काठमाडौंमा बालेन साहकाे जितको अर्थ हो, जात र क्षेत्रभन्दा माथि उनको योजना र थरभन्दा व्यक्तित्वको छनोट भएको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजुराज जोशीलाई पराजित गर्दै नेकपा (एमाले)का विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भए। जोशी १९ हजार ६४४ को फराकिलो मतान्तरले हारेका थिए। उनी पराजित हुनुका विभिन्न कमजोरीबारे समीक्षा गर्दा त्यस वेला कांग्रेसले नेवार मतदाताको बाहुल्य रहेको काठमाडौंको मेयर पदमा गैरनेवार उम्मेदवार बनाउनु पनि एक कारण रहेको टिप्पणी गर्यो। कतिपय गुठीले निर्णय गरेरै शाक्यलाई मत दिएको चर्चा पनि चल्यो।
यसले काठमाडौंमा नेवार समुदायको उम्मेदवारले मात्र चुनाव जित्ने भाष्य बलियो बनायो। त्यही भाष्यलाई आधार बनाएर काठमाडौंमा गैरनेवारको उम्मेदवारी पर्नु भनेको चुनावअघि नै हार निश्चित हुनु हो भन्ने परम्परागत सोच अझ सघन भयो। यस किसिमको मान्यतालाई एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले बारम्बार बढावा दिइरहे।
स्थापितले स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को चर्चा चुलिंदै जाँदा उनलाई सजिलै हराउने दाबी मात्र गरेनन्, बालेन मधेशतिरको साह भएको र आफ्नो जातीय पहिचान लुकाएको भन्दै ‘अन्तर्राष्ट्रिय ठग’ करार गरिदिए। काठमाडौंका ‘रैथाने’ ले मधेशको मान्छे र मधेशीलाई भोट नदिने ठोकुवा गरेका उनले आधा मत गनिसक्दा पनि ‘कोर एरिया’ अर्थात् रैथाने नेवार बस्तीबाट आफूलाई ह्वारह्वार्ती भोट आउने र नतीजा आफ्नो पक्षमा आउने दोहोर्याइरहे।
स्थापितले २०५४ सालको स्थानीय चुनावमा आफूले जितेको इतिहास सम्झाउँदै आफू काठमाडौंको स्थानीय भएका कारण जित्नेमा ढुक्क रहेको दाबी त गरे, तर उनी सहित धेरैलाई चकित पार्ने गरी बालेनको मधेशी परिचय खुलेर पनि उनीप्रति काठमाडौंका मतदाताको विश्वास देखियो। मतगणनाको शुरूआतदेखि नै अग्रता लिएका उनले त्यसलाई कायम राख्दै जित हात पारे। काठमाडौंका मतदाताले रैथानेलाई मात्र चुन्छन् भन्ने भाष्य बालेनको जितले गलत सावित गरेको छ।
सामाजिक अभियन्ता रेशु अर्याल काठमाडौंका जनताले आफ्नो समुदायका उम्मेदवार जिताउनेतिर नलागी आफ्नो विवेक प्रयोग गरेर स्थानीय समस्या र विशेषता बुझेको जनप्रतिनिधि रोज्नतिर ध्यान दिएको टिप्पणी गर्छिन्। उनका अनुसार, काठमाडौंमा सम्पदाप्रेमी नेवार समुदायको बाहुल्य छ, र तिनले निर्वाचनमा आफ्नो समुदायको व्यक्ति चुन्दा काठमाडौंलाई सांस्कृतिक शहर बनाइराख्छन् भन्ने विश्वास राख्ने गरेका छन्। तर, विगतका वर्षमा आफ्नो समुदायको भए पनि सक्षम व्यक्ति नभएसम्म काठमाडौंलाई बनाउन र शहरको गरिमा जोगाउन नसक्ने बुझेपछि सुझबुझ भएका युवाका रूपमा बालेनले मत तानेको अर्यालको विश्लेषण छ।
“काठमाडौं निश्चित पहिचानमा खुम्चिएर नबस्ने ‘कस्मोपोलिटन’ शहर हो, तर यहाँका नेवार समुदाय एकल पहिचानमा मात्र गर्व गर्छन् भनेर गलत भाष्य बसाल्यौं,” उनी भन्छिन्, “परिवर्तन खोजिरहेको शहर र शिक्षित युवाले नेवारभन्दा सक्षम व्यक्ति खोज्ने लहर चल्दा यस पटक मेयरमा बालेन चुनिएका हुन्।”
त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डा. मञ्चला झा बालेनलाई जिताएर काठमाडौंले बल्ल संघीय राजधानी र महानगरको विशेषता देखाएको बताउँछिन्। “राजनीतिक दलप्रतिको वितृष्णाले पनि काठमाडौंका मतदाताले को पहाडी, को मधेशी, को रैथाने समुदाय भनेर हेरेनन्। काम गर्ने मान्छे नै आवश्यक पर्ने उदाहरण पेश भयो।”
वीरगञ्जमा पनि जातीयता र क्षेत्रीयताभन्दा जनताले काम गर्ने नेता रोजेको भन्दै यस सन्दर्भमा काठमाडौंसँगै वीरगञ्जका जनतालाई पनि सम्मान गर्नुपर्ने झा बताउँछिन्। वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह विजयी भएका छन्। वीरगञ्जवासीले यसअघिका मेयर तथा नेकपा (एमाले)का उम्मेदवार विजय सरावगीलाई पराजित गर्दै पहाडी मूलका सिंहलाई २२ हजार ५४४ मतान्तरले जिताए।
जनताले पाउनुपर्ने आधारभूत सेवा र आवश्यकता पूरा नभएपछि सचेत मतदाता जातीय समुदाय र क्षेत्रीयता हेरेर नबस्ने अभियन्ता अर्याल बताउँछिन्। “काठमाडौं बिग्रिंदा पदमा आफ्नो समुदायको व्यक्ति हुँदैमा आफैं समस्या समाधान हुँदैन। विविधता स्विकार्ने काठमाडौंले यो कुरा बुझेर हाम्रोभन्दा राम्रो रोजेर उदाहरण स्थापित गर्यो,” उनी भन्छिन्।
काठमाडौंमा सबैभन्दा बढी सोह्रखुट्टे क्षेत्रमा १२ हजार ३३६ मत खसेको थियो। नेवार समुदायको बाहुल्य रहेको यो क्षेत्रमा पनि बालेनले सबैभन्दा बढी मत पाउनुले मतदाता गतिशील र परिवर्तनको पक्षमा रहेको देखाउने अर्याल बताउँछिन्।
समाजशास्त्री ओम गुरुङको विचारमा भने बालेनको मत जातीयता, क्षेत्रीयताको मुद्दाभन्दा पनि पुराना नेताहरूप्रतिको वितृष्णा र आक्रोश हो। “जातीय र क्षेत्रीयताको नारा लगाए पनि दलहरूले सक्षम नेता नै उठाएनन्,” उनी भन्छन्, “सामुदायिकताको कुरा गर्दै नेवारलाई उठाए पनि योग्य मान्छे र जनताले रुचाएकालाई भन्दा पार्टीको दुनो सोझ्याउनेलाई टिकट दिएपछि बालेनहरूले नै जित्ने हुन्।”
गुरुङले भने जस्तै यो चुनावमा पनि दलहरूले उम्मेदवार बनाउँदा मतदातालाई हेपेको र हियाएको देखियो। यौन दुर्व्यवहार सम्बन्धी मीटूको आरोप लागेका केशव स्थापितलाई एमालेले उम्मेदवार बनायो। तर, उनी नेवार समुदायका भए पनि जनताले रचाएका नेता भएनन्।
समाजशास्त्री गुरुङ दलले आफ्नो फाइदाका लागि घुमाइफिराइ एउटै र अक्षम मान्छेलाई उम्मेदवार उठाउँदा जनता समुदाय र जातीयता हेरेर नबस्ने, बरु विकल्पमा जाने धारणा राख्छन्।
गुरुङको विचारमा शिलापत्र का प्रधान सम्पादक तथा लेखक बसन्त बस्नेतको मत पनि मेल खान्छ। उनका अनुसार, मतदाताको छनोट हेर्नुभन्दा दलहरूले मतदातालाई प्रभावित पार्ने हिसाबले नेवार समुदायका व्यक्तिलाई उठाएपछि भोट आइहाल्छ भने रूढिवादी चिन्तनले उम्मेदवार अघि सारे। अहिलेसम्म साम्प्रदायिक र जातीय हिसाबमा उम्मेदवारले जित्ने गरे पनि यसमा उनी मतदाता नभई पार्टीको गल्ती देख्छन्।
“मतदाताले त उम्मेदवार उठेपछि भोट हाल्ने हुन्, काठमाडौंमा साम्प्रदायिक आधार मात्र हेरेर उम्मेदवारी दिनु दलकै त्रुटि थियो। त्यो त्रुटि यसपालि जनताले बालेनलाई जिताएर सच्याइदिए,” बस्नेत भन्छन्, “मतदातालाई के मन पर्ला भन्ने सोचविचार नगरी उम्मेदवार खडा गरिदिनु नागरिक चेतनाको ठूलो अपमान हो, जुन दलहरूले गर्दै आए।”
हुन पनि काठमाडौंसँगै साँध जोडिएको ललितपुर र भक्तपुरको उदाहरणले राम्रो उम्मेदवार भएमा समुदायको उम्मेदवार उठाए पनि नतीजा फरक नपर्ने देखाएको छ। दुवै जिल्लामा नेवार समुदायकै व्यक्तिले जितेका मात्र हैनन्, दुवैको यो लगालग दोस्रो कार्यकाल हो।
उदार भएकै हो काठमाडौं?
केही मानवशास्त्री काठमाडौंमा बालेन्द्र साहको जितले मात्र यहाँका जनता जातीयता र क्षेत्रीयताको विचारमा कति उदार भए भन्ने प्रश्नको उत्तर नआउने बताउँछन्। उनको जित राजनीतिक घटनाको प्रक्रिया भएको र यसैलाई सूचक मानेर काठमाडौंका मतदाता र नेवार समुदायको मनोविज्ञान यही हो भनेर किट्न अहिले नै हतार हुने उनीहरूको भनाइ छ।
चुनावी प्रचारमा उम्मेदवारले आफ्ना नीति र योजना कति स्पष्ट रूपमा बुझाउन सक्यो र तिनमा विश्वास जगाउन सक्यो भन्ने कुरा जनताले हेर्ने विश्लेषक झा बताउँछिन्। उनी भन्छिन्, “काठमाडौंका जनतालाई बालेनको योजना, स्पष्टवक्ताको गुण र वैकल्पिक अनुहारले तान्दा उनीहरूले समुदाय र क्षेत्रीयता हेरेनन्। यो परिवर्तनको सङ्केत हो।”
कुनै समय मधेशवादी नेताहरूको भाषणमा मधेशमा पहाडी समुदायका धेरैलाई जिताएर पठाएको र पहाडले पनि मधेशीलाई जिताएर देखाउनुपर्ने हाँक सुनिन्थ्यो। बालेनको जितले त्यो हाँकलाई जवाफ दिएको हो त?
विश्लेषक तुलानारायण साह भने संघीय राजधानी रहेको महानगरमा मधेशी युवा बालेनको जितलाई अपवाद मान्छन्। “यो अपवादलाई सामान्यीकरण गर्न मिल्दैन,” उनी भन्छन्, “बालेनको जित मधेशी वा पहाडीको विषयभन्दा पनि समाज बदलिंदै गएको, खुलापन आउँदै गरेको र शहरमा शिक्षित, जागरुक नागरिक हुनुको परिणाम हो।”
उनीले २०१५ सालदेखि अहिलेसम्मको चुनावी परिणामको विश्लेषण गरेको सुनाउँदै नेपालमा जातीय, क्षेत्रीय र लैङ्गिक हिसाबले नै चुनावमा बढी जित्ने गरेको बताए। उनका अनुसार, जातीय समाज र संरचना भएकाले माथिल्लो जात भन्नेले नै चुनाव बढीजसो जितेका छन् र जनजाति, मधेशी, मुस्लिम, थारू लगायतले आफ्नो समुदायबाट उठ्दा मात्र जित्छन्। त्यसै कारण हामीकहाँ नेता छान्ने पद्धतिमा मनोवैज्ञानिक र सामाजिक समस्या देखिने उनको ठम्याइ छ।
यो प्रवृत्तिमाझ काठमाडौंमा बालेनको जितलाई साह यहाँका जनताले विकल्प हेर्ने क्रममा जात नखोज्दा, मान्छे खोज्दाको परिणाम भएको रूपमा अर्थ्याउँछन्। बालेनको जितको कारण खोज्दा निर्वाचनमा जितका चार वटा आधार संगठन, व्यक्ति, अभियान र योजनामा उनी अब्बल सावित भएका छन्। उनको ‘रोडम्याप’ नै जितको कारण भएको बताउने विश्लेषक झाका अनुसार, पुराना दलका उम्मेदवारभन्दा बलियो हुनु र काठमाडौंका शिक्षित युवाको भोट पाउनु पनि आधार बन्यो। “आफूलाई मधेशी मूलका व्यक्तिभन्दा पनि काठमाडौंको भविष्यको बाटो देखाएका कारण उनी चुनिए,” उनी भन्छिन्।
स्थानीय निर्वाचनमा स्वतन्त्र तथा फरक समुदायका उम्मेदवारको जित हेर्दा समाजले आफ्नो समस्या र जनजीविकालाई सम्बोधन गर्न सक्ने व्यक्तिको छनोट गर्न जागरुकता विकसित गरेको देखिन्छ। त्यसलाई बालेनले घोषणा गरेका योजनाहरूको कार्यान्वयन कसरी अगाडि बढ्छ भन्ने कुराले थप प्रस्ट्याउला।
परिवर्तनको खोजीमा समाजले खास समयमा अनपेक्षित नतीजा निकालेको देखिन्छ। भारतमा वैकल्पिक शक्तिका रूपमा उदाएको आम आदमी पार्टी (आप)का अरविन्द केजरिवाल एकाएक दिल्लीका जनतामाझ हाई-हाई भएर मुख्यमन्त्री बने। आपले दिल्लीमा तेस्रो पटक सत्ता चलाइरहेको छ।
यस किसिमको उम्मेदवारको छनोटलाई समाजशास्त्रको सिद्धान्तले दुई तरीकामा व्याख्या गरेको पाइन्छ। पहिलो, एउटै जात, पुरानो टोल, एउटै नातागोता भनेर भोट दिने परिपाटी ‘मेकानिकल सोलिडारिटी’ हो। तर, हामीले आधुनिक चरित्र ग्रहण गरेपछि अहिले बालेन निर्वाचित हुनुलाई ‘अर्गानिक सोलिडारिटी’ भन्न सकिन्छ, जहाँ जनताले कसले आफ्ना समस्या समाधान गर्न सक्छ भनेर उम्मेदवार चुन्छन्। जसरी यस पटक जात र क्षेत्रभन्दा माथि बालेनको योजना र उनको थरभन्दा व्यक्तित्वको छनोट भएको छ।
नरसिंह व्यञ्जनकारसँग आर्शीवाद लिँदै बालेन्द्र साह (बालेन)।
'पारदर्शी भिजनका कारण बालेनमा विश्वास'
ललितपुर महानगरपालिका-१० मा १०औं पटकसम्म निरन्तर वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार (८१)लाई पनि काठमाडौंको मेयरमा बालेनको जित असम्भव लागेको थियो। त्यसको आधार नेवार समुदायको जनसङ्ख्या नै थियो। २०६८ सालको जनगणना अनुसार, काठमाडौंमा एक सय जातिका १७ लाख ४४ हजार २४० मानिस बसोबास गर्छन्, जसमध्ये नेवार समुदायको सङ्ख्या तीन लाख ८३ हजार १३६ छ।
उम्मेदवारी दिनु पाँच महीना अगावै बालेन व्यञ्जनकारलाई भेट्न गएका थिए।
त्यस वेला उनले बालेनलाई भनेका थिए, “नेवार भएको ठाउँमा तपाईं ठिटोले जित्नुहुन्न।”
अहिले उनी हाँस्दै भन्छन्, “तर बालेनको पारदर्शी भिजन र स्पष्टताले जितेर देखाए।”
व्यञ्जनकार बालेनलाई समझदार र चतुरको संज्ञा दिन्छन्। हुन पनि पाँच महीनाअघि बालेनले व्यञ्जनकारसँग आशीर्वाद मात्र हैन, काठमाडौंमा जित हासिल गर्न सल्लाह पनि लिए। व्यञ्जनकारले काठमाडौं जात्रा र पर्वहरूको शहर भएकाले नेवारको रीति, संस्कृति बुझ्न र उनीहरूका कुरा सुन्न सुझाव दिए।
उनी भन्छन्, “त्यसपछि बालेनले अध्ययन गरे। काठमाडौंलाई सुन्दर बनाउन एउटै सम्पदा नमासी काम गर्ने योजना ल्याए। उनलाई मतदाताले विश्वास पनि गरे।”
व्यञ्जनकारलाई ‘बालेनलाई आशीर्वाद दिए वडाध्यक्षमा तपाईंलाई हराउँछौं’ भन्ने धम्की पनि आयो। तर, आफूले हारे पनि देशले नहारोस् भनेर आशीर्वाद दिएको सम्झिँदै उनी भन्छन्, “हिजै श्रीमती सहित आशीर्वाद लिन आएका थिए। पहिलो काम काठमाडौंका नदी-तीर्थहरूलाई व्यवस्थित गर्न सुझाव दिएँ।”
काम गर्दै अघि बढे बालेनलाई काठमाडौंको नेवार समुदायले मात्र नभई देशभरिका जातजातिले पत्याउने उनी बताउँछन्।