गठबन्धनले चुनाव भाँड्ने षड्यन्त्र गरिरहेको छ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले अझै पनि चुनाव भाँड्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
आइतबार हेटौंडामा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले हार्ने डरले पाँच दलीय गठबन्धनले चुनाव भाँड्ने षड्यन्त्र गरिरहेको जिकिर गरे। “फागुनमै चुनाव सकिन्थ्यो, गठबन्धनले हुन नदिएर दुई महीना पछाडि धकेलियो,” ओलीले भने, “अब फेरि हार्ने डरले षड्यन्त्र शुरू भएको छ।”
सरकारले निर्वाचन आचारसंहिता पनि उल्लंघन गरेको उनको आरोप थियो। गठबन्धनको सरकारले भोटका लागि आचारसंहिता लागू भएपछि स्वास्थ्य सामग्री किनेको उनको जिकिर छ।
सरकारले जनताका लागि कुनै काम गर्न नसकेको उनको भनाइ थियो। प्रदेशमा मन्त्री र मन्त्रालय मात्रै थपेको ओलीले जिकिर गरे।
नेपाली कांग्रेससँग देश बनाउने योजना नभएको ओलीको भनाइ थियो। एमालेको घोषणापत्रमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम आठ ठाउँमा आएको तर, कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेको उल्लेख गर्दै ओलीले भने, “कांग्रेसले जता हेरे पनि एमाले मात्रै देखिरहेको छ। एमालेलाई गाली गर्ने र धारेहात लगाउने मात्रै नीति छ।”
अध्यक्ष ओलीले स्थानीय चुनावलाई सामान्य रूपमा नलिन कार्यकर्तालाई निर्देशन दिए। “यो चुनाव भनेको नेपाल जोगिने र नजोगिने भन्ने लडाइँ हो, सामान्य चुनाव हैन,” उनले भने।