पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जितेका छन्। २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जितिन्। उनले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन्। उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेकी छिन्।
गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जितेकी थिइन्। उनले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाएकी छिन्। उनले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ।
मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एनलेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै अवार्ड जितेका हुन्। सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ सागमा स्वर्ण पदक जितेका थिए। मण्डेकाजीले करातेतर्फ टिम काता र एकल गरी दुई स्वर्ण जितेका थिए। उनले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जितेका थिए।
उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जितेका छन्। उनले सागमा दुई स्वर्ण पदक जितेका थिए। सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बू, भारत्तोलनकी सञ्जु चौधरी तथा जुडोकी पुनम श्रेष्ठलाई पछि पारे।
यसैगरी एउटै खेलबाट सर्वाधिक १२ स्वर्ण पदक दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले करातेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्कीलाई उछिन्दै उक्त अवार्ड जितेका हुन्।
महिला भलिबल टोली वर्षको उत्कृष्ट घोषित
नेपाली राष्ट्रिय महिला भलिबल टोली वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ। गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो।
बङ्गलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो। उक्त टोलीको प्रशिक्षक जगदीशप्रसाद भट्ट थिए। सो प्रतियोगितामा नेपालले खेलेका सबै छ खेलमा विजयी भएको थियो।
यस्तै गत वर्ष नेपालमै सम्पन्न १३औँ सागमा ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो। महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो। महिला टोलीले सागमा पहिलोपटक रजत पदक प्राप्त गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारसँग ३–२ सेटले पराजित भएको थियो।
पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई
भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जितिन्। उनले कूल ३७ दशमलव ५२ प्रतिशत प्राप्त गरिन्।
उक्त विधातर्फ दोस्रो स्थानमा सागमा करातेमा दोहरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ रहे। उनले२८ दशमलव ४५ प्रतिशत मत पाए। तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गरे।
टेवलटेनिसका ऐतिहासिक पदक विजेताद्वय गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए। दुवै जना सन् १९९१ मा आयोजित पाँचौँ दक्षिण एशियाली खेलकूदका स्वर्ण विजेता हुन्। नेपाली महिला खेलाडीले सागमा जितेको त्यो नै पहिलो स्वर्ण पदक थियो।
यस वर्षको स्पेसल अवार्ड एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा तेक्वान्दोकी आयशा शाक्यले संयुक्तरूपमा प्राप्त गरे। दुवै जना १३औँ सागका स्वर्ण विजेता हुन्। उनीहरु आ–आफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन्।
सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन्। यस्तै आयशाले १३औँ सागमा दुई स्वर्ण पदक जितेकी थिइन्।
पारा एथ्लिट अवार्डबाट यस वर्ष ह्वीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरिएको छ।