राजा विराटको प्राचीन दरबारको उत्खनन शुरू
पुरातत्त्व विभागले महाभारतमा उल्लेख भएको राजा विराटको दरबारको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व पत्ता लगाउन उत्खनन शुरू गरेको छ।
विराटनगर महानगरपालिका-१८ स्थित भारतीय सीमावर्ती क्षेत्र भेडियारीमा रहेको दरबारको उत्खनन शुरू गरेको हो। उत्खनन प्रारम्भ भएकै दिन माटोको थुप्रो भएको ठाउँमा जमीनमुनि इँटाको सिंढी फेला परको छ। त्यस क्षेत्रमा सन् १९६८ मा पुरातत्त्व विभागले पुरातात्त्विक उत्खनन गरेर भेटिएका वस्तु सङ्ग्रहालयमा राखेको थियो।
विभागले भेडियारी पुरातात्त्विक स्थलको अन्वेषण तथा उत्खनन पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीको नेतृत्वको पाँच जनाको टोली खटिएको छ। टोलीले तीन सातामा उत्खनन सक्ने गरी काम थालनी गरेको जनाएको छ। ज्ञवालीको टोलीमा इन्जिनियर मनोज श्रेष्ठ, विशेषज्ञहरू जगत कटुवाल र महेशबाबु शर्मा तथा फोटोग्राफर रामचन्द्र श्रेष्ठ छन्।
उत्खननबाट फेला परेका महत्त्वपूर्ण वस्तुको विज्ञ समूहले वैज्ञानिक नामकरण गर्नेछ। यस क्षेत्रमा फेला परेका महत्त्वपूर्ण वस्तुहरू केही वर्षदेखि संरक्षण गरेर राखिंदै आएको राजा विराट प्राचीन दरबार खोज तथा संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादवले बताए। उनले आफ्नो घरको एक कोठालाई संग्रहालय जस्तै बनाएर प्राचीन वस्तु राखेका छन्।
उनका अनुसार, राजा विराटको दरबारको भग्नावशेष भएको स्थलको अवलोकन गर्न अहिलेसम्म १४ वटा देशका नागरिक आइसकेका छन्। गत चैतमा बेलायतको विश्वविद्यालयका विज्ञ समूहले पनि निरीक्षण गरेको थियो।
सरकारले दरबारका इँटाको थुप्रो भेटिएको सानो ठाउँलाई केही वर्षदेखि पर्खालले घेरेर सुरक्षित गरेको छ। राजा विराटको दरबारको संरक्षण गर्न जग्गा खरीदका लागि विराटनगर महानगरले १० करोड छुट्याएको छ।