दाहालले किन रोजे गोरखा?
![दाहालले किन रोजे गोरखा?](https://www.himalkhabar.com/uploads/posts/800X600/Puspakamal_Dahal_1665376053.jpg)
चितवनमा पराजित हुने भयले माओवादी अध्यक्ष दाहाल गोरखा-२ मा ‘टुरिस्ट उम्मेदवार’ बन्न पुगेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले असोज २३ गते गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि घुम्दै चुनाव लड्नेमा आफू नेपालको इतिहासमै पहिलो व्यक्ति भएको बताए। उनी यसअघि २०७४ मा चितवन-३, २०७० मा सिरहा-५ र काठमाडौं-१० र २०६४ मा रोल्पा-२ र काठमाडौं-१० बाट निर्वाचन लडेका थिए।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा गण्डकी प्रदेशको गोरखा मात्रै त्यस्तो जिल्ला हो जहाँ माओवादीले पालिकामा जित निकाल्न सकेको थियो। दाहालले उम्मेदवारी दर्ता गरेको गोरखा-२ अन्तर्गतका पाँच वटा पालिकामध्ये गोरखा, पालुङटार, बारपाक सुलीकोट र अजिरकोटमा माओवादी केन्द्रले जितेको थियो। कांग्रेसले जितेको यो क्षेत्रको एक मात्र गाउँपालिका सिरानचोकमा माओवादी दोस्रो स्थानमा आएको थियो।
जबकि‚ पाँच दलीय गठबन्धनबाट चुनाव लडेको माओवादीले सात वटा पालिका रहेको चितवनमा जम्मा एउटा पालिकामा जित निकालेको थियो। २०७४ सालमा चितवन-३ मा नेकपा (एमाले) लगायतका दलहरूको समर्थन लिएर चुनाव लड्दा दाहालले राप्रपाका विक्रम पाण्डेलाई नौ हजार ३४१ मतले पराजित गरेका थिए। पाण्डेले पुनः त्यही क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन्।
चितवन-३ का मतदाता दाहाल यस पटक घुम्दै चुनाव लड्ने ‘टुरिस्ट उम्मेदवार’ का रूपमा गोरखा पुगेका हुन्। सत्ता गठबन्धनले बहुमत ल्याए प्रधानमन्त्री बन्ने दाउमा रहेका दाहाल चितवनमा जित सुनिश्चित नभएपछि सुरक्षित स्थानको खोजीमा गोर्खा पुगेका हुन्।
राजनीतिशास्त्री चन्द्रदेव भट्ट पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल हार्ने भयले गोरखा पुगेको हुन सक्ने बताउँछन्। उनी भन्छन्, “शीर्ष नेताहरूमा विगतमा आफूले गरेको कामको आधारमा चुनाव जित्ने कन्फिडेन्ट देखिंदैन। उहाँ पनि चितवनमा सुरक्षित नभएर गोरखा जानुभएको हुन सक्छ।”