राष्ट्रिय सभा चुनावमा एमाले र लोसपाबीच तालमेल
![राष्ट्रिय सभा चुनावमा एमाले र लोसपाबीच तालमेल](https://www.himalkhabar.com/uploads/posts/800X600/uml_lsp_1642671292.jpg)
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ।
दुवै पार्टीको मधेश प्रदेश समितिले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरिएको जनाएका छन्। एमालेका मधेश प्रदेश कमिटी अध्यक्ष रामऔतार यादव र लोसपाका मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले एक-एक सीटमा एक-अर्कालाई सघाउने सहमति भएको बताएका छन्।
मधेश प्रदेशमा अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाका उम्मेदवार रूपाकुमारी यादवलाई सघाउने सहमति भएको हो। दुवै पार्टीले एक-अर्काका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्।
कार्यक्रममा बोल्दै नेता सोनलले कतिपय मुद्दामा एमाले र आफ्नो पार्टी नजिक भएकाले गठबन्धन भएको बताए। उनले आउने दिनमा समेत गठबन्धन जारी रहने बताए। सोनलले संविधान संशोधन लगायत धेरै मुद्दामा एमाले अन्य पार्टीभन्दा उदार रहेको जिकिर गरे।
एमालेले अन्य प्रदेशमा चाहिं एक्लै उम्मेदवार बनाएको छ। सत्तारूढ गठबन्धनका पाँच दलले भने मिलेर उम्मेदवार बनाएका छन्।
१२ माघमा राष्ट्रिय सभाका १९ सीटका लागि निर्वाचन हुँदै छ।