यस्तो बन्दै छ सय वर्ष पुरानो सुरुङमार्ग
![यस्तो बन्दै छ सय वर्ष पुरानो सुरुङमार्ग](https://www.himalkhabar.com/uploads/posts/800X600/tunnel_bhimphedi_(3)_1655529581.jpg)
अमलेखगञ्ज र भीमफेदी जोड्ने सय वर्ष पुरानो सुरुङमार्गको हेटौंंडा खण्ड फेरि सञ्चालनमा आउने भएको छ, तर अवलोकनका लागि मात्रै।
बाममती र मधेश प्रदेश जोड्ने अमलेखगञ्ज-भीमफेदी सुरुङ पुनर्निर्माण भइरहेको छ। केही महीनाभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको यस सुरुङमार्गमा भने अब गाडी गुड्ने छैनन्। पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरुङमार्गको पुनर्निर्माण चलिरहेको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/bhimphedi%20tunnel/tunnel%20bhimphedi%20%282%29.jpg)
मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बाराको अमलेखगञ्जको सिमानामा पर्ने यो सुरुङमार्ग मर्मत गरी २०७९ वैशाखबाट पर्यटकका लागि खुला गर्ने योजना थियो। तर, मर्मत कार्य नसकिएकाले आगामी साउनसम्म म्याद थप गरिएको छ।
बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७८ साउन १४ गते पुनर्निर्माणको शिलान्यास गरेका थिए। सरकार फेरबदलसँग पुनर्निर्माणको काम सुस्ताए पनि फेरि गति लिन थालेको छ।
अब थपिएको म्यादमा मर्मत कार्य सकिने निर्माण व्यवसायी राजकुमार लामाले बताए। “धेरै काम बाँकी छैन, अब साउनभित्र काम सकिन्छ,” लामाले भने, “सर्किट र हाइवेमा जोड्ने बाटो ढलानको काम मात्रै बाँकी छ।”
प्रधानमन्त्री चन्द्रशम्शेर राणाले सन् १९१७ मा यो सुरुङमार्ग निर्माण गराएका थिए। नेपाली इन्जिनीयर डिल्लीजंग थापाले इन्जिनीयरिङ गरेको सुरुङमार्गलाई सम्पदाका रूपमा संरक्षणका लागि पुनर्निर्माण गर्न थालिएको हो।
यसका लागि माउन्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ। पुनर्निर्माणका लागि बागमतीको यातायात पूर्वाधार निर्देशनालयले तीन करोड ३६ लाख १३ हजारमा ठेक्का दिएको हो।
यस सुरुङमार्गको एकापट्टिको भाग पहिरोले पुरिएको छ। अब करीब २८० मिटर मात्र बाँकी छ। अझै पनि पहिरो हटाउन सकिएको छैन। पहिरो हटाउन भने समय लाग्ने जनाइएको छ।
पहाड खोपेर बनाइएको सुरुङमार्गमा चुनासुर्की प्रयोग गरिएको थियो। सुरुङमार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुङ्गा राखिएका छन्, खोपा कुँदिएका छन्। पुरातत्त्व विभागले सुरुङमार्गको ऐतिहासिकता परीक्षण गरिसकेको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/bhimphedi%20tunnel/tunnel%20bhimphedi%20(1)-1.jpg)
अहिले भने सुरुङमार्ग अवलोकन गर्न पाइँदैन। २०७२ को भूकम्प अघिसम्म भने अवलोकनका लागि खुला थियो।
यस मार्गमा २०२० सालसम्म सवारी ओहोरदोहोर गर्ने गरेको इतिहासकार केदार न्यौपाने बताउँछन्। त्रिभुवन राजपथ बनाउँदा सुरुङमार्गको बीच खण्डमा विस्फोट गराएर भत्काएको र त्यसमाथि सडक बनाइएको न्यौपाने बताउँछन्।
![](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/bhimphedi%20tunnel/tunnel%20bhimphedi%20(7)-1.jpg)
“त्यसपछि सडक छेउमा देखिएका सुरुङका प्रवेशद्वार थुनिए। तर, मन्दिर नजिक सुरुङको मुख्य भाग भने सग्लै छ,” उनले भने। सडकपारिको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ।
अहिले १९८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ तथा तीन मिटर उचाइमा पुनर्निमाण कार्य चलिरहेको छ। पुनर्निर्माण सम्पन्न भएसँगै अवलोकनका लागि खुला गरिने प्रदेश सरकारले जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/bhimphedi%20tunnel/tunnel%20bhimphedi%20(6)-1.jpg)