समाचार विहीबार, जेठ ९, २०७६

इतिहासकै बढी आरोही सगरमाथामा

रासस

सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् ।

पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।

विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् ।

सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ ।

यस्तै सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसअघि सन् २०१३ मा करीब पाँच सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए । सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो ।

सगरमाथा आरोहण इतिहासमा यस पटक सबैभन्दा बढी आरोही सगरमाथा आरोहणमा गएका र हालसम्म ३५० भन्दा बढीले चुचुरो चुमेको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

बिहीबार बिहान मात्रै ५० आरोहीले सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथा सहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् ।

यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेका थिए ।

त्यसयता ६६ वर्षको अवधिमा आठ हजारभन्दा बढी पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणकै क्रममा अहिलेसम्म करीब २९० आरोहीले ज्यान गुमाएको तथ्यांक छ । आरोहण शृंखलामा नयाँ नयाँ कीर्तिमान पनि कायम भएका छन् ।

यस याममा कीर्तिमान आरोही कामिरिता शेर्पाले यही जेठ ७ गते २४ औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि आरोही शेर्पाले १ जेठमा सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए । उनी सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका हुन् । यसअघि आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका थिए ।

–सिवी अधिकारी

प्रतिकृया दिनुहोस