बाघको सङ्ख्या वृद्धि कति स्वाभाविक?
![बाघको सङ्ख्या वृद्धि कति स्वाभाविक?](https://www.himalkhabar.com/uploads/posts/800X600/tiger_1660035092.jpg)
बाघको अप्राकृतिक मृत्यु रोकिएको र वासस्थान सुरक्षित गरिएको मात्र हो। बाघको सङ्ख्या बढाउन कुनै कृत्रिम तरीका अपनाइएको होइन।
बाबुराम लामिछानेनेपालमा बाघको सङ्ख्या १२ वर्षमा करीब तीन गुणा बढेको तथ्याङ्क यस वर्षको बाघ दिवसका दिन गत २९ जुलाई २०२२ मा सार्वजनिक गरियो। यस तथ्याङ्कलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गर्न थालिएको छ। यस उपलब्धिलाई संरक्षण संस्थाले आफ्नो सफलता मानेका छन्। कतिपयले भने बाघको सङ्ख्या बढेसँगै बाघले मान्छेलाई गर्ने आक्रमणको दर बढेर अझ धेरै मान्छे हताहतीमा पर्ने हुन् कि भन्ने चिन्ता जाहेर गरेका छन्। साथै, निकुञ्ज तथा आरक्षको बाघ थेग्न सक्ने क्षमताबारे पनि छलफल चल्न थालेको छ।
बाघको सङ्ख्या वृद्धिबारे बुझ्न यसको जैविक पक्षबारे चर्चा गराैं। संसारमा हाल पाइने ४० प्रकारका जङ्गली बिरालाका प्रजातिमध्ये बाघ सबैभन्दा ठूलो हो। यो सिंहभन्दा पनि ठूलो हुन्छ। बिरालो प्रजातिको प्रजनन क्षमता राम्रो हुने हुँदा उपयुक्त वासस्थान र आहार पाए यिनको सङ्ख्या छोटो समयमै बढ्न सक्छ।
बाघको गर्भावस्था ३.५ महीना हुन्छ, जबकि गैंडाको १६ देखि १८ महीना हुन्छ भने हात्तीको २२ देखि २४ महीनासम्म हुन्छ। बाघले एक पटकमा दुईदेखि पाँच वटासम्म बच्चा जन्माउँछ। यी डमरुले १८ देखि ३६ महीनामा माउबाट छुट्टिएर आफ्नो क्षेत्र बनाउँछन्। माउ फेरि बच्चा जन्माउन तयार हुन्छ। बाघको सङ्ख्या बढ्नु र घट्नुमा पोथी बाघको सङ्ख्याले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।
जस्तै, सन् २०१८ मा बर्दियामा ४२ वटा पोथी बाघ थिए। तिनमा आधा अर्थात् झण्डै २१ वटाले मात्रै बच्चा जन्माए र औसतमा दुई वटा मात्रै डमरु हुर्काए भने ४२ वटा बाघ बढ्ने देखिन्छ। हाल बर्दियामा बढेको बाघको सङ्ख्या ३८ छ।
बर्दियामा जन्मेका बाघको सङ्ख्या अझ धरै हुन सक्छ र माउबाट छुट्टिएका बाघ छेउको बाँके राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा गएको अनुमान छ। त्यसैले सन् २०१८ मा नेपालभर क्यामेरामा कैद भएका ११८ पोथी बाघबाट १२० बाघ थपिनु अस्वाभाविक होइन।
कसरी बढे, कतिन्जेल बढ्लान्?
हालको बाघको सङ्ख्या वैज्ञानिक अनुगमन थालिएपछिको हालसम्मकै उच्च हो। बाघ संरक्षण प्रयाससँगै विगतमा हुने गरेका बाघ तथा आहारा प्रजातिको चोरीशिकारमा नियन्त्रण भएको तथा समुदायले प्रतिशोधमा विष हालेर, पासो थापेर बाघ मार्ने काम कम हुँदै जाँदा सङ्ख्या बढेको हो।
बाघको अप्राकृतिक मृत्यु रोकिएको र वासस्थान सुरक्षित गरिएको मात्र हो। बाघको सङ्ख्या बढाउन कुनै कृत्रिम तरीका अपनाइएको होइन। पछिल्ला वर्ष सरकारी, गैरसरकारी तथा समुदायको प्रयासमा गरिएका वासस्थान सुधार, घाँसे मैदान र पानीका स्रोतको व्यवस्थापन, निकुञ्ज क्षेत्रमा मानवीय चाप कम हुँदा र आहारा प्रजातिको घनत्व बढेको थियो।
तर, समाचार सुन्दा-पढ्दा लाग्छ, बाघको सङ्ख्या बढाउन कुनै कृत्रिम उपाय अपनाइएको छ। वा, प्रजनन केन्द्रमा उत्पादन गरी छाडिएको हो। गत हप्ता सार्वजनिक तथ्याङ्क ६ महीनाअघिको सर्वेक्षणको नतीजा हो। विगत ६ महीना वा एक वर्षअघिदेखि नै यही सङ्ख्यामा बाघ रहेका छन् र तिनीहरूको व्यवस्थापन हुँदै आएको छ।
अप्राकृतिक कारणबाट नमारिने हो भने बाघ र बाघ जस्ता मांसाहारी प्रजातिको सङ्ख्या मुख्यतः यिनको आहारा प्रजातिको घनत्वमा निर्भर हुन्छ। बाघ आफ्ने क्षेत्र बनाएर बस्छ। तर, त्यो क्षेत्रको आकार त्यहाँ रहेका आहारा प्रजातिको घनत्वमा भर पर्छ। पछिल्लो समय बाघको वासस्थान टुक्रिंदै जाँदा तथा आहारा प्रजाति र बाघको घनत्व पनि बढ्दै जाँदा एउटै क्षेत्रमा एकभन्दा बढी बाघ रहेको पाइए।
एउटै क्षेत्र पनि बाघहरूले फरक फरक समयमा प्रयोग गरेको प्रमाण फेला परे। यसै वर्ष गरिएको सर्वेक्षणमा एकै स्थानमा १५ दिनमा ६ वटासम्म फरक फरक बाघ क्यामेरामा कैद भए। त्यस्तै, एक हजार ८४३ स्थानमा क्यामेरा राखिएकोमा ६४७ स्थानमा बाघ देखिएको थियो जसमध्ये ११५ स्थानमा तीन वा तीनभन्दा बढी फरक बाघ १५ दिनको अवधिमा भेटिए।
यसरी एकै ठाउँमा धेरै वटा बाघ परेका स्थान बाघको घनत्व धेरै भएका बर्दिया (४९ स्थान) र चितवन (४८ स्थान) मा बढी छन् भने बाँके, पर्सा र शुक्लाफाँटामा कम छन्। यसले पनि बाघको घनत्व बढ्दै जाँदा एउटै क्षेत्र धेरै वटा बाघले प्रयोग गर्ने गरेको देखाउँछ। १५ दिनको अवलोकनले बाघको आनिबानीको विस्तृत विवरण थाहा नहुने भए पनि एकै क्षेत्रमा धेरै बाघ रहेको देखिएको छ, जसलाई वैज्ञानिकहरू ‘टेरेटोरी ओभरल्याप’ भन्छन्। तराईका जङ्गल तथा घाँसे मैदानमा बाक्लो झाडी तथा बुट्यान रहेकाले एउटै क्षेत्रभित्रमा भिन्न भिन्न बाघ एकअर्कासँगको सम्पर्क विना बसेका हुन सक्छन्।
कुनै वासस्थानले थेग्न सक्ने प्राणीको सङ्ख्या ‘क्यारिङ क्यापासिटी’ को अनुमान गर्ने वैज्ञानिक आधार आहारा प्रजातिको घनत्व तथा आहाराको तौल अर्थात् ‘बायोमास’ हो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जभित्र २०१९ मा गरिएको अध्ययनले त्यति वेला रहेको आहारा प्रजातिको आधारमा १७५ बाघ रहन सक्ने देखाएको थियो। यो सङ्ख्या निकुञ्जको मध्यवर्ती क्षेत्र र बाहिरका वन क्षेत्र बाहेकको हो। यी क्षेत्र समेत समेट्दा बाघको ‘क्यारिङ क्यापासिटी’ अझै धेरै हुने देखिन्छ। त्यति वेला चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको घनत्व क्रमशः ७२ र ३१ प्रति वर्ग किमी थियो।
यस वर्षको सर्वेक्षणमा आहारा प्रजातिको घनत्व बढेर चितवनमा १०० र पर्सामा ७६ जनावर प्रति वर्ग किमी पुगेको देखिएको छ। आहारा प्रजातिको वृद्धिसँगै चितवन र पर्साले थेग्न सक्ने बाघको सङ्ख्या समेत बढ्ने देखिन्छ।
हाल बाघको घनत्व निकुञ्ज, मध्यवर्ती वन क्षेत्र र जैविक मार्गमा बढी देखिएको छ भने त्यसबाहेकका वन क्षेत्रमा तुलनात्मक रूपमा कम देखिएको छ। वन्यजन्तुहरूको दिगो संरक्षणका लागि यस्ता संरक्षित क्षेत्रहरूलाई वन क्षेत्र र जैविक मार्गले जोडेर भूपरिधि स्तरमा गरिएका संरक्षण प्रयासले बाघको आवतजावत र ओगटेको क्षेत्र पनि बढेको छ।
सङ्ख्या बढ्दै जाँदा बाघले अबका दिनमा डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रलाई उपयोग गर्न सक्ने देखिन्छ। सुरक्षित वासस्थान र आहारा प्रजाति उपलब्ध भएमा बाघ पहाडी क्षेत्र र अझै माथि हिमाली क्षेत्रसम्मै पुग्न सक्छ।
बाघको निगरानी गर्न क्यामरा ट्रयाप राखिंदै। तस्वीरः बाबुराम लामिछाने।सङ्ख्या वृद्धि कम गर्न सकिन्छ?
बाघको सङ्ख्या प्राकृतिक रूपमा बढेको हो र प्राकृतिक रूपमा यो वृद्धि रोकिने भनेको आहारा प्रजातिको कमी, वासस्थानको अभाव वा कुनै रोग-महामारीले गर्दा मात्र हो। अप्राकृतिक वा मानवीय कारण जस्तै, अतिक्रमण (वासस्थान विनाश), चोरीशिकार तथा अवैध व्यापार, बाघबाट हुने क्षतिका कारण प्रतिशोधबाट मारिने क्रम बढेमा, विकास निर्माण (राजमार्ग, नहर, बिजुलीको ट्रान्समिशन लाइन आदि)ले वनक्षेत्र टुक्रिने वा वन क्षेत्रमा मानवीय चाप बढेर बाघको प्रजननमा खलल पुगेमा पनि बाघको सङ्ख्या वृद्धिमा कमी आउँछ। बाघको वृद्धि रोक्न बाघ लगायत अन्य वन्यजन्तुको वासस्थानमा असर पुर्याउने यस्ता काम अमान्य हुन्छ भने कानूनतः दण्डनीय छ।
सङ्ख्या नियन्त्रण गर्नुपर्ने अवस्था आएमा यसलाई अवसरको रूपमा प्रयोग गरी बाघ धेरै भएका निकुञ्जबाट केही बाघ नयाँ वासस्थान जस्तै, कोशी वा त्रियुगा क्षेत्रमा स्थानान्तरण गर्न सकिन्छ। देशभित्र मात्र होइन, कानूनी बाटो सहज गरेर अन्य देशमा पनि बाघ पठाउन सकिन्छ, यदि त्यहाँ राम्रो वासस्थान छ र बाघको सङ्ख्या घटेको वा लोप भएको अवस्था छ भने। ती राष्ट्र कम्बोडिया, भियतनाम, लाओस, चीन लगायत हुन सक्छन्।
त्यस्तै, स्वदेश तथा विदेशमा रहेका चिडियाखानामा निश्चित शर्त सहित बाघ पठाउन सकिन्छ। यस्ता चिडियाखानाहरूलाई यहाँको प्राकृतिक वासस्थानमा बाघ संरक्षणका लागि तथा प्रभावित समुदायको उत्थानका लागि थप आर्थिक सहयोगका लागि जिम्मेवार बनाउन सकिन्छ। त्यस्तै, बस्ती नजिक बस्ने र समुदायलाई समस्या दिने/दिन सक्ने बाघ पहिचान गरेर वेलैमा नियन्त्रण गर्ने व्यवस्था मिलाउने र त्यस्ता बाघहरूलाई राखेर बाघ उद्धार केन्द्र स्थापना गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। यसरी बाघ संरक्षणका लागि थप आर्थिक स्रोत जुटाउन सकिन्छ।
समुदायमा परेको असर कसरी कम गर्ने?
बाघ संरक्षणको उपलब्धिमा गर्व गर्दै गर्दा बाघको आक्रमणमा ज्यान गुमाउने, घाइते हुने, असुरक्षित महसूस गर्ने तथा पशुधनको क्षति बेहोर्ने समुदायलाई कदापि बिर्सनु हुँदैन। बाघको सङ्ख्या वृद्धिसँगै पछिल्ला वर्षमा बाघको उपस्थिति निकुञ्जको भित्री भागमा जसरी नै मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वरिपरिका वन क्षेत्रमा पनि हुन थालेको छ। यी वन क्षेत्र स्थानीय बासिन्दाले घाँस, दाउरा, न्युरो लगायत वनपैदावर सङ्कलनका लागि उपयोग पनि गर्ने गर्दा बाघसँग जम्काभेट हुन सक्ने र आक्रमणमा पर्न सक्ने खतरा बढ्छ।
यसअघि पनि चितवनको मध्यवर्ती क्षेत्रमा वन संरक्षण र वासस्थान सुधारसँगै बाघको उपस्थिति बढ्दा बाघको आक्रमण बढेको र २०६०/६१ सालमा एकै वर्ष १८ जनासम्म मान्छे बाघको आक्रमणमा मारिएका थिए। त्यति वेला बाघको सङ्ख्या हालको भन्दा आधा थियो।
यसरी बाघले र मान्छेले एउटै ठाँउ प्रयोग गर्दा आवश्यक सावधानी अपनाइएन भने हताहतीका घटना बढ्छन्। प्रायजसो घटना घाँस काट्ने, न्युरो टिप्ने जस्ता निहुरेर गरिने काम गर्दा भएका छन्। आफ्नो जीविकोपार्जनका लागि वनमा आश्रित गरीब र सीमान्तकृत समुदायका व्यक्ति नै बाघबाट बढी प्रभावित छन्।
तत्कालका लागि बाघको आनिबानी र बाघबाट जोगिने उपायबारे जनचेतना जगाउँदै वनजङ्गल जाँदा सावधानी अपनाउनु आवश्यक छ। दीर्घकालीन रूपमा जीविकोपार्जनका लागि वनमा आश्रित परिवार पहिचान गरी वैकल्पिक आम्दानीका स्रोतमा सहभागी गराउनुपर्नेछ।
बाघले मान्छेलाई गर्ने आक्रमणको अर्को पक्ष आक्रमण गर्ने बाघको अवस्था पनि हो। बाघ लजालु प्रकृतिको जनावर हो र मान्छे बाघको प्राकृतिक आहारा होइन। चितवनमा गरिएको एक अध्ययनले जङ्गलमा रहेको स्वस्थ्य बाघले कुनै मानवीय क्षति नगरेको तर कमजोर, घाइते, अशक्त वा कम अनुभवी बाघले मानवीय तथा पशु धनको क्षति गर्ने गरेको देखाएको छ।
गत वर्ष चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट १४ जनाको मृत्यु भएकोमा नौ वटा घटना दुई वटा बाघले घटाएको अनुमान छ। यी दुई बाघलाई नियन्त्रणमा लिई सौराहा र कसराको खोरमा राखेपछि बाघले मान्छेलाई आक्रमण गर्ने घटना कम भएका छन्।
त्यसैले बस्ती छेउछाउको जङ्गलमा समुदायको सहभागितामा यस्ता बाघको नियमित अनुगमन गर्ने र समयमै नियन्त्रण गर्ने हो भने बाघबाट हुने क्षति कम गर्न सकिन्छ। यस्ता बाघ राख्ने ठूला उद्धार केन्द्र स्थापना गरी दिगो व्यवस्थापन गर्नुपर्ने अबको आवश्यकता हो।
अन्त्यमा, नेपालले बाघको सङ्ख्या दोब्बर गर्ने लक्ष्यभन्दा धेरै अगाडि बढेको सन्दर्भमा, हालको संरक्षणका प्रयासको निरन्तरताबाट बाघको अप्राकृतिक मृत्यु रोक्ने क्रमलाई कायम राख्दै, बाघको आक्रमणबाट मान्छे घाइते वा मृत्यु हुने अवस्थाको अन्त्य गर्दै, बाघबाट प्राप्त हुन सक्ने फाइदाको वृद्धि गर्दै जानुपर्ने देखिन्छ।
बाघको सङ्ख्या सार्वजनिक गर्दै प्रधानमन्त्रीले घोषणा गरेको ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ ले यस दिशामा काम गरोस्। बाघ संरक्षणबाट फाइदा लिने र क्षति भोग्ने समुदायबीच रहेको ठूलो खाडल चिर्दै वास्तविक पीडित समुदायसम्म पुग्ने गरी कार्यक्रम सरकारी तथा गैरसरकारी संघसंस्थाबाट आओस् ! शुभकामना !
(राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहास्थित जैविक विविधता केन्द्रमा कार्यरत लामिछानेको व्यक्तिगत धारणा।)