बागमतीबाट सत्तारूढ गठबन्धनका दुवै उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट सत्तारूढ गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन्।
बुधबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार गोमादेवी तिमल्सिना र कृष्णप्रसाद पौडेल विजयी भएका हुन्। नेकपा (एकीकृत समाजवादी) की तिमिल्सिना महिलातर्फ र नेपाली कांग्रेसका पौडेल अन्यतर्फबाट राष्ट्रिय सभा सदस्य बनेका हुन्।
तिमल्सिनाले चार हजार ८२४ मतभार प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की निरुकुमारी कुँवरले चार हजार ३६२ मतभार प्राप्त गरिन्। त्यस्तै, नेमकिपाकी गीता काफ्लले १३२ मतभार प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।
यसै गरी अन्यतर्फ निर्वाचित पौडेलले चार हजार ७९४ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गोपाल शाक्यले चार हजार ३४४ मतभार प्राप्त गरेका छन्। अर्का उम्मेदवार नेमकिपाका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन्।