सबै बासिन्दाले टीभी तथा इन्टरनेट चलाउन बन्द गर्नुपर्नेछ भने ८:३० बजे पुन: साइरन बजेपछि टीभी हेर्न पाइनेछ। “मानिसमा बसेको लत हटाउन हामीले स्वतन्त्रता दिवसको अवसर पारेर यस्तो निर्णय लिएका हौं,” गाउँ परिषद्का अध्यक्ष विजय मोहितेले भने, “यसको भोलिपल्टदेखि साइरन बजाउने बित्तिकै सबैले मोबाइल तथा टीभी चलाउन बन्द गरेका छन्।”
भादगाउँमा झण्डै तीन हजार जनसंख्या छ, जहाँ अधिकांश किसान छन् भने केही मानिस चिनी कारखानामा काम गर्छन्। कोभिड १९ महामारीको समयमा अनलाइन कक्षा भएका कारण बालबालिका मोबाइल र टीभीमा निर्भर हुन थालेका छन्।
“अहिले त विद्यालय तथा कक्षा पनि नियमित सञ्चालन हुन थालेका छन्, तर विद्यालयबाट फर्कने बितिक्कै बालबालिका मोबाइल कि टीभीमा झुम्मिन्छन्,” उनले भने। योसँगै युवा र वयस्कले पनि धेरैजसो समय यसमै बिताउने र अन्तर्क्रियामा कम ध्यान दिने गरेको उनी बताउँछन्।
टीभीमा झुम्मिएका भादगाउँका बालबालिका।
स्थानीय वन्दना मोहितेले आफ्ना दुई सन्तानलाई सम्हाल्नै गाह्रो भएको बताइन्। “मेरा बच्चाहरू खालि टीभी या मोबाइलमा झुम्मिन्छन्, तर यो नियम आएदेखि निकै सजिलो भएको छ,” उनले भनिन्, “मेरा श्रीमान्ले बच्चाहरूलाई पढ्नमा सघाउनुहुन्छ भने म आनन्दले भान्सामा काम गर्न सक्छु।”
सिङ्गो गाउँलाई नै डिजिटल पहुँचबाट टाढा राख्न गाउँ परिषद्लाई कहाँ सजिलो थियो र! परिषद्का अध्यक्ष मोहितेले शुरूमा यस विषयमा छलफल गरे। यो प्रस्ताव लाँदा मानिसले उनलाई गिज्याएका थिए।
त्यसपछि उनले गाउँका महिलालाई जम्मा गरे, जसले आफूले टीभी सिरियलमा धेरै समय बिताउन थालेको महसूस गरी खुलेर भन्न सक्छन्। उनीहरूले गाउँमा केही घण्टा टीभी तथा मोबाइल चलाउन बन्द गर्ने प्रस्तावलाई स्वीकारे। अर्को बैठक बसी गाउँकै मन्दिरमा साइरन जडान गर्ने निर्णय गरे।
यो निर्णय कार्यान्वयन गर्न सहज भने थिएन। साइरन बज्ने बित्तिकै परिषद्का कर्मचारी तथा गाउँको एक समूह घर घरमा गई मोबाइल तथा टीभी बन्द गर्न आग्रह गर्थे। “अहिले यो निर्णय पूर्ण रूपमा लागू भइरहेको छ,” मोहितेले भने।
तर, केही समय मोबाइल र टीभी बन्द गरेर केही फाइदा हुन्छ त? यसले फाइदा पुर्याउने न्याशनल इन्स्टिच्यूट अफ मेन्टल हेल्थ एन्ड न्यूरोसाइन्सको क्लिनिकल साइकोलोजीका प्राध्यापक डा. मनोज कुमार शर्माले बताए। कोभिड-१९ ले गर्दा टीभी र इन्टरनेटमाथिको निर्भरता झन् बढेको छ।
डा. शर्मा तथा उनका सहकर्मीले सन् २०२० मा ६८२ युवा (४९५ पुरुष र १८७ महिला)मा गरेको एक अध्ययनले किशोर तथा युवामा इन्टरनेटको प्रयोग समस्याका रूपमा देखिन थालेको पाइएको थियो। ‘कुनै उत्पादनमूलक उपलब्धि नहुने कामका लागि इन्टरनेट धेरै प्रयोग गर्दा मानसिक तनाव बढ्ने, समाजिकीकरणमा कमी ल्याउने, परिवारसँग कम बोल्ने, घुलमिल कम हुने तथा अतिरिक्त क्रियाकलापबाट टाढा हुँदै जान्छ। यसले किशोरकिशोरीलाई अन्य क्षेत्रमा पनि असर गर्छ,’ अध्ययनले देखाएको छ।
गाउँ परिषद्को यो निर्णयले ल्याएको परिवर्तनबारे मोहिते भन्छन्, “अचेल बालबालिका गृहकार्यमा केन्द्रित हुन थालेका छन्। वयस्कबीच पनि कुराकानी हुने क्रम बढेको छ।”
(बीबीसी बाट साभार।)