रिन्जिन दोर्जे : राजा होइनन्, मिझार हुन्

तेमाल एउटा छुट्टै राज्य भएको र त्यसमा तामाङ राजाले शासन गरेको बताइन्छ। पछिल्ला शासकले तेमाल राज्य र राजा रिन्जिन दोर्जेको इतिहास लुकाएको आरोप पनि लगाइन्छ। वास्तवमा यो गलत व्याख्या हो। रिन्जिन राजा नभई कर उठाउने अधिकारी थिए।
वसन्त महर्जनगत वर्ष सोनाम ल्होसार (१७ मंसीर) को दिन तामाङ समुदायको पुरानो बसोबास क्षेत्र तेमालको अध्ययन गर्न निस्केको थिएँ। मुख्य बस्ती पुग्नुअघि कोटतिमाल भन्ने ठाउँ पुगियो। त्यहाँ बाटो छेउमा राखिएका दुई व्यक्तिको शालिक देखाएर हाम्रो यात्राको बन्दोबस्त गर्ने स्थानीय महिलाले भनिन्, ‘‘यी शालिक हामी तामाङहरूका राजा र रानीका हुन्।’’
तामाङ राजा भनिएका व्यक्ति रिन्जेन दोर्जे भएको बुझ्न गाह्रो भएन। यी व्यक्तिलाई कतिपय संघसंस्था तथा तामाङ लेखकहरूले राजाका रूपमा प्रस्तुत गरेका छन्। तर, यही समुदायका केही व्यक्ति रिन्जिन दोर्जेलाई राजा मान्न तयार छैनन्, अर्थात् मतमतान्तर छ। त्यसैले १५ जेठ २०७६ मा निर्माण सम्पन्न पुरुष र महिलाका यी शालिकले इतिहास सम्बन्धी प्रश्न उठाइदिएका छन्।
तेमाल क्षेत्र एउटा छुट्टै राज्य भएको र त्यसमा तामाङ राजाले राज्य गरेको स्थानीयको दाबी छ। ‘इतिहास जित्नेहरूको कथा हो’ भन्ने प्रचलित कथनकै सहारामा तेमाल राज्यको इतिहास लुकाइएको वा नष्ट गरिएको भनिन्छ।
इतिहासमा भने पृथ्वीनारायण शाहसँगको युद्धमा रिन्जेन दोर्जे मारिएको र तेमाल गोरखा साम्राज्यमा विलय भएको उल्लेख गरेको भेटिन्छ। तर, तत्कालीन कुनै पनि ऐतिहासिक तथा पुरातात्त्विक सामग्रीले तेमाल स्वतन्त्र राज्य भएको र त्यहाँ छुट्टै राजा भएको देखाउँदैन। त्यसैले पछिल्ला शासकहरूले इतिहास नष्ट गरिदिएको भन्ने आरोप सत्य होइन। इतिहास अध्ययनको यो प्रवृत्तिले वास्तविक इतिहास खोतल्न बाधा गर्छ।
गाउँघरमा सर्वसाधारणलाई राष्ट्रिय राजनीतिका हस्तीहरूभन्दा बढी स्थानीय अधिकारी वा सामन्तबारे जानकारी हुन्छ। आफ्ना अनेक समस्याको समाधान उनीहरूबाटै हुन्छ। ती अधिकारी वा सामन्तले शासकीय अभ्यास पनि गर्ने हुँदा उनीहरू गाउँमा ‘गण्यमान्य’ पनि हुन्छन्। विभिन्न पद धारण गर्ने यस्ता अधिकारी वा स्थानीय शासकलाई सम्मान गर्न ‘राजा’ भनेर सम्बोधन गर्ने गरेको पाइन्छ।
गाउँघरमा सर्वसाधारणलाई राष्ट्रिय राजनीतिका हस्तीहरूभन्दा बढी स्थानीय अधिकारी वा सामन्तबारे जानकारी हुन्छ। आफ्ना अनेक समस्याको समाधान उनीहरूबाटै हुन्छ। ती अधिकारी वा सामन्तले शासकीय अभ्यास पनि गर्ने हुँदा उनीहरू गाउँमा ‘गण्यमान्य’ पनि हुन्छन्।
वास्तविक रूपमा राजा नभए पनि सर्वसाधारणले त्यसरी प्रस्तुत गर्दा पछिका अध्येताहरू अलमलिन पुगेका छन्। यो स्थिति तेमालमा मात्रै नभएर किराँत प्रदेशका पल्लो किराँत, माझ किराँत र वल्लो किराँतका विभिन्न क्षेत्रमा पनि देखिन्छ। यस्तै भ्रम काठमाडौं उपत्यकाभित्र कीर्तिपुरमा कीर्तिलक्ष्मी नामको एक काल्पनिक पात्रका सम्बन्धमा पनि छ।
मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनको एउटा ताम्रपत्र चन्द्रप्रसाद त्रिपाठीले २०४० सालमा प्रकाशमा ल्याएका थिए। त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका विद्यार्थी त्रिपाठीले आफ्नो शोधपत्र लेखनका लागि गरेको अनुसन्धानका क्रममा उनलाई तेमालको कल्लेरी निवासी भूपू न्यायाधीश धर्मप्रसाद पाण्डेबाट उक्त ताम्रपत्र प्राप्त भएको थियो।
ताम्रपत्र पुरातत्त्व विभागबाट प्रकाशन हुने द्वैमासिक मुखपत्र ‘प्राचीन नेपाल’ नामक जर्नल (संख्या ९१, पौष–माघ २०४२) मा प्रकाशित ‘प्राचीन तामाङ बस्ती– तिमालको इतिहासमा प्रकाश’ शीर्षक लेखमा पुनः प्रकाशन गरिएको छ। तत्कालीन नेपाली भाषामा रहेको उक्त ताम्रपत्रको उतार यस प्रकारको छ–
दिग्बन्धन सेनको ताम्रपत्र(विरु) दावलिविराजमानमानन्नत श्री
मत्माहाराजाधीराजा श्री श्री श्री म
द्दिग्वद्यन सेन देवदनावा सदा
समर विजइ नाम् – –
आगे रिजिन मिझारको कल्यारी मटे
य मुरि १० लाक्या मद्धे बाझो मुरि ६०९
... पहरो पश्चिम सालको ...
ढलो उत्तर कोसी पूर्व डाडो ल्व (कि)
ल विर्ता गरि दियाको छ च ...
वा गरि षतिरजामा सग वित ...
नु विर्ताका सरह सेवा गर्नु घडे
रि पाथि तिन बिव जान्या ...
मा गरि दियाको छ इति सम्बत १८
१९ साल भाद्र सुदि ... हरि
हरपुरमा आगे सुक्री बिक्री सरि
षानु –––
ताम्रपत्रबारे केही लेख्नुअघि मकवानपुर राज्य र यसको पृष्ठभूमिबारे चर्चा गर्नु आवश्यक छ। मकवानपुर पाल्पाली राजा मुकुन्द सेनको विशाल राज्य अन्तर्गत पर्दथ्यो। उनको मृत्युपछि छोराहरूले त्यस राज्यलाई विभाजन गरेर विनायक सेनले बुटवल, मानिक सेनले पाल्पा, विहंग सेनले तनहुँ र लोहाङ सेनले मकवानपुरलाई स्वतन्त्र राज्य बनाए।
मकवानपुरमा लोहाङ सेनपछि राघव सेन, हरिहर सेन, माणिक सेन, हेमकर्ण सेन र दिग्बन्धन सेन राजा भए। अन्तिम राजा दिग्बन्धन सेन नाताले गोरखाका राजा पृथ्वीनारायण शाहका जेठान हुन्। तर, यी दुई राजाबीच पहिलेदेखि मिल्ती थिएन।
पृथ्वीनारायण शाहले १८१९ भाद्रमा मकवानपुरमाथि आक्रमण गरेपछि दिग्बन्धन सेन भागेर हरिहरपुर पुगे। माथि उल्लिखित ताम्रपत्र हरिहरपुरबाटै जारी भएको छ। आफ्नो राज्यबाट गोरखाली फौजलाई धपाउन तेमाल गाउँका तामाङहरूको सहयोग जुटाउने उद्देश्यले रिन्जिन मिझारलाई हात लिन खोजेको देखिन्छ। ताम्रपत्रमा ती व्यक्तिलाई जग्गा बिर्ता दिएको विवरण छ।
ताम्रपत्रमा उल्लिखित रिन्जिन मिझार नै राजा भनिएका रिन्जिन दोर्जे हुने सम्भावना धेरै छ। ‘मिझार’ पदवीवाचक शब्द हो, जसले गाउँको कर उठाउने अधिकारी बुझाउँछ। यो मुखिया, तालुकदारभन्दा तल्लो पद हो। यसअनुसार तामाङ राजा भनिएका उनी वास्तविक राजा नभएर गाउँको गण्यमान्य र प्रभावशाली व्यक्ति भएको बुझिन्छ।
रिन्जिन दोर्जेको सैन्य सहयोगमा दिग्बन्धन सेनले गोरखाली सेनाविरुद्ध आक्रमण गर्ने योजना बनाए पनि सफल भएनन्। किनभने, त्यसअघि नै १८१९ आश्विनमा गोरखाली सेनाले हरिहरपुर गढी आक्रमण गरेर स्वतन्त्र मकवानपुर राज्य मासेको थियो। सम्भवतः यही युद्धमा रिन्जिन दोर्जे मारिएका थिए।
रिन्जिन दोर्जेको सैन्य सहयोगमा दिग्बन्धन सेनले गोरखाली सेनाविरुद्ध आक्रमण गर्ने योजना बनाए पनि सफल भएनन्। किनभने, त्यसअघि नै १८१९ आश्विनमा गोरखाली सेनाले हरिहरपुर गढी आक्रमण गरेर स्वतन्त्र मकवानपुर राज्य मासेको थियो। सम्भवतः यही युद्धमा रिन्जिन दोर्जे मारिएका थिए।
यसबाट स्पष्ट हुन्छ, तेमाल छुट्टै राज्य नभएर मकवानपुर राज्यको अंग मात्रै हो। यसको राजा भनिएका रिन्जिन दोर्जे ‘कर अधिकृत’ मात्रै थिए। तर, राजालाई सैन्य सहायता दिने हैसियत राख्ने शक्ति राख्थे।
तेमाल प्राचीन कालदेखिको तामाङ बसोबास भएको गाउँ त हो नै, साथै काठमाडौं उपत्यका प्रवेश गर्ने दक्षिण–पूर्वको नाका पनि थियो। व्यापारिक तथा सामरिक दृष्टिले महत्त्वपूर्ण ठाउँ भएका कारण यसमाथि आधिपत्य जमाउन कान्तिपुर र भक्तपुर राज्यबीच प्रतिस्पर्धा भइराख्थ्यो। पृथ्वीनारायण शाहको बेलामा भने यो मकवानपुर राज्यअन्तर्गत रहेको माथि उल्लिखित ताम्रपत्रबाट स्पष्ट हुन्छ।
मकवानपुर राज्यको पराजयपछि तेमाल गाउँ ओझेलमा पर्यो। इतिहासका ती दिन जनमानसबाट धूमिल हुँदै गए। यही भएर गाउँको सामान्य कर अधिकृतलाई पनि तामाङ समुदायको राजा भन्ने भ्रम भएको देखिन्छ।
कोटतिमालस्थित शालिक क्षेत्रभन्दा केही पर पूर्वतिर पुरातत्त्व विभागले उत्खनन गरेको थियो। स्थानीयले रिन्जिन दोर्जेको दरबार भनेको ठाउँमा उत्खनन भएको हो। तर, महत्त्वपूर्ण सामग्री प्राप्त भएन। पुरातत्त्व विभागले उत्खनन गरेकै आधारमा त्यहाँ दरबार रहेको पुष्टि भएको भ्रम पाल्नु उचित होइन।
तेमाल र त्यहाँका कथित राजाका सम्बन्धमा रहेको भ्रमलाई चिर्न सहायक सिद्ध हुने माथि उल्लिखित ताम्रपत्रलाई उपयोग गर्न नसक्नु तामाङ समुदायको इतिहास अध्ययन बरालिनु हो। कथित राजाको नाममा समय, श्रम र धन खर्चिरहनु अनुत्पादक हुन्छ।