प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा निर्धारित प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरेका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १७ र २७ वैशाख २०७८ मा निर्धारित निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरे।
“कतिपयले चुनाव हुँदैन भनिरहेका छन्। म तेहेर्याएर भन्छु चुनाव वैशाख १७ गते शुक्रबार र २७ गते सोमबार हुन्छ। ढुक्क भएर तयारीमा लाग्नुस्”, प्रधानमन्त्री ओलीले भने, “तपाईंहरूले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरूका कुरा सुन्नु भएको होला। तपाईंहरू प्रभावित भइरहनुपर्ने आवश्यकता छैन।”
उनले भने सुखी नेपाली, समृद्ध नेपालको अभियानमा आफू निरन्तर लागिरहेको दाबी पनि गरे। आफूहरूलाई गालीगलौज गर्ने फुर्सद नभएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ।
“बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन। हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन। देश बनाउनुछ। हामी देश बनाउन लागेका छौं”, ओलीले भने।
प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई आउँदो निर्वाचनमा देशभरीबाट १० वटा सिट जितेर देखाउन पनि चुनौती दिए।
“छोरी–बुहारी, सम्धी, सालासालीको पार्टी होइन यो। कोही चोइटिएर जाँदैमा नेकपा सकिँदैन। यत्रा ३ करोड मान्छेमा २६५ जना उता जाँदा केही फरक पर्दैन”, ओलीले भने।
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउँछौं
प्रधानमन्त्री ओलीले अब सुदूरपश्चिम प्रदेशलाई कसैले पनि पछि पार्न नसक्ने बताएका छन्।
उनले गेटा मेडिकल कलेजलाई छिटै सञ्चालनमा ल्याउने बताउँदै मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा विकास गरिने घोषणा समेत गरे।
उनले विमानस्थलमा राति पनि उडान गर्न सक्ने गरि व्यवस्था भएकोमा यसको अझै उन्नती गर्ने बताए। गौरीफन्टा नाकालाई स्तरोन्नतीका लागि पहल भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “स्वदेशी लगानीमा पश्चिम सेती विद्युत् आयोजनाको काम अगाडि बढाइने छ। विदेशी लगानी खोज्ने काम पनि हुन्छ।”
प्रदेशका मुख्यमन्त्री र मन्त्रीले ओलीको स्वागत गरेनन्
प्रधानमन्त्री केपी ओली धनगढी पुग्दा स्वागतका लागि सुदूरपश्चिम प्रदेश सरकारका कुनै पनि प्रतिनिधिहरूको सभागिता रहेन। यसअघि देशका प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरूको सहभागिता हुन्थ्यो। तर, यसपाली भने सहभागिता देखिएन।
प्रधानमन्त्री ओली आफै्रले प्रतिनिधि सभा विघटन गराएपछि पहिलोपटक धनगढी पुगेका हुन्। तर, कदमको विरोध गरिरहेको नेकपाको दाहाल–नेपाल समूहको वर्चश्व रहेको प्रदेश सरकाका प्रतिनिधिमा यसको प्रभाव देखियो।
प्रधानमन्त्री ओली धनगढी आउनुअगावै दाहाल–नेपाल समूहका विद्यार्थीले टायर बालेर विरोध जनाएका थिए।