ब्लग सोमबार, जेठ १३, २०७६

पुनर्निर्माणको मनकामना पाठ

मिलन बगाले

समुदाय र सरकारको हातेमालोबाटै गर्न सकिने सम्पदा पुनर्निर्माणमा विदेशी सहयोग खोज्नु सुहाउँदो कुरा होइन।

मनकामना मन्दिर । तस्वीरहरूः मिलन बगाले
मिलन बगाले

२०७२ सालको भूकम्पपछिको सांस्कृतिक सम्पदा पुनर्निर्माणको प्रगति कस्तो छ ? राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको द्वैमासिक प्रकाशन ‘पुनर्निर्माण’ को पछिल्लो अंक (माघ—फागुन, २०७५) भन्छ— पूर्ण क्षति १३३, आंशिक क्षति ६२०, पुनर्निर्माण सम्पन्न २१२, पुनर्निर्माण हुँदै २२४, लक्ष्य ७५३ ।

जिम्मेवारी, निर्माण शैली, प्रयोग गर्ने सामग्री आदि विषयमा अलमल र विवाद हुँदा रानीपोखरी, काष्ठमण्डप जस्ता महत्वपूर्ण सम्पदाको कामले लामो समय गति लिन सकेन । तर, गोरखाको मनकामना मन्दिर पुनर्निर्माणमा यस्तो उल्झ्न आएन । र त, यसको निर्माण सम्पन्न भइसकेको छ, त्यो पनि समुदायकै ठूलो लगानीबाट ।

पछिल्लो समय सम्पदा पुनर्निर्माणको गति बढिरहेको छ । तर, पुर्खाको इतिहास र देशको गरिमासँग जोडिएका संरचना बनाउन विदेशी सहयोगको कुरा चित्त बुझ्ने कुरा होइन ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको पुनर्निर्माण गर्दा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को) सँग सहयोग माग्नु हाम्रो अधिकार हो र सहयोग गर्नु उसको कर्तव्य ।

तर, युनेस्को बाहेक अन्यत्रको सहयोग लिएर बनायौं भने त्यो हाम्रै सम्पदा हुन्छ कि उनीहरूको ? प्रश्न स्वाभाविक रूपमा उठ्छ ।

सम्पदा पुनर्निर्माणमा कला–कौशल, सामग्री र निर्माणकर्मी हाम्रा आफ्नै भए पनि पैसा भने बाहिरको छ । हामीलाई आफ्नै माटो मुछिमाग्न, ढुंगा फोराउन, काठमा बुट्टा भर्न र यहींका इन्जिनियरलाई नक्शा कोराउन बाहिरको पैसा चाहिने थिएन ।

सम्पदा बनाउने कामलाई बाटो, पुल बनाए जसरी सोच्न जरूरी थिएन । मौलिकता, गरिमा र स्वाभिमानसँग जोडिएको सम्पदा पुनर्निर्माणमा केही नसोची हात थाप्ने प्रवृत्तिको अपवाद पनि केही उदाहरण देखिएका छन् ।

भक्तपुरले सम्पदा पुनर्निर्माणमा समुदायसँग हातेमालो गरिरहेको छ । मनकामना मन्दिरको पुनर्निर्माण पनि समुदाय र सरकार मिलेरै पूरा भएको छ। मन्दिरको निर्माण समापनको औपचारिक समारोह गएको फागुन अन्तिम साता राष्ट्रपतिको उपस्थितिमा भइसकेको छ।

भूकम्पले धेरै क्षति पुर्‍याएपछि सोही वर्षको असारमा क्षमापूजा गरेर मनकामना मन्दिर पूर्णरूपमा भत्काइएको थियो । मूर्तिलाई बाहिर राखेर पूजाआजा जारी राख्दै मन्दिरको पुनर्निर्माण शुरू भयो ।

सम्पदा पुनर्निर्माणमा कला–कौशल, सामग्री र निर्माणकर्मी हाम्रा आफ्नै भए पनि पैसा भने बाहिरको छ । हामीलाई आफ्नै माटो मुछिमाग्न, ढुंगा फोराउन, काठमा बुट्टा भर्न र यहींका इन्जिनियरलाई नक्शा कोराउन बाहिरको पैसा चाहिने थिएन।

यसको निर्माणमा समुदायको आर्थिक सहयोग अतुलनीय रह्यो । सरकारले दिएको रु.४ करोडमा भक्तजनले करीब रु.१० करोड थपे ।

मन्दिरको नवनिर्माण भए पनि निर्माण सामग्री, शैली, साविकको आकारप्रकार कतै पनि नखल्बलिने गरी बनेको छ । पित्तलको छाना र गजुरमा सुनको जलप लगाइएको छ ।

जलप पनि परम्परागत पद्धति अनुसार नै चुक अमिलो, नुन, इँटाको धूलो लगायत सामग्री प्रयोग गरी लगाइएको हो । समुदायको सहभागिता र सरकारको साझ्ेदारीमा निर्माण भएकाले यो मन्दिर बेलैमा विवादमुक्त ढंगले बन्यो ।

विझाउने कुरा
मन्दिर पुनर्निर्माण सकियो । तर यति ठूलो काम भइसक्दा पनि मन्दिर परिसरमा आँखा बिझाउने गरी कालो तारको गुजुल्टो देखिन्छ । जताबाट तस्वीर खिचे पनि तारको गुजुल्टोले नमीठो लाग्ने ।

स्थानीय सम्पदाप्रेमीले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरे तारलाई भूमिगत बनाउन पक्कै सकिन्छ । मनकामना परिसरमा मात्र हैन, सबै सम्पदा स्थललाई काला तारमुक्त बनाइनुपर्छ । यसतर्फ प्राधिकरणको पनि ध्यान जानुपर्छ ।

मनकामना मन्दिर जति सुन्दर र जीवन्त छ, मन्दिर सेरोफेरो ठ्याक्कै उल्टो छ । अग्ला होटलहरू वरिपरि लस्करै उभिएका छन् । ढलान गरेरै बनाइए पनि ती होटलका डिजाइनमा मौलिकता बाँच्न सकेको भए मनकामना क्षेत्र अझ् सुन्दर बन्थ्यो ।

बेलैमा सेरोफेरोको संरक्षण सम्बन्धी गुरुयोजना नबन्दा मन्दिरको वास्तुकला र शैलीको छाप तिनको निर्माणमा पर्न सकेन ।

बजारमा पनि स्थानीयपन छैन । मौलिक शैलीका साना र छरिता घर, कटेज र रेस्टुरेन्ट बनेको भए मनकामना परिसरमा सौन्दर्य थपिन्थ्यो ।

भक्तजनहरू पूजा गरेर हतारिंदै कुरिनटार झर्नुभन्दा एकरात डाँडामै बस्न रमाउँथे होलान् । अबको नयाँ निर्माणमा यस्तो दिशाहीनता हुन नदिन बेलैमा गुरुयोजना बनाउन स्थानीयवासीको ध्यान जाओस् ।


प्रतिकृया दिनुहोस