महामारीको अन्त्य छ !
सन् २०२० हाम्रा लागि नचाहेरै पनि ‘कोभिड–१९ वर्ष’ बन्यो । तर, २०२१ को नयाँ वर्षसँगै हामीमा नयाँ आशा जागेको छ । हरेक कुराको आदिसँगै अन्त्य निश्चित छ भन्ने बुद्धदर्शन मान्ने हो भने यो महामारीको पनि अन्त्य निश्चित छ।
सन् २०२० हामीबाट बिदा भएको छ । यो वर्षभर हामीलाई कोभिड–१९ महामारीले गाँज्यो । त्यसरी हेर्दा पूरै वर्ष ‘महामारी वर्ष’ बन्यो।
वर्ष त बित्यो तर महामारी सकिएको छैन । महामारीबाट हुने मृत्यु, पीडामा परेका परिवारका शोक, जनमानसमा यसको भय सकिएको छैन। महामारीका कारण खोसिएको रोजगारी, आर्थिक, सामाजिक अनि मानसिक तनावको कुनै लेखाजोखा छैन।
नयाँ वर्ष २०२१ मा धेरैले महामारीबाट मुक्त हुने आशा, प्रार्थना र शुभकामना पनि दिएका छन् । यसबीचमा महामारीविरुद्धका खोप पनि आविष्कार भएका छन् । सँगै कोरोनाभाइरसका नयाँ भेरिएन्ट भेटिएको खबर पनि आइरहेको छ । तर, आशा छ सन् २०२१ले महामारीलाई संसारबाट बिदा गर्नेछ ।
नयाँ वर्षलाई नयाँ आशाका रुपमा हेर्नु स्वयंमा एक सकारात्मक कार्य हो । संसारमा आइपर्ने यस्ता दुःखलाई गौतम बुद्धले अनित्य दर्शनका आधारमा सोच्न सुझाएका छन् ।
संसार परिवर्तनशील छ, यहाँका हरेक कुरा परिवर्तनशील छन्, त्यसैले मानवजातिको आजको दुःखको पनि अन्त्य छ, महामारीको पनि अन्त्य छ–बुद्धवचनलाई हामी यसरी पनि अथ्र्याउन सक्छौं । हो पनि, मानव सभ्यताको इतिहास पल्टाउने हो भने अहिलेजस्ता महामारीहरु थुप्रै आए, विनाश गरे र गए । स्वयं गौतम बुद्धकै समयमा पनि महामारी आएको थियो।
के हो त सत्य ?
बौद्ध दर्शनका चार दार्शनिक मतमध्ये एउटा माध्यमिक (शून्यवाद) ले सत्यलाई दुई वर्गमा वर्गीकरण गरेको पाइन्छ– संवृत्ति सत्य र परमार्थ सत्य।
इन्द्रियहरुले अनुभूत गरिरहेका जे जति कुरा छन्, साधारणतयाः हामीलाई यथार्थ नै लाग्दछ । तर समय र परिस्थितिसँगै यी यथार्थ असत्यमा पनि रुपान्तरण हुनसक्छन् । यही भएर यस्ता कुराहरुलाई सापेक्षिक सत्य पनि भनिन्छ।
दैनिक व्यवहारमा काम चलाउका लागि स्वीकार गरिएका यी सत्यहरु लौकिक सत्य हुन् र यसको अभावमा व्यावहारिक तथा सांसारिक जीवनको संरचना नै बिग्रनसक्छ।
बाहिरी सत्यका रुपमा रहेका यी कुरा नै संवृत्ति सत्य हुन् । तर पारमार्थिक वा दार्शनिक हिसाबले यी कुरा सत्य देखिँदैन, कपोलकल्पित, मायाजाल, मिथ्या, स्वप्नवत् तथा झुठा देखिन्छन् ।
यस विपरित ज्ञानीहरु भ्रमबाट मुक्त हुन्छन् र अनित्यताको बोध गर्दछन् । जीवन र जगतका सबै कुरा शून्य स्वभावका छन् भनेर बोध गर्नु नै बौद्ध दर्शनको मुख्य शिक्षा हो, यसैलाई परमार्थ सत्य भनिन्छ ।
बौद्धहरुको लक्ष्य परमार्थ सत्यको अवबोध गर्ने भएपनि त्यसको साधना यही सामाजिक जनजीवनमा गर्ने भएका कारण उनीहरू संवृत्ति सत्यलाई उपेक्षा गर्दैनन् ।
बौद्ध दर्शनको आधारभूत मान्यताका रुपमा लिइएको ‘त्रिलक्षण’ भनिने अनित्य, दुःख र अनात्मालाई सुक्ष्म विश्लेषण गर्दा सबैले एउटै कुरा बुझाउँछ । र, अन्य दार्शनिक सम्प्रदायभन्दा यो बेग्लै रुपमा उभिन पुग्छ ।
अनित्यको अर्थ
एउटै ‘अनित्य’ शब्दमाथि मनन् गर्ने हो भने पनि हरेक कुरा क्षणिक, अस्थायी, परिवर्तनशील र नाशवान रहेको पाइन्छ । कुनै पनि वस्तुको आफ्नै स्वअस्तित्व नभएको र प्रत्येक क्षण परिवर्तन भइरहेका प्रकृतिका कारण पनि अनित्य सम्भव भएको हो ।
अनित्यको दार्शनिक मान्यतालाई सरल भाषामा भन्नुपर्दा ‘बिहान ब्यूँझेको मान्छे’ र ‘राति सुत्ने बेलाको मान्छे’ एकै होइनन् । एकै व्यक्ति भनेर चिनिए पनि बिहानदेखि रातिसम्ममा धेरै परिवर्तन भइसकेको हुन्छ । उत्पत्ति र विनासको निरन्तर प्रवाहको उपज नै जीव र जगतको अस्तित्व हो ।
हरेक क्षण भइरहने उत्पत्ति र विनाश अर्थात् जन्म र मृत्युको सुक्ष्म प्रवाहको निरन्तरता बुुझ्न नसक्नुु बौद्ध दर्शनको अध्ययनमा प्रवेश नै नगर्नु हो । अनित्य वा क्षणिकवादको यो प्रवाहकै कारण बौद्धहरु निश्चित उमेर पुुगेपछि हुने मृत्युुलाई स्वाभाविक प्रक्रियाका रुपमा बुुझ्ने तथा एवं रीतले पुनर्जन्म तथा अनेक जन्मान्तरहरुको मान्यता राख्दछन् ।
वैदिक वा हिन्दूू दर्शनमा पनि आत्मा तथा परमात्माको कुरा हुन्छ । अजर, अमर भएर रहने शाश्वतवादी चिन्तनको चर्चा हुन्छ । तर, बौद्ध र हिन्दुले गर्ने यस्तो कुरा र अभ्यासमा ठूलो मतभेद पनि यहीनेंर छ ।
हिन्दु दर्शनमा कुनै जीवमा आत्माको प्रवेशपछि पुनर्जन्म हुन्छ । तर, बौद्धमत आत्मालाई स्वीकार गर्दैन । ‘आत्मा नै मान्दैनौ वा आत्माको अस्तित्व नै स्वीकार गर्दैनौ भने पुनर्जन्म कसरी हुन्छ ? कसले पुनर्जन्म लिने हो ?’ बौद्धमागीसमक्ष लगातार यस्ता प्रश्नहरू गरिन्छन् ।
तृष्णा रहुञ्जेल जन्म र मृत्युको क्रमले निरन्तरता पाइरहन्छ। बौद्ध दर्शनले तृष्णा क्षयमा जोड दिन्छ। तृष्णाको क्षयले अनित्यसहित उत्पत्ति र विनाशको क्रमिकतालाई भंग गर्दछ अर्थात् दुःखको अन्त्य हुनु भनेकै पुनःजन्म लिनुनपर्ने वा निर्वाण प्राप्ति हो।
एक जन्म र अर्को जन्मबीच सम्बन्ध राख्दै हिड्ने हिन्दु दर्शनको ‘आत्मा’लाई बौद्धहरु भने चित्त (विज्ञान) शब्दबाट सम्बोधन गर्दछन् । आत्मा शब्दले अक्षय र स्थिर रहने अर्थबोध गर्ने भएकै कारण बौद्धहरु यो शब्द प्रयोग गर्न असमर्थ भएका हन् ।
दुःखको अन्त्य
जीव र जगत अनित्य भएकै कारण दुःख भएको हो र दुःखको अन्त्य नै बौद्ध धर्मदर्शनको मुख्य र एक मात्र लक्ष्य हो ।
जीव र जगतको उत्पत्ति नै कसरी भयो भन्ने प्रश्न बौद्धिक वा तार्किक त होला तर बुद्ध यसलाई वाणीविलासका रुपमा लिन्छन् । यस विषयमा छलफल गर्न उनी कहिल्यै इच्छुक भएनन् जबकि तत्कालीन दार्शनिक समाज यही प्रश्नमा अल्झेको थियो । प्रश्नको जवाफ पाइहाले पनि यो समस्या समाधानसँग सम्बन्धित नभएका कारण बुद्धलाई यसमा चासो नभएको बुझ्न सकिन्छ ।
एकको कारणले अर्को कुराको उत्पत्ति गराउने (प्रतित्यसमुत्पाद वा कार्यकारण) बुद्ध दर्शन दार्शनिक जगतमा मौलिक देन हो । यो दर्शनलाई द्वादशांग (१२ वटा अंग) पनि भनिन्छ । योमध्ये एउटा अंग तृष्णा पनि हो ।
तृष्णा रहुञ्जेल जन्म र मृत्युको क्रमले निरन्तरता पाइरहन्छ । बौद्ध दर्शनले तृष्णा क्षयमा जोड दिन्छ। तृष्णाको क्षयले अनित्यसहित उत्पत्ति र विनाशको क्रमिकतालाई भंग गर्दछ अर्थात् दुःखको अन्त्य हुनु भनेकै पुनःजन्म लिनुनपर्ने वा निर्वाण प्राप्ति हो ।
बौद्ध जगतका लागि प्रत्येक दिन र प्रत्येक क्षण शुभकर्म शुभारम्भ गर्न मिल्ने अवसर हो । त्यसैले नयाँ वर्षमा मात्रै असल कुराको संकल्प गर्नुपर्छ भन्ने छैन । कुनै पनि दिन ‘विशेष’ मान्ने पूर्वाग्रह छैन ।
कतिपय बौद्धमार्गीले वैशाख पूर्णिमालाई मात्र नयाँ वर्ष वा विशेष दिन भनेको पनि यदाकदा सुनिन्छ तर यसो भन्नु बौद्ध सोचमा आएको विचलन हो । यस्तो जडता बौद्ध दर्शन प्रतिकुल छ ।