'अष्टलक्ष्मी कमरेडकै लागि विद्रोहको शुरूआत गरेका थियौं'
नाम र चुनाव चिह्नले फरक पर्दैन। कुनै वेला माछामा पनि भोट हालिएको थियो। कुनै वेला हँसिया हथौडामा भोट हालिएको थियो। अब अर्को चिह्नमा भोट हालौंला।
नेकपा (एमाले)बाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेको एक महीना पुग्नै लागेको छ। यो अवधिमा केही सकारात्मक कदम चालेका छौं। अब यो नयाँ पार्टी कसरी अगाडि बढ्छ? कसरी काठमाडौंबाट गाउँगाउँसम्म पुग्छ? कसरी काम गर्छ? जनताका मुद्दा कसरी उठाउँछ?
यी सबै प्रश्नको उत्तर खोज्नु अघि एमालेमा किन विद्रोह भयो भन्ने विषयमा संक्षिप्त चर्चा गर्नु आवश्यक छ। पार्टी विभाजन हुनुको मुख्य कारण अध्यक्ष केपी शर्मा ओलीको अहंता नै हो। उहाँ एमालेको नवौं महाधिवेशनले पारित गरेका नीतिभित्र रहनुभएन।
यसको शुरूआत नेकपा (माओवादी केन्द्र)सँगको एकीकरणबाटै भयो। पार्टी एकताको न्यूनतम आधार तय नगरी प्रधानमन्त्री बन्न हतारोमा एकीकरण गरियो। एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त के हो भन्ने प्रष्ट नगरी जनताको बहुदलीय जनवाद विसर्जन गरियो। माओवादीले पनि आफूले मान्दै आएको विचारलाई विसर्जन गर्यो।
यसमा छलफल, बहस केही भएन। यसको धरातल नै अत्यन्त कमजोर थियो। अध्यक्ष ओलीले पार्टी बनाउन भन्दा पनि प्रधानमन्त्री पदका लागि एकीकरण गरे। त्यसपछि पनि पार्टी बलियो बनाउन भन्दा पद जोगाउन मरिमेटेर लागे। त्यही वेला शुरू भएको अन्तरविरोध बढ्दै जाँदा कमरेड माधव नेपाल लगायतका नेतालाई अपमानित गर्ने काम भयो। जति कोशिश गर्दा पनि एकता सम्भव नभएपछि नयाँ पार्टी बन्यो।
अहिले संगठन निर्माणका काम भइरहेका छन्। जिल्ला कमिटी निर्माण गरेर बैठक, भेला चलिरहेका छन्। यस अघि बनेका कमिटीलाई रूपान्तरण गर्ने, स्थानीय आवश्यकता ध्यानमा राखेर योजना बनाउने काम चलिरहेको छ।
नयाँ पार्टीका लागि चुनौती र अवसर दुवै छन्। चुनौती नभई अवसर नै आउँदैन। संगठन संरचना निर्माण गर्नु नै पहिलो चुनौती हो। ती संरचनालाई चुस्त बनाउनु छ। पार्टीका संरचनामा समाज समेट्नु छ। नयाँ नेतृत्व विकास गर्नु छ। यहींभित्रै हाम्रा लागि अवसर छ, जनतासँग जोडिने।
संगठन निर्माण गर्दा महिला सहभागितालाई ध्यानमा राखिएको छ। राजनीतिमा महिलाको समान उपस्थिति, सहभागिता हुनुपर्छ। नेतृत्व तहमा महिलालाई कसरी ल्याउने र टिकाउने भन्नेमा विशेष ध्यान दिनुपर्छ। यसका लागि वडा तहदेखि नै पहल गर्ने योजना छ।
अहिले मकवानपुरको जिल्ला कमिटी गठन गर्दा पनि तीन जना पदाधिकारीमा एक जना महिलालाई जिम्मेवारी दिएका छौं। अब नयाँ पार्टीमा ३३ होइन, ५० प्रतिशत जिम्मेवारी दिने तयारी गरेका छौं। त्यो जिम्मेवारी लिने कमरेडहरू पनि छन्, एकदम उत्साहित देखिएका छन्। अन्य जिल्लामा पनि यसरी नै अगाडि बढ्ने पार्टीको नीति छ।
बागमती प्रदेश सभामा हेर्दा पनि १३ जना सांसदमा पाँच जना महिला छौं। प्रदेश सभाको चुनाव यताकै अवस्था हेर्दा पनि एमालेले महिलालाई ठाउँ दिएको थिएन। मन्त्री पनि बनाएको थिएन। यति वेला काकताली परेर अष्टलक्ष्मी शाक्य कमरेड मुख्यमन्त्री बन्नुभएको छ। एमाले नेताहरू महिलालाई अवसर दिएको भन्दै छन्, तर मुख्यमन्त्री छोड्नैपर्ने अवस्था आएपछि अष्टलक्ष्मी कमरेडलाई दिइएको हो।
जिल्ला कमिटीसँगै सचिवालयमा पनि महिला सहभागितामा जोड दिइएको छ। महिला सहभागिताको विषयलाई लिएर वडादेखि केन्द्रसम्म कुनै सम्झौता हुँदैन। संवैधानिक व्यवस्था त पालना हुने नै भयो, हाम्रो जोड ५० प्रतिशत पुर्याउने हुन्छ।
केहीले सोध्छन्, सूर्य चिह्न छैन, कसरी चुनाव जित्नुहुन्छ? कम्युनिष्ट आन्दोलनमा लागेको तीन दशक भयो। यो अवधिमा पार्टीका नाम जे भए पनि विचारधारा उही छ। नाम जे जे भए पनि कम्युनिष्ट आन्दोलनमै छौं।
स्थानीय तहको निर्वाचन पनि नजिकिंदै छ। यो नियमित प्रक्रिया हो। तथापि हामी संगठन निर्माणदेखि नै यसलाई ध्यानमा राखेर अघि बढ्छौं। स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनबीच सहकार्य होला। त्यति हुँदाहुँदै पनि आफ्नो आधार त बलियो बनाउनैपर्यो। त्यसका लागि हामी स्थानीय तहसम्म पार्टी निर्माणमा जुटिरहेका छौं।
केहीले सोध्छन्, सूर्य चिह्न छैन, कसरी चुनाव जित्नुहुन्छ? कम्युनिष्ट आन्दोलनमा लागेको तीन दशक भयो। यो अवधिमा पार्टीका नाम जे भए पनि विचारधारा उही छ। पार्टीको नाम त कहिले माले थियो, कहिले एमाले, कहिले नेकपा र अहिले नेकपा (एकीकृत समाजवादी) भएको छ। नाम जे जे भए पनि कम्युनिष्ट आन्दोलनमै छौं।
नाम र चुनाव चिह्नले फरक पर्दैन। नाम र चुनाव चिह्न गौण कुरा हुन्। कुनै वेला माछामा पनि भोट हालिएको थियो। कुनै वेला हँसिया हथौडामा भोट हालिएको थियो। अर्को चिह्नमा भोट हालौंला।
यी सबै गौण कुरा हुन्। मुख्य कुरा, विचारमा निरन्तर संघर्ष गरिरहेका छौं। राजनीतिक यात्रामा सीधा बाटो मात्रै हुँदैन, तलमाथि भइहाल्छ। कहिले भीडभाड हुन्छ, कहिले एक्लै पनि भइएला। विचारमा दृढ र लक्ष्य प्रति प्रतिबद्ध हुन सकियो भने सफल भइन्छ, गन्तव्यमा पुगिन्छ।
तथापि, अहिले हामी प्रारम्भिक चरणमै छौं। विधान, झण्डा, चुनाव चिह्न लगायत राजनीतिक दस्तावेज टुंग्याउन बाँकी छ। ५ असोजमा बोलाइएको केन्द्रीय कमिटी बैठकले आगामी यात्राका लागि रणनीतिक योजना तय गर्नेछ। त्यसपछि एक किसिमले हाम्रो बाटो प्रष्ट हुनेछ।
केन्द्रमा गठबन्धनको सरकार भएको हुनाले सबै प्रदेशमा पनि गठबन्धनकै सरकार रहने एक प्रकारको समझदारी बनिसकेको छ। बागमती प्रदेश नेकपा (एकीकृत समाजवादी)कै भागमा परेको छ। त्यसैले नयाँ सरकार गठनको तयारी थालिसकेका छौं।
बागमतीको सन्दर्भ
अहिले बागमती प्रदेशमा एमालेको बहुमत सरकार छ। पार्टी विभाजन भएसँगै १३ जना सांसद एकीकृत समाजवादीमा आबद्ध छौं। योसँगै प्रदेश सरकार अल्पमतमा परिसकेकाे छ। संविधान अनुसार, अष्टलक्ष्मी कमरेडले विश्वासको मत लिनुपर्छ।
केन्द्रमा गठबन्धनको सरकार भएको हुनाले सबै प्रदेशमा पनि गठबन्धनकै सरकार रहने एक प्रकारको समझदारी बनिसकेको छ। बागमती प्रदेश नेकपा (एकीकृत समाजवादी)कै भागमा परेको छ। त्यसैले नयाँ सरकार गठनको तयारी थालिसकेका छौं।
संसदीय दलका नेता र पदाधिकारी चयन भइसकेका छन्। नयाँ सरकार गठनका लागि समन्वय गर्न कमरेड राजेन्द्र पाण्डेलाई जिम्मेवारी सुम्पेका छौं। त्यसको गृहकार्य चलिरहेको छ।
महिलालाई हम्मेसी राजनीतिमा अवसर नै दिइन्न, बल्लबल्ल नेपालमा पहिलो मुख्यन्त्री महिला बन्नुभएको छ। अब समर्थन गर्नसक्ने अवस्था रहेन। हिजोको दिनमा अष्टलक्ष्मी कमरेडका लागि लडेका थियौं। पार्टीभित्र विद्रोहको शुरूआत पनि उहाँलाई नै न्यायका लागि भएको थियो।
त्यति वेला उहाँभन्दा कनिष्ठलाई मुख्यमन्त्री बनाइएको थियो। त्यहींबाट हाम्रो संघर्ष शुरू भएको थियो। तीन वर्ष सँगै लड्यौं, तर अहिले आएर अर्के बाटो हिंड्नुभयो। उहाँ आफैंले शुरूआत गरेको बाटोमा हिंडेको भए अहिले विकल्प खोज्नुपर्ने थिएन। अब उहाँलाई साथ दिन सकिंदैन, हाम्रो तयारी थालिसकेका छौं।
अहिले एमालेमा रहेका तेस्रो धार वा मध्यमार्गी नेताहरूलाई अध्यक्ष ओलीले कहिल्यै अघि बढ्न दिनुहुन्न, यो छर्लंग छ। ओली छउन्जेल कुनै पनि हालतमा उनीहरूलाई राम्रो जिम्मेवारी दिइँदैन, अलमल्याएर मात्रै राखिन्छ। यो बिस्तारै प्रमाणित हुँदै छ।
पार्टी एकता र दोस्रो पुस्ताका नेता
प्रायः सोधिने गरेको छ, एमालेसँग एकताको सम्भावना कति छ? यसको उत्तर दिनु अघि १० बुँदे सहमतिलाई हेरौं। १० बुँदे सहमति कार्यान्वयन हुन्छ भनेर दोस्रो पुस्ताका नेता एमालेमै फर्किएका छन्। त्यहाँ उनीहरूलाई सहज हुन्न।
दोस्रो पुस्ताका नेतालाई अध्यक्ष बनाउन माधव नेपाल कमरेड पहिले नै तयार हुनुभएको थियो। तर, ओली कमरेडले मान्नुभएन। अब पनि मान्ने कुरा भएन। केही दिन अलमलमा पार्न खोजेका मात्रै हुन्, १० बुँदे कार्यान्वयन हुँदैन।
अहिले एमालेमा रहेका तेस्रो धार वा मध्यमार्गी नेताहरूलाई अध्यक्ष ओलीले कहिल्यै अघि बढ्न दिनहुन्न, यो छर्लंग छ। ओली छउन्जेल कुनै पनि हालतमा उनीहरूलाई राम्रो जिम्मेवारी दिइँदैन, अलमल्याएर मात्रै राखिन्छ। यो बिस्तारै प्रमाणित हुँदै छ।
त्यसैले अहिले एमालेमा रहेका साथीहरू भोलि एकीकृत समाजवादीकै पक्षमा उभिनुहुन्छ। सबैलाई लागि एकीकृत समाजवादीको ढोका खुला छ।
अर्को, माधव कमरेडले पनि भनिसक्नुभएको छ– पार्टी एकताको ढोका बन्द भएको छैन। हामी पार्टी एकताकै पक्षमा छौं, अझै पनि त्यो सम्भव छ। तर, जबसम्म एमालेमा केपी ओली प्रवृत्ति हावी रहन्छ, त्यतिन्जेल एकता सम्भव छैन।
[नेकपा (एकीकृत समाजवादी)की मकवानपुर अध्यक्ष सिग्देलसँग सरिता दाहालले गरेको कुराकानीमा आधारित।]