धूमपानको असर दुई पुस्तापछिसम्म देखिन्छ: अध्ययन

कुनै व्यक्तिले धूमपान गर्छ भने त्यसको असर उसको दुई पुस्तापछि पनि देखिने एक अध्ययनले देखाएको छ।
यदि कुनै व्यक्ति कलिलो उमेरमा धूमपान गर्नेहरूको सम्पर्कमा रहेको भए तिनका सन्तानमा दमको रोग देखिने जोखिम अधिक हुने हालै गरिएको एक अध्ययनको निष्कर्ष छ।
यसका साथै, बुबामा चुरोट पिउने बानी छ भने तिनका सन्तानमा फोक्सो सम्बन्धी समस्या हुने सम्भावना अधिक रहने पनि अध्ययनले देखाएको छ। यूरोपियन रिस्पेरट्री जर्नलमा प्रकाशित लेखका अनुसार, धूमपानको असर दुई पुस्तापछि पनि देखिन सक्छ।
“हाम्रो अध्ययनमा के देखियो भने बाल्यकालमा धूमपानको सम्पर्कमा नआएका व्यक्तिको तुलनामा धूमपानको सम्पर्कमा आएका व्यक्तिका सन्तानमा एलर्जिक बाहेक हुने दमको समस्याको जोखिम ५९ प्रतिशतले बढी हुन्छ,” अध्ययनमा संलग्न मेलवर्न विश्वविद्यालयका जाइसेन लिउ भन्छन्, “यदि बुबामा पनि चुरोट पिउने बानी छ भने त दमको रोग लाग्ने जोखिम ७२ प्रतिशतसम्म हुन्छ।”
मेलवर्न विश्वविद्यालयले गरेको उक्त अध्ययनमा अस्ट्रेलिया, बेलायत, श्रीलंकाका अनुसन्धाताहरूको संलग्नता थियो। अनुसन्धानमा संलग्न डिन बुइ भन्छन्, “हाम्रो अनुसन्धानले धूमपानका कारण हुने क्षति धूमपान गर्नेहरूमा मात्र सीमित नरही छोराछोरी र नातिनातिनासम्म हुने देखाएको छ।”
अध्ययनको निष्कर्ष औंल्याउँदै बुइले पुरुषहरूले आफ्ना लागि मात्र नभई आफ्ना सन्तानको स्थास्थ्यबारे सचेत हुँदै सम्भव भएसम्म धूमपानबाट जोगिनुपर्ने सुझाव दिएका छन्।
आस्थमा प्लस लङ युके नामक बेलायती संस्थामा कार्यरत जोन फोस्टर भन्छन्, “यो अनुसन्धान हामी सबैलाई निराश पार्ने खालको छ, किनभने यसले धूमपानको असर पुस्तौंपछि पनि देखिन सक्ने देखाएको छ। हाल जन्मिएका बालबालिकाहरूमा दमको रोग हुने सम्भावना ५९ प्रतिशत अधिक हुनुले धूमपानले अर्को व्यक्तिमा कतिसम्म प्रभाव पार्दो रहेछ भन्ने देखाएको छ।”
अध्ययनमा एक हजार ६८९ अभिभावक र तिनका सन्तानहरूलाई सहभागी गराइएको थियो। यूरोपियन रिस्पेरट्री जर्नलमा प्रकाशित लेखमा उल्लेख छ, “अध्ययनमा के पाइयो भने यदि किशोरहरू १५ वर्ष पुग्नुअघि नै अभिभावकहरूको धूमपान गर्ने बानीका कारण धूमपानले प्रभावित छन् भने तिनका सन्तानहरूमा एलर्जी बाहेक दमको समस्या हुने जोखिम अधिक हुन्छ।”
१५ वर्ष उमेरभन्दा अघि नै अभिभावकले खाने चुरोटको धुवाँले दमको जोखिम बढाउँछ। यूरोपियन रिस्पेरट्री सोसाइटीका चुरोट नियन्त्रण समितिका अध्यक्ष प्रोफेसर जोनाथन ग्रिग यस अध्ययनले धूमपानको पुस्तौं पुस्तासम्म लम्बिन सक्ने जोखिमलाई उजागर गरेको बताउँछन्।
सम्बन्धित निकायले धूमपान नियन्त्रणका लागि कडा कदम चालेर बालबालिकाहरूलाई सम्भावित जोखिमबाट सुरक्षित राख्नुपर्ने प्रोफेसर ग्रिगको सुझाव छ। उनले धूमपान छोड्ने अभियान व्यापक बनाउनुपर्ने बताउँदै वयस्कहरूले धूमपान गर्छन्/गर्दैनन् भन्ने नियमित तथ्याङ्क लिइरहनुपर्ने र यदि उनीहरूले धूमपान त्याग्न चाहे सहयोग गर्ने कार्यक्रम चलाउनुपर्ने बताएका छन्।
अनुसन्धानमा संलग्न डिन बुइका अनुसार, धूमपानका कारण हुने जीनहरूको परिवर्तन नै बालबालिकामा दमको समस्या बढाउने मुख्य कारक हो। त्यस्तो हुनुको कारण कुनै पनि व्यक्तिमा अर्को व्यक्तिले गरेको धूमपानको असर हुन सक्छ।
“अर्को पुस्तामा सर्ने मानवीय जीनको परिवर्तन गराउने ‘एपिजेनेटिक’ परिवर्तन धूमपान जस्ता वातावरणीय जोखिमका कारण हुन सक्छ,” बुइ भन्छन्, “विशेष गरी किशोरावस्थामा धूमपानको सम्पर्कमा रहँदा व्यक्तिको वीर्य उत्पादन गर्ने प्रजनन कोषिकामा परिवर्तन आउन सक्छ।”
यस्तो परिवर्तन कालान्तरमा वंशाणुगत बनिदिने र त्यसले बालबालिकाको स्वास्थ्यलाई असर गरी उनीहरूमा दमको समस्या देखिने बुइको भनाइ छ। “केटाहरू किशोरावस्था नपुगुन्जेल प्रजनन कोषिका विकास भइरहेको हुन्छ र यो एकदम जोखिमपूर्ण समय हो जब जीवकोषमा प्रभाव पर्दछ र ‘एपिजेनेटिक’ परिवर्तन हुन जान्छ,” बुइ भन्छन्।
(गार्डियनमा प्रकाशित लेखको भावानुवाद महेश्वर आचार्यले गरेका हुन्।)