समाचार विहीबार, असार ५, २०७६

विश्वभर १८ हजार नेपाली शरणार्थी !

गोपाल गडतौला

फाइल फोटो : झापाको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविर ।

विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो ।

ती शरण माग्ने नेपालीमध्ये ८ हजार ५८९ जनालाई शरणार्थीको परिचय प्राप्त छ भने शरणका लागि निवेदन हालेका शरणापेक्षीको संख्या ९ हजार ८४ छ । त्यस्तै, शरणार्थीको जस्तै हालतमा रहेका ५ र यूएनएचसीआरले सरोकार राखेका नेपाली ३२८ छन् ।

५ असारमा विश्व शरणार्थी दिवसको सन्दर्भमा यूएनएचसीआरले जारी गरेको विज्ञप्तिमा ती नेपाली कुन कुन मुलुकमा शरणागत छन् भन्नेचाहिँ खुलाइएको छैन ।

यसरी विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको बारेमा गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइ (नुक्रा) ले केही बताएको छैन । गृहका एकजना अधिकारीले नेपाली शरणार्थीको बारेमा मन्त्रालयमा छलफल नै नभएको बताएका छन् ।

प्रत्येक वर्ष अमेरिका, यूरोप अष्ट्रेलिया र एशियाका जापान लगायत विकसित मुलुकमा शरण माग्न पुग्ने नेपालीको संख्या बढिरहेको अधिकारीहरू बताउँछन् ।

२०५२ सालको हिंसात्मक विद्रोह शुरु भएपछि नेपाली शरणार्थीको संख्या विश्वका विभिन्न मुलुकमा बढेको यूएनएचसीआर स्रोतले बताएको छ । पढाइ वा अन्य उद्देश्यले विकसित मुलुकमा गएका कतिपय नेपालीले सम्बन्धित मुलुकको कानुन बुझेर शरणार्थीको परिचय माग गर्ने गरेको बताइएको छ ।

त्यस्तै, विभिन्न मुलुकबाट नेपालमा आई शरण लिएर बसेका विदेशी नागरिकको संख्या २१ हजार ४०६ रहेको छ । नेपालमा तिब्बत, भूटान, अफगानिस्तान, म्यान्मार, पाकिस्तान, इरान, सोमालिया लगायत १५ मुलुकका व्यक्तिहरू शरण लिएर बसेका छन् ।

तिनीहरूमध्ये ६ हजार ६५६ जना भूटानी र करीब १३ हजार तिब्बतीलाई सरकारले शरणार्थीको रूपमा स्वीकृत गरेको छ ।

नेपालमा रहेका भूटानी शरणार्थीमध्ये १ लाख १३ हजार ५०० अमेरिका, क्यानाडा, डेनमार्क, नेदरल्याण्ड, नर्बे, न्यूजिल्याण्ड, बेलायत र अष्ट्रेलियामा पुनर्वास भएका छन् ।

नेपाल सरकारले भूटानी र तिब्बती बाहेकका शरणापेक्षीलाई शरणार्थीको रूपमा मान्यता दिएको छैन । गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइ (नुक्रा)ले तिनीहरूलाई अवैध आप्रवासी मान्ने गरेको छ ।

यूएनएचसीआरले हाल विश्वमा २ करोड ५९ लाख शरणार्थी रहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस