हामीकहाँ पीडित मानिसहरू चुप लागेकाले मात्रै सामाजिक सहिष्णुता कायम भइरहेको छ भन्ने कुरा वेलावेला सामुन्ने आउने विद्रोहका यस्ता घटनाले प्रष्ट पार्छन्। आफ्नो अधिकारका लागि जब कोही बोल्नथाल्छ, तब तीतो कुरा अगाडि आउँछ।
रेशु अर्याल
जातका आधारमा कोठा नदिएको पछिल्लो घटनामा मानिसहरूले जुन किसिमका प्रतिक्रिया दिए, त्यसमा मैले धेरै समस्या देखेँ। देशमा सबै नागरिकको अस्तित्व र अधिकार समान छ, कसैले पनि जात, धर्म, वर्ण जस्ता आधारमा कसैलाई भेदभाव गर्न पाउँदैन भन्नेबाट उठेको कुरा अनेक दिशामा मोडियो। कोटा (आरक्षण) र कोठाका कुरा जोडिए। विभेद र सांस्कृतिक प्रचलन, युवा तथा पाको पुस्ता, मेरो घर मेरो अधिकार जस्ता तर्क–कुतर्क मिसाइयो।
हाम्रो समाजमा आधारभूत रूपमा के देखिन्छ भने, जब कोही अलि सशक्त महिला देखिन्छ वा उत्पीडनमा परेका जो कोही आफूमाथि भएको अन्यायविरुद्ध उभिन्छ, त्यो वेला यथास्थितिवादी सोचका मानिसहरूलाई गाह्रो पर्दो रहेछ। कसैले घर भाडामा लिन खोज्दा जातकै कारण तर्किने, कोही कामी भएकोमा झस्किने, बूढी सासूका कारण दिन सकिएन भन्दै पन्छिने वा चाहे जतिसुकै भद्र पाराले नै किन नहोस्, दलित भएकाले नै दिन सक्दिनँ भन्नु सरासर विभेद हो।
हामीकहाँ (पीडित) मान्छेहरू चुप लागेकाले मात्रै सामाजिक सहिष्णुता कायम भइरहेको छ भन्ने कुरा वेलावेला सामुन्ने आउने विद्रोहका यस्ता घटनाले प्रष्ट पार्छन्। बुद्धलाई लिएर गर्व गर्ने हामी नेपाली शान्ति त चाहन्छौं, तर कसैलाई अवहेलना गरेर शान्ति कायम भएको छ भने त्यो शान्ति नाजायज धरातलमा उभिएको छ भनेर अब हामीले बुझ्नुपर्ने वेला आइसकेको छ।
यहाँ एक जना दलित महिला आफूमाथि भएको विभेदविरुद्ध सशक्त भएर उभिएकी छन्। उनी दलित नभएर महिला मात्र भएको भए पनि समाजले उनको सशक्त आवाजलाई सजिलैसँग ग्रहण गर्न सक्दैनथ्यो। उनी महिला, दलित र पत्रकार पनि भएकाले अझै बबन्डर मच्चियो। र, उनको मुद्दालाई नागरिकको अधिकारबाट टाढा लगेर साम्प्रदायिक कुरासँग जोडियो।
बीचमा, एक दलित पुरुषले ‘म त्यही घरमा बसेको थिएँ, उहाँहरू दलन गर्नुहुन्न’ पनि भनेछन्। यो सबै हेर्दा कस्तो लाग्छ भने, यो कुरा यति बाझिइसक्यो कि अब कहाँनिरबाट कुरा मिलाउँदा आफूलाई सजिलो र ढाकछोप हुन्छ भनेर विभिन्न किसिमका खेल शुरू भइसकेका छन्। जसले यसबारे बोल्छन्, प्रतिक्रिया राख्छन्, उनीहरूलाई नै असुरक्षा हुन थालेको छ। चर्चाका लागि गर्यो, प्रोपगन्डा हो भनेर बोल्नेको नियतमै शंका गर्न थालिएको छ।
हामीकहाँ पीडितहरू चुप लागेकाले मात्रै सामाजिक सहिष्णुता कायम भइरहेको छ भन्ने कुरा वेलावेला सामुन्ने आउने विद्रोहका यस्ता घटनाले प्रष्ट पार्छन्। आफ्नो अधिकारका लागि जब कोही बोल्नथाल्छ, तब तीतो कुरा अगाडि आउँछ। त्यसपछि ‘यसरी हाम्रो वास्तविकता नदेखाइदेऊ’ भनेर अपील गरिन्छ। तर, आफ्नो गल्ती महसूस गर्ने, त्यसलाई सच्याउने अग्रसरता देखिँदैन।
बुद्धलाई लिएर गर्व गर्ने हामी नेपाली शान्ति त चाहन्छौं, तर कसैलाई अवहेलना गरेर शान्ति कायम भएको छ भने त्यो शान्ति गलत धरातलमा उभिएको छ भनेर अब हामीले बुझ्नुपर्ने वेला आइसकेको छ।
...
विभेद गर्ने मान्छे को हुन् भनेर सोची–बुझी हेर्दा हामी सबैजना विभेद गर्ने मान्छेहरू हौं भन्ने निष्कर्षमा पुगिन्छ। हाम्रो सिङ्गो समाज विभेदै–विभेदको आडमा ठडिएको छ। घर–घरमा थरीथरीका विभेद कायम छन्।
जान–अञ्जानमा हामी सबै दोषी भएको हुनाले जातीय विभेदको सामाजिक कलंक पखाल्न हातेमालो गरेर बढ्नुपर्छ। हाम्रो धार्मिक, सांस्कृतिक, साम्प्रदायिक पहिचानलाई मान्यता दिएर हुँदैन, यसभित्रका खराब पक्षहरूलाई सच्याउँदै जाने हो। गलत भएको ठाउँमा नबोलेसम्म समाज रूपान्तरण सम्भव छैन।
म आफ्नै घरको कुरा गर्छु, म पहिलो पटक महीनावारी हुँदा कोठाभित्र थुनिएकी थिएँ। यसरी एक–अर्कालाई बन्देजमा राख्ने वा छुवाछूत गर्ने चलन बाहुन–क्षेत्री समुदायभित्रै छ। बाहुनले दलितलाई, नेवारले दलितलाई वा क्षेत्रीले दलितलाई मात्रै छुवाछूत गर्दैनन्, हरेक समुदाय आफू–आफैंसँग छुवाछूत गर्छन्। धर्म, संस्कार सबै चिजमा छुवाछूत मुछिएर आएको छ। र, हामी सबै यसमा सहभागी छौं।
जान–अञ्जानमा हामी सबै दोषी भएको हुनाले जातीय विभेदको सामाजिक कलंक पखाल्न हातेमालो गरेर बढ्नुपर्छ। हाम्रो धार्मिक, सांस्कृतिक, साम्प्रदायिक पहिचानलाई मान्यता दिएर हुँदैन, यसभित्रका खराब पक्षहरूलाई सच्याउँदै जाने हो। गलत भएको ठाउँमा नबोलेसम्म समाज रूपान्तरण सम्भव छैन।
रूपा सुनार र सरस्वती प्रधान (दायाँ)।
हाम्रा बाबु, बाजे, आमा, सासू वा कुनै वेला म आफैंले पनि छुवाछूत गरेँ होला। तर, बिस्तारै म सचेत भएँ र म बोल्न थालेँ। यो भनेको आफैंलाई रूपान्तरण गर्ने प्रक्रिया हो। शिक्षाले हामीलाई यति कुरा बुझ्ने बनाएको छ। हामी अबुझ बनिरहन सुहाउँदैन।
यहाँ कस्तो स्थिति छ भने, विभेदविरुद्ध उभिनेहरू पनि त्रासमा छन्। विभेद गर्न हुँदैन भनेर अघि बढ्दा घरपरिवारमा मनमुटाव र कलह होला, पारिवारिक सन्तुलन बिग्रिएला कि भन्ने त्रास छ उनीहरूलाई। तपाईं/हामीलाई समाजले अदृश्य लक्ष्मणरेखाभित्र राखिदिएको छ। कोठा नदिने घरधनी महिलाकै सन्दर्भमा, उनलाई यसअघि घर–समाजले ‘तिमी बहालमा मान्छे राख, तर जुनसुकै जातकालाई राख्ने अधिकार तिमीलाई छैन’ भनेको हुनसक्छ। यस्तो अदृश्य रेखा नाघ्न हामी सक्दैनौं।
समाजको विभेदकारी सोच र व्यवहार परिवर्तनका लागि विद्रोही हुने वा घरभित्र लड्ने आँट हामीमा छैन वा विद्रोह गर्नु हामीलाई बेकारको झन्झट लाग्छ। बरु, अघिल्लो पुस्तालाई निहुँ बनाएर हामी आफ्नो जिम्मेवारीबाट पन्छिन सजिलो मान्छौं। आमाले मान्नुहुन्नँ, बुवाले मान्नुहुन्नँ भनेर हामी पन्छिन्छौं, रूपान्तरणमा सहभागी हुन चाहँदैनौं। किनभने, हामीलाई यो लडाइँ हाम्रो होइन भन्ने मानसिकता छ।
ती महिलाले आफ्नी सासू वा आमालाई देखाएर दलित परिवारलाई घरभित्र छिराउन सक्दिनँ भनेकी छिन्। आफूले डेरा दिँदा उनी परिवारमा विद्रोही हुन्छिन्। त्यसरी विद्रोही हुने वा घरभित्र लड्ने आँट हामीमा छैन वा विद्रोह गर्नु हामीलाई बेकारको झन्झट लाग्छ। बरु, अघिल्लो पुस्तालाई निहुँ बनाएर हामी आफ्नो जिम्मेवारीबाट पन्छिन सजिलो मान्छौं। आमाले मान्नुहुन्नँ, बुवाले मान्नुहुन्नँ भनेर हामी पन्छिन्छौं, रूपान्तरणमा सहभागी हुन चाहँदैनौं। किनभने, हामीलाई यो लडाइँ हाम्रो होइन भन्ने मानसिकता छ।
बुवाआमाले तपाईंका कुनै कुरा नमान्दा तपाईं आफ्ना लागि लड्नुहुन्छ, तर जातीयताको कुरामा तपाईं किन लड्नुहुन्न? यसको जवाफ छ।
तपाईंका वृद्ध हजुरबा/आमा वा तपाईंका बुबाआमाले छोरी–बुहारीले मिनीस्कर्ट लगाएको राम्रो मान्नुभएको थिएन होला, तर ‘मिनीस्कर्ट लगाउँदैमा चरित्रहीन भइँदैन, यो त एउटा फेशन हो’ भनेर तपाईंले बुझाउने प्रयास गर्नुभयो होला। तपाईंका बुवा–आमाले ‘अब कलेज जानुपर्दैन, बिहे गर’ भन्दा तपाईंले ‘होइन म अझै पढ्छु’ भनेर आफ्ना लागि दह्रो खुट्टा टेक्नुभयो होला। तर, जातीय छुवाछूतको लडाइँ तपाईं लड्नुहुन्न, किनभने तपाईंलाई ‘यो मेरो पनि लडाइँ हो’ भन्ने नै लाग्दैन।
पीडित व्यक्तिलाई हामी आफूभन्दा बाहिर राखेर हेरिरहेका छौं। तर, विदेश गयौं भने हामी नै रंगभेदको विभेदमा पर्छौं। विभेद भनेको मानवताकै एउटा संघर्ष हो। तसर्थ, अर्कोलाई पर्दा हामीले उसलाई साथ दिने साहस र इच्छाशक्ति बटुल्नैपर्छ। आधुनिक प्रविधि र विज्ञानले सुसज्जित र विकसित संसारमा मान्छे-मान्छेबीचमै उँचनीचको सीमा कोर्ने र अर्कोलाई मान्छे नै नगन्ने सामाजिक प्रवृत्तिको कलंक मेटाउनैपर्छ। विभेद, छुवाछूत गलत हो भन्न सक्नुपर्छ। गलत हो भन्न आनाकानी गर्दै बाबुआमालाई दोष लगाउन भएन। अघिल्लो पुस्ताका गल्ती सच्याउने जिम्मेवारी पनि हाम्रै हो। साथै, नयाँ पुस्तालाई विभेदमुक्त र मानवतायुक्त समाज सुम्पिने दायित्व हाम्रो काँधमा छ।
सबै हिसाबले अगाडि रहेको काठमाडौं उपत्यकाभित्रकै शिक्षित, सक्षम, आर्थिक हिसाबले सम्पन्न हामी जत्तिका व्यक्तिहरू समेत जातको आधारमा विभेद गर्छौं। हामीलाई धेरैमा कुरामा विशेषाधिकार र अवसर छ, जसबाट हामी समाजका अरू मानिसभन्दा धेरै अगाडि छौं। तर, यसरी अधिकार र अवसर पाउँदै आउँदा हामीले समाजका विषयवस्तु र समस्यालाई बुझ्ने र मनन गर्ने क्षमता र मर्म नै गुमाइसकेझैं लाग्छ। ‘प्रिभिलेज्ड’ हुनुले मान्छेलाई अरूको दुःख बुझ्नबाट अलिकति अक्षम बनाइदिन्छ।
ऐतिहासिक रूपमै हामी दलन गर्ने मान्छे भए पनि ‘हामी पीडक हौं, सुध्रिनुपर्ने हामीले हो’ भन्ने सोच आत्मसात् गर्न सकेका छैनौं। यसको सट्टा हामी सामाजिक सन्तुलनको वातावरण कायम राख्ने नाममा विभेदको संरक्षण गर्छौं, पीडितहरूको मुख थुन्न खोज्छौं। ‘मेरी आमा कहिल्यै गलत हुँदिनन्’ भनेर हामी विभेदकारी सोचलाई ढाकछोप र मलजल गर्छौं।
दलित समुदायले जुन स्तरको विभेद र अमानवीय व्यवहार भोग्दै आएको छ, त्यो हामीले भोग्नुपरेको छैन। र, कसैले ‘मलाई असाध्यै पीडा भइरहेको छ’ भन्यो भने त्यसले हामीलाई छुँदैन। त्यो समस्या, पीडा र आर्तनादमा सत्यता छ कि भनेर खोज्न वा बुझ्न हामीमा रुचि, धैर्य र चासो नै हुँदैन। ‘मैले जातको कारण कोठा पाइनँ’ भनेर रूपा सुनार बहिनीले एउटा उदाहरण दिनुभएको हो। यसलाई बढावा दिँदा आन्दोलन गरियो। तर, कोही दलित समुदायको मानिस विभेदविरुद्ध उभियो, समानताको कुरा गर्न अगाडि आयो भने उसको ज्यानसम्म लिँदा रहेछन्। गत वर्ष रुकुमको घटना देखिएकै हो।
ऐतिहासिक रूपमै हामी दलन गर्ने मान्छे भए पनि ‘हामी पीडक हौं, सुध्रिनुपर्ने हामीले हो’ भन्ने सोच आत्मसात् गर्न सकेका छैनौं। यसको सट्टा हामी सामाजिक सन्तुलनको वातावरण कायम राख्ने नाममा विभेदको संरक्षण गर्छौं, पीडितहरूको मुख थुन्न खोज्छौं। ‘मेरी आमा कहिल्यै गलत हुँदिनन्’ भनेर हामी विभेदकारी सोचलाई ढाकछोप र मलजल गर्छौं। तर, घरभित्र के हुन्छ, त्यो त सामाजिक व्यवहारमा प्रकट हुँदै आएकै छ।
यो घटनामा पीडित दलित युवती सशक्त देखिएकी छन्, यही कुरालाई हाम्रो समाजले चुनौतीका रूपमा लिइरहेको छ। उनी ‘मलाई कानूनले रक्षा गर्छ’ भनिरहेकी छिन्। उनले त्यसो भन्न किन नपाउने? मलाई घरभित्र श्रीमान्ले पिटे भने म जाने कहाँ? कानूनी उपचारमै हो। अड्डा–अदालत पुर्यायो, शान्ति खलबल्यायो भनेर आरोप लगाइरहेका छन्। एउटा सानो सम्पत्तिको निहुँमा मान्छेहरू वर्षौं अदालत धाएर बस्छन्, तर विभेद जस्तो अपराध खेप्दा पनि कोही चाहिँ सहेरै बसिदिनुपर्ने? कोठा पाउँदैनौ भनेपछि लुसुक्क गएर पीडाको आँसु पुछ्दै चुपचाप बस्नुपर्ने?
पछिल्लो समय विश्वमै उग्र दक्षिणपन्थी (फार राइट) राजनीतिक धार मौलाइरहेको छ। भारतमा उग्र हिन्दुवादी अभियानले मुसलमानलाई बसिटिक्न दिइरहेको छैन। नेपालमा पनि उग्र राष्ट्रवादी सोच अत्यधिक छ र यसलाई सामाजिक सञ्जालले प्रश्रय दिन ठूलो भूमिका खेलिरहेको छ। दलितको मुद्दामा नेपाली समाज एकदम नराम्ररी चुकिरहेको छ। यस विषयमा बोल्ने बित्तिकै उग्र राष्ट्रवादमा गर्व गर्नेहरू प्रतिरक्षामा उत्रिहाल्छन्।
सामाजिक सञ्जालले उग्रवादी सोच राख्ने एउटा जमातलाई अझ उग्र बनाइदिएको छ। हामीकहाँ त्यस्तो सोच राख्नेहरू कोही टाढाका व्यक्ति नभई दाइ, फुपू, भाउजूहरू हुनुहुन्छ। विभेदको सोच हामीभित्र अन्तर्निहित छ, हाम्रो पारिवारिक प्रणालीमा बसेको छ। परिवारभित्रको शान्ति खलबलिन्छ भन्ने भयले हामी यसविरुद्ध उभिने र डट्ने साहस जुटाउन सकिरहेका छैनौं।
अमेरिकामा डोनल्ड ट्रम्पलाई समर्थन गर्नेहरू उग्र राष्ट्रवादी र रंगभेदी छन्। उनीहरूका अनुसार, अमेरिका भनेको सेतो छाला भएका मान्छेहरूको देश हो। ‘आप्रवासीहरूलाई हामीले आउन दियौं, किनभने अमेरिका अवसरको ठाउँ हो, तर तिमीहरूले हाम्रो अवसर छिन्यौ, अब हामी तिमीलाई ठेगान लगाउने किसिमको राजनीति गर्छौं’ भन्ने मानसिकता उनीहरूमा विकास भएको छ। र, उनीहरूले त्यसो गरेको हामीले देखेका पनि छौं। अहिले हरेक समाजमा यस्तो भइरहेको छ, नेपालमा पनि भएको छ।
सामाजिक सञ्जालले उग्रवादी सोच राख्ने एउटा जमातलाई अझ उग्र बनाइदिएको छ। हामीकहाँ त्यस्तो सोच राख्नेहरू कोही टाढाका व्यक्ति नभई दाइ, फुपू, भाउजूहरू हुनुहुन्छ। विभेदको सोच हामीभित्र अन्तर्निहित छ, हाम्रो पारिवारिक प्रणालीमा बसेको छ। परिवारभित्रको शान्ति खलबलिन्छ भन्ने भयले हामी यसविरुद्ध उभिने र डट्ने साहस जुटाउन सकिरहेका छैनौं। न्याय, समानताको पक्षमा र विभेद अन्त्यका लागि घरपरिवारसँग तर्क गर्दै बुझाउँदै सभ्य समाज निर्माण गर्न हामीले आँट गर्नैपर्छ।
हामीमा त्यो साहस भरिदिने काम अहिले जो देशमा शासन गरेर बसिरहेका छन्, तिनका प्रतिनिधिहरूको हो। उनीहरूले ‘कुनै पनि किसिमको भेदभाव हामीलाई मान्य छैन’ भनेर आवाज उठाउनुपर्थ्यो। यसविरुद्ध संघर्ष गर्ने, साहस देखाउनेको आड बनिदिनुपर्थ्यो। तर, हाम्रा मन्त्री र नेताहरू पीडितको पक्षमा उभिंदैनन्। रूपा सुनारको प्रकरणमा त कस्तो विडम्बना देखियो भने, जातका आधारमा कोठा नदिएपछि पक्राउ परेकी घरधनीलाई लिन शिक्षामन्त्री आफैं गाडी लिएर गए। मन्त्रीले नै जातीय विभेदलाई संरक्षण गरे।
न्यायिक समाज स्थापना गर्न संविधान र कानूनले दिएको अधिकार रक्षाका लागि पदबहाल भएका हाम्रा नेता, मन्त्री निश्चित समुदाय वा अमुक व्यक्तिको रक्षामा लागेका छन्। शिक्षामन्त्रीले जे गरे, त्यो नैतिक हिसाबले गलत थियो, म त्यसलाई ‘अब्स्ट्रक्सन अफ जस्टिस’ (न्यायमा अवरोध) को तहमा राख्छु।
...
अहिले दलितलाई आरक्षण दिइएकोमा एकदम बबन्डर भइरहेको छ। आरक्षणलाई टुक्र्याएर हेर्दा हाम्रो राज्य व्यवस्थामा दलितको उपस्थिति अझै न्यून देखिन्छ। सचिवहरूमा जम्मा एक जना दलित हुनुहुँदो रहेछ (मानबहादुर विश्वकर्मा), उहाँले पनि अवकाश पाइसक्नुभयो। महिला, अपांगता, जनजातिका लागि पनि आरक्षण छुट्याइएको छ। तर, कोटा–कोटा भनेर दलितलाई यसरी आक्रमण गरिएको छ, मानौं उनीहरूलाई राज्यको सम्पूर्ण सुविधा निचोरेर दिएको यो ठूलै विशेषाधिकार हो। कोटालाई हाउगुजी जस्तो बनाइएको छ।
जातीय विभेद निमिट्यान्न पार्न हाम्रो सोच परिवर्तन त जरुरी छ नै, हेक्का राख्नुपर्ने विषय कानूनी पाटो पनि हो। कानूनले छुवाछूतलाई दण्डनीय अपराध मानेको छ। यदि कसैले मलाई ‘तिमीले गैरन्यायिक कुरा गरिरहेका छौ’ भन्छ भने म डराउनुपर्छ, हच्किनुपर्छ र सुध्रिनुपर्छ।
सबै जात, वर्ग, समुदायबीच समता, समानता भएन भने हामी सधैं पिछडिरहन्छौं। आर्थिक प्रतिस्पर्धामा जहिले पनि एउटै जात, एउटै वर्ग, एउटै थरीको मान्छेले अवसर पाइरहने हुन्छ। समताको फेरो समातेर हामी अगाडि बढ्न सकेनौं वा अहिलेका खाडलहरू भर्न चुक्यौं भने हामीप्रति हाम्रै मान्छेको विश्वास रहँदैन।
ढाका टोपी ढल्काएर हिँड्ने मेरा बाजेलाई नेपाली हुनुमा जति गर्व लाग्छ, एउटा दलित पुरुषलाई नलाग्ने हुन्छ। समाज विभाजित भइरह्यो भने ‘ए म नेपाली हुँ, देशका लागि केही गर्छु, यहाँ मलाई सुरक्षा छ’ भनेर लागिपर्न मान्छेलाई प्रोत्साहन हुँदैन। त्यस्तो समाजमा कुनै पनि किसिमका अवसर सिर्जना हुँदैनन्, रोजगारीका लागि मान्छे विदेशिनुपर्ने हुन्छ। आर्थिक विभाजन बढिरहन्छ, समृद्धि ल्याउने कुरामा मानिसहरूको सहभागिता हुँदैन, आउने पुस्ताले समेत शिक्षा राम्रो पाउँदैनन्, देशका साधनस्रोत सीमित मानिसको हातमा रहन्छ।
यो स्थितिको समाधान घर–घरबाटै शुरू गर्नुपर्छ। मानिसहरू सचेत हुन जरुरी छ। सबै किसिमको विभेद उत्तिकै गम्भीर अपराध हो भन्ने बुझ्नुपर्यो। मिडियाले यस विषयमा बहस चलाइरहनुपर्छ। तर, लेख लेखेर मात्रै पनि हुँदैन, मुद्दा–मामिला गर्नैपर्छ। आफ्नो अधिकार प्राप्त भएको छैन, अन्याय भएको छ भने आवाज उठाउनैपर्छ, कानूनी उपचारमा बढ्नैपर्छ।
हाम्रो धर्म, संस्कार, संस्कृतिको परिभाषा फेर्न ढिला भइसक्यो। पुरानो धर्म विभेदकारी छ भनेर हामीले बुझिसकेका छौं। म स्वयं हिन्दू हुँ, यसभित्र थुप्रै राम्रा कुरा छन् भन्ने थाहा छ। तर, हिन्दू धर्मभित्रको जातव्यवस्था गलत छ भनेर अब त हामीले भन्न सक्नुपर्यो। धर्ममा भएका गलत कुरा सच्याउनुपर्छ।
जातीय विभेद निमिट्यान्न पार्न हाम्रो सोच परिवर्तन त जरुरी छ नै, हेक्का राख्नुपर्ने विषय कानूनी पाटो पनि हो। कानूनले छुवाछूतलाई दण्डनीय अपराध मानेको छ। यदि कसैले मलाई ‘तिमीले गैरन्यायिक कुरा गरिरहेका छौ’ भन्छ भने म डराउनुपर्छ, हच्किनुपर्छ र सुध्रिनुपर्छ। डराइनँ भने म उच्छृङ्खल र निरंकुश समाजमा छु भन्ने स्पष्ट हुन्छ।
हामीलाई विभेदरहित भएर बाँच्ने वातावरण दिने, सुरक्षा दिने भनेकै संविधान, कानून वा विधिको शासनले हो। यसका लागि हामीलाई नैतिक चरित्र राम्रो भएको नेतृत्व चाहिएको छ। तर विडम्बना के छ भने, जो आफैं सधैं विधिको शासन पालना गर्नबाट चुकिरहेका छन्, जो आफैं संविधान लत्याइरहेका छन्, तिनले हाम्रो नेतृत्व गर्दै आएका छन्।
टीच फर नेपाल स्थापना गर्दा हामीले के देखेका थियौं भने, सरकारले बनाएका सार्वजनिक विद्यालयहरूमा समुदायको सोच प्रतिविम्बित भएको हुन्छ। विद्यालयमा बच्चाहरूलाई लिङ्गका आधारमा छुट्याएर राखिएको हुन्छ, एकातिर केटा–केटा, अर्कोतिर केटी–केटी गरेर। त्यहाँभित्र नै दलित र गैरदलितबीचको संवादलाई बढावा दिने र हकअधिकारको कुरा गर्ने वातावरण हुँदैन। शिक्षकहरूले स्वयं विभेदपूर्ण अभ्यास गरिरहेका हुन्छन्, विद्यालयमा नगरे पनि घरमा गर्छन्।
हामीलाई विभेदरहित भएर बाँच्ने वातावरण दिने, सुरक्षा दिने भनेकै संविधान, कानून वा विधिको शासनले हो। यसका लागि हामीलाई नैतिक चरित्र राम्रो भएको नेतृत्व चाहिएको छ। तर विडम्बना के छ भने, जो आफैं सधैं विधिको शासन पालना गर्नबाट चुकिरहेका छन्, जो आफैं संविधान लत्याइरहेका छन्, तिनले हाम्रो नेतृत्व गर्दै आएका छन्। नेतृत्व त नैतिकवान् र उदाहरणीय हुनुपर्छ। उसले ‘म विभेद मान्दिनँ’ भनेर उठ्नुपर्छ। यस्ता नेतृत्व सरकारका हरेक अंगमा पुग्नुपर्छ। जसले समाजमा धेरैलाई सन्देश पनि दिन्छ।
विभेद अन्त्यका लागि स्थानीय सरकारले भूमिका महत्त्वपूर्ण हुन्छ। अहिले स्थानीय सरकारको संरचनामा महिला, दलित, मधेसीहरू नेतृत्व तहमा आइपुगेका छन्। उनीहरूलाई हामीले अझै सशक्त बनाउन जरुरी छ। माथिल्लो दर्जाको नेतृत्वले उनीहरूलाई सशक्त बनाउनुपर्छ। र, उनीहरूले आफ्नो समुदायमा भइरहेका विभेदविरुद्ध लड्नुपर्छ। आफ्नो ठाउँमा न्याय दिने, सुशासन चलाउने जिम्मेवारी उनीहरूको हो।
हुन त उनीहरूले नै कुनै वेला विभेद सहनुपरेको थियो होला। तर, स्थानीय सरकारको प्रतिनिधि भएपछि अब उहाँहरूको भूमिका सशक्तिकरण गराउने हुनुपर्छ। आफ्नो समुदायमा भइरहेको विभेदलाई उहाँहरूले ‘म त वडाको दलित महिला सदस्य हुँ, यसको विरुद्धमा म बोल्छु’ भनेर जिम्मेवारीबोध गर्नुपर्यो।
साथै, समाजका सचेत र अग्रगामी सोच राख्नेहरूले चाहिँ अरूलाई दानवीकरण गरेर बस्नु भएन। विभेदकारी कुराविरुद्ध लड्न नेपालको कानूनले हामीलाई के के औजार दिएको छ, त्यस अनुसार चल्नुपर्छ। यस विषयमा काम गर्ने संघसंस्थालाई हामीले बलियो बनाउनुपर्छ।
(टीच फर नेपालको लिडरशिप काउन्सिलमा समेत आबद्ध अर्यालसँगको कुराकानीमा आधारित)