समाचार विहीबार, असार ५, २०७६

उपत्यकामा खुला ठाउँको खोजी

गोपाल गडतौला

वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले बुधबार साँझ उहिलेको काठमाडौं सम्झिँदा हलमा उपस्थित धेरै भावुक भए ।

नारायणचौर काठमाडौं, तस्वीर स्रोतः गुगल ।

हालको टुँडिखेल (ति ख्य) नजिक नर्कटको घारी थियो । नेवार परम्परा अनुसार विभिन्न कर्म गर्दा वा चाडपर्व मनाउँदा चाहिने नर्कट काट्न उपत्यकाका धेरै ठाउँबाट मानिसहरु टुँडिखेल पुग्थे ।

छेउछाउमा खोल्सा, चरनको लागि लगिएका चौपाया, केटाकेटी उफ्रिपाफ्री गर्ने घाँसे मैदान त्यतिबेलाको टुँडिखेलको परिचय हो यो । जहाँबाट सेता हिमश्रृंखला प्रष्ट देखिन्थे ।

हरेक बिहान सेनाको टुकडी पुग्थ्यो । घण्टाघर नजिकै ड्युटीमा रहेको जवानले शिरको टोप झिक्थ्यो र अलि टाढाको साथीलाई संकेत गथ्र्याे ।

त्यसपछि देख्ने दोस्रो ड्युटीवाल जवानले टाउकोबाट टोप झिक्थ्यो । क्रमैसँग यो शैली सैनिक अड्डासम्म पुग्थ्यो र चर्काे स्वरमा उपत्यका थर्किनेगरी तोप पड्काइन्थ्यो ।

त्यतिबेलाको उपत्यकामा जता हेरेपनि खुल्ला ठाउँ थियो । घाँसे मैदान, ठाउँठाउँमा हिटी पाइलै पिच्छे भेटिन्थे ।

श्रेष्ठले बोलीसकेपछि ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रको हलमा उपस्थित पाका पत्रकार भैरव रिसालले थपे “त्यो मैदानको कुनै कुनामा प्रतिबन्धित कम्युनिष्ट पार्टीको बैठक पनि हुन्थ्यो ।”

‘उपत्यकामा खुल्ला ठाउँ’ अभियान नाम दिइएको भेलामा हरेक उमेर समूहका मानिस उपस्थित थिए ।

सहभागी मध्येका पिएस जोशीले ललितपुरको लगनखेल नजिकको पोखरी मासेर निजी स्कूललाई जग्गा दिइएको नमिठो दृष्टान्त सुनाए । उनले भने– “सास फेर्नै सकस हुनेगरी उकुसमुकुस बनाइएको छ ।”

कलाकार मिलन राईले उपत्यकाभित्रका महानगरपालिका कार्यालयलाई समस्या सुनाएर मनको बह पोख्न सकिने तर सुधार नहुने अड्डाको रुपमा चित्रित गरे ।

उपत्यकाको प्रदूषणलाई व्यङ्ग्य गर्दै उनले कला प्रदर्शनमा क्रममा मास्क लगाउने गरेका छन् ।

प्रविज्ञा बस्नेतलाई मध्य शहरको नारायण चौरको हालतले निकै दुखी बनाउँथ्यो । ६ वर्ष अघि उनले त्यहाँँ वरिपरिका घरघरमा गएर फोहोर नफ्याँकिदिन अनुरोध गर्दै हिंडिन् ।

आफ्नै कारणले वातावरण बिग्रिरहेको थाहा पाएका तर, बानी सुधार्न नसकेका स्थानीयबासीले विस्तारै बस्नेतलाई साथ दिए ।

फोहोर थुर्पिने ठाउँलाई बस्न, गफिन र टहलिन सकिने आजको ‘नारायणचौर’ बनाउने अभियन्ता भन्छिन्, “शहर सफा गर्न मद्दत पनि भयो, फोक्सोले थोरै भएपनि सफा हावा भेट्यो ।”

व्यायाम, विश्राम गर्न मात्रै होइन खाली समय सदुपयोग गर्न र वातावरणीय सन्तुलनका लागि पनि खुल्ला ठाउँ जरुरी पर्छ । तर, ४० लाख बढीको बसोबास रहेको उपत्यकामा खाली ठाउँको अभाव छ । भएका केही ठाउँ पनि व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने चलन बढ्दो छ ।

स–साना पार्क
कार्यक्रममा बोल्ने अधिकांशले उपत्यकाभित्र स–साना पार्क बनाउन सकिने धारणा राखे । यसका एक अभियन्ता हुन्– मदन सिवाकोटी ।

सिवाकोटीको अगुवाइमा काठमाडौंको कोटेश्वरमा मदन भण्डारी पार्क निर्माण गरिएको छ, जसको क्षेत्रफल ३ रोपनीे छ ।

३ जेठ २०५१ मा तात्कालीन एमाले सांसद विद्यादेवी भण्डारीले आफ्ना दिवंगत पतिको नाम दिँदै उद्घाटन गरेको उक्त पार्क कोटेश्वर आसपासको मन बहलाउने गन्तव्य बनेको छ ।

बाँकी खुला ठाउँको संरक्षणका लागि एकजना सहभागीले सुझाए– “सचेत नागरिकले प्रधानमन्त्री र अन्य सम्बन्धित पदाधिकारीलाई खुला ठाउँ चाहियो भन्दै चिठी लेखौं ।” उनको समर्थन गर्दै कार्यक्रममा उपस्थित धेरैले ताली बजाए ।

 

प्रतिकृया दिनुहोस