तीन व्यावसायिक साझेदारको हत्या गर्न १५ लाखको ‘कन्ट्र्याक्ट’
![तीन व्यावसायिक साझेदारको हत्या गर्न १५ लाखको ‘कन्ट्र्याक्ट’](https://www.himalkhabar.com/uploads/posts/800X600/mohan_morang_1644049069.jpg)
जग्गा कारोबारी अनिल मण्डलले एक युवालाई १५ लाखको ‘कन्ट्र्याक्ट’ दिएर तीन जना व्यावसायिक साझेदारको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ।
तीन जना व्यवसायीको हत्या गरेको आरोपमा मोरङ प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यीसँगै हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्ने पाँच जना पुगेका छन् भने अझ केही पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जर्नादन जिसीका अनुसार, शुक्रबार साँझ मोरङको रंगेली नगरपालिका-३ का ३० वर्षीय मोहम्मद सुभान मियाँ र सुनसरीको देवागञ्ज गाउँपालिका-६ का १८ वर्षीय हकिम मन्सुरीलाई पक्राउ गरिएको छ। “नियन्त्रणमा लिएका पाँचमध्ये दुई जनाले घटनामा आफ्नो संलग्नता स्विकारेका छन्,” जीसीले भने। संलग्नता अस्वीकार गरेका तीन जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
यसअघि सिराहा नगरपालिका-२१ घर भई काठमाडौंको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्बनीका २९ वर्षीय अमित भनिने दिनानाथ साह र धनपालथान गाउँपालिका-७ कमलपुर पश्चिमटोलका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरिएको थियो।
कस्तो अवस्थामा भेटिए शव?
१२ माघमा काठमाडौंको क्षेत्रपाटीमा बस्दै आएका सप्तरीको शम्भुनाथ-४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव मोरङको धनपालथान-७ को उखु खेतमा भेटिएको थियो। त्यसको भोलिपल्ट १३ माघमा त्यही स्थानमा भक्तपुर बस्ने धरान-३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो।
दुवै शव पाँच फिट गहिरो खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दुवै जना व्यावसायिक पार्टनर थिए।
त्यस्तै, तेस्रो व्यावसायिक पार्टनर काठमाडौंको गोठाटार बस्ने तेह्रथुमको संक्रान्ति-२ का ६३ वर्षीय मोहन लिम्बूको २० माघमै गोदावरी-१२ ठेचोमा उसै गरी गाडेर माथिबाट ढलान गरेको अवस्थामा शव भेटिएको थियो।
यी तीन जनासँगै बल्खुमा बस्दै आएका सिराहा नगरपालिका-२१ का अनिल मण्डल व्यावसायिक पार्टनर थिए।
उनले नै ठेचोकी स्थानीय दीप्ति गुरुङको गोदामघर अनलाइन कारोबारका लागि भन्दै भाडामा लिएका थिए। तीन महीनाअघि भाडामा लिएको भए पनि खाली राखिएको थियो। त्यही गोदामघर परिसरमा गाडेको अवस्थामा मोहनको शव भेटिएको हो।
प्रहरीका अनुसार, मोहनको २८ मंसीरमा, राजेन्द्रको ५ पुसमा र शम्भुको ७ पुसमा हत्या गरिएको थियो। तीनै जनाको घाँटीमा डोरी र गम्छाले कसेर हत्या गरिएको पाइएको छ।
तीनै शव एउटै प्रकृतिले गाडिएका थिए। यससँगै शव सडाउन नूनको प्रयोग गरिएको छ।
तीनैको हत्या गर्न १५ लाख सुपारी
हत्या गरिएका राजेन्द्र, मोहन र शम्भु जग्गा कारोबारमा संलग्न थिए। उनीहरूसँगै साझेदारका रूपमा थिए, अनिलकुमार मण्डल। उनीहरू चार वर्षदेखि सँगसँगै कारोबार गरिरहेका थिए।
धेरैतिर जग्गा कारोबार गरिरहेका उनीहरूबीच पछिल्लो समय कमिशनको विषयमा मतभेद रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ। एसपी जीसीका अनुसार, पछिल्लो विवाद ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी सात आना जग्गाको कमिशनका विषयमा भएको थियो।
त्यो जग्गाको ब्यांक ग्यारेन्टी मिलाए बापत एक करोड ५० लाख कमिशन आउँथ्यो। त्यो कमिशन एक्लैले लिन अनिलले अन्य तीन जना पार्टनरको हत्या योजना बनाएको पाइएको जीसीको भनाइ छ। “सबै कमिशन आफूले नै लिन पेशेवर अपराधी प्रयोग गरेर हत्या गराएको अनुसन्धानमा देखिएको छ,” जीसीले हिमालखबरसँग भने।
त्यसका लागि अनिलले मोरङको जहदा गाउँपालिका-४ सिस्बनीका अमित भनिने दिनानाथ साहलाई रोजे। यसमा उनीहरूको नख्खु कारागारमा भएको चिनजानले काम गरेको देखिएको छ।
अनिल र दिनानाथ यसअघि जेल बसेका अभियुक्त हुन्। अनिल ठगी मुद्दा र दिनानाथ लागूऔषध मुद्दामा जेल परेका थिए। त्यहींबाट उनीहरूको चिनजान भएको थियो।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार, एक जनाको हत्या गर्न पाँच लाखका हिसाबले १५ लाखमा सहमति गरेका थिए। १५ लाख पाउने भएपछि तीनै जनाको हत्या गर्न दिनानाथ पनि तयार भएको प्रहरीको भनाइ छ।
यसका लागि हत्या गर्नुअघि नै अनिलबाट दिनानाथले तीन लाख लिएको पाइएको छ। “बाँकी १२ लाख रुपैयाँ जग्गाको कमिशन बापत रकम आएपछि दिने शर्त बनाएका थिए,” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। उनका अनुसार, हत्या गर्नुअघि दिनानाथ काठमाडौं गएको पनि देखिएको छ।
तीन व्यवसायीको हत्या गर्ने योजनासहित दिनानाथ ६ जना लिएर काठमाडौं गएको पाइएको छ। त्यसपछि मोहनको हत्या गर्ने योजना बनाएका थिए।
उनीहरूमध्ये पाँच जना पक्राउ परेको प्रहरीको भनाइ छ। “हत्यामा सहयोगीको यकिन सङ्ख्या खुलिसकेको छैन,” मोरङका एसपी जीसीले भने, “घटनाको प्रकृति हेर्दा बढीमा सात जनासम्मको संलग्तामा देखिन्छ।” यसमा थप अनुसन्धान भइरहेको उनले बताए।