पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल-चखेवा भञ्ज्याङ खण्ड कालोपत्रे गरिएको छ, तर तीन वटा खोलामा पुल नबन्दा स्थानीय बासिन्दालाई सास्ती भएको छ।
दिक्तेल-चखेवा भञ्ज्याङसम्म ४६ किलोमिटर मध्यपहाडी लोकमार्गमा कालोपत्र भएको छ। तर, दिक्तेल-माम्खाखण्डको भालुखोला, मेवा खोला र छेपे खोलामा पुल बनाउन तयारी समेत गरिएको छैन। पुल निर्माण नहुँदा स्थानीयलाई आवतजावतमा कठिनाइ भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका गजेन्द्र राईले बताए।
पुल नहुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा, वडा नंं. ८ दोर्पाचिउरीडाँडा र वडा नंं. ९ निर्मलीडाँडा लगायत विभिन्न गाउँका बासिन्दा मर्कामा परेका छन्। विद्यार्थी जोखिम मोलेर खोला तर्न बाध्य छन्। स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दा समस्या भएको दोर्पाचिउरीडाँडाका जेपी राईको गुनासो छ।
छेपे खोलाको पुल निर्माणका लागि भने टेन्डर भइसकेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग योजना कार्यालय धुलिखेलले जनाएको छ। हिउँदबाट काम शुरू हुने कार्यालयका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए।
उनका अनुसार, मेवा खोलाको पुलको डिजाइन अन्तिम चरणमा पुगेको छ भने भालु खोलाको पुल डिजाइनकै चरणमा रहेको छ। दिक्तेल-चखेवा भञ्ज्याङ सडक खण्डमा पर्ने भुल्के खोला, लप्से खोला, दाम्दे खोला, साप्सु खोला लगायतमा भने पुल तयार भइसकेको छ।
पाँच खण्डमा विभाजन गरेर २०७२ चैतबाट चखेवाभञ्ज्याङ-दिक्तेल सडकको विभिन्न खण्डमा कालोपत्रे गर्न थालिएको थियो। सेखुवा-दिक्तेल ३६ किलोमिटरमा रमन-गोल्डेन गुड जेभी र चखेवाभञ्ज्याङ-सेखुवा १० किलोमिटरमा भरतमैनाचुली सिद्धिसाई जेभीले काम गरेको हो।
पंखु खोला पुल अलपत्र
ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवाभञ्ज्याङ-दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको पुल अलपत्र परेको छ। निर्माण कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिलासुस्तीले तीन वर्षदेखि पुल निर्माण अलपत्र छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लामो पुल २०७५ असारमै निर्माण सम्पन्न हुनुपर्ने हो। तर, दुई किनारमा पिलर ठड्याएर छोडिएको छ। यो पुल निर्माणका लागि ७ असोज २०७२ मा दुई करोड २९ लाखमा सिरुवा कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो।
दुई पिलर ठड्याएपछि ठेकेदार काम छाडेर बेपत्ता बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडाका वडाध्यक्ष हर्कराज राईले बताए। पुलको सब-स्ट्रक्चर र फाउन्डेसनको काम भएको र माथिको काम बाँकी रहेको इन्जिनियर श्रेष्ठले बताए।