समाचार समितिलाई विश्वास नगरी राजा वीरेन्द्रको पत्रकार सम्मेलनको समाचार आफैं तयार पार्दा दरबारले लामो समय लगाएको थियो।
भैरव रिसाल
विगतमा राजाहरू पत्रकारसँग भेट्न, कुरा गर्न रुचाउँथे। राजा त्रिभुवन पत्रकारसँग भेटेर कुराकानी गर्थे। राजा महेन्द्र पनि कुराकानी गर्थे। झन् राजा वीरेन्द्रले पत्रकारलाई नभेट्ने कुरै भएन। राजाहरू पत्रकारसँग न टाढा न नजिक, समदूरीमा रहन्थे।
सात सालदेखि नै भारतका धेरै पत्रकार स्थायी प्रतिनिधिका रूपमा काठमाडौंमा बस्थे। मलाई सम्झना भएसम्म भारतका पीटीआ ई , हिन्दुस्थान समाचार , यूएनआ ईका साथै ब्रोडसिट पत्रिकाका प्रतिनिधिहरू पनि बस्थे। यति मात्र होइन, एएफपी , रोयटर्स , एपी , सिन्ह्वा जस्ता समाचार एजेन्सीका प्रतिनिधि पनि हुन्थे। राजाले कहिले कसैलाई, कहिले कसैलाई भेट्थे।
नेपाल पत्रकार संघको महाधिवेशन जस्ता समारोहमा राजा पनि आउँथे, पार्टी दिन्थे। मन्त्रिमण्डल गठनपछि शपथ खुवाउने कार्यक्रममा पत्रकारहरूलाई बोलाइन्थ्यो। शपथग्रहण जस्ता औपचारिक समारोहमा पत्रकारलाई लिन र पुर्याउन प्रायः दरबारबाटै मोटर आउँथ्यो।
पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको शपथग्रहण अहिले पनि झल्झली सम्झिन्छु। विश्वेश्वर र मन्त्रीहरूलाई राति ११ बजे राजदरबारमा शपथ खुवाइएको थियो। दरबारमा हामी पत्रकार आमन्त्रित थियौं। प्रधानमन्त्री र मन्त्रीहरूको शपथपछि त्यही राति सिंहदरबार ग्यालरी बैठकमा सांसदहरूलाई शपथ खुवाइएको थियो।
वीरेन्द्रको पत्रकार सम्मेलन
दरबारको कार्यशैली थियो, ढिलो निर्णय गर्ने। प्रक्रिया मिलाउनुपर्ने कारण त्यस्तो ढिलो हुँदो हो। दरबारको त्यो शैलीका कारण हामी पत्रकार पनि समस्यामा पर्थ्यौं। एउटा प्रसंग छ।
साँझ बित्यो, समाचार आएन। अहिले आउला भरे आउला भन्दाभन्दै राति १० बजेसम्म पनि समाचार आएन। कार्यालयमै खाना मगाएर खायौं। समाचार कुर्दाकुर्दै जागा बसेर रात काटियो।
राजाले पत्रकारलाई व्यक्तिगत रूपमा भेटघाट र कुराकानी मात्र होइन, पत्रकार सम्मेलन पनि गर्थे। २०३४ सालमा हो जस्तो लाग्छ, राजा वीरेन्द्रले दरबारमा पत्रकार सम्मेलन गरे। उतिवेला म राष्ट्रिय समाचार समिति (रासस ) मा प्रमुख समाचारदाता थिएँ। यद्यपि पत्रकार सम्मेलनमा मलाई लगिएन। महाप्रबन्धक र सम्पादकहरू अरू को–को गए, याद भएन।
पत्रकार सम्मेलनको समाचार दरबारबाटै तयार पारेर पठाउने कुरा भएछ। रासस का हाकिमले ‘दरबारबाट समाचार नआउँदासम्म महाप्रबन्धकदेखि सम्पादकसम्म सबै जना कार्यालयमा बस्नू’ भने। म पनि समाचार कुर्न बस्नेमा परेँ।
तर, साँझ बित्यो, समाचार आएन। अहिले आउला भरे आउला भन्दाभन्दै राति १० बजेसम्म पनि समाचार आएन। कार्यालयमै खाना मगाएर खायौं। समाचार कुर्दाकुर्दै जागा बसेर रात काटियो।
भोलिपल्ट दिनभर पनि समाचार आएन। कार्यालयमै खाना मगाएर खायौं। अन्ततः बल्ल साँझ पाँच बजे समाचार आइपुग्यो। त्यो पत्रकार सम्मेलनको मुख्य आशय के थियो, अहिले बिर्सिएँ।
समाचार समितिलाई विश्वास नगरी दरबार आफैं समाचार बनाउन घोटियो। त्यो रात राजा सुते कि जाग्राम नै बसे, थाहा भएन। तर, भोलिपल्ट साँझमा समाचार आउनुले दरबारका अरू मानिस भने रातभर र भोलिपल्ट पनि दिनभर घोटिएको देखायो।
खासमा पत्रकारिता देख्दा सजिलो, गर्न कठिन कुरा हो। समाचार पढ्दा, सुन्दा र हेर्दा सामान्य लाग्छ, तर त्यो तयार पार्न अनेक पाटोमा ध्यान दिंदै दिमाग घोट्नुपर्ने हुन्छ। समाचारमा कुन शब्द राख्ने, कस्तो वाक्य बनाउने, लिड (आमुख) कस्तो लेख्ने जस्ता कुरा पत्रकारका लागि सधैं र सबै समाचार बनाउँदा चुनौती बन्छन्। समाचार तयार पार्ने क्रममा एउटा शब्दले हावाकावा पार्छ।
मलाई रिपोर्टिङमा पत्रकारिताको झन्डै सिङ्गो उमेर सक्रियतापूर्वक बिताउन कति कठिन भयो होला! कति ठाउँमा स्रोत बलियो हुने, पत्रकारिता गर्न जाँगर लाग्ने। कति ठाउँमा स्रोत कमजोर, तब काम फत्ते गर्न मुश्किल!
समाचार बनाउन कति कठिन हुँदो रहेछ, त्यो पत्रकार सम्मेलनको समाचार तयार पार्दा दरबारले पनि बुझ्यो होला।
दरबारलाई कज्याउने खुबी
दरबारको चर्चा गर्दा अर्को प्रसंग पनि जोड्न मन लाग्यो। सामान्य रूपमा दरबारलाई बुझ्नै गाह्रो। दरबार बुझेका थोरै मानिस थिए। जनरल पद्मबहादुर खत्री तिनै सीमित व्यक्तिभित्र पर्थे।
२०३८ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा खत्री परराष्ट्र र जलस्रोत मन्त्री थिए। भारत सरकारको सचिव स्तरीय प्रतिनिधि मण्डल महाकाली जस्ता विद्युत् परियोजनाबारे वार्ता गर्न नेपाल आएको थियो। बैठकमा नेपाली पक्षले महाकाली विकास आयोजनाबाट बिजुली र पानीमा बराबरी लाभ चाहिन्छ भन्ने कुरा गरेछ। तत्कालीन जलस्रोत सचिव मधुसूदन ढकालले त्यसै अनुसार प्रस्ताव राखेछन्।
खासमा पत्रकारिता देख्दा सजिलो, गर्न कठिन कुरा हो। समाचार पढ्दा, सुन्दा र हेर्दा सामान्य लाग्छ, तर त्यो तयार पार्न अनेक पाटोमा ध्यान दिंदै दिमाग घोट्नुपर्ने हुन्छ। मलाई रिपोर्टिङमा पत्रकारिताको झन्डै सिङ्गो उमेर सक्रियतापूर्वक बिताउन कति कठिन भयो होला!
भारतीय पक्षले भने आधा लाभ लिन खर्च पनि आधा व्यहोर्नुपर्ने शर्त अगाडि सारेछ। सचिव ढकालले खर्च आधा व्यहोर्ने कुरा भन्न सकेनन्।
बैठकमा लन्च ब्रेक भएपछि सचिव ढकाल सरासर जलस्रोत मन्त्री खत्रीकहाँ गएर सबै कुरा बताएछन्। तब खत्रीले भने रे, “नेपालले आधा लाभ लिन खर्च पनि आधा गर्छ भनिदिनुभएन? बराबरी लाभ लिन खर्च पनि बराबर गर्छ भनिदिनोस्।”
सचिव ढकालले त्यो कुरा नपत्याए जस्तो गरेपछि मन्त्री खत्रीले पीएलाई बोलाएर दरबारमा फोन लगाउन भनेछन्। सचिवकै सामु उनले फोनमा ‘भारतले आधा लाभ लिन खर्च पनि आधा गर्नुपर्ने भनेछ। मैले नेपालले आधा खर्च व्यहोर्छ भन्नू भने। यो कुरा राजालाई जाहेर गरी खर्च आधा नव्यहोर्ने हो भने खबर पाऊँ’ भनेछन्।
त्यसपछि खत्रीले सचिवतिर हेर्दै ‘ल अब त पत्याउनु भो ? अब जानोस्’ भने रे। यस्तो आँट दरबार चिनेको मान्छेले मात्र गर्न सक्थ्यो।
खर्च आधा नव्यहोर्ने विषयमा दरबारबाट खबर आएन। बराबरी लाभ लिन नेपाल आधा खर्च गर्न राजी भयो।
* (राजा वीरेन्द्रको पत्रकार सम्मेलन हुनुपर्नेमा महेन्द्र उल्लेख भएकाले सच्याइएको छ।)