यी हुन् हाम्रा डम्बरबहादुर (लुइ ब्याङ्क्स), जसलाई ‘गडफादर अफ इन्डियन जाँज’ भनिन्छ !
फिल्म, जाँज, विज्ञापन, थिएटर सबैले उनलाई यथेष्ट काम, दाम र सम्मान दिइरहेकै बेला लुइलाई एउटा राष्ट्रिय अभियानको संगीत रचनाको अवसर आउँछ, जसले उनको प्रसिद्धिले शिखर चुम्छ। तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको अनेकतामा एकताको राष्ट्रिय सन्देशको परिकल्पना ‘लाइट अफ फ्रीडम’ र ‘मिले सुर मेरा तुम्हारा’ ले लुइलाई राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित गर्दछ। यतिबेलासम्म उनले ‘गडफादर अफ इन्डियन जाँज’ का रूपमा ख्याति बनाइसकेका हुन्छन्।
सन् ६० को दशकमा दार्जीलिङ र काठमाडौंमा बेग्लै खाले संगीतले उधुम मचाएको थियो। ठाउँ अलग भए पनि यी दुई ठाउँको सांगीतिक दुनियाँमा हलचल ल्याउने एउटै परिवारभित्रका थिए, त्यसमाथि पनि बाबु–छोरा।
बाबु–छोराको त्यो जुगलबन्दीले बेलायती उपनिवेशको एउटा केन्द्र दार्जीलिङमा हलचल ल्याउनु नौलो थिएन, तर परम्पराबाट बिस्तारै आधुनिकतातिर बामे सर्दै गरेको काठमाडौंमा यी बाबु–छोरा जोडीले जाँज भनिने पश्चिमेली संगीतको यस्तो जबर्जस्त झट्का दिए, विश्वको जाँज मानचित्रमा काठमाडौं पनि आफ्नो छुट्टै स्थान बनाउन सफल भयो।
संगीत आयातीत भए पनि ती बाबु–छोरा खाँटी नेपाली थिए, त्यसमाथि पनि पुस्तौंदेखि संगीत पेशा अँगाल्दै आएका। बाबु पुष्कलबहादुर बुढापिर्थी पाँचौं पुस्ताका संगीतज्ञ थिए। उनका पिता बखतबहादुर बुढापिर्थीलाई तत्कालीन श्री ३ महाराज वीरशमशेरबाट राष्ट्रधुन रचनाको निगाह भएको थियो।
बुढापिर्थीको धुनमा चक्रपाणि चालिसेले ‘श्रीमान् गम्भीर नेपाली’ को शब्द भरेपछि त्यो रचना राजतन्त्रको अन्त्यसम्म नेपालको राष्ट्रगान रह्यो। तर, बखतबहादुरका छोरा थरले मात्र नभएर रुचि र कर्मले पनि आफ्ना पूर्वजभन्दा अलग हुन गए। उनको रुचि पारम्परिक र लोक संगीतभन्दा पनि पश्चिमा र त्यसमा पनि खासगरी जाँज संगीततिर हुन थाल्यो।
त्यही नौलो धुनले पुष्कललाई कलकत्तातिर डोहोर्यायो, जहाँ उनले जाँज संगीतका महारथी टेडी वेदरफोर्डको अल स्टार सुइङ्ग ब्यान्डमा ट्रम्पेट र पियानो बजाउन शुरू गरे। टेडी नेतृत्वको बिल म्याकडेरमोट, प्याट ब्लेक, जर्ज लियोनार्डी, रुबेन सोलोमन, ट्रेभोर म्याकक्याब र टोनी गोन्साल्भेसको कलकत्ता ग्रान्ड होटलको त्यस ब्यान्डमा पुष्कलबहादुर बुढापिर्थी नाम अजब मात्र होइन, अमिल्दो सुनिन्थ्यो, ‘कागको बथानमा बकुल्ला’ झैं।
लुइ ब्याङ्ससँग शेखर खरेल
एक दिन ब्यान्डका सँगातीहरूले पश्चिमा संगीतमा डुबुल्की मारिसकेका पुष्कललाई पश्चिमा नाम नै धारण गर्न सुझाए। यसरी पुष्कलबहादुर जर्जी ब्याङ्क्समा कायाकल्प भए।
बाबु नै ब्याङ्क्स भएपछि छोरा कसरी बुढापिर्थी रहन सक्थे। जर्जीले आफ्ना नाबालिग सन्तान डम्बरबहादुरलाई पनि अंग्रेजी नाम नै न्वारन गरिदिए। आफ्ना आदर्श, जाँज संगीतका नक्षत्र लुइ आर्मस्ट्रङप्रति सम्मान दर्शाउँदै डम्बरबहादुरलाई लुइ बनाइदिए।
माथिका विवरणको स्रोत भर्खरै प्रकाशित पुस्तक ‘लुइ ब्याङ्क्स, अ सिम्फोनी अफ लभ’ हो। कलकत्तामा अंग्रेजी प्राध्यापन गर्ने, घुम्न र लेख्न शौख राख्ने अनि संगीतप्रति असीम अनुराग भएका अशिष घटकले जाँज संगीत मात्र नभएर नेपालीलाई गुन लगाएका छन्, लुइ ब्याङ्क्सको जीवनी मार्फत। दार्जीलिङ, काठमाडौं, कलकत्ता र बम्बईको भावभूमिमा रचिएको यस पुस्तक नेपाली माटोका अमर संगीतज्ञ लुइ ब्याङ्क्सको ‘ओडिसी’ अर्थात् महायात्रा हो।
कलकत्तामा जन्मिएका लुइ बाबु जर्जीले दार्जीलिङलाई स्थायी घर बनाएसँगै दार्जीलिङमै शिक्षादीक्षा लिन पुग्छन्। उनको संगीतप्रतिको अनौपचारिक शिक्षा घरबाटै शुरू हुन्छ। किशोरवयमै गिटार र किबोर्ड स्वतन्त्र बजाउन सक्ने भएपछि उनी बाबुको ब्यान्डका एक सदस्यका रूपमा बाबु जर्जीलाई व्यावसायिक तबरमै सघाउँछन्। दार्जीलिङ जिमखानाको ‘लाइभ शो’ मा जर्जीको हैंसेलाई लुइकै दामली रञ्जित गजमेर, पिटर जे कार्थक आदिले ब्यान्डका सदस्यका रूपमा होस्टे गर्छन्। दुई अलग पुस्ता सम्मिलित त्यो ब्यान्डले दार्जीलिङलाई छिटै तरङ्गित गर्छ।
कलकत्ता, बम्बई र गोवा जस्तै दार्जीलिङ पनि जाँज मौलाएको बेलायती कोलोनी थियो। बेलायती सैनिक र तिनका मित्र दस्ताले आफूसँगै संगीत पनि ल्याएका थिए। गोर्खा, लेप्चा र चिनियाँ युवापिढी जाँजको जादूमा लट्ठिएका थिए। जाँजको अर्थ स्वतन्त्रता थियो। साक्सोफोन र ट्रम्पेटको धुन र ड्रम सेटको तालले युवालाई नराम्ररी वशमा लिएको थियो। (पृष्ठ १५)
दार्जीलिङमा लाइभ शो गर्दै गरेका जर्जी नयाँ अवसरले निम्त्याएपछि काठमाडौं झर्छन्। उता, तीन महीने हिउँदे बिदालाई किन उपयोग नगर्ने भन्दै छोरा लुइ पनि बाबुसँग जाम–अप गर्न काठमाडौं झर्छन्। अब यस उप्रान्तका कथामा जर्जी भेटिँदैनन् पुस्तकमा। किनकि, पुस्तकका नायक लुइ हुन् र उनका घुम्ती (टर्निङ प्वाइन्ट) र कोशेढुङ्गा (माइलस्टोन) लिपिबद्ध गर्दै पुस्तक अघि बढ्छ।
आरडी बर्मन (पञ्चम दा) को संगीतकार समूह। रातो घेरामा क्रमशः बायाँतर्फ उभिएका लुइ ब्याङ्स र आरडी बर्मन। तल बसेका रञ्जित गजमेर।
२३ नोभेम्बर, २०१० का दिन मैले लुइलाई बम्बई, सान्ताक्रुज निवासमा भेट्दा उनले मलाई आफ्ना तिनै टर्निङ प्वाइन्ट सुनाएका थिए, दार्जीलिङबाट काठमाडौं हुँदै उनको यात्रा कसरी बम्बईसम्म पुग्यो भनेर। खासमा उनको पहिलो ‘टर्निङ प्वाइन्ट’ काठमाडौं नै थियो, जुन बेला उनी पार्क होटल छाडेर सोल्टीमा जाँज शो गर्न थालेका थिए।
एउटा पियानो सोलोमा लुइले आह्लादकारी प्रस्तुति दिन्छन्। दर्शक तथा श्रोताबाट वाहवाही पाइरहेको बेला लोरी परेरा नामकी कलकत्ताकी एक आगन्तुक क्याब्रे गायिका लुइको कानमा फुसफुसाउँछिन्, “लुइ, तिमी निपुण छौ। तर पनि, कलकत्तामा तिमीभन्दा पनि राम्रा १० पियानोवादक छन्। त्यहाँ आऊ र आफैंलाई सुन।”
परेराको प्रतिक्रियाले लुइलाई नराम्ररी झस्काउँछ र त्यसैबेला कलकत्ताको होटल हिन्दुस्तान इन्टरनेशनलका मालिक मिस्टर जैसवालको निम्तोले उनलाई कलकत्तासम्म डोहोर्याउँछ, जहाँ उनले जाँजका एक–से–एक संगीतज्ञसँग सहकार्यको अवसर पाउँछन्। ती सम्मिलित समूहको ‘फ्रन्टम्यान’ बन्दै लुइ ब्याङ्क्स ‘ब्रदरहूड’ स्थापना गर्छन्। ब्यान्डले छिटै कलकत्ताको जाँज परिदृश्यमा उधुम मच्चाउँछ।
सान्ताक्रुजको निवासमा उनले सुनाएको जीवनकै सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’, जसलाई यस पुस्तकमा जीवनीकार घटकले मिहिन रूपमा व्याख्या गरेका छन्, यदि उल्लेख नगर्ने हो भने लुइको सांगीतिक उडान बुझ्न सकिँदैन।
एक दिन पार्क स्ट्रिटको ब्लु फक्स होटलको सेशन ब्रेकमा वेटरले कोही उनलाई भेट्न खोजिरहेको बताउँछन्। होटलको कुनातिर एउटा चश्मावाल मानिस चुरोट फुसफुसाइरहेका हुन्छन्। ती चश्मावाल आफ्नो परिचय दिन्छन्, “मैले धेरै अघिदेखि तिमीलाई सुनिरहेको थिएँ। तिमीले निकै राम्रो बजायौ। मेरो नाम आरडी बर्मन हो र म हिन्दी फिल्ममा संगीत निर्देशन गर्छु।’ (पृष्ठ ६१)
यस्तो परिचयले सामान्यतया सुन्नेको होस हवास उडाउनुपर्ने हो। तर, हिन्दी सिनेमामा खासै रुचि नभएका लुइलाई आरडी असलमा को हुन्, अत्तोपत्तो हुँदैन। आफूले संगीत निर्देशन गर्दै गरेको एक चलचित्रमा नायक पियानोवादकको भूमिकामा रहेको र त्यस चलचित्रको गीतका लागि पियानोको पिस आवश्यक रहेकाले आरडी लुइलाई बम्बई आएर आफ्नै टोलीमा रहेर काम गर्न प्रस्ताव गर्छन्।
आरडीको प्रस्ताव टार्न नसकिने भएपछि लुइ एकपल्ट बम्बई पुग्ने र त्यो कम्पोजिसन पूरा गरेर कलकत्ता फर्कन तयार हुन्छन्। यसरी लुइ शशी कपुर अभिनीत चलचित्र ‘मुक्ति’ को मुकेशको आवाजको ‘सुहानी चाँदनी राते’ मा पियानो बजाउन पुग्छन्।
कलकत्तामा लुइको जीवन राम्ररी चलिरहेको हुन्छ। तर, समयक्रममा ब्यान्डका केही साथी तितरबितर भएपछि र शहरमा लोडसेडिङ शुरू हुन थालेपछि ‘मेरो घरको ढोका तिमीलाई सधैं खुला छ’ भन्ने आरडीको प्रस्तावले उनी बम्बई पुग्ने निर्णयमा पुग्छन्। यो नै लुइको जीवनको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ हुन्छ।
बम्बई संघर्षको पर्याय हो। तर, लुइको हकमा यो लागू हुँदैन। उनको प्रगति बहुआयामिक हुन्छ। आरडी बर्मनको (पञ्चम दा) समूहमा रहेर पियानो बजाउनुका अतिरिक्त उनी नियमित जाँज शो गर्छन्।
त्योभन्दा पर उनी त्यसअघि कहिल्यै नसोचेको क्षेत्रमा हात हाल्न पुग्छन्। सिनेमाघरको एकाधिकार तोडिएर टेलिभिजनको युग प्रारम्भ हुँदै गरेको सन् ८० को दशकमा विज्ञापनका लागि अपार सम्भावनको ढोका खुल्छ। आलिक पदमसी, प्रह्लाद कक्कर जस्ता विज्ञापनका हस्तीसँगको सहकार्यले उनलाई सिनेमा भन्दा पनि व्यस्त राख्छ। विज्ञापनको व्यवसाय यतिसम्म जम्छ कि, उनले दिनमै पाँचवटासम्म जिङ्गल बनाउनुपर्ने हुन्छ।
कलकत्ताबाट पत्नी र तीन लालाबालासहित खल्तीमा मात्र ३०० रुपैयाँ बोकेर बम्बई हान्निएका उनको एक दिनको कमाइले कलकत्ताको महिनाभरलाई उछिन्छ। प्रतिभाशाली त उनी थिए नै, शायद सौम्य स्वभावका कारण उनी सबैबाट रुचाइन्छन्। पञ्चम दासँग होस् वा अन्य संगीत निर्देशक, विज्ञापन निर्माता हुन् वा जाँज महोत्सव आयोजक सबैका मनप्रीत हुन्छन् लुइ।
सन् २०१५ मा मुम्बईमा आयोजित एक कार्यक्रममा पियानो बजाउँदै लुइ ब्याङ्स । तस्वीरः सुभाष घई
फिल्म, जाँज, विज्ञापन, थिएटर सबैले उनलाई यथेष्ट काम, दाम र सम्मान दिइरहेकै बेला लुइलाई एउटा राष्ट्रिय अभियानको संगीत रचनाको अवसर आउँछ, जसले उनको प्रसिद्धिले शिखर चुम्छ। तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको अनेकतामा एकताको राष्ट्रिय सन्देशको परिकल्पना ‘लाइट अफ फ्रीडम’ र ‘मिले सुर मेरा तुम्हारा’ ले लुइलाई राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित गर्दछ। यतिबेलासम्म उनले ‘गडफादर अफ इन्डियन जाँज’ का रूपमा ख्याति बनाइसकेका हुन्छन्। त्यसैगरी, शास्त्रीय संगीतका महारथी जाकिर हुसैन, श्रीधर पार्थसारथि, शंकर महादेवन र संगीतज्ञ शिवमणि, कार्ल पिटर्स आदि सँगको ‘फ्युजन’ ले उनलाई अन्तराष्ट्रिय प्रसिद्धि दिलाउँछ।
पियानोका श्यामश्वेत वबार फिट्ने लुइका औलाहरू अझै थाकेका छैनन्, बरु ती औंलालाई साथ दिन नयाँ पुस्ता तयार भइसकेको छ। आज लुइलाई छोरा डिनो (ड्रम्स) र छोराका साथी सेल्डन (बेस गिटार)ले सघाइरहेका छन्। डिनोसहित ब्याङ्क्सको सांगीतिक ‘डिएनए’ छैटाै पुस्तामा गइसकेको छ। तर, लुइको सिर्जना र युवाजोशमा कुनै कमी छैन। देख्नेहरू उनी चार बीस हिउँद कटेको शायदै पत्याउलान्।
लुइलाई दशकअघि सान्ताक्रुजमा भेट्दा उनी ६० को हाराहारीमा हुनुपर्ने अनुमान गरेको थिएँ। पिटर जे कार्थकको संस्मरणात्मक पुस्तक ‘नेपाली म्युजिक मेकर्सः विट्वीन द डेल्स अफ दार्जीलिङ एन्ड द भेल्स अफ काठमान्डू’ र यसै पुस्तकमा रञ्जित गजमेरले ‘लुइ दाजु’ को सम्बोधन पढ्दा लुइ स्वयंले भनेझैं ‘एज’ (एजीई) केवल तीन अक्षर मात्र रहेको मान्न करै लाग्छ।
लुइ ब्याङ्स र उनका छोरा जिनो । तस्वीरः डीएनएइन्डिया
लुइको उमेरबारे सबैभन्दा सटीक टिप्पणी त उनैका मित्र एवं भारतीय विज्ञापन दुनियाँका दिग्गज व्यक्तित्व आलिक पदमसीको छ; लुइको विकासक्रम निरन्तर छ। उनी एकै ठाउँमा रहन मन पराउँदैनन्, जसले उनलाई सदैव युवा नै राखिराख्छ। यदि दश वर्षको बालक उनीसँग कुरा गर्न आए लुइ दश वर्षकै बनेर ती बालकसँग कुरा गर्न सक्छन्। (पृष्ठ १३७)
‘लुइ ब्याङ्क्स, अ सिम्फोनी अफ लभ’ मा लेखकको मिहिनेत तारिफयोग्य छ। मुख्य पात्र लुइ र उनको जीवनसँग जोडिएका पात्र, घटना, रचनालाई जोडेर जीवनीकार घटकले यस्तो महागाथा तयार गरेका छन्, जसको कुनै निष्कर्ष वा अन्त्य छैन। पुस्तकलाई आधिकारिक र तथ्यपूर्ण बनाउन घटकले अनेकौं व्यक्तिसँग अन्तर्वार्ता गरेका छन्। रमाइला प्रसंग र घटनाक्रमले पुस्तक सुरुचिपूर्ण बनेको छ। उस्ताद जाकिर हुसेनको प्राक्कथनले पुस्तकको ओज झनै बढाइदिएको छ।
पुस्तकः ‘लुइ ब्याङ्क्स, अ सिम्फोनी अफ लभ’ विधाः जीवनी लेखकः अशिष घटक प्रकाशकः रूपा पब्लिकेसन पृष्ठः २४२ मूल्यः भारू. ५९५