अनुसन्धानकर्ताले राष्ट्रिय मोटोपन रणनीति निर्माण गरी मोटोपनले हुने क्यान्सर घटाउन पहल गर्नुपर्ने बताएका छन्।
हालै गरिएको एक अध्ययनमा मोटोपनसँग सम्बन्धित क्यान्सरको संख्या चार गुना बढेको देखिएको छ। अस्ट्रेलियाको ड्याफोडिल सेन्टरका अनुसन्धानकर्ताले क्यान्सर काउन्सिल न्यू साउथ वेल्स र सिड्नी विश्वविद्यालयसँग संयुक्त रूपमा गरेको अध्ययनमा सन् १९८३ देखि २०१७ सम्ममा मोटोपनसँग सम्बन्धित १० प्रकारका क्यान्सर हुने दर बढेको बताएका छन्।
अध्ययनले सबैभन्दा कम उमेरका व्यक्ति, जो सन् १९८० र १९९० को अघिल्ला वर्षमा जन्मिए, उनीहरूमा हुने क्यान्सरको दर २.९५ प्रतिशतले बढेको देखाएको छ। क्यान्सर हुने यो दर सन् १९४० मा जन्मिएका उमेर समूहका मानिसमा कम थियो। तर, जो बीसौं शताब्दीको शुरूआती वर्षमा जन्मिएका छन्, तिनमा हुने क्यान्सरको दर त चार गुनाले बढेको छ।
यसअघि भएका इपिडिमियोलोजी सम्बन्धी अध्ययनले १० वटा कारकलाई औंल्याएको थियो। जसमा कोलोन, कलेजो, पित्त, प्यानक्रियाज, पाठेघर, डिम्बग्रन्थि, मिर्गौला, थाइराइड, पोस्ट मोनोपजल स्तन क्यानसर, मल्टिपल माइलोमा र मोटोपन थिए।
“मोटोपन ती सबै क्यान्सर गराउने कारक हो, यदि कोही पनि मोटोपनले ग्रसित नभए पनि क्यान्सरका केस त देखिन्छ नै, तर त्यो संख्या भने थोरै हुनेछ,” अध्ययनमा संलग्न ड्याफोडिल सेन्टरकी सिनियर फेलो इलोनोरा फेलेट्टोले भनिन्।
कोषिकामा हुने मेटाबोलिक, हर्मोनल र इन्फ्ल्यामेटोरी परिवर्तनले क्यान्सरको जोखिम बढाएको र यसमा योगदान दिने एक तत्त्वका रूपमा क्यान्सर देखिएको उनले बताइन्।
यो तथ्याङ्क अस्ट्रेलियन क्यान्सर डेटाबेसबाट लिइएको हो, जसमा सन् १९८३ देखि साढे तीन दशकमा २५ वर्षदेखि ८४ वर्षसम्मका व्यक्तिहरूमा मोटोपनसँग सम्बन्धित १० लाख पाँच हजार ९३३ क्यान्सरको केसको विश्लेषण गरिएको थियो।
“मोटोपनले गर्दा हुने क्यान्सरको सम्बन्ध बढ्दो संख्याको मोटोपनसँग रहेको देखिन्छ,” अध्ययनमा संलग्न क्यान्सर काउन्सिल अस्ट्रेलियाकी क्लारा ह्युज भन्छिन्।
अनुसन्धाताले फोक्सो, प्रोस्टेट, मूत्राशय र मस्तिष्कको क्यान्सरको दरमा भने उल्लेखनीय वृद्धि देखेनन्, जुन क्यान्सरका केस मोटोपनसँग सम्बन्धित देखिँदैनन्। मोटोपनसँग सम्बन्धित दुई तिहाइ क्यान्सरका केस स्तन र पोस्टमोनोपजल भएको पहिचान गरिएको थियो।
अध्ययनमा भनिएको छ, “क्यान्सरको यो परिवर्तित प्रवृत्ति मोटोपनको कारणले मात्र हो भन्न सकिन्न, तर के निश्चित हो भने मोटोपन र बढी तौल यी प्रकारका क्यान्सर हुने प्रभावकारी कारक हुन्।”
फेलेट्टो भन्छिन्, “साना समूहहरूमा कोलोरेक्टम र स्तनको क्यान्सरको केसहरू बढिरहेको हामीले भोगिआएकै घटना हुन्, तर यस अध्ययनले हामीले उति ध्यान नदिएको कलेजो र प्यानक्रियाटिक क्यान्सरहरूको नयाँ प्रवृत्तिलाई प्रकाश पारेको छ।”
युवा समूहमा बढ्दो क्यान्सरको केसको उजागर भइरहँदा यस सम्बन्धमा केही गर्नुपर्ने उनको भनाइ छ। युवामा केका कारणले क्यान्सर बढिरहेको छ भन्ने स्पष्ट छैन। यद्यपि, क्यान्सर गराउने केही कारकमा रक्सी खाने बानी, रातो मासु र प्रशोधन गरिएको मासु, धूमपान र शारीरिक निष्क्रयता देखिएको छ।
धनी राष्ट्रहरूको समूहका रूपमा चिनिने आर्थिक सहकार्य र विकास संस्था ओईसीडीका ३८ मुलुकमध्ये अस्ट्रेलियामा १५ वर्ष वा त्योभन्दा माथिको जनसंख्यामा हुने मोटोपनको दर उच्चतम छ। मोटापन भएकाहरूको संख्याको आधारमा अस्ट्रेलिया छैटौं उच्च मुलुक हो।
अस्ट्रेलियन इन्स्टिच्यूट अफ हेल्थ एन्ड बेलफेयरको तथ्याङ्क अनुसार, सन् १९९५ मा मोटोपनको दर १९ प्रतिशत रहेकोमा २०१७-१८ मा आइपुग्दा ३१ प्रतिशत पुगेको छ।
ह्युजका अनुसार, व्यक्तिको स्वास्थ्य स्थिति र जोखिम निर्धारण गर्न बडी-मास-इन्डेक्स (बीएमआई) तौलको निर्धारण गर्न बढी उपयोगी भएको छ न कि व्यक्तिको स्वास्थ्य स्थिति र जोखिमबारे बुझ्न। “धेरै तौल भएका वा मोटोपन भएका हरेक व्यक्तिलाई क्यान्सर हुन्छ नै भन्ने होइन,” उनी भन्छिन्।
यस अध्ययनले रोकथाम गर्न सकिने क्यान्सरको दरलाई नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्ने देखाएको छ। “यो हामीले बेवास्ता गर्नै नहुने र चाँडै नै सम्बोधन गर्नुपर्ने विषय हो,” ह्युज भन्छिन्।
यो अध्ययन द ल्यान्सेट रिजनल हेल्थ; बेस्टर्न प्यासाफिक जर्नलमा प्रकाशित भएको थियो।
(द गार्डियनमा प्रकाशित सामग्रीको महेश्वर आचार्यले गरेको भावानुवाद।)