विद्यालयमै मिडिया साक्षरता
मिडिया साक्षरताले सुसज्जित विद्यार्थीले समाजका वर्चस्वशाली विचारधारा र भाष्यहरूलाई चुनौती दिँदै आफ्नै वैकल्पिक मिडिया सिर्जना गर्न सक्छन्।
इन्टरनेटमा आधारित सामाजिक सञ्जाल र माध्यमहरूलाई नियमन गर्ने प्रयास असान्दर्भिक होइन, तर वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले यो प्रत्युत्पादक हुन सक्छ। किनभने, नियमन माध्यमहरूको व्यापारमा होइन, प्रयोगकर्ताको अभिव्यक्तिमा हुने प्रष्ट छ। अनलाइन माध्यमबाट गरिने भिडिओ प्रसारणलाई नियन्त्रण गर्ने गरी भएको राष्ट्रिय प्रसारण नियमावली संशोधन एक उदाहरण हो।
नियमनका नाममा नियन्त्रण लोकतन्त्रमा स्वीकार्य हुँदैन। मिडियालाई व्यवस्थित बनाउने दिगो उपाय भनेकै आम पाठकहरूलाई शिक्षित बनाउनु हो, ताकि उनीहरूले मिडियाका सन्देश र समाचार सामग्रीलाई सजिलै परख गर्न सकून्। मिडियाको अन्तर्वस्तु र सन्देशबारे नागरिकसम्म व्यापक सचेतना फैलाएर मात्र सशक्त समाज निर्माण गर्न सकिन्छ। तर, यो रातारात सम्भव हुँदैन।
त्यसैले यसको प्रस्थान विद्यालय शिक्षालाई बनाउनुपर्छ। करीब ७० लाख स्कूले बालबालिकालाई आधुनिक सूचना तथा सञ्चार प्रविधिको सीपले सुसज्जित बनाउँदै लैजाने कार्य नियमित पठनपाठन जस्तो होइन। चरणबद्ध पाठ्यक्रमहरूको विकास गरी विद्यार्थीलाई मिडियाका समग्र पक्षबारे सुसूचित बनाएमा शिक्षाको पुनःसंरचना गर्ने प्रयासमा समेत निर्णायक भूमिका खेल्नेछ।
आम नागरिकमा सबै खाले मिडिया सन्देश बुझ्ने, समालोचना गर्ने, प्रश्न गर्ने र अन्ततः आफैंले मिडिया सन्देशहरू उत्पादन गर्ने सीप, दृष्टिकोण र विधिको विकास गर्नु मिडिया साक्षरताको प्रमुख उद्देश्य हो। यसले विद्यार्थीको वैयक्तिक तथा शैक्षिक जीवनमा सञ्चार तथा सूचना प्रविधिहरू प्रयोग गर्ने क्षमता मात्र बढाउँदैन, लोकतान्त्रिक समाजका लागि अत्यावश्यक सुसूचित, चिन्तनशील र सक्रिय मिडिया प्रयोगकर्ता तथा मिडिया सर्जक समेत निर्माण गर्छ।
जागरुक नागरिक उत्पादन गर्ने क्रान्तिकारी पहललाई सरकार र प्राज्ञिक निकायहरूको निरन्तर सहयोग आवश्यक पर्छ। शिक्षा मन्त्रालय मार्फत यो पहलको नेतृत्व सरकारले लिनुपर्छ।
बालबालिकाहरूलाई आज यूट्युब, फेसबूक र टिकटक सिकाउनुपर्ने भएको छ। किनभने, यस्तै माध्यमबाट उनीहरू सूचना ग्रहण गरिरहेका छन्। इन्टरनेट उनीहरूको दैनिकी बनेको छ। ठूला प्रविधिमा आधारित कम्पनीहरूले कसरी हाम्रा हरेक गतिविधिलाई नियालिरहेका छन्, हाम्रा हरेक क्लिक र ब्राउजलाई मुनाफामा परिणत गरिरहेका छन्, बुझ्नुपर्ने भएको छ।
डिजिटल माध्यमहरूको वर्चस्व रहेको आजको समयमा डिजिटल साक्षरता नभई नहुने सीप हो। जब बालबालिकाले स्कूलदेखि नै इन्टरनेटमा के लेख्न हुन्छ के हुँदैन भनेर सिक्छन्, अपरिचित मानिसहरूसँग कसरी व्यवहार गर्नुपर्छ भनेर बुझ्छन्, साइबर बुलिङबाट जोगिने उपाय थाहा पाउँछन्, मिथ्या सूचना पहिल्याउँछन्, अल्गोरिदमले कसरी काम गर्छ बुझ्छन्, राजनीतिक र व्यापारिक प्रचारबाजी पहिचान गर्न सक्छन्, उनीहरूले सबै किसिमका मिडिया सन्देशलाई बुझ्ने मार्ग समात्न सक्छन्।
जिज्ञासु उमेरमै मिडिया साक्षरताका सीपहरूको प्रयोगमा निपुण बनाएर मात्र उनीहरूलाई सचेत नागरिक बनाउन सकिन्छ। अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक जेम्स डब्लू. पोट्टर सेभेन स्किल्स अफ मिडिया लिटरेसी (२०१९) पुस्तकमा मिडियाका सन्देश बुझ्न सात वटा सीप प्रस्ताव गर्छन्- विश्लेषण, मूल्याङ्कन, समूहीकरण, आगमन, निगमन, संश्लेषण र सारसंक्षेप। यी सीप हरेक नागरिकलाई आवश्यक छन्।
यी सीप सिकाएर विद्यार्थीलाई कुनै पनि मिडियाको सामग्री वा सन्देशलाई विश्लेषण तथा व्याख्या गर्ने र सन्देशको विश्वसनीयतालाई स्वीकार वा अस्वीकार गर्ने क्षमता विकास गर्न सक्छौं। सूचनाको बाढीमा आफूलाई आवश्यक सूचना खोज्ने र त्यसको आधिकारिकता परख्ने दीर्घकालीन विधि यही हो।
आफ्नो सूचनाको आवश्यकता थाहा भएमा मात्र हामी सही सामग्री छनोट गर्न र सचेत धारणा बनाउन सक्छौं।
युनेस्को (२०१३) ले यो अवधारणालाई मिडिया तथा सूचना साक्षरता भन्ने गरेको छ। यस अन्तर्गत मिडिया सामग्रीसम्म पहुँच, पुनःप्राप्ति, सन्देश बुझ्ने, मूल्याङ्कन गर्ने, प्रयोग गर्ने, समालोचनात्मक ढङ्गले हेर्ने, आफूले पाएको सूचना वा सन्देश नैतिक तथा प्रभावकारी तवरबाट अरूसँग बाँड्ने र वैकल्पिक मिडिया सन्देश सिर्जना गर्नेसम्मका सीपहरू पर्छन्।
विद्यार्थी मात्र होइन, प्रायः हामी सबै मिडियाको सचेत उपभोग गर्न चुकिरहेका हुन्छौं। आफ्नो सूचनाको आवश्यकता थाहा भएमा मात्र हामी सही सामग्री छनोट गर्न र सचेत धारणा बनाउन सक्छौं। मिडिया संस्थाको संरचना, समाचार सामग्रीको उत्पादन, मिडिया उपभोक्ता (पाठक/श्रोता/दर्शक/प्रयोगकर्ता) र मिडिया सन्देशहरूको प्रभावबारे हामी साक्षर भयौं भने हामी यस्तो धारणा विकास गर्न सक्छौं।
बालबालिकाहरू मोबाइल तथा कम्प्युटरमा हुने सञ्चारमा यति अभ्यस्त छन् कि त्यसको सकारात्मक तथा नकारात्मक असर उनीहरूको विचार र व्यवहारमा परिरहेकै हुन्छ। नकारात्मक असर पर्नु अगावै सम्भावित जोखिमसँग जुध्ने विधि मिडिया साक्षरता हो। यसका लागि प्राध्यापक पोट्टर चार वटा विधि प्रस्ताव गर्छन्- संज्ञानात्मक, भावनात्मक, सौन्दर्यात्मक र नैतिक।
पहिलो पक्षले मिडिया सन्देशहरूमा रहेको तथ्यमा जोड दिन्छ भने दोस्रोले मिडिया सन्देशहरूको ग्रहण र त्यसले मनमस्तिष्कमा उत्पन्न गर्ने संवेगमा। सौन्दर्यात्मक पक्षले मिडिया सन्देशहरूको उत्पादन र प्रसारणमा प्रयोग भएको कलात्मक तौरतरीकामा र चौथो पक्षले सही र गलत छुट्याउन हाम्रो चेतनाको प्रयोगमा जोड दिन्छ। यी विधिको प्रयोगबाट विद्यार्थीहरू मिडिया सन्देशलाई बुझ्न, प्रशंसा गर्न, समालोचना गर्न र प्रश्न गर्न सक्षम हुन्छन्।
तर, त्यसका लागि बलियो आधार तयार पार्नुपर्ने हुन्छ। यसका लागि पहिलो काम विद्यार्थी र शिक्षकहरूको मिडिया साक्षरताको दक्षता मापन गर्नु हो। नुपाइरोज (२०१६), हब्स (२०१७), सिमोन्स, मिउस र सास (२०१७), पेर्दाना, यनी, जुमादी र रोसाना (२०१९) तथा स्किल्डर र रेडमन्ड (२०१९) ले विद्यार्थी तथा शिक्षकको मिडिया साक्षरता मापनका सन्दर्भमा महत्त्वपूर्ण अध्ययन गरेका छन्।
यी अध्ययनमा अपनाइएका विधिको सहयोगमा शिक्षक-विद्यार्थी मिडिया साक्षरतामा कति दक्ष छन् भनेर मापन गर्न सक्छौं। शिक्षाविद्हरूको संलग्नतामा आफ्नै विधि विकास गर्न सक्छौं। यसबाट मिडिया साक्षरताको पाठ्यक्रम निर्माण तथा उपयुक्त शिक्षण सिकाइ पद्धति छनोट गर्न सहयोग पुग्छ। कम्तीमा निम्न माध्यमिक र माध्यमिक तहमा अनिवार्य रूपमा मिडिया साक्षरताको पाठ्यक्रम लागू गरिनुपर्छ। यी तहमा करीब ५० लाख विद्यार्थी पढ्छन्।
नीतिले मिडिया साक्षरता शिक्षालाई सम्पूर्ण सरोकारवालाबीच सहकार्यको वातावरण बनाउँदै औपचारिक तथा अनौपचारिक रूपमा कार्यान्वयन गर्ने आधार तयार गर्छ।
दोस्रो, मिडिया साक्षरता शिक्षाका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्छ। नुपाइरोज (२०१६) तीन मुख्य अवयव सहितको एउटा समग्र विधि प्रस्ताव गर्छिन्। जसमा मिडिया साक्षरता शिक्षा योजना, नीति र समाज पर्छन्। शिक्षा योजना अन्तर्गत शिक्षक, विद्यार्थी, पाठ्यक्रम र शिक्षण सिकाइ पद्धति पर्छन्। यी चार पक्ष विद्यालयभित्र र बाहिर हुने सिकाइको प्रक्रियासँग प्रत्यक्ष सम्बन्धित छन्।
नीतिले मिडिया साक्षरता शिक्षालाई सम्पूर्ण सरोकारवालाबीच सहकार्यको वातावरण बनाउँदै औपचारिक तथा अनौपचारिक रूपमा कार्यान्वयन गर्ने आधार तयार गर्छ। यसै गरी समाजमा समुदाय, नागरिक समाज, मिडिया संस्था, अभिभावक पर्छन्, जसले एकअर्कालाई सहयोग गर्दै मिडिया साक्षरतालाई एउटा जीवनोपयोगी सीप र पद्धतिकै रूपमा अँगाल्ने वातावरण निर्माण गर्नेछन्।
यी अवयवसँगै हाम्रा खास आवश्यकताहरूको निर्धारण पश्चात् मिडिया साक्षरताको पाठ्यक्रम विकास गर्नुपर्छ। बहुविधागत सहकार्यबाट तहगत पाठ्यक्रमको विकास, हजारौं शिक्षकलाई तालीम र सिकाइ पद्धति निर्माण गर्नुपर्ने हुन्छ। नेपालमै भएका प्रयासहरूको अनुभवलाई पनि जोड्नुपर्छ। सूचना तथा सञ्चार प्रविधिमा हुने तीव्र विकासले मिडियालाई दिनानुदिन परिवर्तन गरिरहेको हुन्छ। तसर्थ, पाठ्यक्रम र शिक्षण सिकाइ पद्धति पनि निरन्तर परिमार्जित र अद्यावधिक गरिरहनुपर्ने हुन्छ।
मिडिया सन्देश र त्यसका असर प्रभावमाथिको समालोचनात्मक दृष्टिकोणले बालबालिकामा हरेक विषयलाई हेर्ने आफ्नै विश्वदृष्टि निर्माण गर्छ। मिडियामा प्रकाशित/प्रसारित स्वार्थप्रेरित सामग्रीहरू पहिचान गरी वास्तविकता र मिडियाले देखाउन खोजेको यथार्थको भेद खुट्याउन सक्छन्। आफ्नो सूचनाको आवश्यकता पूर्ति हुने सामग्री खोज्न र पढ्न सक्छन्, सही विचार र व्यवहार अवलम्बन गर्छन्। यो सचेतनाले विद्यार्थीमा मिडिया सन्देश र सङ्केतको पछाडि रहेको राजनीतिक, वैचारिक र सामाजिक संरचना परख गर्ने शक्ति विकास गर्छ।
डिजिटल युगमा आम नागरिक राम्रो मिडिया प्रयोगकर्ता भएर मात्र पुग्दैन, सचेत मिडिया सर्जक र उत्पादक पनि हुनुपर्छ। आज हरेक नागरिक आफ्नै मिडिया सिर्जना गर्न सक्ने स्थितिमा छन्। मिडिया साक्षरताले मिडियाको चित्रण र समाजको शक्ति संरचना बुझ्न, समालोचना गर्न र प्रश्न गर्न त सिकाउँछ नै, सँगसँगै वैकल्पिक मिडिया सिर्जना गर्न पनि सक्षम बनाउँछ। मिडिया साक्षरताले सुसज्जित विद्यार्थीले समाजका वर्चस्वशाली विचारधारा र भाष्यहरूलाई चुनौती दिँदै आफ्नै वैकल्पिक मिडिया सिर्जना गर्न सक्छन्। र, आफूलाई सामाजिक रूपमा सक्रिय नागरिकमा रूपान्तरण गर्ने अवसर समेत प्राप्त गर्छन्।
जागरुक नागरिक उत्पादन गर्ने क्रान्तिकारी पहललाई सरकार र प्राज्ञिक निकायहरूको निरन्तर सहयोग आवश्यक पर्छ। शिक्षा मन्त्रालय मार्फत यो पहलको नेतृत्व सरकारले लिनुपर्छ। मिडिया साक्षरताका क्षेत्रमा कार्यरत व्यक्ति, समुदाय र संस्थाहरूलाई प्रेरित गर्ने कार्यक्रमहरू विकास गरिनुपर्छ। हब्स र सेनसेन (२००९) ले भने झैं मिडिया साक्षरता शिक्षाको पाठ्यक्रम तर्जुमा, परीक्षण, मूल्याङ्कन र परिमार्जन गर्न विद्यार्थी, शिक्षक, अभिभावक, अनुसन्धाता र नीति निर्माताबीचको सहकार्यलाई पनि बलियो बनाउनुपर्छ।
(हिमालको २०७९ वैशाख अङ्कबाट।)