रिपोर्ट मंगलबार, जेठ १४, २०७६

खुम्बु क्षेत्र : अथाह अवसर, न्यून लाभ

शरद ओझा

सगरमाथा सफल आरोहण शुरू भएको ६६ वर्षपछि खुम्बु क्षेत्रबाट स्थानीय समुदाय र देशले पाउन नसकेको लाभको लेखाजोखा हुनथालेको छ ।

८ जेठमा सगरमाथा आरोहणका क्रममा चुचुरोमा देखिएको आरोहीको लस्कर । तस्वीरः निर्मल पुर्जा मगर/प्रोजेक्ट पोसिबल

फ्रान्सेली समाचार संस्था, एएफपीका एशिया प्रशान्त क्षेत्र हेर्ने प्रधान सम्पादक जाइल्स हेविटले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर फर्कन लागेका आरोहीहरूको लस्कर देखिने तस्वीर सहित ९ जेठ दिउँसो ट्वीट गरे– ‘विश्वको सर्वोच्च लस्कर ।’ 

यो तस्वीर ८ जेठमा सगरमाथाको सफल आरोहण गरेका आरोहीहरूको हो । पर्यटन विभागका अनुसार ८ जेठ एकै दिन २०० जना आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए ।

मौसम अनुकूल भएकाले एकै दिन यति धेरै आरोहीले सगरमाथा आरोहणको सफलता हासिल गरेका हुन् । त्यस दिन सगरमाथाको खुलेको मौसम हेविटले ट्वीट गरेको तस्वीरबाट पनि प्रष्ट हुन्छ । तर, यो संख्या विश्वको सर्वोच्च शिखरमा एकै दिन बनेको कीर्तिमान भने थिएन ।

यसअघि ३ जेठ २०७३ को एकैदिन २०५ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । तीन वर्ष पहिले यस्तो तस्वीर लिने अवसर नजुरेकै कारण हुन सक्छ, ८ जेठको आरोहणले संसारको ध्यान खिच्यो ।

हुन पनि सगरमाथाले संसारकै ध्यान खिच्छ । किनभने, दुनियाँमा यसको प्रतिस्पर्धी अर्को शिखर छैन । तर, विश्वको यो सर्वोच्च शिखर अवस्थित रहेको ‘खुम्बु क्षेत्र’ को वैभव सगरमाथामै मात्र सीमित छैन । विश्वको चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मिटर) र छैटौं अग्लो चोयू (८,१८८ मिटर) पनि सगरमाथा रहेको खुम्बु क्षेत्रको महालंगुर हिमशृंखलामै छन् ।

यसबाहेक खुम्बु क्षेत्रमा रामसार साइटमा सूचीकृत गोक्यो लगायतका ताल, हिउँचितुवा र हाब्रे लगायतका दुर्लभ हिमाली जनावर पाइन्छन् । लार्केला पास (५,१३५ मिटर), रेन्जोला पास (५,३४५ मिटर), चोला पास (५,४२० मिटर), कोङ्ग्माला पास (५,५३५ मिटर) जस्ता संसारकै आकर्षक पदमार्ग पनि यही खुम्बु क्षेत्रमै छन् ।

१६ जेठ २०१० मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पाइला राखेपछि नै सगरमाथाको प्रसिद्धि संसारभर फैलिन थालेको हो । आलु, फापर मात्र फल्ने र त्यसबाटै जीविकोपार्जन हुने खुम्बु क्षेत्रमा त्यसपछि नै जीविकोपार्जनको स्रोत बन्न थाल्यो, पर्यटन ।

तेन्जिङ र हिलारी सहितको आरोहण दलमा रहेका एक मात्र जीवित सदस्य, कान्छा शेर्पा (८७) लाई यो परिवर्तन अहिले पनि सपना झैं लाग्छ । के सगरमाथा आरोहण खुला भएसँगै शुरू भएको पर्यटनबाट देशले मनग्गे लाभ हासिल गर्‍यो त ? देशले लाभ पाए/नपाएको कुरा एकछिनलाई थाती राख्ने हो भने पनि खुम्बु क्षेत्रले चाहिं कति लाभ पाउन सक्यो त ? हामीले प्राप्त गरेका तथ्यहरूले भन्छन्– संसारभर अर्को प्रतिस्पर्धी नरहेको सगरमाथा र खुम्बु क्षेत्रको अपार सम्भावनाको लाभबाट यही खुम्बु क्षेत्र नै बञ्चित छ ।

लाभबाट बञ्चित
सर्च इन्जिन ‘गुगल’ मा एभरेष्ट टाइप गर्दा २२ करोड ८० लाख ‘रिजल्ट’ देखिनुबाटै यसको विश्वव्यापी चासो र चर्चा आकलन गर्न सकिन्छ । आरोहण शुरू भएको ६६ वर्षमा ६ हजार २४६ व्यक्तिले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन् । सन् १९९९ सम्म ८४६ मात्र रहेको आरोहीको संख्या पछिल्लो दुई दशकमा उल्लेख्य वृद्धि भएको हो ।

तस्वीरः कोलिन मोन्टिन्थ

यस वर्ष अहिलेसम्मकै सबभन्दा बढी ३८१ जनाले आरोहणको अनुमति लिएकोमा ८ जेठसम्म करीब ३०० जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । र, यो आँकडाभित्रको अर्को तथ्य के हो भने सगरमाथा आरोहण गर्नेमा नेपाली भन्दा विदेशी नागरिकको संख्या निकै बढी छ । जस्तो कि, यो सिजनमा सगरमाथा आरोहण गरेका ४४ टोलीमध्ये ७ वटा मात्र नेपाली थिए, ३७ वटा विदेशी ।

सगरमाथा आरोहणको महत्व सरकारले विदेशी नागरिकलाई तोकेको दस्तुरबाट पनि प्रष्ट हुन्छ । ८ हजार मिटर भन्दा अग्ला अन्य हिमाल आरोहणका लागि १८०० अमेरिकी डलर आरोहण दस्तुर तोकेको सरकारले सगरमाथा आरोहणको दस्तुर मात्र प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तोकेको छ ।

सगरमाथा आरोहण तिब्वततर्फबाट पनि हुन्छ । तिब्वततर्फबाट आरोहण गरेका पासाङ ग्याल्जेन शेर्पा भने तिब्बत र नेपालतर्फबाट हुने आरोहणमा तुलना नै नहुने बताउँछन् । “यहाँ हिंड्दै, ४ हजार मिटर उँचाइमा पनि हरियाली वातावरणसँग घुलमिल हुँदै आधारशिविर पुगिन्छ” उनी भन्छन्, “तर तिब्बततर्फ गाडीले उजाड पहाड छिचोल्दै आधारशिविर पुर्‍याउँछ ।”

यही कारण पनि दस्तुर जतिसुकै होस्, विदेशीहरू ज्यानको बाजी लगाएर सगरमाथा चढ्छन् । जस्तो कि, गत साता आरोहण सम्पन्न गरेर सगरमाथाको चुचुरोबाट फर्कनेक्रममा भारतीय नागरिकद्वय अन्जिली एस कुलकर्नी र कल्पना दास तथा अमेरिकी नागरिक डोनाल्ड लिन क्यासको ज्यान गयो ।

पर्यटन विभागका अनुसार ८ हजार मिटर भन्दा माथि पर्वतारोहीको चापबाट सिर्जित ‘ट्राफिक जाम’ का कारण भन्दा माथिको उँचाइमा पर्वतारोहीको चापका कारण उनीहरूको ज्यान गएको हो ।

चाप पनि कतिसम्म बढेको छ भने हिमाल संवाददाता ५ जेठमा सगरमाथा आधारशिविर पुग्दा कुनै उत्सवकै झ्ल्को दिने गरी जताततै झ्लिीमिली पाल देखिन्थे । नयाँ पाल राख्ने ठाउँ नै थिएन । तर, प्रायः पाल सुनसान थिए ।

कारण, उपयुक्त मौसमको पर्खाइमा पर्वतारोहीहरू आधारशिविरबाट उकालो लागिसकेका थिए । नेपाल र चीन (तिब्बत) दुवैतर्फबाट सगरमाथा आरोहण गरिसकेका थामे, सोलुखुम्बुका पासाङ ग्याल्जेन शेर्पा (२८) भन्छन्, “पैसा भयो भने अर्काको सहयोगमा जसले पनि सगरमाथा आरोहण गर्ने प्रवृत्ति सामान्य बन्न पुगेको छ । यसले हाम्रा हिमालको महत्व घटाउँदैछ ।”

हिमालकै महत्व घटाउने गरी भित्रिइरहेको यो पैसाबाट खुम्बु क्षेत्रले कत्तिको लाभ पाएको छ त ? सगरमाथा सरोकार समाजका अध्यक्ष, वातावरणविद् डा.नोर्बु लाक्पा शेर्पा खुम्बु क्षेत्रका केही सीमित व्यवसायी–व्यक्तिको आर्थिक स्तर उकासिए पनि सिंगो खुम्बु क्षेत्र र देशले सगरमाथाबाट लाभ लिन नसकेको बताउँछन् ।

हुन पनि, जेठ पहिलो साता खुम्बु क्षेत्रमा पुग्दा सकेसम्म कम खर्चमा पदयात्रा गर्न खोज्नेको ठूलो संख्या भेटियो । कतिसम्म भने, संसारभर वस्तु तथा सेवाको मूल्य वृद्धि भइरहँदा सगरमाथा क्षेत्रमा यात्रा गर्दा लाग्ने खर्च घट्दो क्रममा छ ।

तस्वीरः शरद ओझा

हुन त यो नियति अहिले खुम्बु क्षेत्र मात्र नभएर देशभरका सबैजसो पर्यटकीय गन्तव्यले भोगिरहेका छन् । सगरमाथाको मात्र के कुरा, संसारकै उच्चस्थानको सगरमाथा राष्ट्रिय निकुञ्जदेखि तिलिचो तालसम्म, संसारकै गहिरो कालीगण्डकी गल्छीदेखि आठहजार मिटर भन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा रहेका आठ वटा हिमाल दुनियाँमा अर्को ठाउँमा छैनन् ।

पर्यटनमा विद्यावारिधि गरेका र विभिन्न मुलुकका विश्वविद्यालयमा अध्यापन गरिरहेका अनुसन्धाता डा.राजीव दाहाल भन्छन्, “पर्यटनले नेपालको कायाकल्प नै बदल्न सक्छ भन्ने नीतिनिर्माताले बुझ्नै सकेनन् । खुम्बु उपत्यकामा रहेका पर्यटकीय गन्तव्यबाट लाभ लिने गतिलो नीति मात्र बन्न सके पनि देशको आर्थिक अवस्था बेग्लै हुन्छ ।”

खुम्बु क्षेत्रमा आउने पर्वतारोही हिजो प्रायः पदमार्गबाटै आवतजावत गर्थे । हिमाल आरोहणका क्रममा हिमाली क्षेत्रको वातावरणसँग भिज्नु अत्यावश्यक हुने भएकाले पनि त्यसो गरिन्थ्यो । पछिल्लो समय आरोहणमा जानुअघि पर्वतारोही पर्यटकले पदयात्रालाई निरन्तरता दिए पनि आरोहणपछि भने पदयात्रा रोज्दैनन् ।

कारण, हेलिकप्टर कम्पनीको संख्या वृद्धिसँगै उनीहरू आधारशिविरबाटै हेलिकप्टर पाउन सक्छन् । झ्ट्ट हेर्दा यसबाट हेलिकप्टर व्यवसाय बढेको देखिन्छ । हिमाली क्षेत्रमा बिरामी भएका वा आपत्विपत्मा परेका पर्वतारोही र पर्यटकको उद्धार सहज बनेको छ । तर, यसले स्थानीय अर्थतन्त्रमा भने नराम्रो असर पारेको छ ।

अस्वस्थ प्रतिस्पर्धाको मार
१ हजार ५३९ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने खुम्बु क्षेत्रमा समुद्र सतहबाट १९०० मिटर अग्लो भूभागदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) समेत छ । २०६८ सालको जनगणना अनुसार खुम्बु क्षेत्रको जनसंख्या ८ हजार ९८९ छ । अनौठो चाहिं के भने यसको ठूलो हिस्सा अहिले पनि संसारको ध्यान खिचेको खुम्बु क्षेत्रमा केन्द्रित पर्यटनको लाभबाट बञ्चित छ ।

लुक्ला विमानस्थललाई हेरौं । संसारकै उच्चमध्येको विमानस्थल हो, यो । विमानस्थल भएर मात्र के गर्नु, यहाँ अहिले पनि खाद्यान्न लगायतका अत्यावश्यक सामान बोक्न खच्चड र याक प्रयोग गर्नुपर्छ । अधिकांश शेर्पा जातिको बसोबास रहेको यो क्षेत्रका यस्ता कथा–व्यथा अनेक छन् ।

खुम्बु क्षेत्रको विश्व सम्पदामा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जले सार्क राष्ट्रका पर्यटकबाट रु.१५०० र अन्य मुलुकका पर्यटकबाट रु.३००० प्रवेश शुल्क लिन्छ । यस वर्षदेखि नेपाली पर्यटकबाट पनि रु.१०० प्रवेश शुल्क लिन थालिएको छ । यसबाहेक खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पनि विदेशी पर्यटकबाट रु.२००० प्रवेश शुल्क उठाउँछ ।

नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो आँकडा अनुसार नेपाल आउने विदेशी पर्यटकले प्रतिदिन औसतमा ४४ अमेरिकी डलर खर्च गर्छन् । सगरमाथा आरोहणमा जाने पर्यटकको औसतमा २५ हजार र अन्य हिमालमा ८ हजार डलर खर्च हुन्छ । तर, पर्वतारोहीको संख्या निकै थोरै हुन्छ । नेपाल आउने अधिकांश पर्यटक यस बाहेकका हुन्छन्, जो सकेसम्म कम खर्च गर्न खोज्छन् ।

राष्ट्र ब्याङ्कका अनुसार चालु आर्थिक वर्षमा विदेशी पर्यटकले गर्ने खर्च गत वर्षभन्दा २.३ प्रतिशतले घटेको छ । जबकि, यस वर्ष पर्यटक आगमनमा भएको वृद्धिदर ३० प्रतिशतभन्दा बढी छ । चालु आर्थिक वर्षको ९ महीनामा विदेशी पर्यटकले नेपालमा रु.४७ अर्ब ५४ करोड खर्च गरेको र यही अवधिमा विदेश यात्रा गर्ने नेपालीले रु.५९ अर्ब ६६ करोड खर्च गरेको राष्ट्र ब्याङ्कको आँकडाले देखाउँछ ।

जस्तो कि, खुम्बु क्षेत्रमा भेटिएका जर्मन नागरिक आन्द्रे बोन र अमेरिकी नागरिक स्टेफन मोलनले २५ डलरमा एक रात बिताउन सकिने भएकाले सगरमाथा आधारशिविरको पदयात्रामा आएको बताए ।

विदेशी पर्यटकले काठमाडौंदेखि लुक्लासम्मको दुईतर्फी हवाई भाडावापत करीब ३६० अमेरिकी डलर खर्च गर्नुपर्छ । यस हिसाबले पदयात्राका लागि उनीहरूले जम्माजम्मी ७०० डलर जति खर्च गर्छन् । अब लुक्लासम्म मोटरबाटो पुग्ने क्रममा रहेकाले न्यूनतम खर्च पनि नगर्ने पर्यटकको संख्या बढ्दै जानेछ ।

“सरकारले पर्यटक बढाउने मात्र कुरा गरेको छ” पर्यटन व्यवसायी सुमन पाण्डे भन्छन्, “पर्यटनको लाभ सबैलाई पु¥याउन पर्यटकको संख्या बढ्नु आवश्यक भए पनि संख्या मात्र बढ्दै जाँदा त्यसले लाभ होइन, समस्या निम्त्याउने जोखिम छ ।”

राष्ट्र ब्याङ्कका अनुसार चालु आर्थिक वर्षमा विदेशी पर्यटकले गर्ने खर्च गत वर्षभन्दा २.३ प्रतिशतले घटेको छ । जबकि, यस वर्ष पर्यटक आगमनमा भएको वृद्धिदर ३० प्रतिशतभन्दा बढी छ । चालु आर्थिक वर्षको ९ महीनामा विदेशी पर्यटकले नेपालमा रु.४७ अर्ब ५४ करोड खर्च गरेको र यही अवधिमा विदेश यात्रा गर्ने नेपालीले रु.५९ अर्ब ६६ करोड खर्च गरेको राष्ट्र ब्याङ्कको आँकडाले देखाउँछ ।

अवस्था कस्तोसम्म छ भने विभिन्न मुलुकबाट स्वयंसेवीका रूपमा नेपाल आएका व्यक्तिहरूले नै यहाँ बसेर विदेशी पदयात्री बोलाउने र उनीहरूलाई घुमाएर पैसा असुल्ने गर्छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जे शेर्पाको भनाइमा नेपाली ट्रेकिङ कम्पनी मार्फत नै घुम्नुपर्ने बाध्यात्मक व्यवस्था नभएकाले यस्तो विकृति नियन्त्रण गर्न सकिएको छैन ।

यस्तो अवस्था निम्त्याउने प्रमुख कारक नेपाली व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा हो । निरन्तर घटिरहेको खुम्बु क्षेत्रको पदयात्रा ‘प्याकेज’ को मूल्यले त्यही देखाउँछ । केही वर्ष पहिलेसम्म खुम्बु क्षेत्रको पदयात्राको प्याकेज १८०० अमेरिकी डलरसम्ममा बिक्री हुन्थ्यो, जुन अहिले १००० डलरमा आइपुगेको छ ।

टे«किङ कम्पनीले सस्तोमा प्याकेज बिक्री गर्दा सबभन्दा मारमा खुम्बु क्षेत्रका भरिया, पथप्रदर्शक र होटल परेका छन् । एक ट्रेकिङ कम्पनीका सञ्चालक भन्छन्, “सस्तोमा प्याकेज बिक्री गर्दा फाइदा हुँदैन, तर अरूले सस्तोमै बिक्री गरेपछि व्यवसायमा टिक्न पनि यसो नगरी हुन्न ।”

कुनै बेला खुम्बु क्षेत्रमा पदयात्री–पर्यटक ल्याउने पथप्रदर्शकलाई घरघरमा निःशुल्क खान–बस्न दिइन्थ्यो । पदमार्ग आसपासमा सुविधासम्पन्न गेष्ट हाउस सञ्चालनमा आएपछि पनि गेष्ट हाउस संचालकले पथप्रदर्शकसँग पैसा लिंदैनथे ।

पछिल्लो समय सुविधासम्पन्न होटलमा पर्यटकले गर्ने खर्चबाट फाइदा नभएको कारण देखाउँदै खुम्बु क्षेत्रका होटलले पथप्रदर्शकबाट समेत पैसा लिन थालेका छन् । थामे, सोलुखुम्बुका युवा निमा नाम्गेल शेर्पा भन्छन्, “हाम्रा बाबुबाजेले पर्यटक तान्न पथप्रदर्शकलाई निःशुल्क सेवा दिए ।

अहिले यही ठाउँमा ट्रेकिङ एजेन्सीले कम पैसामा प्याकेज बिक्री गर्ने र होटलले पथप्रदर्शकसँग पैसामा बार्गेनिङ गर्ने विकृति भित्रियो ।” होटल व्यवसायी तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भने होटल नै घाटामा जाने अवस्था आएपछि निःशुल्क कोठा दिन बन्द गरिएको दाबी गरे ।

खुम्बु क्षेत्रका अधिकांश होटल करको दायराभन्दा बाहिरै छन् । अर्थात्, सीमित व्यवसायीबाहेक पर्यटनको लाभ न स्थानीयलाई भएको छ, न सरकारलाई । पहिले कर कार्यालयमा दर्ता हुन सिरहाको लहान पुग्नुपर्ने बाध्यता रहे पनि गत वर्ष यहीं नै कार्यालय स्थापना भए पनि करको दायरामा आउने व्यवसायीको संख्या बढेको छैन ।

गाउँपालिका अध्यक्ष शेर्पा स्थानीय सरकारले सबै व्यवसायलाई दर्ता हुन आह्वान गरेको उल्लेख गर्दै भन्छन्, “आफ्नो तरिकाले संचालन भइराखेका व्यवसायलाई एकैपटक करको दायरामा ल्याउन गाह्रो हुँदोरहेछ । अब दर्ता हुन नआउने व्यवसायलाई स्थानीय सरकारले दिने सेवासुविधाबाटै वञ्चित गर्ने योजनामा छौं ।”

सगरमाथाको प्रवेशद्वार मानिने नाम्चेमा स्थानीय समुदायको बसोबास नै छैन । नाम्चेस्थित हिमालयन प्राथमिक विद्यालयका ९५ प्रतिशत विद्यार्थी नाम्चे बाहिरकै छन् । कारण, यहाँको अवसर छोप्न बाहिरका मान्छेको भीड बढ्दो छ । अर्कोतर्फ स्थानीय संस्कृति भने क्रमशः संकटमा पर्दैछ ।

१० वर्ष अमेरिका बसेर फर्केका खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का वडाध्यक्ष छिरिङ फिन्जो शेर्पा भन्छन्, “मेरा छोराहरूलाई नै शेर्पा भाषा बोल्न आउँदैन । स्थानीयको बसाइँसराइ दर यसैगरी बढ्यो भने संस्कृति र भाषा जोगाउन गाह्रो हुनेछ ।”

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाको ठम्याइ छ– पर्वतारोहण र पदयात्रालाई छुट्याएर प्रचारप्रसार गर्न नसक्दा पर्यटनको लाभ गुमिरहेको छ । लामा भन्छन्, “हामीसँग अवसर छ भनेर मात्र भएन, त्यसबाट लाभ लिने क्षमता, तयारी र पहल पनि हुनुपर्‍यो ।”

सन् २०१८ मा नेपाल भ्रमणमा आउने भारतीय पर्यटक पहिलो नम्बरमा थिए । तर, खुम्बु क्षेत्र पुग्ने भारतीय भने सातौं नम्बरमा पर्छन् । पछिल्ला वर्ष पदयात्रामा आउने भारतीय पर्यटकको संख्या बढे पनि त्यो पर्याप्त छैन ।

नाम्चेमा होटल चलाइरहेका छिरिङ फिन्जो शेर्पा भन्छन्, “एक्लै घुम्न आउने युरोपेली र अमेरिकी पर्यटकभन्दा नेपाली र भारतीय पर्यटकले धेरै रकम खर्च गर्छन् । खुम्बु क्षेत्रमा पर्यटकको संख्या मात्र बढाउनु भन्दा बढी खर्च गर्ने पर्यटक ल्याउन जोड दिनुपर्छ ।”

सडक र संशय
कुनै बेला खुम्बु क्षेत्रको पदयात्रा दोलखाको जिरीबाट शुरू हुन्थ्यो । जिरीसम्म गाडीमा जाने र त्यहाँबाट भण्डार, सेटे, जुनबेंसी, नुनथला, बुक्सा, सुर्के हुँदै लुक्ला पुगिन्थ्यो । पछिल्लो १० वर्षयता यो पदयात्रा घट्दै भएको सन् १९९६ देखि खुम्बु क्षेत्रमा पथप्रदर्शकको काम गर्दै आएका जिरीका रामजी नेपाली बताउँछन् । पछिल्लो समय जिरीबाट शुरू हुने पदमार्ग बन्द नै भएको छ । पर्यटकहरू हवाईजहाजमा लुक्ला पुग्छन्, त्यहींबाट पदयात्रा शुरू गर्छन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जेका अनुसार तीन वर्षभित्र गाउँपालिकाको केन्द्र चौंरीखर्क सडक सञ्जालसँग जोडिनेछ । र, लुक्ला सडक सञ्जालसँग जोडिएसँगै स्वदेशी पर्यटकले हवाईभाडा वापत तिर्ने रु.११ हजार र विदेशी पर्यटकको ३५० अमेरिकी डलर रु.५ हजारमा झ्र्नेछ । त्यसपछि लुक्लामा पदयात्री–पर्यटकको संख्या ह्वात्तै बढ्नेछ ।

सगरमाथा सरोकार समाजका अध्यक्ष, वातावरणविद् डा.लाक्पा नोर्बु शेर्पा सडक सञ्जालसँग जोडिएपछि बढ्ने पर्यटक आवागमन व्यवस्थित गर्न र पर्यटनबाट लाभ लिन पनि धेरै पर्यटक आउने सिजनमा सगरमाथा प्रवेश गर्नेको (क्यारिङ कपासिटी) संख्या तोक्नुपर्ने बताउँछन् । शेर्पाको भनाइमा सहमत कुँवर भन्छन्, “कुनै पनि गन्तव्यले असंख्य पर्यटक धान्न सक्दैन ।”

खुम्बु क्षेत्रको शेर्पा संस्कृतिबारे विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व डीन रमेशराज कुँवर लुक्ला सडक सञ्जालमा जोडिनासाथ अवसरसँगै चुनौती पनि उत्तिकै बढ्ने बताउँछन् ।

जस्तो कि, संसारभरकै पर्यटक ओइरिने युरोपमा गत वर्ष ‘पर्यटकलाई स्वागत छैन’ भन्ने अभियान चलाइयो । दैनिक ५० हजारभन्दा ज्यादा पर्यटक पुग्ने इटलीको भेनिसमा स्थानीयवासीको निरन्तरको अवरोधपछि पर्यटकबाट शहर प्रवेशको शुल्क लिन शुरू गरियो ।

सगरमाथा सरोकार समाजका अध्यक्ष, वातावरणविद् डा.लाक्पा नोर्बु शेर्पा सडक सञ्जालसँग जोडिएपछि बढ्ने पर्यटक आवागमन व्यवस्थित गर्न र पर्यटनबाट लाभ लिन पनि धेरै पर्यटक आउने सिजनमा सगरमाथा प्रवेश गर्नेको (क्यारिङ कपासिटी) संख्या तोक्नुपर्ने बताउँछन् । शेर्पाको भनाइमा सहमत कुँवर भन्छन्, “कुनै पनि गन्तव्यले असंख्य पर्यटक धान्न सक्दैन ।”

संविधानको धारा ५१ (ठ) मा ‘ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन उद्योगको विकास गरिने’ उल्लेख गरिएकाले पनि ‘ओभर टुरिजम’ को समस्या आउन नदिन र सम्पदा जोगाउन क्यारिङ कपासिटी तोक्न आवश्यक देखिन्छ । विज्ञहरूको पनि राय छ– “पर्यटकलाई राम्रो सेवा र सत्कार दिने गरी मात्र ल्याउनुपर्छ । उच्च हिमाली क्षेत्रमा असीमित संख्या व्यवस्थापन सम्भव हुँदैन । संस्कृति र वातावरण जोगाउन सेवा दिन सक्ने पर्यटक मात्र भिœयाउनुपर्छ ।”

खुम्बु क्षेत्रमा खाद्यान्न लगायतका सबै सामग्री भरिया वा जनावरले बोकेर लैजानुपर्छ । यहीकारण ढुवानी भाडा बढ्ने हुँदा सामानको मूल्य महँगो हुन्छ । यद्यपि, गाउँपालिकाले सडक सञ्जालसँग जोडिनुअघि नै निजी क्षेत्रसँगको सहकार्यमा चौंरीखर्कदेखि नाम्चेसम्म ‘रोपवे’ निर्माण गर्ने योजना बनाएको छ ।

फोहोरको चुनौती
आरोहणको क्रम बढेसँगै सगरमाथा क्षेत्रको व्यवस्थापनमा चुनौती बढेको भन्दै सन् २०१६ देखि आरोहणमा जाने पर्यटकले सगरमाथा आधारशिविरमा फर्कंदा कम्तीमा ८ केजी फोहोर ल्याउनै पर्ने व्यवस्था लागू गरियो । १३ पटक सगरमाथा आरोहण गरेका पासाङ तेन्जिङ शेर्पा भने सगरमाथामा फोहोरभन्दा चर्चा बढी भएको बताउँछन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको पहलमा यस वर्ष नेपाली सेना लगायत विभिन्न संघसंस्था र निजी कम्पनीहरूलाई समेत सहभागी गराएर सगरमाथाबाट फोहोर हटाउने काम अघि बढाइएको छ । तीन महीनाको अभियानमा उच्च हिमाली क्षेत्रबाट चार मृत शरीर र करीब पाँच हजार किलोग्राम फोहोर संकलन गरिएको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को अगुवाईमा उच्च हिमाली क्षेत्रमा नियमित सरसफाइको काम भइरहे पनि यसपटक आधारशिविरभन्दा माथि फोहोर संकलन गरिएको हो ।

६६ वर्षअघि सगरमाथाको प्रथम सफल आरोहण टोलीमा सहभागी कान्छा शेर्पा थप्छन्, “पदयात्रामा आउनेहरू पनि हिमाल हेर्नकै लागि आउने हुन्। प्रदूषणले हिमाल नासियो भने खुम्बुको अस्तित्व पनि रहने छैन ।”

सरकारले आरोहण टोलीसँग धरौटी लिएको ४ हजार अमेरिकी डलर आरोहण टोलीले सबै फोहोर सफा गरेपछि मात्र फिर्ता दिने कानूनी व्यवस्था २०७० सालदेखि लागू गरे पनि सगरमाथाको फोहोर घटेको थिएन ।

पछिल्लो समय एसपीसीसीले आरोहण दललाई कडाइ गर्न थालेपछि आधारशिविरभन्दा माथि फोहोर कम हुँदै गएको छ । एसपीसीसीका अध्यक्ष आङ दोर्जे शेर्पा भन्छन्, “आरोहीले कम्तीमा ८ केजी फोहोर ल्याएर आधारशिविरमा बुझाउनुपर्ने नियम लागू गरेपछि प्रदूषण पनि नियन्त्रण हुँदै गएको छ ।”

तर, सगरमाथा आरोहणको बाटो बनाउने ‘आइसफल डाक्टर’ निङ्मा तेम्बा शेर्पा आधारशिविरका साथै ‘क्याम्प टू’ मा आरामले बस्ने प्रवृत्तिले सगरमाथामा फोहोर बढाएको बताउँछन् । सगरमाथा आधारशिविरमा भेटिएका उनले हिमाल सँग भने, “आरोहणका लागि अत्यावश्यक बाहेक सुविधाका लागि प्रयोग गरिने सामान लैजान रोक्ने हो भने ठूलो मात्रामा प्रदूषण नियन्त्रण गर्न सकिन्छ ।”

६६ वर्षअघि सगरमाथाको प्रथम सफल आरोहण टोलीमा सहभागी कान्छा शेर्पा थप्छन्, “पदयात्रामा आउनेहरू पनि हिमाल हेर्नकै लागि आउने हुन् । प्रदूषणले हिमाल नासियो भने खुम्बुको अस्तित्व पनि रहने छैन ।”

यो सिजनमा पर्यटन विभागले ३७ विदेशी सहित ४४ समूहलाई सगरमाथा आरोहण, १२ समूहलाई ल्होत्से र दुई वटा समूहलाई नुप्से हिमाल आरोहणको अनुमति दिएको थियो ।

पर्वतारोहण नियमावली अनुसार सगरमाथा आधारशिविरमा प्रत्येक आरोहण टोलीसँग नेपाल सरकारले खटाएका सम्पर्क अधिकृत हुनुपर्छ र उनीहरू पर्वतारोहण नसकिंदासम्म आधारशिविरमै बस्नुपर्छ । ५ जेठमा हिमाल संवाददाता आधारशिविर पुग्दा चार जना सम्पर्क अधिकृत मात्र भेटिए । जानकारहरूका अनुसार आधारशिविर पुग्ने भनेर भत्ता बुझ्ने कैयौं कर्मचारी त्यहाँ पुग्दैनन् ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे सबै निजामती अधिकृत वा सो सरहका अधिकारीलाई नै सम्पर्क अधिकृत तोक्ने प्रावधान व्यावहारिक नभएको उल्लेख गर्दै भन्छन्, “पहिले भन्दा यो वर्ष धेरै सम्पर्क अधिकृत आधारशिविर पुगेका छन् । अधिकृत यो, त्यो नभई आरोहण अवधिभर आधारशिविरमा बस्ने व्यक्तिलाई नै सम्पर्क अधिकृतको रूपमा खटाउनुपर्छ ।”

नेपाल पर्वतारोहण संघका अध्यक्ष लामा सम्पर्क अधिकृतले प्रभावकारी काम गरेमा हिमाली क्षेत्रमा फोहोर लगायतका धेरै समस्या समाधान हुने बताउँछन् । उनी भन्छन्, “आधारशिविर पुग्न नसक्नेलाई सम्पर्क अधिकृत खटाउनुको अर्थ छैन ।”

आरोहण व्यवस्थित बनाउने, अनुमति नलिएका आरोहीलाई रोक्ने, आधारशिविरमा हुने गलत क्रियाकलाप रोक्ने, आरोहण टोलीले गर्ने अनावश्यक फोहोर नियन्त्रण गर्ने आदि सम्पर्क अधिकृतका मूलभूत जिम्मेवारी हुन् ।

केही वर्षयता आरोहण अवधिभर आधारशिविरमा बस्दै आएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, “कानूनी व्यवस्था अनुसार सबै सम्पर्क अधिकृत आधारशिविरमा बस्ने हो भने सरसफाइमा सुधार हुनुको साथै कैयौं विकृति नियन्त्रण हुन्छन् ।”

नेपाल पर्यटन बोर्डका एक अधिकारी भने सम्पर्क अधिकृतको व्यवस्था सगरमाथा आरोहणलाई व्यवस्थित गर्नुभन्दा कर्मचारीलाई प्रोत्साहनका लागि मात्र गरिएकाले समस्या आएको बताउँछन् । 

उँचाइ मापनको नतिजा ६ महीनाभित्रै
नेपालले सगरमाथाको उँचाइ मापन गरेको छ । ८ चैतमा नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको चार सदस्यीय टोली सगरमाथाको चुचुरोमा पुगेर तथ्यांक संकलन गरेको छ ।

टोलीले चुचुरोमा एक घण्टा २० मिनेट बिताउँदै ‘ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम’ (जीएनएसएस) को मद्दतले तथ्यांक लिएको हो । चुचुरो सहित सोलुखुम्बु, खोटाङ, ओखलढुंगा लगायतका १२ स्थानमा विन्दुहरू कायम गरेर तथ्यांक संकलन गरिएको छ ।

विभागका सूचना अधिकृत दामोदर ढकाल सगरमाथाको चुचुरो सहित विभिन्न स्थानबाट संकलित तथ्यांकका आधारमा ६ महीनाभित्र उँचाइ सार्वजनिक गरिने बताउँछन् । ढकालका अनुसार सगरमाथाको उँचाइ मापनका क्रममा करीब रु.१७ करोड खर्च भएको छ ।

हालसम्म विभिन्न देशले १० पटक सगरमाथाको उँचाइ नापे पनि नेपालले भने पहिलो पटक मापन गरेको हो । सन् १९५४ मा भारतको सर्भे अफ इन्डियाले मापन गरी कायम गरेको ८,८४८ मिटर उँचाइलाई नै नेपालले मान्यता दिएको छ ।

त्यसपछि सन् १९९९ मा अमेरिकाको नेशनल जिओग्राफिक सोसाइटीले सगरमाथाको उँचाइ ८,८५० मिटर रहेको निष्कर्ष निकालेको थियो । यस्तै, सन् २००५ मा चीनले सगरमाथाको उचाइ ८,८४४ मिटर रहेको निष्कर्ष निकाल्यो । सर्वोच्च शिखरको उँचाइबारे विवाद हुँदै आएपछि नेपालले सन् २०१५ मा आफैंले मापन गर्ने घोषणा गरेको थियो ।

भरियालाई गाउँपालिकाको राहत
पदयात्राका क्रममा सबभन्दा मर्कामा कोही छन् भने ती भरिया नै हुन् । खुम्बु क्षेत्र मात्र नभई अन्यत्र पनि भरियालाई होटलले सुत्ने कोठा दिंदैनन् । यही समस्यालाई ध्यानमा राखेर खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पाँच ठाउँमा भरिया शयन कक्ष निर्माण गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष ङिम दोर्जे शेर्पा खुम्बु क्षेत्रमा भरिया विना पदयात्रा सम्भव नै नहुने भएकाले उनीहरूको हितलाई प्राथमिकतामा राखेको बताउँछन् ।

गाउँपालिकाले दर्ता हुने पथप्रदर्शक (गाइड) लाई न्यानो लुगा, रु.१ लाखसम्मको दुर्घटना बीमा र बिरामी परेमा आपत्कालीन उद्धार गर्ने व्यवस्था समेत गरेको छ । वैशाख मसान्तसम्म १८७ जना भरिया, ८९ सहायक पथप्रदर्शक र ९२ जना पथप्रदर्शकले गाउँपालिकाबाट परिचय–पत्र बनाएका छन् ।

ट्रेकिङ कम्पनीहरूले प्रायः भरियालाई नेपाल ट्रेकिङ एजेन्सी एशोसिएसन (टान) ले तोकेभन्दा न्यून ज्यालामा काम लगाउँछन् । टानले गएको जनवरीदेखि लागू हुने गरी भरियाको ज्याला दैनिक रु.२१०० निर्धारण गरे पनि भरियाले बढीमा १५०० सम्म मात्र पाएको भेटिएको छ ।

‘भूटान मोडल’ !
भूटानमा पदयात्राका लागि पर्यटकले ट्राभल एजेन्सीबाट ‘प्याकेज’ खरीद गर्नुपर्छ । बाङ्लादेश, भारत र माल्दिभ्सका नागरिकले भूटान घुम्न अन्य मुलुकका नागरिक झैं भिसा शुल्कवापत ४० अमेरिकी डलर तिर्नुपर्दैन । तर, यी तीन देशबाहेकका नागरिकले जनवरी, फेब्रुअरी, जून, जुलाई, अगस्त र डिसेम्बरमा दैनिक २०० डलर तथा अन्य महीनामा २५० डलर खर्च गर्नुपर्छ ।

एक अर्ब २० करोड भन्दा बढी जनसंख्या रहेको भारत र १४ करोड भन्दा बढी जनसंख्या भएको बाङ्लादेशका पर्यटक न्यूनतम खर्चमै भूटान घुम्न पाउँछन्, जुन अरुका लागि वर्जित छ ।

कतिपयले पर्यटनमा ‘भूटान मोडल’ को चर्चा गरे पनि विज्ञहरू नेपालले त्यसलाई अनुसरण गर्न नसक्ने बताउँछन् । सुविधा बढाउँदै बढी पर्यटक पुग्ने गन्तव्यको ‘क्यारिङ कपासिटी’ तोकेर पर्यटन विकास गर्नुपर्ने उनीहरूको धारणा छ । पर्यटनबारे अध्यापन गर्ने डा.राजीव दाहाल भन्छन्, “नेपालमा कुनै पनि कुरा अनिवार्य गर्नुभन्दा पर्यटकले बढीभन्दा बढी खर्च गर्न सक्ने स्थिति बनाउनुपर्छ ।”

 

प्रतिकृया दिनुहोस