‘माओवादीलाई नबोकेको भए कांग्रेसले ५० प्रतिशत ठाउँमा जित्ने रहेछ’
![‘माओवादीलाई नबोकेको भए कांग्रेसले ५० प्रतिशत ठाउँमा जित्ने रहेछ’](https://www.himalkhabar.com/uploads/posts/800X600/Puranjan_Acharya_(2)_1653893210.jpg)
स्थानीय निर्वाचनमा नेपाली कांग्रेस ३२८ पालिका सहित १३ हजार ७१२ जनप्रतिनिधि निर्वाचित गरेर सबैभन्दा ठूलो पार्टी बनेको छ। अघिल्लो पटक सबैभन्दा बढी स्थानमा जितेको नेकपा (एमाले) दोस्रो स्थानमा खुम्चिएको छ।
टुटफुटका बावजूद एमालेले ल्याएको स्थानलाई सम्मानजनक भन्न रुचाउने विश्लेषक पुरञ्जन आचार्य कांग्रेसले गठबन्धन नगरेको भए अझै बढी पालिकामा जित्ने बताउँछन्। गठबन्धन बचाउने नाममा कांग्रेसको सम्पूर्ण शक्ति भरतपुरमा खर्चिंदा कम सीट आएको उनको निष्कर्ष छ। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) यो निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न सफल भएको उनको बुझाइ छ।
दलहरूले सुध्रिने सङ्केत नदेखाउने हो भने अहिले स्वतन्त्र हैसियतमा निर्वाचित भएका युवाहरूले पार्टीको स्थान लिंदै जाने उनको निष्कर्ष छ। स्थानीय निर्वाचन परिणाममा केन्द्रित रहेर विश्लेषक आचार्यसँग सन्त गाहा मगरले गरेको संवादः
धरानमा हर्क साम्पाङ, काठमाडौंमा बालेन्द्र साह, धनगढीमा गोपाल हमाल लगायत स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुको राजनीतिक अर्थ के हो?
यो एकदमै नौलो, अनौठो वा अद्भुत कुरा होइन। लोकतान्त्रिक गणतन्त्रमा यस्तो कुरालाई सामान्य नै मानिन्छ। दलहरू साँघुरो घेरामा रमाउन थालेपछि, डेलिभरी नदिएपछि जनतामा निराशा शुरू हुन्छ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता दलका नेताहरूले न्याय गरिरहेका छैनन् भन्ने कुरा आम जनतामा मात्रै होइन, कार्यकर्ता तहमा पनि परेको छ। नेताहरूको गलत प्रवृत्तिको दुई तरीकाले विरोध भएको देखिन्छ। एउटा राजनीतिबाटै आएका जनकपुरका मनोज साह, भरतपुरका जगन्नाथ पौडेलहरूले स्वतन्त्र उम्मेदवारी मार्फत यसको विरोध गरे। खास गरी उनीहरूले पार्टी पारदर्शी भएन, न्याय गरेन र नेतृत्व गुट–गिरोहमा फस्दै गएकोमा विद्रोह गरे।
अर्को, राजनीतिक पृष्ठभूमि नभएका युवाहरूको विद्रोह। बालेन्द्र साहको बाटो लोकतान्त्रिक बाटो नै हो। तर, यो फरक बाटो हो। यो पार्टीभित्रको असन्तुष्टि र गुटबन्दीको परिणाम होइन। यसले पार्टीलाई सन्देश भने दिएको छ। अब सुध्रिएर पार्टीको मूल्य पद्धति अनुसार सञ्चालन हुनुपर्छ भन्ने सन्देश दिएको देखिन्छ।
पार्टीले टिकट दिंदैमा त्यो उम्मेदवारले जित्न सक्दैन भन्ने सन्देश दिएको छ। काठमाडौंमा कांग्रेस र एमालेले उठाएका उम्मेदवारलाई जनताले मन पराएका थिएनन्। कांग्रेस सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले सिर्जना सिंह र एमाले अध्यक्ष केपी शर्मा ओलीले केशव स्थापितलाई उम्मेदवार बनाउनुभएको हो। उहाँहरू ठीक कि बेठीक, योग्य कि अयोग्य, खराब कि राम्रा भनेर अहिले नभनौं, तर दुवै जना यसअघि काठमाडौं बनाउँछु भनेर एक दिन पनि लाग्नुभएको थिएन।
यस्तो वेला बालेन्द्र साह लौरो लिएर आएर काठमाडौंको समस्या यो यो हो र त्यसलाई म समाधान गर्छु भनेपछि मतदाताले रोजेका हुन्। सञ्चार माध्यममा चर्चा नभएका धेरै जनाले गाउँ गाउँमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका छन्।
अझै पनि पार्टीहरूबाट योग्य र सक्षम मान्छे उठ्ने सम्भावना कमजोर देख्छु। चुनाव आसपासमा देशका विभिन्न भागमा घुमेको अनुभवले पनि भन्दै छु– आगामी चुनावमा पार्टी नेतृत्वले दिएको टिकट अस्वीकृत हुने सम्भावना छ।
बालेन्द्र साहको नामै सुनेको थिइनँ। हामी तथाकथित विश्लेषकहरूले उनले कांग्रेसको भोट काट्छ कि कम्युनिष्टको भनिरह्यौं। मेरी छोरी बालेनले चमत्कार गर्दै छ भन्दै थिइन्। मेरो भनाइको मतलब घर घरमा हामी बाँडिंदै थियौं।
स्वतन्त्र उम्मेदवारले जित्नुको अर्थ पार्टीलाई सच्चिने, सुध्रिने अवसर पनि हो। यद्यपि, नेताहरूको अभिव्यक्ति हेर्दा सुध्रिने सम्भावना चाहिं एकदमै कम छ। त्यस कारण अब नयाँ पार्टी निर्माण शुरू हुँदै छ। त्यसको शुरूआत उज्ज्वल थापाले गरे। वैकल्पिक पार्टीमा आकर्षण बढ्ने सम्भावना देखिन्छ। सामाजिक, वर्गीय चरित्र बोकेका सूचना प्रविधिमा आधारित पार्टीहरू आउने देख्दछु।
![](https://www.himalkhabar.com/uploads/editor/election/local%20election_2079/Puranjan%20Acharya%20%281%29.jpg)
यहाँले वैकल्पिक पार्टीको आकर्षणको कुरा गर्नुभयो। तर, यही चुनावमा मतदाताले आफ्नो पार्टीलाई अस्वीकार्य बनाएपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। यसले वैकल्पिक भनिएका पार्टीलाई पनि मतदाताले विकल्प नमानेको प्रष्ट हुँदैन र?
मैले विवेकशील साझा पार्टी स्थापित हुन्छ भनिरहेको छैन। यो पार्टीले आफूलाई करीब करीब डुबाइसकेको छ। पाँच वर्ष अगाडि साझा विवेकशील पार्टीमा जुन क्रेज थियो, त्यो अब रहेन। विवेकशील साझाले राम्रो काम गरेको भए स्वतन्त्र उम्मेदवार आउँदै आउँदैनथे। यो कुरा बालेन्द्र आफैंले स्विकारेका छन्।
रवीन्द्र मिश्र वा नयाँ शक्ति बनाउँछु भनेर लागेका बाबुराम भट्टराईले पार्टी निर्माणका लागि चाहिने सामग्री नै जुटाउनुभएन। कांग्रेस विराटनगरको जुट मिल आन्दोलनबाट आयो। त्यो आन्दोलनलाई बिपी कोइरालाले समाजवादसँग जोड्नुभयो। त्यो पार्टी लोकतन्त्र स्थापनाका लागि जन्मियो। एमाले झापा विद्रोहबाट जन्मियो। किसान र युवासँग जोडे। खास गरी एमालेले सामाजिक न्यायको कुरा समात्यो। माओवादीले गणतन्त्र र संघीयतालाई मुद्दा बनाएर रोल्पा–रुकुमबाट संघर्ष शुरू गर्यो। अर्थात्, पार्टी स्थापनाकै वेलामा केही न केही झिल्को बाल्यो।
विवेकशील साझाले राष्ट्रिय मुद्दा र भाष्य बनाउनै सकेन। नेतृत्व उत्पत्तिकालमै झगडामा फस्यो। यो कुरा बालेन्द्र साहले पनि आफ्नो अन्तर्वार्तामा भनेका छन्।
भारतमा अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले यहाँले भने जस्तो राष्ट्रिय मुद्दा नउठाएरै सफलता पाइरहेको देखिन्छ नि?
कांग्रेस राणा शासन विरुद्ध लड्यो। पञ्चायत विरुद्ध कांग्रेस र कम्युनिष्ट दुवै लडे। व्यवस्था विरुद्ध लड्न राष्ट्रिय भाष्य आवश्यक पर्दछ। तर, व्यवस्था सुधार्न सुशासन भए पुग्छ। केजरीवालको आपले सुशासनलाई अजेन्डा बनायो। जनताले सार्वजनिक निकायबाट पाउनु पर्ने सेवासुविधालाई केन्द्रमा राखे। बालेन्द्रले पनि सेवासुविधा अर्थात् डेलिभरीमै जोड दिए। काठमाडौंमा फोहोर उठेन, पानी आएन, सम्पदाको संरक्षण भएन भन्ने कुरालाई केन्द्रमा राखिएको छ। नेपालका सबै पार्टीहरू चुकिरहेका वेला बालेन्द्रले ‘डेलिभरी’ सुनिश्चित गर्छु भनेपछि मतदाताले मत दिए।
तर, सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र अन्य कुनै पनि दलले हाम्रो डेलिभरी राम्रो भयो त्यस कारण भोट दिनुस् भनेर मतदाता कहाँ जान सकेनन्।
२०७४ को स्थानीय चुनावमा कांग्रेसले साढे ११ हजार जनप्रतिनिधि जितेको थियो। यस पटक ३२८ पालिका प्रमुख सहित झण्डै १४ हजार जनप्रतिनिधि जितेको छ। कांग्रेस यो परिणामबाट दङ्ग किन नपर्ने?
दङ्ग होइन, चिन्तित हुनुपर्ने हो। हो, अघिल्लो पटक २६६ वटा पालिका प्रमुख जितेको थियो। यस पटक तीन सयभन्दा बढी पालिकामा जितेको छ। तर, यसमा उल्लेख गर्नैपर्ने कुरा के छ भने, कांग्रेसले एक्लै उठेको ४०० पालिकामध्ये २०० मा परिणाम आफ्नो पक्षमा पारेको छ। जहाँ माओवादीसँग तालमेल गरेको छ त्यहाँ ३५–३६ प्रतिशत मात्रै सफलता प्राप्त गरेको छ। यसको मतलब माओवादीलाई नबोकेको भए कांग्रेसले ५० प्रतिशत ठाउँमा जित्ने रहेछ।
माओवादी लगायतसँग तालमेल गर्दा ३२८ पालिका प्रमुख जितेको पार्टीले एक्लै लड्दा कसरी ५० प्रतिशतमा जित्थ्यो?
हो, गठबन्धन गरेर कांग्रेसलाई नोक्सान भएको छ। ७५३ ठाउँमै उम्मदेवारी दिएको भए कांग्रेसले ४०० भन्दा बढी पालिकामा जित्थ्यो।
गणितीय रूपमा लाभ हुने मात्रै होइन, स्थानीय चुनावमा तालमेल गर्नु सैद्धान्तिक रूपमै गलत हो। यस पटक गठबन्धन गर्नाले अन्य पार्टीहरूको वास्तविक हैसियत के हो त्यो थाहा हुनै सकेन। झलनाथ खनाल, माधव नेपाल र पुष्पकमल दाहाल, उपेन्द्र यादवहरूले कांग्रेसले धोका दियो भनिरहनुभएको छ।
विराटनगर महानगरको मेयरमा गठबन्धनबाट लडेका कांग्रेसका नागेश कोइराला ३० हजारभन्दा बढी मत पाएर विजयी भए। तर, उपमेयरमा गठबन्धनबाटै उम्मेदवारी दिएका जसपाका अमरेन्द्र यादवले ३० हजारको आधा मत पनि पाएनन्। यो कांग्रेसले धोका दिएको नभएर के हो?
धोका दिएको होइन, कांग्रेसलाई बुझ्न नसकेको हो। कांग्रेस पार्टीको १० लाख क्रियाशील सदस्य छन्। जसमध्ये ५० हजारदेखि एक लाख जतिले पार्टीले जसलाई उठाए पनि भोट दिन्छन्। तर, सबैले भोट दिंदैन्। कम्युनिष्टहरू चाहिं कांग्रेसलाई पनि कम्युनिष्ट जस्तै ठान्छन्। कांग्रेस ‘मास बेस्ड’ पार्टी हो भन्ने बिर्सन्छन्। कार्यकर्ताभन्दा शुभेच्छुक र समर्थकको बलमा टिकेको पार्टीको भोट नेताले जता निर्णय गर्यो उता जाँदैन। विराटनगरमा भएको त्यही हो।
काठमाडौंकै उदाहरण हेरौं न। कांग्रेसबाट वडाध्यक्षमा उठेकाहरूले पाएको कुल भोट बालेनको भन्दा धेरै छ। तर, मेयरका कांग्रेस उम्मेदवारले ३८ हजार मत पाए। कांग्रेसको भोट कम्युनिष्ट पार्टीमा सजिलै सार्न सकिंदैन भन्ने कुरा शेरबहादुर देउवा र रामचन्द्र पौडेलजीहरूले बुझ्नु जरुरी छ।
भरतपुरमा त कांग्रेसकै भोटले माओवादी उम्मेदवार निर्वाचित भएकी होइनन् र?
त्यो अपवाद हो। र, कांग्रेस केन्द्रीय समितिको सम्पूर्ण ध्यान गठबन्धन टिकाउन भन्दै रेनु दाहाललाई जिताउन केन्द्रित भयो। रेनुलाई जिताउन लगाएको शक्ति आफ्नो उम्मेदवार जिताउन लगाएको भए कांग्रेसले ४५० भन्दा बढी पालिका प्रमुख जित्थ्यो। तर, शेरबहादुरजी र रामचन्द्रजीले कांग्रेसको विस्तारभन्दा पनि रेनुलाई जिताएर गठबन्धन टिकाउने अनि आगामी निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन केन्द्रित गर्नुभयो।
कांग्रेसले पनि कैयौं पालिकामा माओवादीको भोट पाएर जितेको छ नि?
मैले त्यसलाई अस्वीकार गरेको छैन। कांग्रेसको भोट नभए भरतपुरमा रेनु दाहालले जित्थिन्? वा पोखरामा धनराज आचार्यले जित्थे? त्यो त सम्भवै थिएन नि। त्यहाँ कांग्रेसको मात्रै मतले कांग्रेस आफू पनि जित्दैनथे होला। तर, ती दुवै महानगरमा ती दलहरूभन्दा कांग्रेस नै ठूलो पार्टी पक्कै हो।
मैले उठान गर्न खोजेको कांग्रेसको भविष्यको कुरा हो। गठबन्धनले गर्दा कांग्रेस बिस्तारै खुम्चिंदै जान्छ। प्रतिनिधि सभा चुनावमा पनि गठबन्धन कायम रह्यो भने १६५ मध्ये १०० ठाउँमा मात्रै कांग्रेसले उम्मेदवारी देला रे। यो त ६०–६५ प्रतिशत पूर्णाङ्क लिएर परीक्षा दिए जस्तो भयो नि। राष्ट्रिय स्तरको पार्टी यसरी आफैं खुम्चिनका लागि समर्पण गरेर गएको कांग्रेस मात्रै होला। पुष्पकमल दाहाल, बाबुराम भट्टराईका पार्टीहरू झण्डै झण्डै क्षेत्रीय पार्टी हुन्। मधेशवादी पार्टीहरू क्षेत्रीय भइहाले। त्यस्ता पार्टीहरूले राष्ट्रिय पार्टीसँग गठबन्धन गरेर राष्ट्रव्यापी संगठन बनाउन रणनीति तय गर्छन्। कांग्रेस र एमाले जस्ता राष्ट्रिय पार्टीले जित-हार जे भए पनि स्थानीय चुनावमा आफ्नै उम्मेदवार उठाउनु राम्रो हुन्छ।
७५३ पालिकामध्ये ७३८ पालिका प्रमुखमा उम्मेदवारी दिएको एमालेले अघिल्लो निर्वाचनमा भन्दा कम सीट जित्यो। यसले धेरै उम्मेदवार उठाउँदैमा हुँदो रहेनछ भन्ने देखाउँदैन र?
माओवादी, एकीकृत समाजवादी छुट्टिएर गएपछि पनि एमालेमा एउटै धार छैन। एमाले नेताहरूबाट अन्तर्घातको कुरा आइरहेको छ नि, त्यसले पनि त्यहाँ दुई धार रहेछ भन्ने देखाउँछ। अर्कातिर उनीहरूले पनि भने जसरी निर्वाचन परिचालन गर्न सकेनन्।
यति हुँदाहुँदै पनि एमालेले ल्याएको मत सम्मानजनक हो। तीन टुक्रा भएको पार्टीले दुई सयभन्दा बढी पालिका र झण्डै १२ हजार जनप्रतिनिधि जित्नु नराम्रो होइन। चार वटा महानगरमा उपमेयर जितेको छ।
एकछिन सम्झनुस् त, २०७५ मा माओवादीसँग एकीकरण भएपछि त एमाले भन्ने पार्टी नै थिएन। २०७७ फागुनमा सर्वोच्च अदालतको फैसलापछि पुनः जन्म भएको पार्टी हो। घनश्याम भुसाल, भीम रावलहरू एमालेमा छन् कि छैनन् जस्तो अवस्थामा छन्। यस्तो असहज स्थितिमा पनि उठेर यति सीट ल्याउनु भनेको राम्रो हो।
यसअघिका अन्तर्वार्तामा यहाँले भन्नुभए जस्तो माओवादी केन्द्रको सीट सङ्ख्या घटेन, बरु बढ्यो। माओवादीप्रतिको विश्लेषण नै पूर्वाग्रही भएको हो?
माओवादीको धरातल हेर्दा अघिल्लो चुनावमा भन्दा आधा मात्रै सीट जित्नुपर्ने हो। माओवादीको सीट घट्थ्यो, कांग्रेसले उसलाई उद्दार गर्यो। त्यसैले विश्लेषण केही फरक पर्न गएको हो। माओवादीलाई मात्रै होइन माधवजी, झलनाथजीहरूको पार्टीलाई पनि कांग्रेसले बोकेर हिंडेको छ।
कांग्रेसले १० वर्ष सत्ता बाहिर नबसेसम्म चेत्ला जस्तो लाग्दैन। शेरबहादुरजी पछि अर्को पुस्तालाई सत्तामा पुग्न १०–१५ वर्षसम्म बाटो बिराउँछ जस्तो लाग्छ।
त्यसो भए स्थानीय चुनावमा पनि बाटो बिरायो भन्न खोज्नुभएको हो?
बिराएकै हो। स्थानीय चुनाव कांग्रेस एक्लै लड्नुपर्थ्यो। कांग्रेस एक्लै लडेको ठाउँमा आएको नतीजाले पनि त्यही देखाउँछ। गठबन्धनले गर्दा माओवादीलाई लाभ भयो। माधवजीको पार्टीको पनि शुरूआत भयो।
नेकपा (एकीकृत समाजवादी)ले एउटा महानगर सहित ९८६ जनप्रतिनिधि जितेको छ। निर्वाचनले यो पार्टीको भविष्यबारे केही सङ्केत गर्यो?
यो जिरोबाट शुरू भएको पार्टी हो। अब जनताको बीचमा यो पार्टी वैध भयो।
भलै कांग्रेसका लागि यो प्रतिस्पर्धी पार्टी जन्मिएको हो। कांग्रेसले कसरी भन्न सक्छ कि भोलिका दिनमा कम्युनिष्ट पार्टीहरूको एउटै नेतृत्व हुँदैन भनेर? त्यो म निकट भविष्यमै देख्छु।
![](https://www.himalkhabar.com/uploads/editor/election/local%20election_2079/Puranjan%20Acharya%20%283%29.jpg)
यहाँले स्थानीय निर्वाचन लगत्तै वाम एकताको बाँसुरी बच्छ भन्नुभएको थियो। निर्वाचनको यो परिणामले राजनीति त्यता जाने देखियो कि देखिएन?
सिङ्गो कम्युनिष्ट आन्दोलनमा एकताको छटपटी छ। माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल सबैमा त्यो छटपटी देख्छु। एमाले पनि केपी शर्मा ओलीमा बाहेक त्यो देखिन्छ। ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, १० भाइ सबैमा वामएकताको चाहना देख्छु। अहिलेलाई ओलीजी मात्रै वामएकताको बाधक हुनुहुन्छ।
स्थानीय तह निर्वाचन परिणाममा हेर्दा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि शक्ति सन्तुलन कस्तो होला?
यो गठबन्धन कायम रह्यो भने कांग्रेसले नै नेतृत्व गर्ने सम्भावना प्रबल छ। कम्युनिष्ट मत टुक्राटुक्रा हुने भएकाले कांग्रेस लाभान्वित हुन्छ। कम्युनिष्ट एकता भयो भने कांग्रेसलाई अप्ठ्यारो पर्छ। प्रतिनिधि सभामा व्यक्त ओली र दाहालको मन्तव्य सुन्दा स्थानीय चुनावको हन्डरले उनीहरूमा चेत आएको देखिंदैन। एमालेले नयाँ ढङ्गले सोच्नुपर्ने हो। तर, त्यहाँ ओलीजीले नचाहँदासम्म केही हुँदैन। कम्युनिष्टको दूरी बढ्ने अवस्थामा कांग्रेस एक नम्बर पार्टी भएर आउने सम्भावना देख्छु।
यद्यपि आगामी चुनावपछि पनि एमाले वा कांग्रेस एक्लैले सरकार बनाउने सम्भावना देख्दिनँ। कांग्रेसले बनाउन सक्ने सम्भावना थियो। तर, शेरबहादुरजीले स्थानीय निर्वाचनमा माओवादीलाई बोकेर एक्लै सरकार बनाउने अवसर गुमाउनुभयो।
भलै व्यावहारिक राजनीतिमा शेरबहादुरजी राम्रा खेलाडी हुन्। शेरबहादुरजीको बिस्तारै कम्युनिष्टकरण हुँदै छ। कांग्रेसको प्रचण्डकरण हुँदै छ। प्रचण्डको बार्गेनिङ पावर बढेको छ। प्रदेश र प्रतिनिधि सभा चुनावमा दाहालले शेरबहादुरजीसँग ५०–५० को बार्गेनिङ गर्नुभयो भने अचम्म नमाने हुन्छ।
कुराकानीको शुरूआत स्वतन्त्रबाट गरेका थियौं, अन्त्य पनि त्यसबाटै गरौं। स्वतन्त्र उम्मेदवारहरूले संसदीय निर्वाचनमा के गर्लान्?
बालेन्द्र साहले नयाँ पार्टी गठन गरेर संसदीय चुनाव लड्छन् जस्तो लाग्छ। काठमाडौंका केही क्षेत्रबाट प्रयोग शुरू गर्लान् जस्तो लाग्छ। चुनाव चिह्न पनि लौरो नै होला। निश्चित सङ्ख्यामा मध्यम वर्ग भएका, सूचना प्रविधिको पहुँच र दलहरूप्रति वितृष्णा हुनेहरूको सङ्ख्या भएको काठमाडौं बाहिर पनि त्यस्तो प्रयास शुरू हुन सक्छ। अहिलेकै नेतृत्व रहेसम्म कांग्रेस र एमाले सुध्रिने सम्भावना पनि देख्दिनँ। अब पनि दलहरूले राम्रो उम्मेदवार छनोट गरेनन् भने स्वतन्त्रहरूले संगठित वा असंगठित दुवै रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लैजान्छन्। वास्तवमै स्वतन्त्रहरूको सफलता पार्टीले उठाएका गलत उम्मेदवार र कुशासन विरुद्धको विद्रोह हो। युवालाई बेवकूफ बनाएर बन्दुक बोकाए, तर सुशासन–समृद्धि दिएनन्।
स्वतन्त्र उम्मेदवारी राजनीतिक व्यवस्था सुधारको अभियान हो, व्यवस्था विरुद्धको विद्रोह होइन। तर, कांग्रेस र एमाले नसुध्रिने हो भने नयाँ पार्टीको मार्ग फराकिलो हुँदै गएको देख्छु। त्यस्तो सङ्केत आउँदो चुनावमै देखिन्छ।
तस्वीर/भिडियोः मोनिका देउपाला/हिमालखबर