विजयपुरका खनालहरूको नालीबेली
विजयपुरमा दन्तकाली मन्दिरको पूजा चलाउने जिम्मेवारी पाएका खनालहरू तनहुँकोटबाट गएका थिए, जो सेनवंशी राजाकै समयमा त्यहाँ पुगेका थिए।
इतिहास हेर्दा राजाहरूले पहिल्यैदेखि ब्राह्मणहरूलाई राजगुरु, राजपुरोहित, ज्योतिषी तथा पुजारीका रूपमा जिम्मेवारी वा जागीर दिने गरेको पाइन्छ। यस्तो जिम्मेवारी पाउने ब्राह्मणहरूमा उपाध्याय खनालहरू पनि पर्छन्। खनालहरूले त्यस वेलाका विभिन्न राज्यबाट यस्तो जिम्मेवारी वा जागीर पाएको देखिन्छ। उनीहरूले बाइसी, गोरखा, सेन र उपत्यकाका मल्ल राजाहरूको सेवा गरेका थिए।
तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरमा तीन वटा प्रसिद्ध धार्मिक स्थल छन्। तीमध्ये बुर्हा सुभा (बुढा सुब्बा)मा प्रोक्छाकी मगर, पिण्डेश्वरमा पोखरेल र दन्तकालीमा खनालहरूले पुस्तौंदेखि पुजारीको जिम्मेवारी सम्हाल्दै आएका छन्।
विजयपुरका खनालहरूले तत्कालीन सेन राज्य र सेन राज्यको पतनपछि शाह राजाबाट उनीहरूले पाएको जागीर वा जिम्मेवारीबारे यस लेखमा चर्चा गरिएको छ।
खनालहरूको उद्गम
आफूलाई विश्वामित्रको सन्तान ठान्ने हाल खनाल थर भएका मानिसहरूको पुर्खा भारतमा भएको मुसलमानहरूको आक्रमणबाट आफ्नो धर्म, स्वाभिमान र जातिको रक्षा गर्न नेपाल पसेका हुन्। उनीहरू नेपालको भूभागमा पश्चिमतिरबाट पूर्वतिर बढ्दै गएको देखिन्छ। भारतमा हुँदा उनीहरू कन्यकुञ्जमा बस्थे। कन्यकुञ्जलाई अहिले ‘कन्नोज’ भनिन्छ। कन्नोजबाट शुरूमा उनीहरू कर्णाली प्रदेशमा पुगे। त्यहाँबाट क्रमशः पूर्वतिर फैलिंदै गए (खनाल वंशावली, २०५५ःक१५)।
१५औं शताब्दीमा मुसलमानहरूको आक्रमणबाट बच्न शिवराज शाह दलबल सहित कर्णाली प्रदेश हुँदै ११ परिवारका साथ हालको अर्घाखाँची आइपुगे। यी ११ परिवारमध्येको एउटा परिवारका शाखासन्तान पछि खनाल भएका हुन् (खनाल वंशावली, उही)।
शिवराज शाहले १४०९ सालको कोजाग्रत पूर्णिमाका दिन स्थानीय राजालाई जितेर अर्घा राज्य कब्जा गरी त्यहाँ शासन गर्न थाले। उनीसँग गढवालबाट आएका चामु पाध्याको परिवार पनि थियो। चामुको १४४२ सालमा निधन भयो। गढवालबाट भागेर आउने टोलीमा भएकाले उनकी श्रीमतीलाई ‘भागा बज्यै’ भनिन्थ्यो। श्रीमान्को निधन भएपछि अब सन्तानको पालनपोषण कसरी गर्ने भनी भागा बज्यैले राजासँग बिन्ती चढाइन्।
राजाले हाल खन रहेको डाँडातिर देखाई ‘एक दिनमा खनेर जति चिह्न लगाउन सक्छौ, त्यति जमीन तिम्रो हुनेछ’ भने। त्यसपछि भागा बज्यैले सिपाहीहरूसित त्यस ठाउँमा गई जमीन देखाउँदै गइन्, सिपाहीहरू खन्दै चिह्न लगाउँदै गए। एक दिनमा खनेर चिह्न लगाएजति ठाउँ अर्घाका राजाबाट भागा बज्यैले कुशविर्ता प्राप्त गरिन्। त्यसपछि यस ठाउँको नाम ‘खन’ रहन गयो। भागा बज्यैका सन्तानहरू ‘खनाल’ कहिलन पुगे (खनाल वंशावली, उही)।
यसका आधारमा हालको अर्घाखाँची नै खनालहरूको पछिल्लो उद्गमस्थल रहेको देखिन्छ।
विभिन्न राज्यमा खनालहरू
गोरखाकोटमा पहिले खड्का मगर राजा थिए। उनलाई तरबार हानेर मारी द्रव्य शाह गोरखाका राजा भए। द्रव्य शाह १६१६ भदौ २५ गते गोरखाको राजगद्दीमा बसे (दिनेशराज पन्त, गोरखाको इतिहास पहिलो भाग–२०४१ः५३)।
राजा भएपछि द्रव्य शाहले गोरखाको डाँडामा रजस्थल बनाउने गरी बस्ती बसाउँदै गर्दा कालीपश्चिमका प्रदेशमा आबादी बढेर बस्ने ठाउँको खोजी गर्दै विभिन्न परिवार पूर्वतिर लाग्दै थिए। तिनैमध्ये इस्माका नारायणदास अर्ज्याल, अर्घाका सर्वेश्वर खनाल, कुमाउँका गणेश पाँडे र भगीरथ पन्थलाई द्रव्य शाहले यसै डाँडामा बसाए। पछि, सल्यानतिरका केशव बोहरा र यसै डाँडा आसपासका गङ्गाराम राना (मगर) समेत यसै डाँडामा बसाइँ सरे।
नयाँ राज्यको राजा भएपछि द्रव्यले आफूलाई अभिषेक गराएर आफ्नो भारदारीमा नारायणदास अर्ज्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राजपुरोहित, गणेश पाँडेलाई मन्त्री वा काजी, भगीरथ पन्थलाई सेनापति वा सर्दार, केशव बोहरालाई भूमि विभागका र गङ्गाराम रानालाई न्याय विभागका अधिकारी बनाए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी–२०६१ः७)। पछिसम्म पनि गोरखामा यी ६ थरका भारदारका कारण ६ थरघरको चलन चलेको देखिन्छ।
खनालहरूले गोरखा दरबारमा पाउने गरेको जिम्मेवारीका क्रममा राजा राम शाहको समयमा पनि महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए। आफूले बाँधेको थिति अनुसार राम शाहले बगाले अर्जेललाई होता, विहारे अर्जेललाई आचार्य, खनाललाई ब्रह्मा र भट्टराईलाई गणेशको जिम्मा दिएका थिए (प्रकाश ए. राज, प्राचीन नेपाल, सङ्ख्या १४५–असार २०५७ः५०)। तर, पछिल्लो समयमा नेपालको राजदरबारमा खनालहरूले पुरोहितको जिम्मेवारी पाएनन्। जङ्गबहादुर राणाको उदयपछि विजयराज पाण्डेलाई राजगुरु बनाइयो। राजतन्त्र रहुन्जेल पाण्डेहरूले नै राजगुरु चलाए। जनार्दनराज पाण्डे शाहवंशको अन्तिम बडागुरुज्यू हुन्।
खनालहरूले उपत्यकामा मल्ल राजाहरूबाट पनि जिम्मेवारी पाएका थिए। तीमध्ये नेपाल संवत् ८८० मा कान्तिपुरका राजा जयप्रकाश मल्लले कुलानन्द खनाललाई दिएको ताम्रपत्र र नेसं ८८१ मा भक्तपुरका राजा रणजित मल्लले हरिनारायण खनाललाई दिएको ताडपत्र प्राप्त भएका छन् (खनाल वंशावली, उहीःक२८)।
तत्कालीन अर्घाका राजा मेधासीराज शाहले आफू जीवित छँदै जेठा छोरा जयन्तराज शाहलाई अर्घा, माहिला खड्गराज शाहलाई धुर्कोट र कान्छा वीरेन्द्रराज शाहलाई खाँची राज्य दिएका थिए। यसरी राज्य बाँडिंदा पन्ध्रौं शताब्दीमा खनालहरू पनि अर्घा, धुर्कोट र खाँचीमा फैलिए (खनाल वंशावली, उहीःक१९)।
यस्तै, मुकुन्द सेन (प्रथम)को समयमा पूर्वा भन्ने गाउँमा पुराण भने बापत पण्डित रामकृष्ण (खनाल)ले बिर्ता पाएका थिए। सोह्रौं शताब्दीमा खनालहरूले पाल्पामा बस्ती बसाए। मुकुन्द सेन (प्रथम)का छोरानातिहरूमा राज्यको भाग लाग्दा उनीहरूसँगै खनालहरू पनि विक्रमको सत्रौं शताब्दीमा मकवानपुर, तनहुँ, रिसिङ, राजपुर र बुटवलमा फैलिए। तनहुँका राजा भृङ्गी सेनका छोरा हम्वीर सेनको शासनकालमा तनहुँका रामोपाध्याय (खनाल)ले कर्मकाण्ड सम्बन्धी विभिन्न कृति रचना गरेका थिए (खनाल वंशावली, उही)।
विजयपुरको सेन राज्यमा खनाल
कुनै वेला हाल नेपाल राज्य रहेको भूमिमा सेनहरूको निकै ठूलो राज्य थियो। सेनहरू भारतबाट नेपाल आएर यहाँ राज्य स्थापना गरी शासक भएका हुन्। सेन शब्द ‘श्रेणिक’को पर्याय मानिने र श्रेणिकहरू चोल राजाका भारदारका रूपमा प्रख्यात हुन पुगेका थिए। उनै श्रेणिकहरू नै पछि गएर सेन भएका हुन्।
दक्षिणका चोलवंशीय राजाहरू शक्तिशाली हुँदासम्म श्रेणिकहरू भारदारका रूपमा थिए। चोलहरूको शक्ति घटेको वेला श्रेणिकहरू सामन्तमा स्थापित हुन थाले। चोल राजाहरूले कलिङमाथि विजय गर्दा ती सामन्त श्रेणिकहरू पनि चोलहरूसँगै युद्धमा सहभागी भई उत्तरतिर प्रवेश गरेका थिए। दक्षिणतिरका स्थानीय सामन्तका रूपमा रहेर पनि उत्तरतिर पसेपछि उनीहरूको खानदान बढेकाले शासकका रूपमा व्यवहार गर्न थालियो। त्यसै क्रमले शताब्दीपछि पूर्णतः राजाकै रूपमा व्यवहार भई सेन भन्न थालियो।
१२५८ सालमा मुसलमानहरूले कलिङको उत्तरी भागमा आक्रमण गरी सेनहरूलाई पराजित गरेपछि हारेका सेनहरूमध्ये ज्यानको माया हुनेहरू पूर्व बङ्गालतिर लागेर त्यतै बसे। त्यहाँ पनि मुसलमानहरूले आततायी व्यवहार गरेपछि युद्धमा बचेकाहरू दलबल सहित उत्तरी पहाडतिर पसे। यतैतिर गढी बनाएर शासन चलाउन थाले (राजाराम सुवेदी, प्राचीन नेपाल, सङ्ख्या १४७–असार २०५८ः४२)।
सेन राजाहरूमध्ये मुकुन्द सेन (प्रथम) पराक्रमी र महत्त्वाकाङ्क्षी पनि थिए। १५७५ सालदेखि १६०० सम्म शासनकाल मानिएका उनले पाल्पालाई सैनिक दृष्टिले मजबूत पारी आफ्नो पूर्वजले स्थापना गरेको सानो राज्यलाई विस्तार गरेर ठूलो बनाएका थिए। अर्कोतिर, उनले पूर्वी तराई प्रदेशमा राज्य विस्तार गरी यस क्षेत्रको अस्तित्व जोगाएका थिए। यिनले काठमाडौं उपत्यकाका राजा यक्ष मल्लको मृत्युपछि विभाजित तथा अस्थिर हुन पुगेको उपत्यकामा पटक पटक आक्रमण गरेका थिए। (टेकबहादुर श्रेष्ठ, कन्ट्रिब्यूसन टू नेप्लिज् स्टडिज्, वर्ष १४ अङ्क ३–अगस्ट १९८७ः२०७–२०८)।
मुकुन्द सेन (प्रथम) आफ्नो जीवनको उत्तरार्द्धमा भने राजर्षिका रूपमा रिडी, देवघाट, बराहक्षेत्र, हरिहर क्षेत्र आदि धार्मिक स्थलहरूमा तपस्या गर्दै हिंड्न थाले। उनले विस्तार गरेको विशाल राज्य उनैका छोरानातिले भागबण्डा लगाएर टुक्रा टुक्रामा परिणत गरे। तीमध्ये जेठा छोरा माणिक सेन पाल्पा, महिला विनायक सेन बुटवल, साहिंला भृङ्गी सेन तनहुँ, कान्छा लोहाङ सेन मकवानपुरका राजा भए। यस्तै, नाति राम सेन रिसिङ, कुवेर सेन राजपुर र खड्ग सेन मदरियाका राजा बने। बाबुको मृत्युपछि लोहाङ सेनले १६१७ सालसम्म कोशी नदीदेखि पूर्व टिस्टासम्म मकवानपुरमा बसेर शासन चलाए (सुवेदी, उहीः४३)।
मकवानपुरका तत्कालीन राजा लोहाङ सेनलाई लिम्बूहरूले आक्रमणका लागि विजयपुरमा आमन्त्रण गरेको इतिहास पाइन्छ। सेन शासनअघि विजयपुरमा कोच घरानाका विजयनारायण रायले शासन गरेका थिए। पहाड फेदापका मुरेहाङ खेवाङ राजा विजयनारायणका मुख्यमन्त्री थिए।
विजयनारायणले मुरेहाङ खेवाङलाई मृत्युदण्ड दिएपछि उनका छोरा बाजहाङ विजयनारायणसँग बदला लिन प्रतिबद्ध भए। विजयपुरमा बाबुलाई मृत्युदण्ड दिइँदा उनी फेदापमै थिए। त्यहीं उनले ठूलो सङ्ख्यामा सेना भेला गरे। त्यसपछि मकवानपुर गढी गई लोहाङ सेनसित विजयपुरका किरात राजा विजयनारायण विरुद्ध लड्न सहयोग मागे (इमानसिंह चेम्जोङ, किरातकालीन विजयपुरका संक्षिप्त इतिहास–२०५९ः२०)। लोहाङ सेनले विजयपुरगढीमा हमला गर्ने आश्वासन दिए। युद्धका लागि उनी आफैं अग्रसर भए।
लोहाङ सेन र बाजहाङ मिलेर विभिन्न गाउँ विजय गर्दै जाँदा मोरङ प्रदेशको पूर्वको साँध सिलिगुडी छेउको महानदीसम्म पुग्यो। उनीहरू गिद्देपहाडसम्म युद्ध लड्दै जाँदा शत्रुसेनाको प्रहारबाट बाजहाङको मृत्यु भयो। त्यसपछि लोहाङ सेनको सेनाले पनि खारसाङ सिलिगुडीका लाप्चा राजा तर्बे पुनुको प्राण लियो।
गिद्देपहाड नजिकै महानदीको किनारमा एउटा गढी बनाई लोहाङ सेन आफ्नो फौज सहित विजयपुरतर्फ लागे। तर, विजयपुरको पूर्व मेगवारी इलाकामा पुग्दा उनले विजयनारायणको देहान्त भइसकेको खबर पाए। त्यसपछि आफ्नो आधा सेना मेगवारीमा राखेर आधा मात्र लिएर विजयपुर गए। विजयपुर शहरलाई घेरा हालेर उनले सजिलै कब्जा गरे। सन्न्यासीहरूद्वारा आफ्नो राज्याभिषेक गराई उनी विजयपुरको सिंहासनमा बसे। मोरङ राज्यको चौतरियाका रूपमा बाजहाङका छोरा पानोहाङलाई नियुक्त गरी हिन्दू संस्कृति अनुसार उनको नाम विद्याचन्द्र राय राखिदिए। त्यसपछि विजयपुरको पूरै जिम्मेवारी चौतरिया बाजहाङको जिम्मामा छाडेर लोहाङ मकवानपुर राजधानी फर्किए (चेम्जोङ, उहीः२१–२४)।
समय क्रममा मकवानपुरका सेन राजपरिवारमा घरझगडा भयो। त्यही घरझगडाका कारण मकवानपुरबाट शासन चल्ने गरेको विजयपुर छुट्टै राज्य बन्यो।
लोहाङ सेनका नाति तथा राजा राघवनरेन्द्र सेनकी रानी दुर्गावतीतिरका सन्तान हुन्, हरिश्चन्द्र सेन। हरिश्चन्द्रकी जेठी रानीबाट छत्रपति इन्द्र सेनको जन्म भयो। एउटा सन्तानको जन्मपछि छत्रपति अल्पायुमै बिते। तिनका छोरा विधाताइन्द्र सेनलाई राजा घोषित नगरी हरिश्चन्द्रले अर्की पत्नी महादेवीबाट जन्मेका छोरा शुभ सेनलाई मकवानपुरको उत्तराधिकारी घोषणा गरे। उनको यो निर्णयमा असन्तुष्ट नाति विधाताइन्द्रले दलबल लिएर विजयपुर कब्जा गरे। त्यहाँ मुख्यमन्त्रीका रूपमा भने लिम्बूहरूलाई नै निरन्तरता दिइयो। पल्लो किरातलाई हात लिई आफूलाई स्वतन्त्र राजा घोषणा गरे। अन्ततः मकवानपुरको सिमाना खुम्चेर कोशी पश्चिम निश्चित हुन पुग्यो।
शुभ सेनले पनि ललितपुर, गोरखा र भक्तपुरसँग मिलेर १७ गाउँ जिती मकवानपुरमा मिलाए, तर मकवानपुरे सेनाले सबै मोरङ जित्न सकेन। मकवानपुर र विजयपुरको प्राकृत सिमाना कोशी नदी कायम रह्यो। कोशीदेखि पूर्व र टिस्टादेखि पश्चिमको भाग विजयपुर राज्य अन्तर्गत रह्यो (सुवेदी, उहीः४४–४५)।
पल्लो किरात लिम्बुवान् गोरखा राज्यमा गाभिनुअघि विजयपुरका सेनहरूलाई लिम्बूहरूले केन्द्रीय शासक मान्थे। तर, सेन राजाहरूको राजनीतिक अधिकार आदर्शका रूपमा मात्र किरात प्रदेशमा कायम थियो। त्यस क्षेत्रका स्थानीय सामन्तका रूपमा पुस्तौनी रूपमा कार्यरत किरात दिवान राय तथा हाङहरूको नै स्थानीय शासनमा हात हुन्थ्यो। पल्लो किरातमा पनि लिम्बूहरूका दश जना दलपति ‘हाङ’ हरूले नै वास्तविक शासन चलाउँथे (रमेशकुमार ढुङ्गेल, प्राचीन नेपाल, सङ्ख्या ११३–भदौ–असोज २०४६ः४)। त्यसै कारण पल्लो किरातलाई दश लिम्बुवान् भनिन थालेको हो।
विजयपुरमा देवान (मुख्यमन्त्री)का रूपमा रहेका लिम्बूहरूबाट विजयपुरका खनालहरूले सेनकालमै पुजारीका रूपमा स्याहामोहर पाएका थिए। उनीहरूमध्ये हालसम्म प्राप्त सबैभन्दा पुरानो स्याहामोहर १८१७ सालको छ।
तत्कालीन देवान सिरिकान्त रायले तुलाराम पण्डितलाई स्याहामोहर दिएको देखिन्छ। १८१७ पुस बदी ९ रोज ३ मा विजयपुरबाट जारी गरिएको स्याहामोहर अनुसार त्यस वेला पण्डित तुलारामलाई पूर्व टिस्टादेखि पश्चिम कोशीसम्म जजमानी गर्ने स्थायी आदेश दिएको देखिन्छ (जनकलाल शर्मा, प्राचीन नेपाल, सङ्ख्या ४–साउन २०२५ः३२)।
स्याहामोहरमा उल्लेख गरिएको व्यहोरा यस्तो छः
श्री
।। स्वस्ति राजभारा शामर्थ
श्री देवान सीरीकान्त रायेजी
तुलाराम पण्तिके माजे पानवा राम
षेगु आवारी ऐक १ वावत महाशी षत्री
कका हुनीती नीआ जागीर दीहल आपन
षातीरज्म शौवारिक मरमत करी आशीर्व
चन देत रहही इति शवत १८१७ शाल
महा पुश वदी नौ
३ रोज्यो वीजैपुर ३।
यस्तै, बुद्धिकर्ण रायले नै १८२९ फागुन वदी ९ रोज ५ मा जारी गरेको स्याहामोहरमा पण्डित तुलारामलाई मोरङको कटहरीमध्ये जैरामपुर र लालवावत गछ गरी दुई ठाउँ बिर्ता गरी जमीनदारी दिएको उल्लेख छ (राजवंशी, पुरातत्त्व पत्र संग्रह–२०१८ः१८)।
जागीर बापत जग्गा बिर्ता पाउने तुलाराम पण्डित विजयपुरका खनालहरूमध्ये पहिलो पुस्ताका देखिन्छन् (खनाल वंशावली, उहीः२३३)।
विजयपुरमा दन्तकाली मन्दिरको पूजा चलाउने जिम्मेवारी पाएका खनालहरू तनहुँकोटबाट त्यहाँ पुगेका हुन्। यी पुजारी पण्डितहरू सेनवंशी राजाको समयमा पुगेको लालमोहर र सनदले देखाउँछ (खनाल वंशावली, उहीःक२१)।
दन्तकालीका हालका पुजारी पण्डित विश्वराज खनालको घरमा रहेका केही लालमोहरका छायाप्रतिहरू इतिहासकार भगिराज इङ्नाम र सञ्चारकर्मी भैरव आङ्लाको माध्यमबाट यो लेखकले प्राप्त गरेको छ। ती लालमोहरमध्ये धेरै वर्षपछि पनि सेनकालमा स्याहामोहर पाउने तुलाराम पण्डितले शाहकालमा पनि पुजारी पण्डितको निरन्तरताको लालमोहर पाएको देखिन्छ। यसै गरी उनका छोरा रामचन्द्र पण्डितले पनि यस्ता लालमोहर पाएका छन्।
तुलाराम पण्डित नाममा १८४८ भाद्र सुदी ११ रोज ६ मा रणबहादुर शाहबाट जारी गरिएको लालमोहरमा ‘विजैपूर - - - - को पूजा अघि मकवानीका पालादेषी तिम्रै वेषवुंआद रहेछ सोही वमोजिम् तिम्रो परंपरा वुझी - - - - को पूजा वोषवंआदि गरी थामि वक्स्यौ आफ्ना षातिरजामासित - - - - लाई गुठ चह्रायाका तपसील वमोजीम गाउंको पैदावार ली नित्य नै मित्तिक पूजा गरी सेषी बाकी रह्याको संत्ततीसहित भै सुष भोग्य गर आशिर्वाद देऊ’ भन्ने उल्लेख छ। यस लालमोहरमा परिहारपुर, हंसपोसा, मझौरा, कवैयाहर ठौवा, दामावाडी र भवानीपुर गरी ६ ठाउँमा गुठी राखिदिएको पनि उल्लेख गरिएको छ।
१८५१ चैत्र सुदी १ रोज ७ मा रणबहादुर शाहकै समयमा तुलाराम पण्डितकै नाममा जारी गरिएको अर्को लालमोहरले तुलारामलाई नै पुजारी पण्डितको काम थमौती गरिदिएको उल्लेख छ। यस लालमोहरमा उनको नाममा ‘तनहुँ कोट्या’ उल्लेख भएको देखिएकाले उनी तनहुँबाट विजयपुर पुगी त्यहाँको पुजारीको काम गर्न थालेको पुष्टि हुन्छ।
१८१७ सालमा सेनकालीन देवानबाट तुलारामले स्याहामोहर पाएको र शाह राजाबाट पनि पुजारीको काममा निरन्तरताका लागि १८४८ र १८५१ मा पनि उनको नाममा लालमोहर जारी भएकाले तुलारामले सानै उमेरदेखि पुजारी पण्डितको काम सम्हालेको वा उनी धेरै वर्ष बाँचेको अनुमान गर्न सकिन्छ।
तुलारामपछि उनका छोरा रामचन्द्र पण्डितको नाममा पनि गीर्वाणयुद्धविक्रम शाहले लालमोहर जारी गरेका थिए। १८६० माघ सुदी १३ रोज ३ मा जारी गरिएको लालमोहरमा ‘यो तिम्रा सन्तान वाहिक अरूलाई जो दिन दिलाउनमा पसला तलाईं - - - - को कुदृष्टि पर्ला पंचमहापातक लाग्ला’ भन्ने उल्लेख भएबाट दन्तकालीमा खनाल बाहेक अरूले पूजा चलाउन नपाउने वा नहुने विधि राज्यका तर्फबाट बाँधिएको देखिन्छ।
विजयपुरका पुजारी पण्डितहरूले राज्यका तर्फबाट जागीर बापत पाएको गुठीका जग्गाहरूमा सर्वाङ्क (कर) माफी पाएका थिए। तर, मोरङका सुब्बा कुलानन्द झाले विजयपुरका पुजारी पण्डितहरूबाट यस्तो कर जबर्जस्ती उठाए। पुजारी कृष्णवल्लभ पण्डितले यस सम्बन्धी जाहेरी दरबारमा गरेपछि दरबारबाट १८८६ साउन बदी ७ रोज ५ मा विजयपुरमा खटिने काजी, सरदार, सुब्बा, रकमदार अमालीहरूको नाममा एक रुक्का जारी भयो। रुक्कामा सर्वाङ्क माफ गरिएको जग्गामा कसैले रकम नलिन र जबर्जस्ती गरिए कारबाही गरिने चेतावनी दिइएको छ।
यस्तो जाहेरी दिने पण्डित कृष्णवल्लभ पण्डित तुलारामका नाति हुन्। खनाल वंशावली अनुसार तुलारामका छोरा रामचन्द्र हुन्। रामचन्द्रका दुई छोरामध्ये जेठा रुद्रदत्त हुन् भने कान्छा कृष्णवल्लभ हुन्। अहिले खनाल वंशकै पछिल्लो पुस्ताका विश्वराज खनाल दन्तकालीका पुजारी छन्।