सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा पनि आज बिहानबाट एक साता निषेधाज्ञा लागू गरिएको छ।
कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेकाले निषेधाज्ञा लागू गर्नुपरेको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षतामा मंगलबार बसेको बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो।
त्यस्तै, कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि कञ्चनपुरमा पनि एक साता निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको थियो।
दुवै जिल्लामा निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द भएका छन्। खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अन्य सबै पसल बन्द रहेका छन्। खाद्य सामग्री पसल बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न पाइनेछ।
निषेधाज्ञाको अवधिमा पनि तीन घण्टा बैंकिङ सेवा सञ्चालन हुने भएको छ। नेपाल बैंकर्स संघ सुदूरपश्चिम एकाइले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष बिरुराम जैशीले बताए।
सेती प्रादेशिक अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। बिहीबारदेखि आकस्मिक सेवा मात्रै सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।
कैलालीमा लकडाउन घोषणा भएको र स्वास्थ्य मन्त्रालयले पनि आकस्मिकबाहेकका ओपिडी र इलेक्टिभ सर्जरी हाललाई बन्द गर्न परिपत्र गरेकोले सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।