पनौतीकी कुमारी
![पनौतीकी कुमारी](https://www.himalkhabar.com/uploads/posts/800X600/Divine-guardian-of-a-living-heritage-NT-12_1650428589.jpg)
कुमारी भन्ने बित्तिकै धेरैलाई काठमाडौंकी कुमारीको मात्रै सम्झना आउँछ, तर प्राचीन नगर पनौतीकी कुमारीको पनि आफ्नै विरासत छ।
गत साता ओजस्वी गुलु सधैंभन्दा अलि चाँडै उठिन् र नुवाइधुवाइमा लागिन्। त्यसपछि अन्य दिन लगाउने लुगा नलगाई विशेष समारोहहरूमा लगाउने गरेको पवित्र रातो पहिरन लगाइन्।
काका प्रवीण श्रेष्ठले उनको निधार ढाकिने गरी अबीरको रातो लेप निधारमा पोतिदिए। अबीरको रातोलाई उनले पहेंलो केशरीको धर्काले बार बनाइदिए। र, निधारमा तेस्रो नेत्रको आकार पनि बनाइदिए, जसले उनलाई अनिष्टहरूबाट बचाउँछ। अनि अन्तिममा उनको शिरमा मुकुट र वज्रको माला पहिर्याइदिए। यी आवरणले उनी अन्य देवीदेवताभन्दा फरक देखिइन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/panauti/Divine-guardian-of-a-living-heritage-NT-7.jpg)
मुकुट पहिरिएपछि उनी घरको माथिल्लो तलामा भएको पूजाकोठामा गइन् र सिंहासनमा बसिन्। त्यसपछि बुबाले उनलाई १५ मिनेट परको लयाकु दरबारसम्म बोकेर पुर्याए। लयाकुमा उनी तलेजु भवानीको पूजा अर्चनामा सहभागी भइन्। कुमारीलाई तलेजुकै अवतार मानिन्छ।
आठ वर्षीया ओजस्वी आठ महीनाको शिशु हुँदै कुमारीमा छनोट भएकी हुन्। काठमाडौंदेखि ३५ किलोमिटर पूर्वमा रहेको नेवारी सम्यताको प्राचीन नगर पनौतीकी कुमारीको विरासत सकिन आँटेको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/panauti/Divine-guardian-of-a-living-heritage-NT-5.jpg)
“हामीले ह्युमतलाई खबर गरिसकेका छौं। अब उनको इही र गुफा राख्ने वेला भएको छ, किनभने उनको महिनावारी शुरू हुने वेला हुन लागेको छ,” आमा रोहिणी गुलु भन्छिन्।
काठमाडौंमा कुमारीलाई आवासको सुविधा छ। काठमाडौंमा वसन्तपुरको कुमारीघरमा नै बहालवाला कुमारी बस्ने गरेकी छन्। तर, पनौतीमा भने कुमारीलाई त्यो सुविधा छैन, कुमारीले आफ्नै घरमा परिवारसँग बस्नुपर्छ।
ओजस्वी आफ्नै आमाबुबासँग बस्छिन् र अन्य बालबालिका झैं स्कूल जाने र खेल्ने गर्छिन्। परिवारमा उनलाई दावँली मिल्ने तीन वर्षीय भाइ मनन छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/panauti/Divine-guardian-of-a-living-heritage-NT-6.jpg)
बुबाको घरमै पसल छ। बुबा पसलमा बढी व्यस्त हुन्छन् भने आमाले पसल, घर र उनलाई पनि सघाउनुपर्छ। उनी बिहान आफ्नो भाइसँग स्कूल जान्छिन्। उनको भाइ र उनलाई एक जना अभिभावकले स्कुलसम्म छोड्ने गर्छन्।
कक्षामा उनी साथीहरूसँग बस्छिन्। लजालु स्वभावकी उनी साथी तथा शिक्षकसँग घुलमिल नै छिन्। उनी कक्षाका उत्कृष्ट विद्यार्थीमध्ये पर्छिन्, र गणित र अङ्ग्रेजी विषय मन पराउँछिन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/panauti/Divine-guardian-of-a-living-heritage-NT-1.jpg)
“लकडाउन हुनु अघिसम्म उनको पढाइ राम्रो थियो। अनलाइन पढाइ शुरू भएपछि उनको स्थान एक श्रेणी खस्केको छ नत्र त उनी कक्षाकी उत्कृष्ट विद्यार्थी हुन्,” रोहिणी भन्छिन्।
स्कूलबाट फर्केपछि ओजस्वी आफ्नो गृहकार्य सकेर भाइसँग कार्टून हेर्छिन्, चोकमा साइकल दौडाउँछिन्। उनको बाल्यकाल अन्य बालबालिका जस्तै छ, तर कुमारी भएका नाताले केही नियम मान्नुपर्छ।
जस्तै- उनले कालो रङको लुगा लगाउनु हुन्न। उनले अरूको जुठोपुरो खानु हुँदैन र महीनावारी भएकी महिलाले छोएको खान पनि वर्जित छ।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/panauti/Divine-guardian-of-a-living-heritage-NT-11.jpg)
उनका लागि विद्यालय र घरमा विशेष ध्यान दिने गरिएको छ। “उनले घरबाट पठाइएको खाना खाने र जुठोपुरो नखाने वातावरण बनाएका छौं। उनका लागि कक्षामा पनि छुट्टै बस्ने व्यवस्था मिलाइएको छ। किनभने, केही तल-माथि हुने बित्तिकै उनी बिरामी परिहाल्छिन्,” उनी पढ्ने अरुणोदय स्कूलका प्राचार्य विष्णुप्रसाद दाहाल भन्छन्।
उनले कुनै घरायसी काम गर्नु पर्दैन। खालि पढाइमा ध्यान दिए पुग्छ र फुर्सदमा भाइसँग खेल्ने छूट छ।
“ऊ कुमारी भए पनि पढ्न त पर्यो। पढाइ भनेको त पछिसम्मलाई काम लाग्छ नि। त्यही भएर हामी उनको शिक्षा राम्रो होस् भन्नेमा छौं,” आमा रोहिणी भन्छिन्, “शिक्षित भइन् भने भोलि उनलाई नै सजिलो हुन्छ।”
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/panauti/Divine-guardian-of-a-living-heritage-NT-3.jpg)