जसले एउटा झोलाको मूल्य नघटेको झोकमा झोला कारखाना खोले
![जसले एउटा झोलाको मूल्य नघटेको झोकमा झोला कारखाना खोले](https://www.himalkhabar.com/uploads/posts/800X600/Sitaram_Bag_1648610629.jpg)
चुनाव सकिएपछि फेरि भारत जाने तरखर गर्दै थिए। साथी लेकबहादुरले ‘अब नेपालमै केही गर्नुपर्छ, तिमी जस्ता युवा विदेश जानुहुन्न’ भने। साथीको सुझाव उनलाई मनासिब नै लाग्यो र उपयुक्त व्यवसायको खोजीमा लागे।
सीताराम झोला कारखानाका सञ्चालक हुन्, ५२ वर्षीय सीताराम नेपाली। गोरखामा जन्मे हुर्केका उनको बाल्यकालमा मीठो खाने र राम्रो लाउने भन्ने कहिल्यै भएन।
जेनतेन गरेर कक्षा १० को टेस्ट परीक्षासम्म दिन पाएका उनले शुल्क तिर्न नसक्दा नतीजा भने सुन्नै पाएनन्। साथीभाइहरू पास भइयो अब एसएलसीको तयारी गर्नुपर्छ भनेर उत्साहित हुँदै गर्दा उनी भने ऋण पाइन्छ कि भनेर गाउँतिर हिंडेको तर रित्तो हात फर्किएको मानसपटलमा अझै ताजै छ। आर्थिक अभावकै कारणा एसएलसी परीक्षा छुट्यो।
पढ्न ऋण पाइँदैन, विदेश जान भने केही न केही जोहो हुन्छ। सीतारामको हकमा पनि यही कुरा लागू भयो। स्कूलको शुल्क तिर्न ऋण नपाएका उनले कमाउन भारत जान्छु भनेपछि चाहिं चार सय रुपैयाँ जम्मा पारे।
मजदूरीका लागि भारततर्फ लाग्दा उनी १८ वर्षका थिए। त्यहाँ पुगेपछि एउटा होटलमा भाँडा माझ्ने काम पाए। कामको चाप यति थियो कि, दिनभरि भाँडा माझिरहनुपर्थ्यो। सर्फ पानीले भाँडा धोएपछि सफा पानीले पखाल्नुपर्नेमा कपडाले पुछेर राखे। त्यसमाथि पन्जा नलगाई काम गर्दा उनको हात बिग्रियो। “हात यति दुर्गन्धित भयो कि खाना खानै मुश्किल भयो। हातले खाना खान नसकेर चम्चाले खान्थें” उनी अनुभव सुनाउँछन्।
हेल्पर हुँदै वेटर बनेपछि उनको कमाइ पनि राम्रो हुँदै गयो र गाउँमा केही खेतबारी समेत जोडे। २०६४ सालको संविधानसभा निर्वाचनमा भारतमा काम गर्ने धेरै नेपाली घर फर्केका थिए। त्यति वेला भारतदेखि नेपालसम्म लगभग दुई सय गाडी रिजर्भ गरेर ल्याइएको थियो। “आफूले समर्थन गरेको पार्टीले जित्यो पनि। तर, आज गाउँ र देशको अवस्था हेर्दा त्यो सबै व्यर्थ भयो कि जस्तो लाग्छ,” उनी विरक्तिन्छन्।
चुनाव सकिएपछि फेरि भारत जाने तरखर गर्दै थिए। साथी लेकबहादुरले ‘अब नेपालमै केही गर्नुपर्छ, तिमी जस्ता युवा विदेश जानुहुन्न’ भने। साथीको सुझाव उनलाई मनासिब नै लाग्यो र उपयुक्त व्यवसायको खोजीमा लागे।
नेपालमै केही त गर्ने तर के गर्ने ! उनलाई छटपटी भयो। त्यसपछि एक दिन गोरखाकै सतिपिपलसम्म गए, केही उपाय फुर्छ कि भनेर। “तरकारी पसल गरूँ जताततै छ, रासन पसल गरूँ त्यो पनि टन्नै छ, होटल गरूँ जातपातको कुरा आउँछ,” साँझसम्म डुल्दा उनले यही निष्कर्ष निकाले।
सीताराम नेपाली।दिनभरिको हिंडाइले थाकेका उनी त्यहींको एउटा होटलमा चना र अण्डा खाएर निस्कँदै थिए, त्यसैको आडमा झोला पसल देखे। अनि त्यतै छिरेर झोलाको मूल्य सोधे। पसलेले दुई सय पचास रुपैयाँ भन्यो। ‘अलिकति घटाउन मिल्दैन साहुजी?’ भन्दा साहुजी कड्किए, “ह्याँ बन्या हो र यो? विदेशमा बनेको हो। विदेशी सामान हो !”
‘नेपालमा बन्दैन?’ भनेर साेद्धा प्रतिप्रश्न गरे, “सियो त बन्दैन नेपालमा, झोला बन्छ?”
व्यवस्था परिवर्तन सहित भर्खर सम्पन्न चुनावले देशको मुहार फेरिने आशा राखेका उनलाई उक्त पसलेको जवाफले निकै खिन्न बनायो। त्यसपछि उनले मनमनै अठोट गरे, ‘नेपालमा होइन, गोरखामै बनाएर देखाउँछु।’
खाजा खाइवरी घर जान तम्सेका उनी त्यसपछि भने त्यहींको एउटा होटलमा बास बसे। भारत जान भनी राखेको पैसा छँदै थियो।
भोलिपल्ट सबेरै बसपार्कबाट काठमाडौं हिंडे। काठमाडौंका गल्ली गल्ली चहारे र भेटिएका मान्छेलाई सोध्न थाले, ‘यहाँ मेरो गाउँको एउटा साथीको झोला बनाउने कारखाना छ भन्थ्यो, कहाँनेर होला?’ यसै गरी आठ दिन बिते।
नवौं दिनमा भने उनले एउटा झोला कारखाना भेटे। मनमा छुट्टै किसिमको आनन्द भयो। तर, बाहिरका मान्छे कारखानाभित्र छिर्न भने नपाइने रहेछ। त्यसपछि यहींबाट ठेगाना लिएर अरू दुई-तीन वटा कारखानामा पुगे। यसै क्रममा एउटा कारखानामा उनले मामाको छोरा गणेशलाई भेटे। गणेशले झोला बनाउने कारखानामा काम गर्छ भनेर उनले पहिल्यै सुनेका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Economics/Sitraram%20Bag1.jpg)
गणेशलाई भेटेपछि त्यो रात उनैकहाँ बसे र गोरखामा पनि कारखाना खोल्नुपर्यो भनेर प्रस्ताव राखे। तर, गणेशलाई भने उनको प्रस्ताव चित्त बुझेन। ‘एउटा सियो भाँचियो भने पनि काठमाडौं आउनुपर्छ, त्यस्तो ठाउँमा सकिन्न’ भनेर पन्छिन खोजे। तर, उन हार मानेनन्। गणेशलाई मनाइछाडे।
कारखाना शुरू गर्न उनले खेतबारी बेचेरै तीन लाख रुपैयाँ जम्मा पारे र गणेशलाई दिए। गणेशले उक्त पैसाबाट तीन वटा पुराना मेशिनसँगै आवश्यक कपडाको जोहो गरिदिए। अनि शुरू भयो गोरखाको ठूलो आँगनस्थित एउटा कोठाबाट- सीताराम झोला कारखाना।
शुरूआती चरणमा निकै घाटा भयो। लगानी बढाउन साझेदारीको प्रयास पनि गरे, तर सोचे झैं आम्दानी हुन सकेन। केही समयपछि ठाउँ परिवर्तन गरेपछि भने व्यापारले गति लिन थाल्यो। “कारखानाबाटै कमाएको पैसाले दुई छोरालाई पढाएँ र केही जग्गा–जमीन पनि जोडें,” उनी भन्छन्, “व्यवसाय गरिसकेपछि नाफा घाटा त भई नै हाल्छ। शुरूमा घाटा बेहोर्नुपरे पनि अहिले भने राम्रै छ।” उनका जेठा छोरा सचिन भारतीय सेनामा छन् भने कान्छा सन्दीप यहीं बसेर व्यवसायमा सघाइरहेका छन्।
सीतारामलाई व्यापारको सिलसिलामा बीच बीचमा कठिनाइहरू नआएका भने होइनन्। यस्तैमध्ये एउटा कठिनाइ २०७२ सालको भूकम्पमा पनि आइपरेको थियो। त्यतिखेर उनको कारखाना ठप्प जस्तै भएको थियो। विभिन्न संघसंस्थाले राहतसँगै झोला पनि वितरण गर्न थालेपछि त्यो अवस्था आएको उनलाई लाग्छ। त्यति वेला यस्तोसम्म भयो कि कामदारहरूलाई तलब दिन नसकेर ऋण नै काढ्नुपर्यो। भूकम्पको घाउ निको हुँदै गर्दा फेरि कोरोना महामारीले नुन छर्किदियो। यद्यपि, यतिखेर भने उनले करीब ४० हजार मास्क बनाए।
कारखाना स्थापना गरेदेखि नै उनको सोच थियो– सीताराम झोला पसल र कारखानालाई आफ्नै भवनबाट सञ्चालन गर्ने। यही सोचलाई साकार पार्न उनले २०७१ सालमा गोरखाकै हरमटारीस्थित शहीद स्मृति गेट नजिकैको जग्गा १५ वर्षका लागि भाडामा लिई भवन बनाउन शुरू गरे।
तीन वटा पुराना मेशिनबाट शुरू भएको सीताराम झोला कारखानामा अहिले २० भन्दा बढी अत्याधुनिक मेशिन र २१ जना कामदार छन्। अहिले उक्त कारखानामा झोला मात्र नभई, विभिन्न किसिमका ज्याकेट, टी–सर्ट, स्लिपिङ ब्याग, स्कूले विद्यार्थीका लागि ट्र्याकसुट लगायत सामान उत्पादन हुन्छन्।
भवन तयार हुँदै थियो, तर त्यही वेला दशाले घेर्यो। निर्माणाधीन भवनमा कार्यरत मजदूरको करेन्ट लागी मृत्यु भयो। हाइटेन्सन लाइनमुनिको जग्गामा भवन बनाउँदा पछि पनि करेन्ट लाग्न सक्ने भन्दै आक्रोशित स्थानीयले भवन नै भत्काइदिए।
भवन मात्र भत्किएन, उनको सपना पनि भत्कियो। यसैको तनावले उनको स्वास्थ्यमा समस्या देखियो। उनी गम्भीर बिरामी परे। गाउँघरतिरका कतिले त आशा नै मारिसकेको उनी बताउँछन्। तर, बिस्तारै तङ्ग्रिंदै गए र फेरि व्यवसायलाई निरन्तरता दिए।
उनी भन्छन्, “सीताराम झोला कारखाना यस्ता अनेकौं बाधा झेलेर खडा गरेको हुँ। यसमा परिवार तथा इष्टमित्रको साथ र सहयोग पनि महत्त्वपूर्ण छ।”
तीन वटा पुराना मेशिनबाट शुरू भएको सीताराम झोला कारखानामा अहिले २० भन्दा बढी अत्याधुनिक मेशिन र २१ जना कामदार छन्। अहिले उक्त कारखानामा झोला मात्र नभई, विभिन्न किसिमका ज्याकेट, टी-सर्ट, स्लिपिङ ब्याग, स्कूले विद्यार्थीका लागि ट्र्याकसुट लगायत सामान उत्पादन हुन्छन्। ग्राहककै डिजाइनमा झोला तथा अन्य सामान तयार गरिदिने हुनाले गोरखाका अधिकांश संघसंस्था र विद्यालय सीतारामकै झाेला कारखाना पुग्छन्।