महाकालीमा अहिलेसम्मकै उच्च बाढी
तीन दिनदेखि परिरहेको अविरल वर्षाले महाकाली नदीमा अहिलेसम्मकै उच्च बाढी आएको छ।
महाकाली नदीमा मङ्गलबार बिहान पानीको बहाव पाँच लाख दुई हजार क्युसेक मापन गरिएको छ। पानीको बहाव अझै बढ्ने क्रम रहेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले महाकाली नदी र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आउँदा तटीय क्षेत्रका सयौं घरपरिवार प्रभावित भएको बताए।
बाढीले तल्लो तटीय क्षेत्र डुबानमा परेको छ। भीमदत्त नगरपालिका-९ खल्ला, वडा नम्बर १२ ऐरी र वडा नं. १३ को सोनापुर क्षेत्रमा घरभित्र पानी पसेको छ। उनीहरूको उद्धारका लागि सुरक्षाकर्मी खटिएका छन्।
महाकाली नदीमा मङ्गलबार बिहान ५ बजे तीन लाख ९१ हजार ३६४ क्युसेक पानीको बहाव मापन गरिएको छ। दार्चुला क्षेत्रमा अविरल वर्षा भइरहेकाले महाकाली नदीमा पानीको बहाव अझ बढ्न सक्ने जनाउँदै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले अनुरोध गरेको छ।

भीमदत्त नगरपालिकाका वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका–१० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका छन्। त्यस्तै, महाकालीको बाढीले निर्माणाधीन पुल जोड्ने सडकमा क्षति पुगेको छ।
नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रजिअ पाण्डेले बताए।
कर्णालीमा पनि खतराको तह पार
चिसापानी बाढी मापन केन्द्रमा मङ्गलबार बिहान गरिएको मापन अनुसार, नदीको सतह ११ मिटर नाघेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीमा पानीको सतह खतराको तह पार गरेर ११ मिटर पुुगेको जानकारी दिए।
उनका अनुसार, कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ। लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीले पाकेको धान बगायो, किसान चिन्तित
भारी वर्षाले पाकेको धान बगाएको छ। खेतमा धान पाकेका र धेरैले धान काटेको अवस्थामा परेको पानीले किसानलाई ठूलो क्षति भएको हो।

बाढीले गर्दा धान, चामल तथा परालको गुणस्तरसँगै तरकारी खेती पनि प्रभावित भएको धनगढी उपमहानगरपालिका–७ का किसान सीताराम चौधरीले बताए। आइतबार रातिदेखि भइरहेको वर्षाका कारण कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लामा धानबाली नष्ट भएको हो।
सुदूरपश्चिम प्रदेशमा कुल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन छ।
.jpg)
यो वर्ष अनुकूल मनसुन, मलखाद र उन्नत बीउका कारण धान उत्पादन गत वर्षको भन्दा बढी हुने अनुमान गरिएको थियो। तर, बाली भित्र्याउने समयमा परेको पानीले उत्पादनमा गिरावट हुने अनुमान गरिएको छ।