पाँच वर्षअघि बनेको हुलाकी सडकको दुई जना संघीय मन्त्रीले गरे पुनः शिलान्यास
कैलाली जिल्लाको हुलाकी सडकअन्तर्गत लम्की–टीकापुर–खक्रौला सडकखण्डको स्तरोन्नती गर्ने नाममा ५ वर्षअघि निर्माण भएको सडक पुनः शिलान्यास भएको छ।
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले शनिबार सो सडकको तामझामका साथ शिलान्यास गरेका हुन्। उक्त सडकको स्तरोन्नतीको काम दशैंलगत्तै शुरु गरिएको थियो।
हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले भने, “पहिले सिंगल लेन थियो, अब २ लेन बनाउने गरी स्तरोन्नती हुने भएको छ।”
पहिलै शिलान्यास भइ निर्माण भएको सडक पुनः शिलान्यास भयो नि? भन्ने प्रश्नमा मडै भन्छन्, “निर्माण त सन २०१४ मा नै भारतीय कम्पनीबाट भएको हो। तर अहिले स्तरोन्नतीको शिलान्यास हो।” सो कार्यालयका अनुसार २७.५ किलोमिटर सडकखण्डको स्तरोन्नती ३० महिनामा हुने भएको छ। १ अर्ब १४ करोड लागतमा ३ प्याकेजमा स्तरोन्नती हुने जनाइएको छ।
यसअघि निर्माण सम्पन्न नहुँदै कैलालीको धनगढी–सत्ती खण्डको सडक पूर्वमन्त्री रमेश लेखकले ६ माघ २०७३ मा उद्घाटन गर्न भ्याएका थिए। तर धनगढी–सत्ती खण्ड अन्तर्गत वसन्ता वन क्षेत्रमा निर्माण कार्य पहिलैदेखि प्रभावित हुँदै आएको छ। जुन कारण सो सडकखण्ड वेवास्ता हुँदै आएको हो।
उता वन मन्त्रालयले रुख कटानीको स्वीकृती नदिँदा २ किलोमिटर सडकखण्डमा रहेका १ सय रुख कटानी गर्न बाँकी रहेको छ।
हुलाकी सडक स्तरबृद्धिको काम कुन ठाउँमा कस्तो बन्दैछ ?
कैलालीमा ठेक्का सम्झौता भएको ४ महीनापछि हुलाकी सडक स्तरबृद्धिको काम अगाडी बढेको छ। हुलाकी सडक स्तर बृद्धिका लागि गत असारमा ठेक्का सम्झौता भए पनि शुक्रबारदेखि काम थालिएको हो।
हुलाकी सडकखण्डको धनगढीमा ३ किलोमिटरलाई ४ लेनमा स्तरबृद्धि गर्ने योजना रहेको छ। सम्झौता अनुसार आगामी ३० महीनाभित्र स्तरबृद्धिको काम सम्पन्न गरिनेछ। धनगढीको क्याम्पस चोकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको ३ किलोमिटर ४ लेन र बाँकी ४१ किलोमिटर हुलाकी सडक २ लेनमा स्तरबृद्धिको काम शुरु भएको छ।
हुलाकी सडक निर्देशनालय र निर्माण कम्पनीबीच गत असार १४ गते ठेक्का सम्झौता भएकोमा ४ महिनापछि मात्र काम सुरु भएको हो।