खडेरी अनुमान गर्ने हेमुको आविष्कार
![खडेरी अनुमान गर्ने हेमुको आविष्कार](https://www.himalkhabar.com/uploads/posts/800X600/hemu_1644562951.jpg)
ओडब्लुएसडी अवार्ड पाएर अनुसन्धानमा जुटेकी हेमु काफ्लेले नयाँ प्रविधिको विकास समेत गरेकी छिन्, जसले खडेरीको अनुमान गर्न सहयोग गर्नेछ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले महिला वैज्ञानिकको आविष्कारको स्तरवृद्धि गर्न, विकसित र विकासशील मुलुकका महिलालाई एकआपसमा जोड्ने संस्था बनाएको छ, ‘अर्गनाइजेशन फर ओमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लुएसडी)।’ यसले संसारभरका महिला वैज्ञानिकलाई अनुसन्धानमा सघाउँछ।
ओडब्लुएसडीले ‘अर्ली करिअर फेलोसिप’ मार्फत पुरस्कृत गर्छ। संसारका उम्दा महिला वैज्ञानिकले पाउने ५० हजार अमेरिकी डलर (झण्डै ६० लाख रुपैयाँ) को ओडब्लुएसडी फेलोसिपबाट सन् २०१८ मा पुरस्कृत भएकी हुन् उनी।
रुपन्देहीको बुटवलकी हेमु काफ्लेले पद्मकन्या क्याम्पसमा आईएस्सी पढ्न पहिलो पटक काठमाडौं पाइला टेकेकी थिइन्। त्रिचन्द्र क्याम्पसबाट स्नातक गरेपछि स्नातकोत्तर गर्न भने इजरायलको बेन गुरियन विश्वविद्यालय हुँइकिइन। क्लाइमेटिक स्टडिजमा उनले ‘ड्राउट’ (खडेरी) छानिन्।
त्यसपछि विद्यावारिधि गर्न जापानको नागोया विश्वविद्यालय पुगेकी काफ्लेले ‘रिमोट सेन्सिङ’ विषयमा दक्षता हासिल गरिन्। फेरि इजरायल फर्केर वाइजम्यान इन्स्टिच्यूट अफ साइन्सेस्बाट पोस्ट डक्टोरल गरिन्। उतै राम्रो काम पाइसकेकी थिइन्, तर उनलाई नेपालमै केही गर्ने इच्छा थियो। “त्यहाँ हामी जस्तो धेरै पढेका मानिस छन्,” काफ्ले भन्छिन्, “नेपालमा यसको महत्त्व छ। देशलाई केही फाइदा पुग्ला भनेर फर्किएँ।”
“हाम्रो देशको भौगोलिक अवस्था र त्यस अनुसार मौसम धेरै फरक छ। जसले गर्दा दुर्गम क्षेत्रमा मेट्रोलोजिकल स्टेशन पुग्न पनि सकेको छैन ”
अध्ययन सकेर स्वदेश फर्केपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा काम पनि गर्न थालिन्। तर, नास्टको कामले खुशी बनाए। “अध्ययन अनुसन्धानमा खटिनुपर्ने मान्छे, दिनदिनै हाजिर लगाउन मात्रै कार्यालय पुगे जस्तो मात्र हुन थाल्यो,” उनी मुस्कुराउँदै बोलिन्, “काममा रमाउन नसकेपछि छोडिएँ, घरमै बसें।”
घरमा बसेर अध्ययन अनुसन्धान त हुँदैनथ्यो। त्यसपछि साथीहरूसँग मिलेर अनुसन्धान केन्द्र खोलिन्, काठमाडौं इन्स्टिच्यूट अफ एप्लाइड साइन्सेस्। सन् २०१४ मा स्थापना गरेको यो संस्थालाई सन् २०१७ देखि पूर्ण समय दिइरहेकी छन्।
नास्टमा छँदै उनले ओडब्लुएसडीको सदस्यता लिएकी थिइन्। उताबाट फेलोसिपका इमेल आइराख्थे। त्यही क्रममा आएको ‘कल फर प्रपोजल’ को इमेलमा दुई वटा प्रस्ताव पठाइहालिन्। “खडेरी सम्बन्धी प्रस्तावले अवार्ड पाइहाल्यो,” काफ्ले भन्छिन्।
इजराइल र जापानमा हुँदा उनले ‘रिमोट सेन्सिङ-स्याटेलाइट’ बाट खिचेका तस्वीरको विश्लेषण गरेर खडेरीबारे अध्ययन गरेकी थिइन्। त्यही विषयमा नेपालमा पनि अध्ययन गर्ने इच्छा थियो। तर, नेपालमा स्याटेलाइटबाट लिइएको तस्वीरलाई प्रमाणित गर्ने ग्राउन्ड स्टेशन निकै कम भएकाले अध्ययन गर्न सकिरहेकी थिइनन्। “ग्राउन्ड स्टेशन नहुँदा स्याटेलाइटबाट खिचेको तस्वीर ठीक छ वा छैन छुट्याउन गाह्रो छ,” उनी भन्छिन्।
अर्को भौगोलिक अवस्थाले पनि असर गरेको छ। “हाम्रो देशको भौगोलिक अवस्था र त्यस अनुसार मौसम धेरै फरक छ। जसले गर्दा दुर्गम क्षेत्रमा मेट्रोलोजिकल स्टेशन पुग्न पनि सकेको छैन,” काफ्ले भन्छिन्, “जमीनको एक किलोमिटर क्षेत्रको तस्वीर सानो थोप्ला जस्तो हुन्छ। धेरैजसो क्षेत्रमा एक किलोमिटरमा घर, पानी, खेत सबै हुन्छ, जसबाट अध्ययन गर्दा फरक नतीजा आउँछ।”
![](https://www.himalkhabar.com/uploads/editor/Science-Technology/scientist/hemu%202.jpg)
पर्याप्त ग्राउन्ड स्टेशन नहुँदा उनलाई अप्ठ्यारो भइरहेको थियो। त्यसैले उनले इजराइलमा हुँदा अभ्यास गरेको अध्ययन प्रक्रिया अपनाइन्। “भ्यान (गाडी) मा मेट्रोलोजिकल स्टेशन, कम्प्युटर राखेर अनुसन्धान गर्ने ठाउँमा १० दिनसम्म राख्ने र त्यसमा रेकर्ड भएका डेटालाई विश्लेषण गर्ने गरेका थियौं,” उनी भन्छिन्।
यही प्रक्रिया अपनाएर नेपालमा अध्ययन गर्ने भनेर ओडब्लुएसडीलाई प्रस्ताव पठाइन्। फेलोसिपबाट प्राप्त हुने रकमले नेपालमै सस्तो मोबाइल मेट्रोलोजिकल स्टेशन बनाउने र दुर्गम क्षेत्रमा खडेरीको अध्ययन गर्ने प्रस्तावमा उल्लेख थियो।
नेपालमा मेट्रोलोजिकल स्टेशनको उत्पादन हुँदैन। बाहिरबाट ल्याउँदा महँगो पर्छ भने झन् त्यसमा राजस्व थपिन्छ। त्यसैले नेपालमा स्टेशन निर्माण गरेको उनी बताउँछिन्। “सरकारले अनुसन्धान गर्नेहरूलाई कहिल्यै पनि आर्थिक सहायता दिँदैन,” काफ्ले भन्छिन्।
उनको टीमले नेपालमै मेट्रोलोजिकल स्टेशन बनाइरहेको छ। त्यसको प्रयोगबाट तस्वीर खिचेर प्रमाणित डेटा समेत तयार पारिसकेको उनी बताउँछिन्। यसलाई अझै विकसित गर्न लागेको उनले सुनाइन्। “वायु प्रदूषण पनि नाप्न मिल्ने गरी थप विकसित गर्न लागेका छौं,” उनी भन्छिन्, “जब हामीले मौसम नाप्ने वेदर स्टेशन बनाइसक्यौं भने यसैमा किन वायु प्रदूषणको सेन्सर नराख्ने त भनेर नयाँ प्रविधिको विकास गर्न लागेका छौं।”
यसका लागि वायु प्रदूषण मापन गर्ने सेन्सर अमेरिकाबाट मगाएर परीक्षण गरिएको उनले बताइन्। यो उनको फेलोसिपको प्रोजेक्टभन्दा फरक विषय हो। त्यही अध्ययनका क्रममा यो विकास गरिएको हो। “हाम्रो प्रोजेक्ट पूरा भइसकेको छ। स्टेशन बनाएर प्रमाणीकरण पनि गरिसकेका छौं,” काफ्ले भन्छिन्, “यसको पेटेन्ट अधिकारका लागि उद्योग विभागमा दर्ता प्रक्रियामा छौं।”
“वायु प्रदूषण पनि नाप्न मिल्ने गरी थप विकसित गर्न लागेका छौं,” उनी भन्छिन्, “जब हामीले मौसम नाप्ने वेदर स्टेशन बनाइसक्यौं भने यसैमा किन वायु प्रदूषणको सेन्सर नराख्ने त भनेर नयाँ प्रविधिको विकास गर्न लागेका छौं।”
पेटेन्ट अधिकार नभई शोधपत्र प्रकाशित गर्न नपाइने भएकाले दर्ताको प्रक्रिया चलिरहेको उनी बताउँछिन्। काठमाडौंमा वायु प्रदूषण बढिरहेकाले पनि यो प्रविधि झन् उपयोगी हुने उनी बताउँछिन्।
अब उनले स्टेशन उत्पादन गर्ने तयारी गरेकी छन्। एक कम्पनीले उत्पादनका लागि प्रस्ताव राखेको छ। यसमा सहमति भयो भने नेपालमै सस्तोमा यो प्रविधि प्रयोग गर्न सकिनेछ।
खडेरीको अनुमान
नेपालमा मार्च-अप्रिलमा सुक्खा हुने गर्छ। यो समयमा नेपालको सबै भागमा खडेरी पर्छ। यस सम्बन्धी अनुसन्धान गर्दा खेतीयोग्य जमीन भएको ठाउँ रोजिएको उनले बताइन्।
जल तथा मौसम विज्ञान विभागको स्टेशन नभएका ठाउँमा मोबाइल स्टेशन राखेर अध्ययन गरिएको छ। तथ्याङ्क सङ्कलन गर्न भने बाँकी रहेको उनले बताइन्। “हामीले मेसिन तयार गरिसकेका छौं, तर कोरोनाभाइरसको महामारीका कारण लगेर राख्न पाएका छैनौं,” उनी भन्छिन्।
यो अध्ययनले मौसम अनुमान गर्न सकिने उनी बताउँछिन्। “हाम्रो स्टेशनबाट सङ्कलन गरिएको वायुको चाप तथा आर्द्रताको तथ्याङ्कले किसानलाई सीधै फाइदा त हुँदैन, तर सरकारले वडावडामा यो स्टेशन राख्यो भने अहिले देखिएको नतीजाले मौसमबारे अनुमान गर्न सकिन्छ,” उनी भन्छिन्।
त्यस्तै, लामो समयसम्म स्टेशनमा तथ्याङ्क सङ्कलन गरिएको आधारमा उक्त ठाउँमा खेती गर्न सकिन्छ कि सकिन्न, कति वर्षपछि खडेरी हुन्छ, वा कसरी सिंचाइको तयारी गर्ने भनेर काम गर्न सकिने उनी बताउँछिन्।