कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने नवजात शिशुसहित तीन जना सम्पर्कविहीन रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको छ। उनको घाइते अवस्थामा उद्धार गरिए लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिव विष्टले बताए।
आइतबार मध्याह्न कैलाली र सुर्खेतको सिमाना भएर बग्ने कर्णाली नदीमा १० जना यात्रु चढेको डुंगा पल्टिएको थियो। उनीहरूमध्ये सात जनाको उद्धार गरिएको थियो भने तीन जना अझै सम्पर्कविहीन छन्।
गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी धनसराको उपचार गर्न नपाउँदै मृत्यु भएको हो। उनका एक महीने छोरा कर्ण सलामी मगरको अवस्था सामान्य रहेको प्रवक्ता विष्टले बताए।
दुर्घटनामा कैलालीको मोहन्याल गाउँपालिका-३ की २० वर्षीया उर्मिला सलामी मगर, उनका नवजात शिशु र सोही वडाकी २० वर्षीया पार्वती थापा हराइरहेको इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए। उनीहरूको खोजी भइरहेको छ।
उनीहरू कैलालीको मोहन्याल गाउँपालिका-३ बाट शिशुलाई खोप लगाउन सुर्खेतको चौकुने गाउँपालिका जाँदै थिए। शनिबार राति वर्षा भएकाले कर्णाली नदीमा पानीको बहाव बढेको थियो। जसले गर्दा नदीको बीच भागमा पुगेपछि डुंगाले सन्तुलन गुमाउँदा दुर्घटना भएकाे प्रहरी निरीक्षक पन्तले बताए।
यहाँका बासिन्दा स्वास्थ्य उपचार तथा बालबालिकालाई खोप लगाउन सुर्खेत जाने गरेका छन्। उनीहरूलाई कैलालीकै लम्की तथा टीकापुर आउनुभन्दा कर्णाली नदी तरेर सुर्खेत जान सजिलो र नजिक हुन्छ।