नेपालको पदयात्रा पर्यटनलाई विश्वमा चिनाएका माइकल (माइक) चेनीकी भतिजी काकाकै फेरो समाउँदै नेपाली महिलाले बनाएका हस्तकला सामग्रीको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खटिएकी छन्।
स्कटल्यान्डको राजधानी एडिनबर्गको बीच भागमा पर्ने सेन्ट जोन्स प्रिन्सेस सेन्टरमा छ, ‘वन वर्ल्ड शप’। जहाँ भेटिन्छन्, ‘मेड इन नेपाल’ लेखिएका स्वेटर, टोपी, गलबन्दी, जडीबुटीले बनेको साबुन अनि हस्तकला सामग्री।
यी सामग्री नाफामूलक उद्देश्यले बिक्रीमा राखिएका होइनन्। जनसङ्ख्याका हिसाबले बेलायतको सातौं र स्कटल्यान्डको दोस्रो ठूलो शहरमा यसरी नेपाली हस्तकलाका सामान बिक्री गरिनुसँग लामो इतिहास जोडिएको छ। पसल सञ्चालन गर्ने रेचेल फेरे नेपाली महिलाले बनाएका सामग्रीको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नु र उनीहरूको जीविकोपार्जन सुधारमा सघाउनु आफ्नो मुख्य उद्देश्य रहेको बताउँछिन्।
माइकल चेनी
उनी नेपाल हस्तकला उत्पादक संघ, गेट पेपर इन्डस्ट्रिज लगायत संस्थाबाट यी सामान मगाउँछिन्। “ती सामान गरीब र विपन्न महिलाले उत्पादन गरेका हुन् भन्ने यकिन भएपछि मात्र लिन्छौं,” उनले भनिन्।
‘वन वर्ल्ड शप’ ले नेपालबाट सामान मात्र लैजाँदैन, उत्पादक महिलालाई बेलायत लगेर स्थानीय विद्यालयमा साक्षात्कार गर्ने अवसर पनि दिलाउँछ। ६ वर्षअघि दुई महिलाले यस्तो अवसर पाएका थिए।
फेरेको परिवारको नेपालसँग लामो सम्बन्ध छ। आफ्ना पूर्वजलाई पछ्याउँदै उनी नेपाली महिलाका लागि स्वयंसेवा गरिरहेकी छन्। काका माइकल चेनी मार्फत नेपालसँग जोडिएको र काकाकै कामलाई निरन्तरता दिइरहेको फेरे बताउँछिन्। चेनी ब्रिटिश सेनाको गोर्खा राइफल्स (१९४६-१९५७) मा कार्यरत थिए। जागीरे जीवनपछि केही समय उनी भारत, दार्जिलिङमा चियाको प्रवर्द्धनमा खटिए।
त्यसपछि सन् १९६५ मा नेपाल प्रवेश गरेर पूर्वी इलाममा चिया प्रवर्द्धनमा लागेको उनीसँगै काम गरेका नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा बताउँछन्। अर्का पर्यटन व्यवसायी कर्मा शेर्पा लामाका अनुसार, चेनीले अमेरिकी नागरिक जिमी रोबर्टस्सँग मिलेर सन् १९६५ मा माउन्टेन ट्राभल नेपाल संस्था खोले। त्यो नै विश्वकै पहिलो ट्रेकिङ एजेन्सी भएको लामा बताउँछन्।
चेनीले त्यति वेला नेपालको पर्वतारोहणलाई विश्वसँग जोड्ने काम गरे। नेपाली पर्वतारोहीका भनाइमा उनले विश्वका कुनाकुनामा पर्वतारोहण र पदयात्राको प्रचारप्रसार गरेर विदेशीलाई नेपाल भित्र्याएका थिए। “नेपाललाई बाटो देखाएर विश्वसँग जोड्ने काम गरे,” पर्यटन व्यवसायी कर्मा भन्छन्, “त्यो समय अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गरेर पर्यटन भित्र्याउनु सजिलो थिएन।”
चेनीले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचारप्रसार मात्र होइन, नेपालका शेर्पा भरियाको जीवनस्तर सुधार तथा नयाँ नयाँ पदमार्गको पहिचानमा पनि योगदान गरेका थिए। उनी शेर्पा सहकारी मार्फत हिमालमा भरियाको काम गरिरहेका शेर्पाहरूको जीवनस्तर सुधार्न खटिएका थिए।
माइकल चेनी
पर्वतारोहण संघ अध्यक्ष लामाका भनाइमा त्यति वेला शेर्पाहरू कम ज्यालामा गह्रुँगो भारी बोक्थे। तिनलाई काम अनुसार ज्याला दिलाउन चेनीले वकालत गरेका थिए। अन्नपूर्ण, थोरङ्ला क्षेत्रको पदमार्ग पहिचानमा समेत चेनीको योगदान रहेको लामा बताउँछन्।
हिमालय रेस्क्यू एसोसिएशन, ट्रेकिङ एजेन्ट्स एसोसिएशन, हिमालयन क्लब लगायत आधा दर्जनभन्दा बढी संस्थामा आबद्ध चेनीको सन् १९८८ मा काठमाडौंमै निधन भयो। उनको अन्त्येष्टि पनि नेपालमै गरियो।
चेनीकै कारण नेपालसँग जोडिएकी हुन्, उनकी भतिजी फेरे। अनि काकाकै फेरो समाउँदै नेपाली महिला र बालबालिकाका पक्षमा काम गर्दै छिन्। उनले पनि अन्नपूर्ण पदमार्गको अस्ट्रेलिया क्याम्प र माछापुच्छ्रे पिकसम्म पदयात्रा गरेकी छन्।