बाढी र डुबानबाट भजनीका पाँच हजार बासिन्दा विस्थापित
![बाढी र डुबानबाट भजनीका पाँच हजार बासिन्दा विस्थापित](https://www.himalkhabar.com/uploads/posts/800X600/bhajani_(7)_1663579743.jpg)
बाढी र डुबानले कैलालीको भजनी नगरपालिकाका पाँच हजार बासिन्दा विस्थापित छन् भने ३५ हजारभन्दा बढी छन्।
मोहना, पथरैया, काढा, कान्द्रा, कटैनी र कर्णाली लगायतका नदीनालामा आएको बाढीले डुबान परेको हो। भजन नगरपालिका वडा नं. १, ३, ५, ७ र ८ का ३५ देखि ४० हजार बासिन्दा प्रभावित भएको प्रवक्ता विक्रम चौधरीले बताए।
उनका अनुसार, बाढी र डुबानबाट पाँच हजार परिवार विस्थापित छन्। घरमा पानी पसेपछि उनीहरू सडक, विद्यालय, सुरक्षित भवन लगायतका ठाउँमा बसिरहेका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Disaster/flood/kailali/bhajani%20%281%29.jpg)
विस्थापितहरूले तीन दिनदेखि भोकभोकै बसिरहेको बताएका छन्। स्थानीय रूपा चौधरी भन्छिन्, “तीन दिनदेखि एकसरो लुगामा छौं, खाना पाएका छैनौं। बालबच्चा र बूढापाकाको निकै बिचल्ली छ।”
शनिबार आएको बाढीले स्थानीय बासिन्दा प्रभावित भएका थिए। त्यसैमा आइतबार थप बाढी र डुबान भएको छ। आज पानी नपरे पनि घरभित्र पस्न सक्ने अवस्था नभएको उनले बताइन्।
![](https://www.himalkhabar.com/uploads/editor/Disaster/flood/kailali/bhajani%20(3).jpg)
बाढीले धान तथा चामल पूरै बगाएर लगेको उनले बताइन्। “बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनमै लाग्यो। एकसरो लुगामै घर छाडेर हिंड्यौं,” उनले सुनाइन्।
सबैजसो विस्थापित पशुचौपाया, बंगुर, बाख्रा लिएर हुलाकी राजमार्गमा पुगेका छन्। धेरै जनाको घरमा त अहिले पनि पानी रहेको छ। भजनी नगरपालिकाका मेयर केवल चौधरीका अनुसार बाढीले पुर्याएको क्षतिको यकिन विवरण अझै सङ्कलन हुन सकेको छैन।
![](https://www.himalkhabar.com/uploads/editor/Disaster/flood/kailali/bhajani%20(6).jpg)
बाढीले घरमा रहेको अन्नबाली, खेतमा भएको धान, पोखरीको माछा लगायतमा ठूलो नोक्सान गरेको उनले बताए। विस्थापितलाई सुरक्षित स्थानमा सारिए पनि राहतको व्यवस्था गर्न नसकेको मेयर चौधरीले बताए।
उनका अनुसार, अहिलेसम्म एक-दुई वटा संस्थाले चाउचाउ र बिस्कुट लगायत खानेकुरा वितरण गरेका छन्। अन्य राहत सामग्री दिन नसकिएको उनले बताए।
![](https://www.himalkhabar.com/uploads/editor/Disaster/flood/kailali/bhajani%20(2).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Disaster/flood/kailali/bhajani%20(5).jpg)