स्थानीय चुनाव रोकिए मुलुक दुर्घटनामा जान्छः प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीको काम निकै अघि बढिसकेकाले स्थानीय चुनाव रोकिने कुनै सम्भावना नरहेको बताएका छन्।
निर्वाचन आयोगले मंगलबार विराटनगरमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब कुनै पनि बहानामा निर्वाचन नरोकिने र मिति सार्ने काम कोही कसैबाट हुन नहुनेमा जोड दिए।
“तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुघर्टनामा जान्छ,” थपलियाले भने, “निर्वाचनको उडान रकेटको गतिमा अघि बढेर एउटा निश्चित दूरी र मिशनमा अघि बढिसकेको छ, अब पनि रकेटलाई लक्ष्यविहिन बनाउने काम भयो भने दुर्घटना हुन्छ।”
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्थानीय तहको चुनावमा प्रतिनिधिको उम्मेदवारी दाबी गरिरहेका पत्रकारहरूलाई कि सक्रिय पत्रकारिता रोज्न कि त राजनीति रोज्न सुझाव दिए।