प्रि-मनसुन अर्थात चैत, वैशाख र जेठमा चुरे क्षेत्र तथा बङ्गालको खाडी नजिकका भूभागमा चट्याङ पर्ने सम्भावना धेरै हुने भएकाले सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन्।
मकवानपुरगढी गाउँपालिका-६ की राममाया लोप्चनलाई मौसम धुम्मिनासाथ चट्याङ पर्ने हो कि भन्ने चिन्ताले सताउँछ। उनलाई यस्तो चिन्ताले सताउन थालेको १८ वर्षभन्दा बढी भयो।
२०६० जेठ २७ गते उनी घरमा मकै केलाउँदै थिइन्। हल्का पानी परिरहेको थियो। एक्कासि झिलिक्क भयो। त्यसपछि उनले केही थाहै पाइनन्। “थाहा पाउँदा म भरतपुर अस्पतालमा थिएँ,” उनले त्यो क्षण स्मरण गरिन्, “चट्याङ हानेको पत्तै नपाइने रहेछ।”
त्यो वेला चट्याङ लागेर राममाया र श्याम घिमिरे घाइते भएका थिए। श्यामको ६ घण्टापछि होस फिर्यो‚ राममाया एक दिनपछि मात्रै होसमा आइन्। त्यो घटनामा मृत्युको मुखमा पुगेर फर्केको उनी सुनाउँछिन्। राममायाले भनिन्, “धन्न समयमै उपचार पाएकाले बाँचें।”
प्रि-मनसुन अर्थात् चैत, वैशाख र जेठमा चट्याङको जोखिम धेरै हुने गरेको विज्ञहरू बताउँछन्। देशभरमा चट्याङको उच्च जोखिममा रहेका जिल्लामा मकवानपुर पनि पर्छ। यहाँ वैशाख लागेपछि मात्र सात वटा चट्याङका घटना भइसकेका छन्।
चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १२ परिवारका १३ जना घाइते भएको मकवानपुर जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। वैशाख ७ गते परेको चट्याङले राक्सिराङ गाउँपालिका-८ गोङरेङका ६५ वर्षीय जितबहादुर गोलेको मृत्यु भएको हो।
केही वर्षयता मकवानपुरमा चट्याङका घटना बढ्दै गएका छन् भने यसबाट जनधनको क्षति पनि बढिरहेको छ। त्यसैले यसबाट बच्न सचेतनाका कार्यक्रमलाई विशेष ध्यान दिइएको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पौडेलले बताए।
“चट्याङको रोकथाम गर्न सकिंदैन, तर बच्नका लागि सचेतना जगाउने काम गरिरहेका छौं। सबै पालिकाहरूलाई यसबारे निर्देशन पनि दिएका छौं,” उनले भने। चट्याङको उच्च जोखिम क्षेत्र पहिचान गरी चट्याङ प्रतिरोधक स्टेशन जडान तथा व्यवस्थापन गर्ने काम भइरहेको प्रजिअ पौडेलले बताए।
चट्याङका कारण मृत्यु वा घाइते भए सरकारले जिल्ला विपद् व्यवस्थापन समिति मार्फत दुई लाख रुपैयाँसम्म राहत उपलब्ध गराउँछ। चट्याङको कारण घर जले अवस्था हेरेर राहत दिइने गरेको प्रजिअ पौडेलले बताए।
पाँच वर्षमा २३ को मृत्यु्
मकवानपुरमा पाँच वर्षको अवधिमा ७६ वटा चट्याङको घटना भएको विपद् व्यवस्थापन समितिको तथ्याङ्क छ। उक्त घटनामा २३ जनाको मृत्यु र १४१ जना घाइते भएका छन्। मृतकमध्ये आठ पुरुष र १५ जना महिला छन्।
चट्याङले सात वटा पशु मरेको तथ्याङ्क छ। यस्तै, ७५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। यसले १२० परिवारलाई असर परेको छ।
कुन क्षेत्रमा बढी जोखिम?
चुरे क्षेत्र र पहाडी भूभाग चट्याङ्को बढी जोखिममा हुने चट्याङविज्ञ श्रीराम शर्मा बताउँछन्। यस्तै, बङ्गालको खाडी नजिक रहेका नेपालका भूभाग पनि बढी जोखिममा रहेको उनको भनाइ छ।
“बङ्गालको खाडी नजिक भनेको झापा, मोरङतिरको क्षेत्र हो, त्यहाँ चट्याङको जोखिम उच्च छ,” शर्माले भने, “त्यसपछि चुरे क्षेत्र बढी प्रभावित छ।”
बागमती प्रदेशका मकवानपुर, सिन्धुली, काभ्रेप्लाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्ला चट्याङबाट धेरै प्रभावित छन्। गएको १० वर्षमा बागमती प्रदेशमा चट्याङबाट २३१ जनाको मृत्यु भएको छ भने ६२३ जना घाइते भएका छन्।
शर्माका अनुसार, मान्छेमाथि चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भई मृत्यु समेत हुन्छ। चट्याङको आवाजले कानको जाली फुट्ने पनि गर्छ।
कसरी जोगिने?
चट्याङविज्ञ शर्माका अनुसार, यसबाट जोगिन चट्याङ प्रतिरोधी घर निर्माण गर्नुपर्छ। चट्याङ प्रतिरोधी घर निर्माण गर्न घरमाथि तामाको त्रिशूल वा रड राख्नुपर्छ। घरमुनि माटोमा तामाको पाता राख्नुपर्छ। यी दुईलाई जीआई पाताले जोड्नुपर्छ र तामाको पातालाई माटोले पुर्नुपर्छ।
यस्तै, चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्लो टावर नजिक, अग्ला रूखमुनि बस्नु हुँदैन। धातुको तारबार नजिक, समथर र खुला ठाउँमा पनि बस्नु हुँदैन।
भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहनुपर्छ। यस्तै, चट्याङ परेका वेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्नु उचित हुने शर्माको सुझाव छ। छत नभएको सवारी साधनमा भए सुरक्षित स्थानमा जानुपर्छ। गाडीभित्र भए त्यहीं बस्न सुरक्षित हुने उनी बताउँछन्।