टिप्पणी मंगलबार, चैत १८, २०७६

बुद्धकै समयमा पनि फैलिएको थियो महामारी

वसन्त महर्जन

बुद्धकै समयमा पनि फैलिएको थियो महामारी

कोरोना भाइरस नियन्त्रण गर्ने औषधि पत्ता लागिनसकेको अवस्थामा विज्ञहरुले दिएको सुझावलाई दृढतापूर्वक पालना गर्ने र सुरक्षित रुपमा रहने बाहेक अन्य छुट्टै उपाय बौद्ध धर्मदर्शनमा पनि छैन।

विश्वभर फैलिरहेको कोरोना भाइरस आतंकसँगै विभिन्न धर्मप्रति आस्था राख्न प्रेरित गर्ने खालका सामग्री प्रवाह भइरहेका छन् । यसले धर्मप्रति विभिन्न प्रश्न उठाएको छ ।

आपतविपत तथा महामारीका बखत उद्धार गर्ने वा सहारा दिने अलौकिक शक्ति नै धर्म हो भन्ने बुझाइ रहेको समाजमा त्यस्तो प्रश्न उठ्नु स्वाभाविक छ । विपदलाई अवसरका रुपमा उपयोग गर्न धर्मभिरुहरुले आफ्नो आस्थालाई आफू अनुकूल हुने गरी परिभाषित गर्दा यो समस्या आएको हो ।

बौद्ध धर्मदर्शनले महामारीबाट उतार्ने कुनै अलौकिक शक्तिको कल्पना गरेको छैन, न त यस्ता कुराहरुमा विश्वास नै राखेको छ ।

संसारमा भइरहेका सबै कुरा प्राकृतिक रुपमा चलायमान छन् । त्यसको पछाडि कुनै विशेष पात्र वा शक्ति सम्पन्न ईश्वरीय इच्छा वा कृपा कारणका रुपमा नभएको मान्यता बौद्ध धर्म–दर्शनले बोकेको छ । सबै कुरा अनित्य (अस्थायी) र एकको विलयसँगै अर्को उदय भइसक्ने हुँदा ‘सर्वम् अनित्यम्’ मान्यता वा परिवर्तनशील स्वभावलाई स्वीकार गर्नु बौद्ध धर्मदर्शनको मुख्य विशेषता मानिन्छ ।

गौतम बुद्धकै समयमा वैशाली नगरमा महामारीे फैलियो तर उनले कुनै अलौकिक शक्ति प्रदर्शन गरेनन् । ‘ऋद्धिप्रतिहार्य’ भनिने अलौकिक शक्ति बुद्ध तथा उनका शिष्यहरुमा भए पनि ती निश्चित कामका लागि मात्रै प्रयोग भएको पाइन्छ । त्यसवेला महामारी फैलियो भनेर भिक्षु आनन्दलाई ‘रतन सूत्र’ पाठ गर्न पठाइएको थियो ।

नराम्रा कुरा नहुन् भनेर विभिन्न सूत्र पाठ गर्ने चलनलाई बौद्ध समाजमा ‘परित्राण पाठ’ भनिन्छ । यसमा कुनै अलौकिक शक्तिको आह्वान गर्ने वा नराम्रा तत्वलाई दमन गर्ने नभई मैत्री कामना गर्ने हो । मंगल कामना गर्दै मैत्रीपूर्ण वातावरणको सिर्जना गर्दा जो कसैको मनस्थिति परिवर्तन हुने र सकारात्मक नतिजा आउने पक्षलाई नकार्न सकिन्न ।

गौतम बुद्धकै समयमा वैशाली नगरमा महामारीे फैलियो तर उनले कुनै अलौकिक शक्ति प्रदर्शन गरेनन् । ‘ऋद्धिप्रतिहार्य’ भनिने अलौकिक शक्ति बुद्ध तथा उनका शिष्यहरुमा भए पनि ती निश्चित कामका लागि मात्रै प्रयोग भएको पाइन्छ । त्यसवेला महामारी फैलियो भनेर भिक्षु आनन्दलाई ‘रतन सूत्र’ पाठ गर्न पठाइएको थियो ।

भिक्षु आनन्दले पाठ गरेको ‘रतन सूत्र’को शुरु वाक्य ‘यस बखत यो पृथ्वीमा वा अन्तरिक्षमा जति पनि भूत (अमनुष्य देवता) हरु उपस्थित छन्, उनीहरु सबैको चित्त प्रशन्न होस् र तथागतको उपदेश ध्यानपूर्वक श्रवण गरुन्’ भनेर कामना गरिएको छ । यसरी नै अर्को वाक्यमा ‘तिमीहरु सबैले ती मनुष्यप्रति दत्तचित्त भएर मैत्रीभाव राख्नू र होसपूर्वक उनीहरुको रक्षा गर्नू, जसले रातदिन तिमीहरु समक्ष पूजनीय वस्तु ल्याई पूजा गर्छन् ।’

परित्राणमा पाठ गरिने अन्य सूत्रहरुमा पनि बुद्धकै उपदेशहरु पाठ गरिने हो जुन अरु सामान्य समयमा पनि अध्ययन तथा मनन् गरिन्छ ।

बुद्धको सबैभन्दा चर्चित र महत्वपूर्ण कुरा ‘चार आर्यसत्य’ अनुसार कुनै पनि समस्याको कारण हुन्छ र उचित उपाय अवलम्बन गरेर त्यसको अन्त्य गर्न सकिन्छ । यो सन्दर्भलाई सबै अवस्थामा लागू गरेर समस्याको समाधान पहिल्याउन सकिन्छ ।

बौद्ध भिक्षुभिक्षुणी तथा उपासक उपासिकाहरुले कोरोना संक्रमितहरुलाई चाँडै स्वास्थ्यलाभ होस् भनी कामना गर्नु स्वाभाविक नै मान्नुपर्छ तर प्रार्थना गर्दैमा यो भाइरस निस्तेज हुन्छ भनेर सोच्नु न विज्ञानसम्मत छ न त बौद्ध धर्मदर्शनको भावना अनुकूल नै ।

बौद्ध धर्मदर्शनमा आस्था राख्नेहरुमा आपतविपतमा ‘बोधिसत्व’ ले मद्दत गर्छन् भन्ने विश्वास छ । ती अरु कोही नभएर हाल रातदिन केही नभनी बिरामीको सेवा गरिरहेका चिकित्सक र औषधि बनाउन प्रयोगशालामा खटिरहेका वैज्ञानिक हुन् भन्दा फरक पर्दैन । बौद्ध धर्मदर्शन अनुसार अरुको सेवा गर्नु नै बोधिसत्वको साधना हो र यही साधनाको माध्यमबाट भविष्यमा बुद्धत्व लाभ गर्ने हो ।

कोरोना भाइरस नियन्त्रण गर्ने औषधि पत्ता लागिनसकेको अवस्थामा विज्ञहरुले दिएको सुझावलाई दृढतापूर्वक पालना गर्ने र सुरक्षित रुपमा रहने बाहेक अन्य छुट्टै उपाय बौद्ध धर्मदर्शनमा पनि छैन।

प्रतिकृया दिनुहोस